बाह्र सत्ताईस नातो

उसो त म लेखनीमा त्यति  ढंग पुग्नी मान्छे हैन । हैन मात्रै नभनम्, हुँदै होइन । परिक्षामा तीन घण्टा लेख्न पर्दा आत्तिएर ६ पटक पिसाब फेर्न निस्कन पर्ने प्राणी मै हुँ। यति लेखिसकेपछि मलाई त चिन्नु भयो होला क्यारे। नचिने बालै फरर।

अब मुख्य मुद्धामा आम्। चुरो कुरो के त भन्दा भुईफुट्टा नेपालीले अमेरिकाको चुनाव गरेर पनि भ्याए, जीतको मुखैमा पुगेकी बिचरी हिलारीलाई पनौति लगाइदिएर भए पनि ट्रम्प दा’ आँच्या डोनाल्ड ट्रम्पलाई जिताई छोडे।

-ओई के बकवास सुनाईरा’ ? यहि हो मुख्य कुरा ?

-पख्नुस् न पख्नुस् । कति हतारो हो ? त्यति हतारो नै भएका भए तपाँईले १२ थरी खोल्नु नै हुन्थेन होला, कि कसो ?

– ह्या यस्ता मुलाको कुरा कसले सुनोस् ?

– ल ल म चुरो कुरो मा आएँ के बन्द नगर्नुस् न ।

सुन्नोस्….. कुरो के त भन्दा टट्टु नेपालीको एउटा नराम्रो बानी – नाता नलाई नहुनी ! र, अर्को त्यस्तै पाकेको फर्सी कुहिए जस्तो बानी – “नाता नलाई बोल्न आउन्न कि के  हो? ” भन्नी । आम्नोस् नेपालीले लगाउनी १२-२७ नातोको चर्चा गरौँ ।

दाइ

b_kw4mvuqai5bz7झ्याप्प दारी पालेको हेर्दा केही उमेर घर्के जस्तो कोही (उमेरमा चाहिँ होस् कि नहोस्) देखियो, भेटियो भने बोलचाल नै दाइ नातो लगाएपछि मात्रै हुनी चलन बिक्रमादित्य राजाका पालाभन्दा पहिलादेखि नै चलेको इतिहासमा उल्लेख नै छ। नराम्रो चलन त कहाँ हो र ? तर आजभोलि सामाजिक सञ्जालमा केही युवालाई चैं कसैले दाइ भन्यो भने ‘मेरो त जीवन नै बर्वाद भयो, घरबार पनि नहुने भयो’ जस्ता लक्षण देखिने ‘सिंगलतारे’ रोग नै लाग्न थालेको छ। यसका विरुद्ध अगुवा युवा समूहले मोहोडामा ‘दाइ नभन्नु ल’ र पिछवाडामा ‘दाइ होला तिम्रै बोइफ्रेन’ प्रिन्ट गरिएको वस्त्र धारण गर्न थालेका भेटिन्छन्। केटाले यसरी तर्किने, झर्किने गर्न थालेपछि  केही चेपारे घस्दै दाज्यै भन्दै आउन थाल्याछन् भने कोइ चाहिं लाडिँदै नामको लास्टाँ दा थप्दै  साइनो  गाँस्न थाल्या छन्। अनि यी दाइ होला तिम्रै बोइफ्रेन भन्नेहरु पनि दाज्यै वा दाभन्नेसँग चाहिँ खुशी रहने स्रोत दाबी गर्छ। ३ करोड नेपालीले नै यसरी दा भन्ने शुसिलदा त परमधाम भैसक्नु भो र त्यसपछि त्यति सर्वमान्य दा सार्वजनिक जीवनमा आउन सकेका छैनन्। तर आदत् से मजबुर चेपारेहरु भारतका राष्ट्रपतिदेखि नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई समेत दा जोडी नातो लगाउन भ्याउँछन्, प्रणव दा, डोनाल्ड दा भन्दै।

दिदी

जसरी पुरुष लक्षित छुरा वचन ‘दाइ’ प्रहार हुन्छ त्यसरी नै महिला लक्षित शब्दबाण हो दिदी ! भलै दाइ जस्तै बिषालु नभए पनि आफ्नै दामलीले दिदी भनिदिँदा ङिच्च हाँस्ने दिदी पनि प्रशस्तै हुन्छन्। अब दिदी नै भने पनि लव पर्न सक्छ, घरबार हुन सक्छ भन्ने बराल्नी हिरुनीले छर्लङ्ग पारिदिएर पनि हुन सक्छ ‘दिदी नभन्नु ल’ वस्त्र धारण गरेका मातेहरु देख्न चाहिँ परेको छैन।  सामाजिक अवलोकनमा के देखिन्छ भन्देखुन्, काठमाडौंका रैथाने नेवार महिलाहरु यो दाइ/दिदीको नातो लाउन सबसे माहिर हुन्छन्। यस्तो लाग्छ, मानौं वहाँहरुको शब्दकोषमा भाइ/बहिनी भन्ने शब्द नै छैन। ३ टा बच्चा पाइसकेकी पसल्नीले पनि भरखर क्याम्पस पढ्न थालेकी षोडषीलाई दिदी भन्दिन सक्छन्। त्यसका अलावा मधेसी मुलका (अंगिकृतका आकांक्षी छिमेकीहरु पनि हुन सक्छन्)  तरकारी/फलफुल बेच्नेहरु पनि ‘लौ यतिमा लानुस् दिदी’ वा ‘तेतीमा त मिल्दै मिल्दैन’ भन्दै सिधै सम्मान प्रकट गर्छन्।

अंकल-आन्टी

तेरा घराँ काँग्रेस-कम्निष्ट पसोस् भन्दा पनि बेइज्जती गाली वाला नातो हो अंकल-आन्टी। तँ प्रचण्ड होस् वाला गाली भन्दा चाहिँ अलिकति सानो। कन्चेटका रौँ उमेरले भन्दा पनि तनावले फुलेर क्या दिमाग खराब भै राखेको हुन्छ त्यहीँमाथि अंकल-आन्टी भन्दिन्छन्, अनि त शरीरमा भए भरका रौँ (आफ्ना जहाँ जहाँ छन् ती सबै सम्झिनुस्) पनि रिसले फुलेर ढपक्क हुन्छन्। यो अंकल-आन्टी सुन्न भन्दा त बरु दाइदिदी नै ठिक लाग्छ कैलेकाहीँ।

सार्वजनिक गाडीमा यात्रा गर्दा सबैभन्दा बढी लाग्छ यो नाता, अंकल/आन्टी भाडा मिलाउनुस् त, अंकल/आन्टी अलि भित्र सर्नुस् त, अंकल/आन्टी तपाईको झोला अगाडि सार्नुस् त आदि इत्यादि।उसो त हामीले हाम्रा सन्तानहरुलाई पनि त्यसरी नै ट्रेन गरिरहेका हुन्छौं – लु बाबु, फलाना अंकललाई नमस्कार गर, फलानी आन्टीलाई चुम्मा गर। नानीदेखि नै यसरी बानी लाइदिए पछि कहाँ सुध्रोस त पछि !!

मामा

कसैलाई लाइन मारम् न त भनेर, “हेल्लो मुइयाँ !! ” भन्दा झ्याप्प ला’र जवाफ – “आच्याँ मामाले पो जिस्काउनु भा रच” पाएकाले जनै अपसव्य बनाउनुस्। अब यो मामा-काका नातो लाउने तपाईको सहोदर भान्जा/भान्जी, भतिज/भतिजी त अक्सर हुन्नन्, त्यै पनि नातो लगाउनीले मावली गाउँको, आसपासको, जिल्लाको, अञ्चलको भनेर पनि लाइदिन्छन्।  ठाउँ त्यता परेनछ भने ठ्याक्कै मेरा कान्छा मामाको-काकाको अनुहारको त भन्दिछन् ।अथवा मेरा मावली पनि हजुरकै थरका हुन भनेसी त कसैले नाइ नास्ती गर्ने ठाउँ पनि पाएन । ‘ATM प्रयोजनको लागि’ अँधबैंसे बुढाहरुसँग चोचोमोचो जोडेका टाँठा मैंयाहरुले कोठामा तेस्ता पातकीहरुलाई बोलाउँदा लाउने नाता पनि मामा नै हुने गर्छ रे । तेसका अलावा यो नातो सेक्युरिटी गार्डहरुको ट्रेडमार्क पनि हो । होस्टेलको गेट बन्द भैसकेपछि दारु लिन निस्कदा होस वा पार्किङमा राखेको सवारी पैसा नतिरी निकाल्दा होस्, ओहो मामा’ भनेर साखुल्ले पारेर धेरै काम पट्याउँछन् केटाहरुले पनि । झोलीका देउताले आमाका दाजु भाइलाई लाउने पवित्र नाताको यसरी बदनाम भैराछ अचेल हेर्नुस । हुन त   के छ र नाता लाउनमा ? मिटर घुम्नी हैन, विल बढ्नी हैन । अब जनै सब्य बनाउनुस् ।

ठूल्बा-ठुलीयाँ

ल आयो है तात्तातो नातो । ठूल्बा/ठूलीयाँ !! चाप्लुसीवालाले कोही ठूलै पदमा आसिन मान्छेसँग नातो जोड्न पर्यो भने पुरुष भए ठूल्बा महिला भए ठूलीयाँ जोडछन् । याद गर्नु भो होला नि ? अमेरिकी चुनावको आसपास ट्रप ठूल्बा, हिलारी ठूलीयाँ भन्दै चिप्लो घस्दै गरेका बेसारेहरु । अँ साँच्ची, ठूल्बा-ठुलीयाँ को सिद्धान्त ऐजन ऐेजन कारण र प्रयोजनको निम्ति ठूल्बाको कान्छो भाइ र ठूलीयाँकी ठूलीकान्छी बहिनीमा पनि हुन्छ !!! सान्बा-सानीयाँ  भन्या के ।

बा-आमा

हैन, बा-आमा वाला नाता पनि पनि लगाइन्छ र ? किन नहुनु ? बा-आमा आफूलाई जन्म दिने मात्रै रहेनन् के । साखुल्ले पल्टिन बा-आमा भन्नीको कहानी नै बेग्लै हुन्छ । उमेरको मतलब नि हुन्न ! बस् नातो घुसाउन मिल्नी वातावरण हुनपर्यो, झयाप्पै घुसाइदिन्छन् । पंक्तिकार स्वयंले  भोगेको घटना शेयर गरिहालौं।
एक पटक बिरामी कुरुवा बस्दा एउटी हृष्टपुष्ट छोटो कदकि बिरामी महिला अर्को बेडकी बिरामीलाई बोलाउन जान्छिन्। अर्को बेडकी बिरामी महिला देखिन चाहिँ हजुरआमा उमेर कै देखिन्छिन् । पहिलो बिरामी महिलाले  ति अलि बुढी देखिनेलाई  “आमा हजुरलाई के भएको हो ?” भनेर सोध्छिन् । आपसमा बार्तालाप पाँच मिनेट भन्दा धेरै हुन्छ । पछि कुरा खोल्दै जादाँ हजुरआमा देखिएकी महिला त हृष्टपुष्ट महिला भन्दा पाँच साल कान्छी पो रैछिन्  त । भो अब ?? हामी नेपालीलाई नातो जोड्न पाए केही चाहिएन प्रभो ।

बाबा

१. मेरो बाबाले डायमण्ड रिङ किनिदिनु भाछ ।
२. मेरो बाबाले त सिंगापुर घुमाएर ल्याइस्यो ।
३. मेरो बाबा अफिसबाट आउने बेला भो ।
४. बाबा सुनन, बिस्नेकी दुल्है वानपिस लगाएरै आकि थिइ नी ।

माथिका सम्बोधनहरु खासमा ‘गृहमन्त्री’हरु द्वारा आफ्ना बा’का ज्वाँईहरुलाई गरिएका हुन् । नकचरी आईमाईहरुले पोइको नाम काढ्न हुन्न भनेर सुरु गरेको क्रान्तीपछि स्थापित नातो हो यो ! कालान्तरमा यो क्रान्तीले आफ्नै बाबालाई चाहिँ बाउ अथवा सुड्डोमा घटुवा गरेर राखिदिएको छ । आईमाई त नकचरी भए नै, जोइटिङग्रे तुन्तुरावाला नमुनाहरुको पनि कमि छैन बजारमा, जसले झ्याँईझ्याँई बाजा बजाएर ल्याएकी आफ्नै स्वास्नीलाई ममि भनेर मर्छन ! स्वाँठ, अधमहरु । अचम्म, यस्ता लवस्तरा नकचराहरु आफ्ना छोराछोरीलाई नाति-नातिनि भन्दैनन् फेरी ।

गुरु

के तपाईले नातो लागाउने कुनै शब्द भेट्टाउनु भएन ? एउटा गज्जब नाता छ – गुरु चेलाको । हुन त अज्ञानतारुपि अन्धकारलाई हटाउन ज्ञानको ज्योति दिने व्यक्ति हो गुरु । परापूर्वकाल देखि सकेसम्म योग्य व्यक्तिलाई गुरु मानेर ज्ञान लिइदै आइएको हो । एकलब्यले द्रोणाचार्यको प्रतिमालाई नै गुरु मानी ज्ञान लिएको पढेकै-सुनेकै छौँ । अब गुरु शब्दलाई नातामा बदलौँ। हुन त भारतीय हाँस्य कलाकार नवजोद सिह सिद्दुको ‘ओ गरु छागए गुरु, चक्दे फट्दे’ को प्रभावले होला “गोरु” भन्न पनि नसुहाउने स्वाँठहरुलाई गुरु सम्बोधन भएको हामीले देखेकै छौँ । दिल निसानी मगर र अँध्यारो दिमाग भएका एकदुईजना अरुलाई पनि गुरु सम्बोधन भएकै छ क्यारे ।

र अन्त्यमा

सर

(यो चाहिँ खासमा नाता होइन)

बहुसख्यंक नेपालीको प्रिय सम्बोधन हो सर । घर बनाउने सिकर्मी, डिकर्मी, चौबाटोमा उभिने ट्राफिक प्रहरी, बसका ड्राइभर खलासी, नुनतेल पसलको साउजी जसलाई भए पनि, सर भन्दिन पर्छ, यसै मख्ख पर्छन् । त्यति मात्र कहाँ हो र घर फोर्न आएको चोरलाई समेत “सर… तपाई त चोर्न नआएको भए हुनि नि” भन्दिन पर्छ “ हत्तेरी…. गलत घर आइएछ” भन्दै फर्किन्छन् । ‘सर’ दुई अक्षरको एक शब्द भए पनि त्यति हलुङ्गो त कहाँ हो र ? व्रिटिश साम्राज्यमा देश र जनताप्रति विशिष्ट योगदान पुर्याए वापत दिन थालिएको उच्चतम पदवी हो (नेपालको गोदवा भनम न) भनेर कहिँ कतै पंक्तिकारले पढेको थियो। यदि गलतै पढेको रच भनेनि जहाँ पायो तेहिँ जसलाई पायो त्यसलाई लगाइ हाल्न पर्ने तेति निम्नस्तरको सम्बोधन चाहिँ हैन। पंक्तिकार त विद्यालय कलेज अथवा विश्व विद्यालय मै पढाउने शिक्षक, प्राध्यापकलाई पनि सर भन्न नपर्ने तर्क राख्छ । के भन्ने त ? नामले नै बोलाए हुन्न ? ए ! राम प्रसाद, श्याम प्रसाद, दिलमाया भन्दा के सकिन्छ तिनीहरुको ? ज्ञानको भण्डार रित्तिन्छ ?
नाता लगाउन, सम्बोधनको फुर्को जोड्न र आफु खुसी पदवी दिन बन्द गरौँ । यतिसम्म पढ्दिनु भएकोमा दाईदिदि, काकाकाकी, मामा, ठूल्बाठूलीयाँ, गुरु तथा सरहरु सबैलाई धन्यवाद ।

पढ्नेलाई सुनको माला, छाप्नेलाई फूलको माला, यो लेख बैकुण्ठ त के जाला र लिंक शेयर त भैजाला।
त्रुटि त कति छन् कति, कतै धरै कतै अपुग त छ नै । अर्को झटारोमा यति कमजोरी नहोलान्। माफ त बन्ता हैं, हैन्त?

One thought on “बाह्र सत्ताईस नातो

Comments are closed.

Charlie