डिजिटल डिक्सनेरी, परियो तिरिमिरी

आधुनिकता सँगसँगै धेरै कुरा साना र छोटा हुँदै गइरहेका छन् । चाहे त्यो युवतीहरूले लगाउने पहिरन होस् , चाहे आजकालको युवापुस्ताले प्रयोग गर्ने संवाद। आमालाई ममी हुँदै मम्, बुवालाई ड्याडी हुँदै ड्याड र दाजु/भाइलाई ब्रोदर हुँदै ब्रो !

१२ थरी टिमका एक जना टिप्पणीकार एकदिन मर्निङ वाकमा जाँदा एक जना साथीले वहाँलाई कुनै युवतीले मोबाइलमा लेखेको संवाद देखाएछन् । TTYL लेखेको कुरो नबुझेर उनी बिलखबन्दमा परेका रहेछन् । अधबैंसे उनी फेसबुकमा छिरेर क्याम्पस् पढ्ने षोडशीहरुलाई घाँस हाल्न माहिर रहेछन् । तर कुरा गर्दा गर्दै अचानक केटीले Talk To You Later को सर्ट फर्म TTYL लेख्दा Tero Tauko You Liar लेखेकी हो कि,  पातकी बुढो पो भन्या हो कि, वा ‘पख मेडमलाई भन्दिन्छु’ पो भनि कि भनेर अधैर्य पो भएका रहेछन्। टिप्पणीकार जर्जले त्यति कुरो बुझाउँदा उनलाई बुद्धत्व प्राप्त भए झैं भएछ, टाउकोबाट पहाडै हटाए झैं आनन्द आएछ। त्यही मर्निङ वाक गुरुपमा यो कुरा चर्चा हुँदा त प्राय: सबैलाई यही समस्या रेहको बुझियो। र, १२ थरीको सोसियल रेपस्पोन्सिबिलिटी अभियान अन्तर्गत हाल सामाजिक सञ्जालमा प्रयोग हुने स्ल्याङ, एक्रोनिम (सटकट् क्या ! ) र नानाभाँति इमोजीको बारेमा यहाँ चर्चा गरिँदैछ ।

people-using-cellphones

सर्ट फर्म

lol – Laugh Out Loud (बेस्सरी हासें)

FIY – For Your Information (यहाँको जानकारीको लागी)

GTG – Gotta Go (जान्छु)

DIY – Do It Yourself (आफै गर्नुहोस्)

ROFL – Rolling On the Floor Laughing (भुँईमा पल्टि पल्टि हाँसीरा’छु )

LMAO – Laughing My Ass Off (चाक दुख्ने गरी हाँसीरा’छु )

LMFAO – Laughing My F***ing Ass Off ( मु* चाक दुख्ने गरी हाँसीरा’छु )

OMG – Oh My God (हे भगवान )

ICYMI – In Case You Missed It (अघि याद गर्नुभा’थेन भने )

TQ – Thank You (धन्यवाद )

Y – Why (किन )

?N – What Next ? ( अब के ? )

Sup ? = What’s up ? (के छ ? )

हुन त यी एक्रोनिम/स्ल्याङहरुको अर्थ पत्ता लाउन खासै महाभारत हुन्न। गुगल अंकललाई एक झमट सोध्ने हो भने घाम झैं छर्लङ्ग भैहाल्छ। तर इन्टरनेट चलाउनु भनेकै फेसबुक चलाउनु हो भन्ने धारणा रहेका अर्धज्ञानी इन्टरनेट साक्षरहरुसँग यति सुद्धि कहाँ ?

यी मुजी… इमोजी

मोबाइल चलाउने/च्याट गर्ने अलि अघिको पुस्ता कस्तो पर्‍यो भने कसैसँगको सम्वादमा हल्का हाँस्न पर्‍यो भने haha लेख्ने र पेट मिचिमिची हाँस्न पर्‍यो भने hahahahahhahahah लेख्ने। तर आधुनिकहरुलाई यति लेख्ने कहाँ फुर्सत ? अनि सुरु भयो : , ; ,   ब्राकेटहरु (), P, D आदि इत्यादि मिलाएर विभिन्न खाले भावहरु झल्काउने सम्वाद गर्ने चलन । हुन त अचेल स्मार्टफोन वा कम्प्युटरका किबोर्डमा सिधै सयौंथरी इमोजीहरु हाल्न मिल्छन्, तर परम्परागत शैलीमा बानी परेकाहरुलाई आफ्नो बानी छाडन् कहाँ सजिलो छ र ?

केही बर्ष अघि मेरै गलफ्रेन्डले कयौं पटक <3 लेखेर पठाउँथिन्, तर आफुले त्यो भनेको पानको पात हो भनेर बुझे पो। अनि भेट भएपछि ” निरसिलो बोइफ्रेन्ड”को ताज लगाइदिइन् ,  अक्क न बक्क परियो । मोबाइलको किबोर्ड होस् या कम्प्युटरको अहिले त पानको पातदेखि चाक दुख्नेगरी हाँसेका वा हाँस्दाहाँस्दै आँशु खसेका, ह्वाँ ह्वाँ रोएका अनेकानेक इमुजी हो कि इमोजी आएका छन्। इमोजी नबुझ्ने मोबाइल कन्टुपर पर्‍यो भने तिरिमिरी झ्याइँ मात्तै होइन् बाउको बिहे प्याँपुँ प्याँपुँ नि देखिन्छ।

उत्तरआधुनिक पुस्ताका फेसबुक स्टाटस

विद्यार्थीकालमा अरबपतिको छोरा पनि अभावमै हुन्छ रे । प्राय: टेलिकम कम्पनीहरुले १६० क्यारेक्टरसम्मको SMS लाई एउटा मान्छन । तर १६१ हुने बित्तिकै दुइटा मेसेजको पैसा काटिने हुँदा सकेसम्म SMS लाई एउटैमा खाँद्न ठूलै घम्साघम्सी पर्छ, शब्दको व्यापक छाँटकाँट चल्छ । त्यसरि नै सुरु भएको हुन पर्छ रोमन नेपालीमा मेसेज/स्टाटस लेख्दा Chhu लाई XU लेख्ने वा You लाइ U मात्र लेख्ने ! उसो त यो चलन याहु र MSN म्यासेन्जरको दबदबा भएको बेलामा झन व्यापक भएको हो । ASL? (Age, Sex Location)  भनेर सुरु हुने याहु च्याट कपडा खोलाखोलसम्म पुग्थ्यो, यस्तै छोटा छोटा शब्दको बाटो हुँदै। भलै त्यो अहिले मर्‍यो, सक्यो । तर यो ट्रेन्ड यसरी तोडमरोड भयो कि अचेल +२ वा स्कुल लेभलमा पढ्ने केटाकेटीका मेसेज बुझ्न ठूलै कसरत गर्न पर्छ । मलाई moh र हुँदा हुँदा Amako Xoro Moh पनि प्रशस्तै देखिन्छन् । फेसबुकमा Employment मा “Tero baule jagir dincha ra kaam garne ” अरे ! अरु हेर्दै थुक सर्कने खालका हास्यास्पद ग्रुप Sala tesari nehar tero bhauju ho tyo, मिलाएर गरौं है आदि ।   हुन त जातीय रुपमा जिस्काएको जस्तो होला, तर आफैलाई I Do Group (मगर समाज) भन्नेहरू पनि यतै भेटिन्छन्  ।

सामाजिक संजालका केही जार्गन

अस्ति भर्खर एक जना कुन्नि के पेनर भन्ने मान्छेलाई सरकारले देश छाड्ने उर्दी जारी गर्‍यो। त्यसको पक्ष, विपक्षमा हामी चर्चा नगरौं । किनकी १२ थरीमा एकजना अतिथि लेखकले धमाका अङ्ग्रेजीमा त्यसको बारे लेखिसक्नुभएको छ। तर उसको निकालासँग एउटा शब्द बहुत चल्यो- ट्रोल । अब हेर्नुस् त्यसको नेपालीमा के हुन्छ कुनै भाषा विज्ञलाई नै सोध्न पर्ला, तर आशय खिसीटिउरी वा जिस्काउने भन्ने नै होला। हुन त यो शब्द पनि अलि पहिल्यैदेखि चलेको हो। ट्विटरमा पहिला फेक भनेर कुरा हुन्थ्यो, त्यस पछि छद्म भन्न थाले, अनि एक दिन एउटा पत्रकारले ‘सुतुर्मुर्ग’ शव्द ल्याए – जुन शव्दले ‘अनुहार लुकाएर कडा ट्विट गर्ने’ बुझाउँथ्यो । अझ यसलाई यसरी बुझौं- अंग्रेजीमा धडाधड लेख्न सक्छ भने त्यो ट्रोल, अंग्रेजी कनिकनी पढ्छ र नेपालीमा लेख्छ भने त्यो फेक। भन्दाखेरि, ट्रोलको नेपाली फेक रै’छ भनेर बुझ्न सकिने भो 😀 अनि यो Stalked भन्ने पनि छ अर्को । त्यस्तै Facepalm अरे।True that, I second that  जस्ता  फ्रेजहरु कसले पत्ता लगायो होला ? तर्क गर्दै जांदा आफुले जित्न नसकेपछि वाक्य को पछाडि . period. लेख्ने चलन कुन राजाले चलाएको होला ?

अचेल ट्विटरले एउटा पोल भन्ने फिचर पनि थपेको रैछ। कतिदिनसम्म मैले पनि P-O-L-E पोल माने खम्बा भन्ठानेको थिएँ। तर त्यो त भोट (POLL) पो र’छ। हरे….! उसै त सरकारी स्कुल पढेर चार कक्षामा अंग्रेजी सिक्या, त्यसमाथि दिनदिनै यस्ता नयाँ नयाँ जार्गन बुझ्दा बुझ्दै हैरान भइने भइयो।

नामको सत्तेनाश

रोमनमा लेखेर अनेकानेक म्यासेज गरे मात्र त पचाइएकै छ। तर अहिले त जमाना यस्तो आयो कि फेसबुकमा नाम देखेर त्यसको नाम के हो भनेरै पत्तो लगाउन मुश्किल पर्न थाल्यो। अंग्रेजी प्रतिको मोह हो कि आफूलाई अति आधुनिक देखाउन मन लागेर हो कुन्नि विचित्र विचित्रका नाम भेटिन्छन् फेसबुकतिर आजकाल। नाम छ लक्ष्मी तर लेखेको हेर्नुस् है -Lucks Mee! बिचरो अंग्रेजी पनि रुँदो हो ड्वाँsss ड्वाँsssss । लकमा s थपिँदा बिचरो लक आफू फक भएँ भनेर कति रुँदो हो। लक्ष्मी नाम त ठीकै छ, धन्न नेपालीमा सक्ष्मी नाम हुँदैन र अहिलेसम्म मार्का पारेको छैन, नत्र कति फसाद। हाँसौं कि रोऊँ झैं लाग्छ जब कार्की लेख्दा Car Key लेख्छन्। अझ फाल हानेर मरौं मरौं त त्यतिबेला लाग्छ जब नामै पढ्न जानिँदैन। एउटा उदाहरण- फेसबुकमा एउटा नाम भेटियो- Nar-oon Vakta Car-Key। मरेस् मुर्दार !

अन्तरङ्गका पाटा

साथीसँगीबाट यसो डिएम साटासाट गर्‍यो भने रमाइलो कुरा गर्न पाइन्छ भन्ने जानकारी पाएर एक दुइ जनालाई DM (Direct Message) गर्ने कोसिस पनि गरें। सन्चै छौ, चिया खायौ, आहा तिम्रा ट्विट/फोटा कति राम्रा भनुन्जेल त ठिकै हो, यसो अन्तरंग कुरा सुरु गर्ने बित्तिकै Creepy, STFU (Shut The F***  Up) भन्दै केटीले झपारेको कुरो अरुलाई के सुनाउनु भनेर त्यो नमिठो अनुभव कालकुट बिष पिए झै कति पिएँ पिएँ।

जसोजसो पण्डित बाजे उसै उसै स्वाहा…

१२ थरी टीममा भएसि एउटा फाइदा के छ भने कोही तरुनी वा नतरुनी, बाहिर बाहिर लोकाचार डिएमभित्र अत्याचार वा अन्य कसैले पठाएको सन्देश बुझिएन भने फुत्त १२ थरीको सम्पादक कक्षमा खसाल्दिनुपर्छ १ मिनेटमा त्यसको उत्पत्तिदेखि व्युत्पतिसम्म थाहा हुन्छ। तर सामाजिक सञ्जालाँ हेर्नपर्छ है, अर्थ थाहै हुँदैन तर अर्कोले लेखेको देखेसि आफू पनि सोहीपरि लेखिहाल्ने। उदाहरणका रुपमा sire लाई नै लिऊँ न। यसको अर्थ ‘सर’ हो झैं लाग्ने धेरै होलान्, हामीलाई नि यसै लाग्थ्यो। लास्टाँ sire भन्या त कमरेड पो है’च ए बाबा ठाकुरे। कमरेड भनेको बुझिएन? ‘साथी’ के साथी।

अन्तिममा, हामी बुढो हुँदै गएका छौँ, ईन्टरनेटको स्पिड र पहुँच पकेट पकेटमा पुगेको छ, नयाँ नयाँ ट्रेन्ड आउँछन् र कति पटक त हामीले बुझ्न नपाउँदै हराउँछ पनि। अब सोसियल मिडिया किन चाहियो भनेर त कसैले सोध्दैन होला – त्यसैले यहाँ टिकिराख्न Google गर्ने बानी बसाल्नु नै बेश हुन्छ। कुरा गर्दा गर्दै केही आइहाल्यो भने फ्याट्ट खोज्यो, अँ अँ, यस्तो भन्यो, अनि आफै दँग पर्‍यो। तर समस्या के छ भन्नुन्छ भन्देखुन्, oe k ta, ke xa khbr? sanchai 6s? भनेर म्यासेज गर्दा ओई केटा, के छ खबर? साँचै छस्? भनेर बुझिन्छ र पो मार पर्छ हन्मानजी !

Echo