१२ सत्ताईस पत्रकार

पत्रकार भनेका देशको चौथो अङग हुन, हो हामीलाइ थाहा छ। यिनको बारेमा हामीले सबैभन्दा पहिला लेखेर नै यो १२थरीलाइ सार्वजनिक गर्नु पर्ने थियो, त्यो थाहा हुँदाहुँदै पनि उनीहरुको बारेमा गरिने १२ सत्ताइस कुरामा कमी नआओस्, कोही नछुटुन् कोही नदोहोरिउन् भन्ने संकल्पलाई अङगिकार गर्न खोजेको कारणले गर्दा यो सन्दर्भ अलि पछि पर्न गयो। यसलाई सम्पुर्ण पत्रकार जगतले अन्यथा नलिइदिनु होला, हजुरहरुलाई नजरअन्दाज गर्नु हाम्रो उद्धेश्य कदापि होइन र यसबाट प्रेस स्वतन्त्रताको हनन हुँदैन भन्ने हाम्रो विश्वास छ।

आलु पत्रकार:

नेपाली पत्रकारितामा आलु पत्रकारको कुरा नगर्ने हो भने त्यो अपुरो हुन्छ। हामी त भन्छौं आलु पत्रकार र आलु पत्रकारिता भन्ने एक च्याप्टर विश्वविद्यालयको कोर्समै राख्नुपर्छ। यी पत्रकारको विशेषता भनेको न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट जस्ता ठुला मिडियाबाट सारेर नेपालीमा उल्था गर्ने र त्यसमा बाइलाइनै राख्ने। यिनीहरु आफुलाई इलाइट पत्रकार मान्छन्। पाठकले केही भने यीनको जवाफ हुन्छ- धाकै सही, पत्रकार भनेको ज्ञाता हुन्। यिनीहरुमा रहेको अर्को दम्भ के हो भने यी आफुमात्र अंग्रेजी जानेको र आफुले मात्र अन्तर्रास्ट्रिय मिडिया पढ्ने भन्ठान्छन् । यसका जन्मदाता कोही पलायण भइसके भने केही चाहिँ अहिले मिडिया बाहिर छन् तर यो प्रवृत्तिका पत्रकारहरु भने बजारमा छ्याप्छ्याप्ती छन्।

खाजा तथा फ्री ईन्ट्री पत्रकार:

यिनको सम्पत्ति भनेकै त्यही एउटा प्रेसको कार्ड हो। त्यो कार्ड कताबाट आउँछ भनेर सोध्ने हो भने सायदै थाहा होला तिनलाई। यिनीहरू दिनभरी समाचार बटुल्न बजारका गल्ली गल्लीमा हिँड्छन्। कहाँ के कार्यक्रम छ भन्दा पनि यिनीहरूको ध्यान कहाँ के खान पाइन्छ? त्यहाँ खाना, खाजाको कस्तो प्रबन्ध हुन्छ भन्नेमा हुन्छ। अथवा फ्रीमा के छ भन्नेमा हुन्छ। यिनका हातमा एउटा सानो डाईरी र एउटा डटपेन हुन्छ। भृकुटी मन्डप, रिपोटर्स क्लब हुन् वा तारे होटल, त्यहाँ आयोजना हुने कुनै पनि कार्यक्रम यिनीहरुले छोड्दैनन्, किनकी त्यहाँ प्रेसको पास देखाएर फ्रिमा खान पाइन्छ। यिनीहरु बिहान खाना नखाइ घरबाट निस्किन्छन् र बेलुकी पनि खाना खाएर मात्र घर जान्छन्। यिनीहरुलाई जुत्ता खोल्ने ठाउँमा इन्ट्री नदिँदा राम्रो।

ठर्रा पत्रकार:

यिनलाई पत्रकारिताको धेरथोर ज्ञान हुन्छ र काम पनि राम्रै गर्छन्, बर्षौ यही पेसामा संघर्षरत पनि छन्। तर ठर्रा भने पछि यिनको सुँघ्ने शक्ति कुकुरको भन्दा पावरफुल हुन्छ। कहीँ ठर्रा पाइन्छ भने पछि यिनले आफ्नो पेशा मर्यादा सबै बिर्सन्छन्। मालदार मान्छे भेट्यो भने नजिक हुन खोज्ने , खानपिनमा गोत्र मिल्ला जस्तो लाग्यो भने “के हो यार, कैलेकैले भेट्न परो नि” भनेर साखुल्ले पार्ने र कसैले भेट्न बोलायो भने आफुले उधारो खाएका बटालियन नै जाने यिनीहरुको बानी हुन्छ । आफुले आँखाको गेडी फुत्कुन्जेल धोक्ने, चन्डमुन्डलाई नि अर्काको पैसामा श्राद्देमा झै भुँडी चर्कुन्जेल खुवाउने र अझ नपुगरे घरमा बुढीलाई फुल्स्याउन खाको रेस्टुरेन्टबाट बिरयानी र चिकन चिल्ली पोको पार्न बाँकि राख्दैनन् । मेजमानी मन नपरे, त्यै ठर्राको नशाले नछाड्दै, अघि खाएको मासु छेस्काले कोट्याउँदै सामाजिक संजालमा आएर त्यै प्रायोजकको कुरो काट्न नि भ्याउँछन् !

नो ईट अल पत्रकार:

यी बिशेष प्रकारका पत्रकार हुन्। यिनलाई लाग्छ कि देशको तालाचाबी यिनकै हातमा छ। यीनीहरुले भनेको मान्ने हो भने यिनीसँग जति सुचना त गुगलसंग पनि छैन। राष्ट्रपतिको अफिसदेखि वडा अफिसका खबर यिनैसंग हुन्छ। सुरक्षा निकाय र सरकारी संयन्त्र यिनैका वरीपरी घुमेका छन् झैं गर्छन्। महिनौ तलब नदिने मिडियामा जागिर खाए पनि त्यो मिडिया मेरै हो भने झै फुर्ति गर्छन्। हाकिमले लात हानेर निकाल्यो भने ट्विटरतिर आएर मैले त्यो काम छोड्दिएँ भनेर आफै हल्ला गर्दै हिड्छन्, अनि हाम्ले पत्याईदिन पर्छ। यिनीहरु पटकपटक आफुले देशलाई भड्खालोबाट जोगाएको बखान गरिरहन्छन्।

एन जि ओ/ आई एन जि ओ पत्रकार

यिनीहरु पत्रकारिताको नाममा एउटा न एउटा एन जि ओ अथवा आई एन जि ओ समातेर बसेका हुन्छन्। यिनीहरुको निश्चित उदेश्य हुन्छ, उदेश्यबाट खासै बिचलित हुन्नन्। पत्रकारिताको नाममा डोनर खोजेर डोनरको पैसाले मोज गर्न पल्केका हुन्छन्। यिनिहरूले बेला बेलामा बिदेश भ्रमण पनि गर्ने गरेका हुन्छन्। प्राय जसो पहिला ठुलो मिडियामा काम गरेका पत्रकारहरू त्यहाँबाट निकालिएर अथवा निस्केर यस्ता संस्था खोलेका पनि हुन्छन्।

पिआर पत्रकार:

नेपालमा केही बर्ष पत्रकारिता गरेर पिआर खोज्दै युरोप, अमेरिका, अष्ट्रेलियातिर पलायण भएका अथवा कार्यक्रममा गएर उतै लुक्दै जसो तसो जिबिकोपार्जन गर्दै गरेकाहरु यो बर्गमा पर्छन्। देश र पत्रकारिता छोडेको दशकौं हुँदा पनि यिनिहरूमा पत्रकारको दम्भ भने अझै हुन्छ। फेसबुक ट्विटरतिर आफुलाई यसरी प्रस्तुत गर्छन् कि मानौं अझै पनि देशका कुना कुना पुगेर जनतालाई सुचना प्रबाह गर्दैछन्। र, यिनीहरु नहुने हो भने देशका लाखौं निमुखा भोकै हुन्छन्। उसो त भिसै नपाएर रोइकराई गर्ने पत्रकार नि नभएका हैनन् ।

दानावाला पत्रकार:

निश्चित समय र निस्चित एजेन्डाका लागि यिनीहरुलाई प्रभुबाट दाना पानी मिल्ने गर्दछ। यिनीहरु प्रभुका साह्रै नै भक्त हुन्छन्। दाना पानी मिलुन्जेल यी यति उफ्रन्छन् कि, उफ्रदा उफ्रदा आफ्नो कट्टुनै खुल्यो भने पनि मेसो पाउदैनन्। यहा प्रभुभन्दा ठुला कर्पोरेट हाउस र एम्बिसी भनेर बुझ्दा सजिलो होला। प्रभुको एजेन्डामा उफ्रेको देखेर कतिपटक त स्वयं प्रभु नै चकित पर्छन्।

ठेकदार पत्रकार:

ठेकदार पत्रकारहरु प्राय: जिल्लामा वा मोफसलमा काम गर्नेहरुलाई मानिन्छ। यी पत्रकारहरु आफ्नो पत्रकारिताको आडमा जिल्लाका प्राय: योजनाको ठेक्का आफु हात पार्छन्, कहिले आफ्नै नाममा त कहिले इस्ट मित्रको नाममा। जिविस, गाविस, नगरपालिकामा यी पत्रकारहरु ठेक्काको लागि ब्ल्याकमेलिंग समेत गर्ने गरेको १२ सत्ताइस ब्युरोले पत्ता लगाएको छ। यी पत्रकार हरेक साँझ जिल्लाका प्रमुख, प्रहरी प्रमुखहरुसँग बसेर फ्रिको रक्सी खान्छन् र ठेक्का हात पार्छन्। यीनलाई भाले पत्रकार पनि भन्न सकिन्छ। त्यो किन भने यीनीहरु एउटा भाले उपहार पाएका भरमा देसुकै पनि लेखिदिन्छन्। कतिसम्म भने यिनीहरु कहिलेकाहीं गुगल म्यापको प्रयोग गरेर चोरी गर्दै गरेको प्रत्यक्ष पनि देख्छन्।

कार्यकर्ता पत्रकार: 

यसको बारेमा १२ सत्ताईस ब्युरोले लेखिराख्नु जरुरी देखिएन, कसैलाई थाहा छैन भने कमेन्टमा लेख्नु होला, त्यतै जवाफ दिउँला। तर यत्ति भनौं, यी जसका कार्यकर्ता हुन्छन् स्वयं त्यो मान्छेले पनि नजानेरा कुरा उसले भनेको भनेर यी पत्रकार समाचार लेख्छन्।

फेसबुके पत्रकार:

यी खासमा पत्रकार हैनन्। तर आफ्नो फेसबुकको स्टेटस यसरी लेख्छन् कि मानौं उनीहरु रास्ट्रिय दैनिकका सम्पादक हुन्। यिनिहरूको टोल छिमेकमा आगो लाग्यो भने आगो निभाउन जानुभन्दा पहिला फेसबुकमा स्टाटस राख्न हतार हुन्छ। “आज मिति फलानो दिन, फलानो जिल्लाको ढिस्कानो गाबिसको ढिस्कानो गाउँमा भिषण आगोलागी भएको छ। अहिलेसम्म सरकारको उपस्थिती सुन्य छ, गाउलेहरू घरबार बिहिन भएका छन्”। अनि कसैले हलो जोत्दा जोत्दै अल्ली लामो सर्प भेट्यो र मार्यो भने.. “फलानो गाउको फलानो ज्युले हलो जोत्दा जोत्दै, यति मिटर लामो जस्तो देखिने सर्प भेटेर मारेका छन् तथापि उनी सर्पको टोकाईबाट बचेका छन्। उक्त मरेको सर्प हेर्न गाउलेहरूको भिड लागेको छ।” यस्तै यस्तै मार्काका हुन्छन् यिनीहरूका समचार। अनि भ्यालेन्टाईन देखि नागपन्चमीको शुभकामना फेसबुकमा दिन यिनलाई नै हतार हुन्छ।

र  ऋषि धमला: 

नेपाली पत्रकारितामा सबै पत्रकार एकातिर ऋषि धमला एकतिर राख्ने हो भने पनि धमलाकै पल्ला भारी हुन्छ। यीनको बिशेषता बयान गर्न हजार जिब्रा भएका शेषनाग नै चाहिन्छ, हामी सक्दैनौं।

अन्य कुनै पत्रकार छुटे जस्तो लागेमा कमेन्टमा लेख्नुहोला।

 

8 thoughts on “१२ सत्ताईस पत्रकार

  1. पत्रकारहरूको बारेमा लेख्दा उदाहरणमा नाम सहित लेखिनुपर्थ्यो । नाम सहित नलेख्दा बाहिरबाहिर आरोप लगाउने भित्रभित्र साखुल्ले पल्टने प्रवृत्ति लेखमा पनि देखियो । जस्तै आलु पत्रकार भनेपछि आशिष लुइँटेल लेखेको भए के बिग्रन्थ्यो । पिआर पत्रकारमा अनन्त कोइराला, अनमोलको नाम लेखिदिएको भए केही जान्थ्यो ? हजुरहरू जस्तो निर्भिक ब्लग कर्मीहरूले डराएको कत्ति सुहाएन ।

  2. खोइ त हामी कुन वर्गका पत्रकारमा परेम् भन्ने नै थाहा भएन । १२खरीको यो लेखमा त हामी जस्ता पत्रकारलाई कतै पनि स्थान नदिएर पत्रुकार पो बनायो । 😀 😀

  3. थाहा छैन कुन प्रयोजनको लागि यसरी पत्रकारको अपमानित कुरा लेखिएको हो । यसको कुनै अर्थ छैन । विभिन्न उपमा दिएर पत्रकारको वर्गीकरण गर्न सक्नेहरुले त्यसको निराकरण पनि गर्न सक्नु पर्दछ । उपमा दिएर आफ्नो पेशाको अपमान हुन्छ । सम्मान गर्न सकिँदैन भने अपमान गर्न पनि मिल्दैन । नेपाली पत्रकार रक्स्याहा छन, खानको लागि जान्छन्, एनजीओ आइएनजीओदेखि पार्टीको कार्यकर्ता भएर लेख्छन् भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि त्यसको निराकरणको लागि पत्रकार समृद्ध पत्रकार, आत्मनिर्भर पत्रकार, पेशा र व्यवसायको सम्मान गर्ने पत्रकार, जवाफदेही र जिम्मेवार पत्रकार बन्नुपर्दछ भन्ने विषयलाई प्रभावकारी रुपमा लिएर उनीहरुलाई आर्थिक रुपबाट, सामाजिक रुपबाट दर्बिलो बनाउने उपाय निकाल्ने हो भने कति गर्भिलो पेशा हुने थियो, १२ थरिका पत्रकारको उपमान आधाभन्दा बढी घटेर पक्कै जानेछ । अनि ऋषि धमलाले पनि लेखकलाई दानापानी दिएको भरमा चाकडी लेख्नुपर्ने भयो कि कसो ? नत्र ऋषि धमला पनि त्यही पत्रकार हो जसले उस्तै पत्रकारिता गरिरहेको छ भलै सानो र ठूलो मिडियाको पहुँचमा उ ठूलो र फराकिलो मिडियामा काम गर्ने अवसर पाएको छ त्यति मात्र हो ।

Comments are closed.

Charlie