पुर्नस्थापाना केन्द्र नेपाल

कुरो के भन्देखुन् – खाली दिमाग शैतानका घर। जब मान्छे बेरोजगार हुन्छ, तब उ मन बहलाउन विभिन्न गतिविधिमा संलग्न हुन्छ। अन्त्यमा तिनै कृयाकलापमा उ यसरी लिप्त हुन पुग्छ कि उसलाई त्यहाँबाट हिलोमा फसेको गाडीलाई क्रेन लाएर निकाले जसरी निकाल्न पर्छ। यस्तै मान्छेलाई टार्गेट गरेर अचेल विभिन्न पुनर्स्थापना गृह (Rehabilitation Center), जसलाई छोटकरीमा ‘रिह्याब’ पनि भनिन्छ खुल्ने क्रम बढेको छ। हामीले देखेका रिह्याब भनेको मुख्यतया: ड्रग्स र रक्सी छुटाउने हो, तर १२ थरीको सामाजिक ब्युरोको अध्ययनमा वर्तमान परिप्रेक्ष्यमा यस बाहेक पनि अन्य धेरै खालका रिह्याबहरुको आवश्यकता महसुस गरियो।  कसैलाई कुन बिज्नेसमा पैसा हालुम् भनेर हात चिलाइरहेको छ भने यसबाट आइडिया लिन सक्नुहुनेछ है।A_rehab

चुरोट रिह्याब

जे कुरा सर्वस्विकार्य हुन्छ नि, त्यसको प्रयोग पनि व्यापक हुने र’छ। सुरु सुरुमा पोज दिन वा टेन्सन भयो भनेर सर्को लिन थालिने चुरोटको लत कसरी बस्छ भन्ने कुरा त चुरोट खाने पाठकलाई भनिराख्न नपर्ला। हुन त चुरोट, रौसी छाड्ने भन्ने रिजोलुसन हामी नयाँ बर्ष, दशैं-तिहार, बर्थडे, न्यू इयर नबिराइकन गर्छौं, तर त्यो लामो टिक्दैन। सायद त्यसैले कसैले भनेका छन् – चुरोट छाड्न निकै सजिलो हुन्छ; मैले धेरै चोटि छोडिसकेको छु। हुन त चुरोट छाड्न पनि के रिह्याब बस्नु भनेर सोच्नुहोला।

जब कसैलाई बिहान एक चुरोट नहानेसम्म प्रेसर आउँदैन, बुझ्नुस् उसलाई चुरोट रिह्याबमा राख्ने बेला भयो। खाना खाएपछि बरु पानी नखाए केही हुँदैन तर चुरोट नखाए उठनै सकिँदैन भनेसि रिह्याबै चाहियो।

रौसी रिह्याब

यो रौसी भन्ने जात के हो भन्दा बानी नलागुन्जेल साथीले पैसा तिरीतिरी खुवाउछन्, तर जब बानी लागेर आफूले जाम खान भन्ने दिन आउँछ, त्यसपछि आफ्नै गोजी चिलाउँछ। सुरुमा खुवाउने साथीलाई नि राम्रोसँग था’ हुन्छ, यसलाई बानी पार्न पाए, आफ्नो पैसो बच्थ्यो भनेर। तब त जे भए नि बहाना खोजी खोजी, एक घुट्की खाइ न दुई घुट्की खाइ न भनी भनी बानी पार्दिन्छन्। रौसी खानेहरुले हरेक बिहान उठ्दा टाउको समात्छन्। अनि भन्छन्- त्यो अन्तिम थियो, अनि त दिम्सो फ्याट्ट पानी पर्दिन पर्छ, लौ मौसमले च्यालेन्ज गर्यो भनेर सुरु भइहाल्छन्। लास्ट पेग लास्ट पेग भन्दै बोत्तल नै तुर्छन्। अनि फेरि भोलिपल्ट काममा जाँदा टाउको समाउँदै जान्छन्।

हुँदाहुँदा यस्तो समय आउँछ कि हरेक दिन एक दुई पेग नलगाई निद नै नआउने हुन थाल्छ। तब बुझ्नुस्, यो रौस्यालाई नि रिह्याब चाहियो।

मोबाइल रिह्याब

दिसा गर्न जाँदा पनि मोबाइल बोकेर जाने कोही देख्नु भयो भने मान्नुस्, उसलाई मोबाइल रिह्याबमा हाल्ने बेला भयो। मोबाइल रिह्याबमा कस्ता व्यक्ति जानु पर्ने हुन्छ भने,कति बज्यो घडी हेर्छु भनेर मोबाइलको स्क्रिन अन गर्ने तर घडी भन्दा पहिला केही नोटिफिकेसन छ कि चेक गर्ने। ट्विटर फेसबुकका नोटिफिकेसन हेरेर स्क्रिन बन्द गर्ने, अनि झल्यास्स सम्झिने- लाऽऽ मैले स्क्रिन अन गर्‍या त घडी हेर्न पो हो भनेर। अनि फेरी स्क्रिन अन गरेर घडी हेर्ने।

तपाइँहरुको बानी शौचालयमा मोबाइल बोकेर जाने त छैन नि? सुनिन्छ- धेरै मान्छेहरुले शौचालयमा मोबाइल लगेर खसालेका पनि हुन्छन् प्यानमा। अनि प्यानबाट निकालेर चामलमा घुसाउँछन् रे पानी सोस्न। अनि त्यही चामल पनि खान्छन् होला। अब भन्नुस् , यस्तो बानी परेको छ भने उक्त व्यक्तिला‌‌ई मोबाइल रिह्याबको जरुरत परेको हो कि हैन?

सामाजिक संजाल रिह्याब

हुन त संसारका कुना कुनामा छरिएर रहेका मानिसहरुलाई नजिक बनाउन सामाजिक संजाल बनाइएको भन्छन् यसका आविष्कारकर्ताहरु। तर हामीलाई के लाग्छ भने यस्ता साइटहरुले मानिसलाई असामाजिक बनाइरहेको छन्। अब घरका मान्छेहरुसँग बसिरहेको बेलामा पनि यसको लत लागेका मान्छेहरु मोबाइलमा कुटुकुटु सामाजिक संजालका साथीहरुसँग च्याट/इन्टर्याक्ट गरिरहेका हुन्छन्। ताज्जुबको बात के छ भने सबसे धेरै यस्ता सामाजिक संलालमा भेट हुने साथीहरु भेट नै भए पनि उनीहरु एक अर्कासँग खासै धेरै बोल्दैनन्।

जब आफ्नो घर, परिवार, नातागोता, इस्टमित्रसँग बातचित, भेटघाटभन्दा बढी मोबाइल वा कम्प्युटर खोलेर सामाजिक संजालमा हराउन थालेपछि बुझ्नुस् यो मान्छे असामाजिक भयो। यसको नशा लागेका व्यक्तिहरु यतिसम्म एकोहोरा हुन्छन् कि घरको बैठकमा सपरिवार बसेर गफ गरिरहेकाबेला यिनीहरु भने मोबाइलमा हेर्दै आँफै एक्लै हाँसिरहेका, रोइरहेका वा कराइरहेका भेटिन्छन्। यस्ता व्यक्ति मोबाइल रिह्याबका लागि योग्य उमेदवार हुन्।mobile

 इन्टरनेट रिह्याब

खासमा यो बुदाँ दोहोरिए जस्तो लाग्यो, मोबाइल र सामाजिक सञ्जालवाला बुदाँले नै कभर गरे हुने भन्ने लाग्ला। तर इन्टरनेट भनेको सोसियल मिडिया मात्र त हैन नि, त्यहाँ फोरम हुन्छन्, विभिन्न खाले अरु साइटहरु हुन्छन्, कथाहरु हुन्छन् कविताहरु हुन्छन्। अरु नि हुन्छन्। झन बल्ग्रेती खुलेका मोडल प्रर्दसन गर्ने साइटहरुको त कुरै नगरुम्, कोरली कोरला मोडलहरु आइरहेका हुन्छन्, हग्ने बेला कने जस्ता पोज भ’का फोटाहरु हुन्छन्। अब यो वर्गमा को पर्छन् भन्नोला, जो अन्तरक्रिया गर्न रुचाउदैनन्, मात्र सर्फिङ्ग गर्न रुचाउँछन् तिनलाइ यो गुरुपाँ हाले हुन्छ। दिनमा एकचोटी आफुलाई मन पर्ने विधावाला कुरा इन्टरनेटमा नहेरी निद्रा नलाग्नेहरुलाई यो विधामा हालिएको छ भन्दा अत्युक्ति नहोला।

यौन रिह्याब

समाजमा कतिपय मान्छेहरु यस्ता हुन्छन् जसको दिमागमा जतिबेला पनि यौनमा मात्र चासो हुन्छ। बाटोमा कोही केटी मुसुक्क हाँसी भने पनि यी यौनरोगीले घ्युको लड्डु मनसित खान थाल्छन्। (मनको लड्डु घ्युसित खाने उखान पुरानो भयो, हुनुपर्ने घ्युको लड्डु मनमनै खाने नै हो) यिनीहरुको सारा ध्याउन्न यौनमा मात्र हुन्छ। कतिसम्म भने यिनीहरु टेलिभिजनमा समाचार हेर्दा पनि समाचार नहेरी समाचार भन्ने प्रस्तोतालाई हेरेर लड्डु चपाइरहेका हुन्छन्। रेडियोमा समाचार सुन्दा पनि सोही क्रम दोहोरिन्छ। इन्टरनेटमा मोडलका फोटा हेर्दै जय हस्तनारायण भन्दै दिन कटाउँछन्। यस्तालाई यौन रिह्याबमा राख्नुको विकल्प छैन भनेर ऋग्वेदको २४५औं श्लोकमा लेखिएको छ।

लभ/डेटिङ रिह्याब

एउटा गर्लफ्रेन्ड/ब्वाइफ्रेन्डसँग ब्रेकअप हुन पाएको छैन अर्को खोज्न सुरु गरिहाल्ने, जतिबेला पनि लभ, डेटिङकै कुरा गरिराख्नेहरुलाई यो रिह्याबको आवश्यकता पर्छ। यिनीहरु कस्ता हुन्छन् भने जतिबेला पनि प्रेमका, वियोगका, मायाका कुरा गरेर रोइराख्छन्। भात खाँदैछन् भने यिनीहरुको ट्विट वा फेसबुक स्टाटस आउँछ- ‘तितेकरेलाको तरकारी खाँदै गर्दा तिमी याद आयौ, मायालु, तिमी यति तितो नबन ल।’ अचम्म त के छ भने यिनीहरुले डेटिङमा यदि किस मात्र गरे भने पनि त्यही किसलाई सम्झेर बर्षौं बिताइदिन्छन्। यिनीहरु यो लभ/डेटिङको नशामा यति नराम्रोसँग फसेका हुन्छन् कि एकदिन कसैसँग डेटिङ जान पाएनन् भने यिनीहरुलाई इन्सोमेनिया हुन्छ, रातभरी रोइरहेका भेटिन्छन्।

मुख छाड्ने रिह्याब

यो वर्गमा मुजीहरुलाई चाहिँ मुखमा टेप लगाइदे’र रिह्याबमा राख्नपर्छ। जाँठाहरु, सुन्दै रीस उठ्छ भन्या। यिनीहरु जे बोले नि त्यसमा एउटा न एउटा नराम्रो शब्द घुसाइहाल्छन्। बस, माइक्रो, सार्वजनिक ठाउँ, पार्क, बाटो- जहाँसुकै भए नि ठुलोठुलो स्वरमा मुजी, मा**नेजस्ता शब्द बोलिरनुपर्छ यी झाँटहरुलाई। बोलीपिच्छे मुख छोड्छन् यीनीहरु। त्यसले काम छोडेछ, कता जान लागेछ भनेर कोही साथीका बारे सोध्नुस्, यिनीहरुको जवाफ यस्तो हुन्छ- ‘त्यो मुजी, र**को बान, म्याच्चिस्, शान दिन्छ। कसले काम दिन्छ त्यो मुजी झाँटलाई। ठुलो पल्टेको मात्र हो, त्यो झाँट हो, झाँट।’

तपाइँले कोही यस्तो मान्छे भेट्नुभएको छ वा तपाइँकै ग्रुपमा नि यस्तो मान?छे छ भने कृपया यिनीहरुलाई रिह्याब पुर्‍याइदिनुहोला।

‘बिग टक’ रिह्याब

मुख छाड्ने रोगीहरुभन्दा खतरनाक बानी भएकाहरु। ठाउँ न ठहर ठूल्ठुला कुरा फ्याँक्ने। बजारमा देखे, भेटेका हरेक मान्छे चिनेको मात्र हैन, तीसँग रौसी, चिया, सेकुवा यतिसम्म कि केटीसमेत शेयर गरेको गफ दिन भ्याउनेहरुलाई यो रिह्याबको आवश्यकता छ। यो नशामा परेका मान्छेहरुले साना कुरै गर्न जान्दैनन्। पैसाको कुरा गरे करोड भन्दा कमका गर्दैनन , राजनीतिका कुरा गरे सिधै मन्त्री वा प्रधानमन्त्रीसँगका किस्सा शुरु गर्छन्। पत्रकारका कुरा गर्नुस्, सबै सम्पादक यिनका साक्खे लगौंटिया, ती मुला भारेभुरे पत्रकार त यिनकै सोर्स पाएर जागिरे भएका। इन्टरनेट आइएसपी, फोन कम्पनी, मोबाइल पसले, राजश्व विभागदेखि अस्पतालका हाकिमहरु सबैसँग यिनको लन्च, डिनर चल्छ।

पलायनवादी सोचको रिह्याब

एउटा खुट्टा तिनकुनेमा अर्को खुट्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेर हिँड्नेहरुलाई यस्तो रिह्याबको खाँचो छ। कसरी हुन्छ देश छोडेर हिँड्न पाइयोस। भनेर अनेकौँ तिकडम लगाउने, दलाललाई पैसा दिदाँ दिदाँ घरखेत मास्नेहरु यो वर्गमा पर्छन्। यिनीहरुमा पलायन हुने नशा यतिसम्म हुन्छ कि सपनामा समेत यिनीहरु बर्बराइरहेका भेटिन्छन्- स्याला, अब त ५ दिन मात्रै छ यो नेपालमा हल्लिन, त्यसपछि त हुइँय्य हुँइकिने हो अम्रिका।

र, अन्त्यमा,

सेल्फि रिह्याब

यसको बयान गर्न त स्वयं चारमुखे ब्रम्हाजी नै चाहिन्छ। विशेषगरी युवतीहरुमा यो रोग व्याप्त छ। कपडा लगाउँदै गर्दा, लिपिस्टक लगाउँदै गर्दा, ट्वाइलेट जाँदै गर्दा, ट्वाइलेटको प्यानमा बस्दा, भात पकाउँदा, भात पस्किँदा, भात खाँदा जत्तिबेलै मुख चुच्चो पारेर थालिहाल्ने। कुनै राम्रो ठाउँमा घुम्न जाँदा त्यो ठाउँको कम तर आफ्नो कुच्चेको अनुहारको ज्यादा फोटो खिच्नेहरु यो वर्गमा पर्छन्। यिनको बारेमा धेरै नलेखौं, किनकी भरे भात खान नपाइने सम्भावना प्रबल रहन्छ।

Charlie