अनुहार हेर्‍यो मरिच, तै नि फोटो हाल्न परिच

फर्मालिटी पुरा गरौं, नमस्कार ! सञ्चै हुनोला केरे ? धेरै बिषय उपर १२ थरी झटारोहरु त पढिनैरहनु भएको छ। कतिको बङगारा खुस्कने प्रहार आउने गरेकाले (हाम्रो सोचाइ हो है त्यो) क्वैक्वै “१२ थरी” भन्ने बित्तिकै झसंग झस्किने गरेका छन् भन्दारान् मार्केटाँ। खैर जे होस्, आफ्नै बयान अहिलेलाई नगरम् होला। १२ थरीमा आज अलि फरक त के भन्ने उही बंगारा ताक्ने जमर्को गरिरहेको छु। ठ्याक्कै मेरै बारेमा लेखेर मरेछ भनेर त भन्नुहोला, तैपनि रमाइलो मानेर पढिदिनु होला। मेरो बारेमा लेख्यो भनेर रिसाउनु भयो भने तपाइकै अनुहार कालो हुन्छ,  हाम्लाई त बालै फरर हो। अझ लेखक स्वयंको बङगारा खुस्केला कि भनेर दाँत टम्म पारेर मुख बन्द गरेर लेखिरहेको स्थिति हो। शीर्षकमै प्रष्ट छ, के बारेमा लेख्न लाग्या हो भन्ने।

फोटो साभार: https://thegothamtriptych.wordpress.com/tag/monalisa/

पैले पो यासिका, पानासोनिक जस्ता क्यामेरामा रिल हाल्यो, गनी गनी फोटो खिच्यो, दुई चार अवसरमा खिचेका फोटा रिल सकिएपछि धुलाउन लग्यो, त्यतिन्जेल उत्सुकतापुर्ण तरिकाले कुर्‍यो….. पुरै सस्पेन्स फिलिम हेरे जस्तो हुन्त्यो। तर  सुचना र प्रविधिको विकास (मुख्यत: मोबाइल फोनको क्यामेरा र वाइफाई/3G)ले गर्दा फोटो खिच्ने र त्यसलाई शेयर गर्ने भन्ने कुरा दाल भात खाए जस्तो भैसक्यो। आज यहाँ चर्चा गर्न लागिएका फोटोप्रेमी सामाजिक संञ्जालमा फोटा हाल्ने र तिनमा कमेन्ट गर्ने “फोटो म्यानियाक” हरुको बारेमा हो । लौ अब फुलपाती लिनुस् ।

हन्तकाली


यी ‘खानाका काल’ हुन कि भन्दा फरक नपर्ला। जतिबेला नि “फलानो थोक खाँदैछु” भनेर सामाजिक संजालाँ फोटो हाल्छन्। लाग्छ, यिनीहरु खानाको फोटो हाल्नकै लागि सामाजिक संजाल चलाउँछन्। च्या, पाउरोटी, अन्डा, चना, सेल, पुरी तरकारीदेखि कागताली परेमा फाइभ स्टारका व्यन्जनसम्म पोस्ट गरिरहेका हुन्छन्। रेष्टुरेन्टमा गएर ८ पान्नाको मेनु पढेर लास्टाँ म:म मगाउने नेपालीको नानीदेखिको बानी झैं यिनीहरुमा ममको फोटो पोस्ट गर्ने बिशेष लगाव हुन्छ। यस्तो लाग्छ मानौं – अरु कसैले म:म देखेकै छैन।मुखाँ हान्दिम् झै त तेतिबेला लाग्छ जब  ‘फलानो ठाँउमा आउनुस्, यो ख्वाउँछु’ भनेर क्याप्सन लेखेका हुन्छन्।कत्ति न खानै नपाए झैं उनीहरुले बोलाउँदैमा जाने जस्तो। यस्ता फोटामा  उसका हनुमाने साथीहरुले चै वाउऽऽ यम्मीऽऽ भनेर कमेन्ट गरिरहेको हेर्न सकिन्छ।


छन्द न बन्द


यो वर्गमा अरुलाई पनि राख्न त सकिन्छ तर यो विधा विज्ञहरुलाई दिम् जस्तो लागेर पत्रकारहरुकालागि छुट्टयाइएको छ। भन्नलाई देशकै १ नम्बर अनलाइन हुम् हामी भनेर गुड्डी हाँक्छन्, हाल्ने बेलामा ताईं न तुँईं फोटो हाल्छन्। शिर्षकमा “१२ क्विन्टल गाँजा बरामद भयो” भनिएको हुन्छ तर फोटो चै बाराक ओबामाको राख्या हुन्छन्। यिनलाई फोटो पाए पुग्छ जताबाट ताने पनि आफ्नै जस्तो गरि हाल्छन्। न त कसैको स्विकृति चाहिन्छ न त ताल मिल्दो। कन्सेन्ट लिने, क्रेडिट दिने पत्रकारिताको नियम यीनमा लागु हुन्नँ। हामी त पाठक परेम्, सिकाउने कुरो पनि भएन। अँ, कैलेकाईँ स्विकृति मागे भने नि पैसोको त भो नकुरा गरुम्- उल्टो तेरो फोटो हाल्देम्, बरु हाम्लाई पैसो दे भनेर बाँउठिन पछि पर्दैनन् यस्ता अनलाइनहरु !!

 

कात्तिके (सिजनल)


शिर्षक अलिक अस्लिल भयो भनेर नाक नखुम्च्याई हाल्नुस् न माडसाब। यिनको व्यहोरा नै यस्तै हुन्छ त के भन्नु ? भ्यालेन्टाइन डे, होली, शिवरात्री, विवाहको सिजन (एनिभर्सरी), नाग पन्चमी, आमा-बुवाको मुख हेर्ने दिन, जनै पुर्णे, दशै, तिहार, तीज, आदिमा भए भरको एल्बमै हालेर सञ्जाल हेरेर थामिनसक्नु पार्छन्। लिमिटेड डाटा प्लानमा नेट चलाउनु भएको छ भने यस्ता बेलामा फेसबुक, टुइटर नखोल्नु होला। डाटा चैट हुन्छ बाबै। तेस्किमा ठाँस्नी, यीनले बाहेक त त्यो चाड कसैले मनाएकै छैन जस्तो, थाहै छैन जस्तो, अरुको क्यामेरा नै छैन जस्तो।    

पातकी


शीर्षक अलि कडै भयो कसो साइँली? यीनको व्यहोरा अन्सार त अलि नरमै हो भन्चु म त। यो वर्गमा चाहिँ लाइके/क्लिके विज्ञापनवालाहरु पर्छन्। क्लिक गनेर पैसो बटुल्नेवाला। ब्लगमा भए त पैसो आम्दो हो तर फेसबुक, ट्विटराँ त लाइक र आर्टीको पैसा नआम्नुपर्ने जस्तो लाग्छ। तर यीनको तरिका हेर्दा चैँ खै के खै के। फोटोको क्याप्सन, शीर्षक जिब्रै टोक्नु पर्ने जस्तो राख्छन्। जस्तै- “अघि भर्खरै बाबुद्वारा छोरीको टाउको छिनाएर हत्या” पुरै भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोला”। अनाडिहरु  क्लिक गरेर  भित्र त जान्छन्, तर भिडियो भेटिए पो ! अनि खोया जस्तो अनुहार लगाएर बस्छन्। अझ यो वर्गका मानिसहरु एउटै सापको ३-१० वटा सम्म टाउको जोडेको फोटो बनाएर पोस्टिन्छन् अनि लेख्छन्- ’बिहानै नाग देउताको फोटोमा लाइक गरि मनोकामना पुरा गर्नुहोस्।’ ‘प्लिज आर्टी’। अझ कोइ कोइले त ‘आफ्नो वालमा शेयर गर्नुस्” भनेर उर्दी लगाका हुन्छन् । बिडम्बना भनुम्,  यस्तै फोटो पोस्टमा लाइक/कमेन्ट अन्यको तुलनामा बढी आइरहेको हुन्छ।


सर्वव्यापी

यो वर्गका फोटिस्टहरु (फोटो हाल्नेलाई नयाँ नाम दे’को क्या) चाहिँ भएभरका सामाजिक सन्जाल – ट्विटर, इन्स्टा, फसबुक, गुगलप्लस, भाइबर, ह्वाट्स एप आदि इत्यादिमा एउटै फोटो एकै पटक हाल्छन्। आफ्नै थोपडाको चुच्चो मुख लगाएर।त्यतिमै सन्तुष्ट भएर बसे त ठीकै थ्यो नि साइँली, अझ इन्स्टाको लिंक फेसबुकमा र ट्विटरमा अनि ट्विटरको लिंक गुगलप्लसमा। अझै नपुगेर स्क्रीन सट निकालेर ट्विट पनि गर्छन्। पक्लक्कै हुन। आफैले आफैलाई ‘म त वरिस्ठ कलाकार हुँ, म जति राम्रो कोही छैन’ भन्ने अहं पाल्ने व्यक्ति यस क्याटोगोरीमा पर्छन्। सबै सन्जालमा जोडिएका साथीहरुको गिदी खल्बलिरहेको भने उनीहरुलाई थाहै हुँदैन।  


अवसरवादी

झट्ट शीर्षक पढ्दा नेगेटिभ लागेपनि यी पोजेटिभै वर्गका फोटिस्ट हुन्। यिनीहरु अरु बेलामा खासै फोटो हाल्दैनन् तर जब बादलले हल्का नौलो स्वरुप धारण गर्छ, इन्द्रेणी पर्छ, आकाश खुल्छ,  सुर्टोदय, सुर्यास्त, पुर्णे, ग्रहण, तिहारको झिलिमिलीमा यिनीहरु मन थाम्न सक्दैनन्।  धेरै प्रयोगकर्ताले एउटै फोटो विभिन्न ठाँउबाट तथा अनेकौ एङगलमा खिचेर पोस्टिंदा को भन्दा को कम, कसको भन्दा कसको क्यामेरा/मोबाइल राम्रो भन्ने प्रतिष्पर्धा राम्रैसँग देख्न पाइन्छ। यो वर्गका फोटिस्टहरुलाई डिसेन्ट फोटिस्ट भन्नुपर्छ। तर क्यार्नी हो र, तोरीका फूलहरुले यति धेरै एडिट गर्दिन्छन् कि कैलेकाइँ, त्यो फोटोको लोकेसन नै अर्कै बनाइदिन्छन्।

ढोडनाके


यिनीहरु जतिखेर नि फोटो हाल्न रुचाउँछन्। हात समातेको, अंगालो मारेको, ग्वाम्म जुठो हाल्न ला’को र सुहागरात मनाउन कोठमा छिर्न ला’को समेत फोटो लाजै नमानी हाल्छन्। कुन दिन यिनले यौनसम्पर्ककै फोटो हालेर हग्नेलाई भन्दा देख्नेलाई लाज बनाउने हुन् भन्ने त्राहीत्राही हुन्छ। आफ्ना जोइपोइको फोटो हाल्छन्, अनि उस्का आफन्तहरुले पनि जति सुकै नमिलेको जोडी भए पनि मन राख्दिनको खातिर “वाउ पर्फेक्ट कपल” , ‘गुड फैमिली” जस्ता कमेन्ट गर्दिन्छन्। अनि मख्ख परेर भएको ठुलो नाक फुलाएर गमक्क परेर बसेका हुन्छन्। दिनको २/४ वटा फोटो नहालेको दिनै हुँदैन। मख्ख परेर लाइक कमेन्टहरु गन्दै दिन बिताउँछन्। जता जहाँ उभिएपनि मुख चुच्चो पारेर क्यामरा आफुतिर फर्काइहाल्छन्। यिनीहरु बरु पर्स बोक्दैनन् तर त्यो चाहइनीज सौ-दोसौ पर्ने सेल्फी स्टिक कहिल्यै आफुबाट अलग गर्दैनन्। मानौं त्यो स्टिक बन्दुक हो र उनीहरु शिकारी। आफ्नो कुच्चेको डेक्ची जस्तो अनुहार र फुंग उडेको फुस्रो अनुहार कागती र सर्फले तामाका भाँडा चम्काए झैं चम्काइदिने मोबाइलका नानाभाँति एप्सहरुको बारेमा यिनोरुलाई गतिलै जानकारी हुन्छ।


किरान्तीकारी

शीर्षकै काफी छ। यी ओरिजिनल फोटोलाई इडीट गरेर पोस्ट गर्ने  वर्गका फोटिस्टहरु हुन्।नेताहरुको टाउको काटेर जनावरमा जोडने, मेमे , ट्रोल बनाउने, जस्ता कार्य यस अन्तर्गत हुन्छन्। साथै यो ग्रुपमा पार्टीका हनुमानहरु पनि पर्छन्। उस्को नेताले भाषण वा पार्टीको कार्यक्रममा धेरै सहभागिता देखाउन फोटोसप्ड गरी हजारौं जनसहभागिता देखाएर पोस्ट गर्छन्। हात सफा हुँदैन, एउटै ब्यक्ति ४ ठाँउमा देखिने किसिमको क्लोन गरेर हाल्छन्। अझ टाढाबाट भीड देखाउन यिनीहरुलस संसारको जुनसुकै कुनाको भीड पनि टुँडिखेलमा जम्मा गर्दिन्छन्। 


देखासिखी

पहिला पहिला गाँउमा, शहरको रमझमको बर्णन सुनेर नेपाली चेलीहरु आफुलाई दलालको हातमा सुम्पिन्थे भन्ने कुरा त सुन्नु  नै भएको थियो होला ? अहिले समय बदलिएको छ। आजकल बिदेशमा बस्नेहरुले हालेको फोटोको कारण नेपाली चेली-चेलाहरु बिदेश जान आतुर हुन्छन्। महिनाभरी भाँडा धस्काए पनि एकदिन चिटिक्क परेर ताल, समुन्द्र घुमेर चौरमा बार्बेक्यू गरेको फोटो हाल्छन्।अनि त यताका केटा-केटीहरुलाई के चाहियो ! जसरी नी बिदेश जान पर्‍यो। हुन पनि हो, सफा बाटो घाटो, हरिया पार्क गगनचुम्बी महल देखेर को लोभिँदैनन होला र ? लास्टाँ उता पढाइ खर्च धान्न नसकेपछि, घरमा ढलेको लोटा नउठाउनेहरु भाँडा धस्काउन बाध्य हुन्छन्। अनि आफैले आफैलाई भन्छन् “खाइस की ! आँखाको तिरिमिरी ** को झ्वाँइ”

सरसर्ती हेर्दा दिमागाँ यत्ति नै आयो। अरु कुनै फोटिस्ट छुटे भने कमेन्टमा लेख्नुस् है त। लेख्न त लेख्नुन्नँ तपैंहरु, थाहा छ, तै नि भन्दिनलाई पैसा पर्दैन क्यारे। लौत, लेख्नेलाई गाली पढनेलाई ताली, यति पढिसकेसि फोटो हाल्नुस है एकताली।

2 thoughts on “अनुहार हेर्‍यो मरिच, तै नि फोटो हाल्न परिच

  1. Bichara lekhakh ko adhyan pugen, atithi lekhakh nai raichha, Pataki le antayama blog ma lager paisa kamauchha, Baki purai padheko din comment garula Aile rat pareko Bela

Comments are closed.

Adams