फ्लाइ दुबईलाई धारेहात, तर आफ्ना आङ्का जुम्रा नि ?

यो हप्ता फ्लाई दुबईले नेपाली हवाइयात्रुमाथि गरेको भेदभावका बारेमा प्रकाशित ब्लगले धेरै नेपालीले हेपिएको महसुस गरे। एउटा एअरलाइन्सले एउटै जहाजमा लाग्दो पैसा तिरेर यात्रा गर्दा यात्रुको देशकै आधारमा भेदभाव गरिनु निश्चय पनि राम्रो हैन। यो सरासर हेपेको हो भन्नलाई कुनै आइतबार कुर्नुपर्दैन। तर यसै मेसोमा हामीले हाम्रा नियति, हाम्रा व्यवहार, हाम्रो देशको आर्थिकदेखि राजनैतिक हैसियत, हाम्रा आनिबानीका बारे पनि चर्चा गर्नु आवश्यक छ। अर्को एअरलाइन्सले भेदभाव गर्‍यो भनिरहँदा हाम्रो अध्यागमन, एअरपोर्ट, हाम्रो एअरपोर्टमा रहेका कर्मचारी, सुरक्षाकर्मीका बारे पनि चर्चा गर्नुपर्ला। यो लेख १२ थरीको सँधैकोभन्दा फरक किसिमको पर्न गएमा १२ थरी परिवार माफी चाहान्छ 😋

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेजको थुप्रो। फोटो साभार: आवर ग्लोबल ट्रेक

एअरपोर्टमा बिदाइ गर्नेको लर्को

हाम्रो एउटा अनौठो चलन छ- घरबाट शहर जानेबेलामा पनि निधारमा टीका लगाएर बिदा गर्ने। झन घरको कोही सदस्य विदेश जाँदैछन् भने त चन्द्रमामा नै जान लाए झैं माइक्रो रिजर्ब गरेर एअरपोर्टसम्म छोड्न जानु परिगयो। निधारमा रातो टीका, राष्ट्रिय पुरस्कार जित्दाजस्तो गलाभरी माला र खादा लाएर विदेश जाने चाहिँ गमक्क, अनि अरु जन्ती। सबैलाई थाहा छ- एअरपोर्टको इन्ट्रान्स गेटबाट भित्र छिर्न दिँदैन तर पनि गेटसम्म सबैलाई पुग्नैपर्छ। अनि एअरपोर्ट पुगेर फोटो खिचेर फेसबुकमा हाल्नैपर्छ।

इमिग्रेसन फर्म (अचेल सबै कुरा कम्प्युटरबाट भरिन्छ भने हातले लेखेर त्यो फारम भर्नुको उद्देश्य के हो ? सरकाले त्यो फारमको कहिल्यै कुनै बिश्लेषण गर्छ कि गर्दैन )

तपाइँ देश छोडेर जाँदै हुनुन्छ वा कुनै अर्को देश छिर्दै हुनुन्छ भने इमिग्रेशन फारम भर्नुपर्छ, यो नेपालमा मात्र हैन । अझै पनि धेरै देशमा कुनै देश पुगे पछि इमिग्रेशन फारम भर्न पर्छ।  कतिपय देशमा भिसा स्कान गरेपछि काम सकिन्छ।  यो चाँहि सम्बन्धित देशको अध्यागमन को कुरा भो। यसमा  नेपालीहरुले हिनताबोध पाल्न जरुरी छैन। भारत र चीन, जापान, कोरिया, अस्ट्रेलिया आदि देशमा पनि एयपोर्टको इमिग्रेसन क्लियरेन्स गर्दा  हातैले लेख्छन्। अनि अध्यागमन अधिकारीलाई बुझाउँछन्।  सबैको आ-आफ्नै नियम हुन्छ। जस्तो कि नेपालको एयरपोर्टमा आउदा जाँदा भने पासपोर्टमा ईन्ट्रि एक्जिट छाप हान्छ।  कोरियाबाट एक्जिट हुदाँ एक्जिट स्टाम्प हान्दैन।  अब रहयो त्यो विवरण सरकारले कति अध्यावधि गर्छ भन्ने कुरा हो।  त्यो चाँहि दैव जाने।

माड्साप पाराका अध्यागमन कर्मचारी

हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी हेर्‍यो भने राणाकालका डिड्ठा बिचारी कस्ता हुन्थे होलान् भनेर ठ्याक्कै थाहा हुन्छ। अध्यागमनका कर्मचारीहरुको टर्रो बोली, दादागिरी शैली,  सेक्युरिटी चेकको एउटै लामो लाइन, प्रोफेसनल भन्दा पनि टर्रा सुरक्षाकर्मीको व्यवहारले हामी आफैलाई कति बिझाउँछ लेखेर साध्य छैन। हामी त भाग्यमानी हौं कि फ्लाइ दुबईको भेदभावजस्तै खैरेहरुले हाम्रो विमानस्थलका कर्मचारीले गर्ने व्यवहारका बारे खुलेर लेखिदिएका छैनन्। हुनत हामीलाई बाल हो, संसारको सबैभन्दा खराब एअरपोर्टमा नाम आएकै छ, तैपनि बाल हो क्यारे। रमाइलो के छ भने बिजनेस क्लासको टिकट होस् वा इकोनोमी, सबैलाई एउटै लाइनमा चेक इनदेखि सबैतिर, समान व्यवहार के त 😉 यस्तै समान व्यवहार खोजेको होला प्लेनभित्र पनि 😄

इन्डियन जहाज चढ्दा छुट्टै जाँच

टिआइएबाट उँडने प्लेनमा अरु कसैलाई सुरक्षा थ्रेट नहुने, भारतीय जहाजलाई मात्र सुरक्षाको त्रास होला? यो भारतले हामीलाई हेपेको हैन?  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर ईन्डिया, जेट एयर, ईन्डीगो लगायतका भारतीय जहाजहरुमा प्रवेश गर्नु अगाडि गरिने अतिरिक्त सुरक्षा जाँच खासमा “बहुसंख्यक” लाई निको नलागे पनि यो स्वभाविक प्रकृया हो।  स्वयं भारतमै पनि ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलभित्र सेक्युरिटी क्लिरेन्स गरीवरी  ईमिग्रेसन पार गरेर गेटमा पुगेपछि पनि जहाज चढ्नु अगाडि केही देश जाने जहाजमा चढ्ने जो कोहीलाई अतिरिक्त सुरक्षा जाँच गरिन्छ। यसरी गरिने सुरक्षा जाँचमा ह्याण्ड क्यारी फेरी स्क्यान गर्ने मात्र हैन ईमिग्रेशन अफिसरले झैं एयलाईन्स स्टाफले ट्राभल डकुमेन्ट चेक पनि गर्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको भिडभाड र अस्तव्यस्तता। फोटो: आवर ग्लोबल ट्रेक

खासमा यो भारतिय ब्युरोक्रेसीले नेपाल मामलामा देखाउने व्यवहारको “नेपाली मन को जवाफ” मात्र हो। संसारमा कहीं नभएको अभ्यास हैन। अरु देशले पनि यो अभ्यास गरेका छन्। नेपालले पनि “भारतीय सत्ता” सँग कुरा गरेर भारतबाट नेपाल आउने जहाजमा यो अभ्यास गराउन सक्छ। अँ नेपाली मनलाई अतिरिक्त सुरक्षा जाँचको नाममा भोलि भारतले ब्यारेक नै खडा गर्ला कि भन्ने कुरा पनि छ्न् यसको उत्तर अलि राजनैतिक मनोबैज्ञानिक हिसाबले दिन पर्ने हुन्छ।

क्याबिन क्रुहरुले नेपालीहरुलाई गर्ने दोस्रो दर्जाको व्यवहार

यसो भनि रहँदा एउटा कुरा के याद गर्न पर्छ भने क्याबिन क्रु भन्ने पेशै ” ग्लामर ” को पेशा हो। यसमा बैद्दिक , गहन निर्णय क्षमता भएका परिपक्व भन्दा नि मुसुक्क हाँस्ने र हाँसेरै सबै काम सक्ने मान्छेहरु रोजिन्छ। यस्तोमा क्याबिन क्रुले यसो गरेन त्यसो गरो भन्नुमा खासै ठुलो तुक छैन। क्याबिन क्रु अह्राए खटाएको गर्ने आदेशपालक मात्र हुन्। उनीहरुले बोल्ने शैली र हाउभाउका बारे कुरा काट्न भने हामीलाई छुट छ। जहाज चढाउनु अगाडि कति यात्रु छन्? तिनीहरुको लागि कति खाना चाहिन्छ? त्यसको पनि एउटा अन्तराष्ट्रिय मान्यता हुँदो हो।  त्यति नै खानेकुरा लिएर आएका हुदाँ हुन्। अब जसले जति माग्यो त्यति दिन थाल्यो भने सबैलाई भाग नपुग्दो हो अनि ….. ।   फेरी खान पाइएन भन्नेको खवाइ नि बियर पनि एक क्यानले नभएर दुई चार क्यान , खाना पनि एक प्याकले नभएको बिहान उठ्ने बित्तिकै एयरपोर्ट आएको भोकै छु दुई वटा दिए हुने भन्ने खालको होला। यो सब गर्न समस्यनै छ नि। अझ हाम्रो पारा, फ्रिमा पाइने हो भनेसि हावाले कावा टिपेझैं, यो नि मागेको छ त्यो नि मागेको छ। बियर पिउँदा पिउँदै वाइन देखे त्यो नि मागेकै छ, ह्विस्की नि मागेकै छ। फेरि पिएपछि हाम्रो सारै राम्रो बानी हुन्छ, डाको छोडेर हल्ला गर्ने, सारा प्लेन मेरै हो झैं गर्ने, अझ क्याबिन क्रु महिला रहेछन् भने जाबो ईङ्लिस त फररररररर  😂 (त्यही के त ‘७ दिनमा ईङ्लिस फरररर’ वाला 😂 )। त्यसो गरेसि क्याबिन क्रुले हामीलाई कस्तो व्यवहार गरुन् भन्ने चाहनुहुन्छ?

‘जहाज शिक्षा’को आवश्यकता

हुन त  मान्छे आमाको पेटबाटै सबै कुरा सिकेर जन्मेको हुँदैन। अवस्था अनुसारको व्यवस्था गर्दै बिस्तारै सिक्दै जाने हो। अझ कामदार भिसामा बिदेश जाने कयौं नेपाली दाजुभाइहरु जिन्दगीमा पहिलो पटक प्लेन चढेकै बिदेश जाँदा नै हुन्छ। यस्तोमा उनीहरुलाई कति कुरा आउँदैन होला, था’ छैन होला वा नयाँ माहोलमा हतास होलान्। त्यत्रो पैसा लिएर बिदेश जाने प्रपंच मिलाउने म्यानपावरवाला, वा अनुगमन गर्ने बैदेशिक रोजगार विभागले उनीहरुलाई केहि सोमत (अंग्रेजीमा etiquette  भन्छन् क्यार) सिकाएर पठाउन पर्ने होइन ? यो नहुँदा कतिले ट्वाइलेट प्रयोग गर्न धक मानेर च्यापेर बस्न पर्दो हो, कति ढोका लाउन नजानेर लाजले पानी पानी हुँदाहुन्, कति ढोका खोल्न नजानेर आत्तिदा हुन्, कति बिजनेस क्लासतिर टहलिन जान खोज्दा हुन् वा यस्तै यस्तै ….  !

फर्किंदाको गोर्खे पारा

बिदेशको भुमिमा महिनौं/बर्षौं काम गरेर आफ्नो देश आउँदा कसको मन पुलकित नहोला र ? तर बिदेशी एरपोटमै नेपाल जाने प्लेनको चेकइन काउन्टर वरीपरि भएका लगेज देखेरै चिन्न सकिन्छ। कतिले रेशम किराको “कोकोन” जसरी प्लास्टिकले ऱ्याप गरेका हुन्छन् भने कतिले माकुराको जालो जसरी डोरीले बाँधेका हुन्छन्। सायद त्यहि भएर होला,  अरब/मलेसिया तिरबाट फर्कनेलाई “डोरीलाहुरे” भन्ने गरिएको। आफ्नो सामानको सुरक्षा सबैको सरोकार भए पनि यति अतिरिक्त सुरक्षा प्रबन्ध गर्नुले ट्रान्जिट वा नेपालको एरपोटको लगेज ह्यान्डलिङप्रति सशंकित रहेको सन्देश दिन्छ। पैलेपैले इन्डियाको एअरपोट भनेपछि मान्छेले नाक खुम्च्याउँथे तर अचेल ति सुध्रिसके ! नसुध्रेको त हाम्रै आफ्नै अन्तराष्ट्रिय बिमानस्थल हो। त्यसलाई सुधारेर यो डोरीलाहुरे छविबाट पनि मुक्ति दिलाउने कि ?

र अर्को कुरो… बिदेशबाट जहाजमा चढ्ने बित्तिकै नेपालीहरुले मैमत्त पारा देखाउन थाल्छन्। कतिपटक त डोरीलाहुरे हामी कतिसम्म गर्छौं भने प्लेन काठमाडौं एअरपोर्टमा ल्याण्ड गर्न पाएको हुँदैन, रन वेमा दौडिरहेको हुन्छ तर हामी घर पुग्नको हतारोमा सीटबाट जर्‍याकजुरुक्क उठेर झोला निकाल्न थाल्छौं। बिचरा एअर होस्टेसहरुलाई बस्नुस् बस्नुस् भन्नाको सास्ती 😂  यसै हेप्ने त होइनन् के क्रु मेम्बरले गोर्खेहरुलाई !

फ्लाई दुबइको पोलिसी कि यताको मेनेजरको बदमाशी ?

अस्तिको घटनामा बिदेशी र नेपाली यात्रुलाई गरेको असमान व्यवहारमा प्राय:लाई चित्त नबुझैको कुरो भनेको बिदेशीलाई सोल्टीमा र नेपालीलाई भने काम चलाउ होटेलमा खाँदीखाँदी राखेको भन्नेमा हो। १२ थरी टिमको यात्रा-पर्यटन र नेपाली समाज बिश्लेषण गर्ने ब्यूरोको घनिभुत छलफलले निकालेको निष्कर्श के हो भने यसो हुनुमा कम्पनीको आधिकारिक लाइन भन्दा पनि यताको हाकिमको दोष हो । उसो  त सबैलाई सोल्टीमा राख्दा पनि उसको खल्तीबाट केहि जाने होइन, तर नेपालीलाई कामचलाउ होटेलमा राख्दा बच्ने पैसाबाट भने उसले फाइदा लिन सक्छ। आखिर धन भनेपछि महादेवको पनि तेस्रो नेत्र खुलिहाल्छ। यसपाली पो एउटा खैरेले कुरो उचाल्यो र सबैले हो मा हो मिलाए। नत्र यस्तो भाको यो नै पहिलोपटक पक्कै होइन। अनि, नेबानिको लापरवाहीले हन्डर खाएर वेथितिसँग हारेर गुहार गर्दै एक जना नेपालीले लेखेको पत्र कसरी रद्दिको टोकरीमा फालिएको थियो भनेर यहाँ सम्झाइराख्न नपर्ला।

विमान कम्पनीका आफ्नै प्रोटोकल

अन्तराष्ट्रिय कानुन अनुसार कुनै एयरलाईन्सले ल्याएको यात्रु सम्बन्धित देशमा प्रवेश नपाएमा जुन एयरलाईन्सले ल्याएको हो सोही एयरलाईन्सले फिर्ता लैजानु पर्छ।  अब आफ्ना यात्रुको ईमिग्रेसन क्लियरेन्स नभएको खण्डमा फिर्ता सम्म लानु पर्ने भएपछि सम्बन्धित एयरलाईन्सले यस प्रति सजग हुनै परिगो नि।  अर्को तिरबाट सोच्दा नेपालीहरु अलि विकसित देश जानकोलागि के सम्म गर्न पछि पर्दैनन् ? जस्तो कि जाली भिसा , पासपोर्ट, लाखौं रुपैयाँ दलाललाई दिने देखि ज्यानकोसम्म बाजी राख्छन्। यस्तोमा नेपाल छोडेर कुनै पनि बिदेशीको एयरपोर्टको ट्रान्सजिटमा जहाज चढ्नु अगाडि एयरलाईन्सका कर्मचारीले ट्राभल डकुमेन्ट चेक गर्न माने वा पासपोर्ट नियालेर हेरे भने नेपाली भनेर हेपेको भनेर सोचिरहनु पर्दैन। नेपाली मात्र हैन नेपाली जस्तै हैसियत भएका बंगलादेशीदेखि अफ्रिकनलाई पनि यसै गर्छन्।  जहाज चढ्नु अगाडि नेपालीहरुलाई लाईन लगाएर ‘अर्कै’ व्यवहार गर्नुका पछाडि  समग्र देशको अर्थ व्यवस्था , विश्व राजनितिमा नेपालको राजनैतिक, आर्थिक कुटनीतिक उपस्थितीले अर्थ राख्दो हो नि होइन ?

हाम्रो एअरपोर्टको (अ)व्यवस्थापन

अब यो कुरो भनेको आफ्नो आङ् कन्याएर छारो उडाउनु जस्तो हो । यसको बर्णन हजार जिब्रा भएका शेषनागले गर्न पनि हम्मे होला भने यो नाथेको के औकात। सौन्दर्य, शौचालय, खानेपानी, रेष्टुरेन्ट, लगेज ह्यान्डलिङ कुनै पनि बुँदामा हाम्रो अन्तराष्ट्रिय बिमानस्थललाई पास मार्क पनि दिन मिल्दैन। हामीकहाँ पनि बेलाबेलामा एअरपोटको व्यवस्थापन कुनै निजी कम्पनीलाई दिने कि भन्ने चर्चा नचल्ने गरेको होइन। तर कुनै कम्पनीलाई दिन खोज्यो कि उग्रराष्ट्रवादी लहर उर्लिहाल्छ ।  अझ भारतिय कम्पनीको नाम त सुन्नै चाहँदैनन्। भारतीयलाई नदिए नेपालीलाई नै दिए पनि भो वा कुनै अन्य देशकोलाई दिए पनि भो। तर हामीहरु जे मा पनि थ्रेट देख्ने “कन्पिरेसी थ्योरी” बाट पिडित छौं ।  हेर्नुस् त दिल्लीको एअरपोट जिएमआरले कसरी चलाइरहेको छ?

र अन्त्यमा,

यो लेखको उदेश्य फ्लाई दुबईले ठीक गर्‍यो भन्ने मनशायले लेखिएको हैन। तर खैरो छालाले लेखे बोलेको शतप्रतिशत सत्य मान्ने हाम्रो दृष्टिदोषको बारेमा सामान्य चर्चा मात्र गरिएको हो। हामीलाई हाम्रै देशभित्र चाहिँ हाम्रा आफ्नै एअरलाइन्सले कस्तो व्यवहार गर्छन् त? यो ट्विट हेर्नुस्, यति एअरलाइन्सले लुक्ला जानको लागि नेपालीलाई टिकट नै नदिने मात्र हैन कथंकदाचित कुनै सोर्सफोर्सबाट टिकट पाइयो भने पनि त्यसको रेकर्ड नै राख्दोरहेनछ। तर खोइ त त्यसको बारेमा कोही चुँसम्म नबोल्ने?

कि हाम्रा देशभित्रका एअरलाइन्सहरुले चाहिँ जे जे गरेपनि भेदभाव ठानिँदैन? अथवा, यसबारेमा पनि खैरेले नै बोल्दिनुपर्ने हो? खैरेले नबोलुन्जेल मुद्दै नहुने हो र यस्तो विषय?

यी त भए हाम्रो टोलीले देखेका आयामहरु। हजुरका पनि यस्तै कुनै अनुभव वा Alternative Facts सम्बन्धि केही विचार छन् भने तल कमेन्टमा ठोक्दिनुस्। आखिर जल्ले जान्यो, त्यसले हान्यो भनेर यसै भनेका होइनन केरे।

 

Boston