घर न घाट, पलायनवादी झाँट

जेठको पहिलो हप्तादेखि नै रातो सारी लाएर बुरुक बुरुक उफ्रेका नेपाली चेलीहरुलाई ठुलो स्मार्ट टिभी स्क्रिनमा हेर्दै, यसपाली तीजमा कुन सारी लगाउने, कस्तो डिजाइनको ब्लाउज लगाउने भनेर पुरै गम्भीर मुद्रामा छलफलमा ब्यस्त महिलाजनहरुलाई सबैभन्दा पहिला यसो बर्गर र पिज्जाले पलाएको बोसोमा ब्लाउज नछिर्‍या भए यसरी एक दुई घर उदारेर मिल्छ कि मिलाउनु हुन यो टिप्पणीकार सादर अनुरोध गर्दछ।

यो फोटो हामीले खिचेको हैन। हामी यो फोटोका मान्छे नि चिन्दैनम्। यो फोटो नेपाल मदर डट कमबाट तानिएको हो।

अनि घरका चेलीबेटीलाई लागेको तीजमा आफ्नो बलबुताले भ्याएसम्मको सहयोग गर्नु हुने भद्र भलादमी पुरुषहरुलाई पनि हार्दिक समवेदना छ। भकारी जत्रो ज्यान हुदाँ पनि “हैन हैन त्यति मोटाकी छैनौ, त्यो ब्लाउज सिलाउनेले सानो सिलाइदेको हो” भनेर जहानको मुहारमा थोरै भए पनि खुसी छर्नलाई मरिमेट्नु सानोतिनो त्याग पक्कै पनि हैन। यति लेखिसक्दा यहाँहरुले अनुमान गर्नुभयो होला आजको बिषय के हो भनेर। हो, आजको हाम्रो विषय छ- घरका न घाटका पलायनवादी झाँटहरुको प्रवृत्तिको चर्चा गर्ने। यीनलाई किन घरको न घाटको भनियो भन्ने चाहिँ यो लेख पढिसक्दा थाहा हुन्छ, थाहा पाउनुभएन भने भुत्रैसित्ति। लौ त फूलपाती लिनुस्-

हाँडीबाट उछिट्टिएर भुङ्ग्रोमा

पलायनवादीको पहिलो पुस्ता हाँडीबाट उछुट्टिएर भुङ्ग्रोमा पर्ने वर्ग हुन्। किन त्यसो भनियो त भन्दा सुन्नुस् है मुखिया मुखिनिज्यूहरु-  नेपालमा शानसँग बसेको, सानोतिनो (चाहे टोलमै मात्र किन नहोस्) नाम कमाएको मान्छे, भिसा लागेदेखि नै “भिसा लाग्यो, १ महिना बाँकी” भन्दै हल्ला फैलाउँदै, त्रिभुवन विमानस्थलमा चट्ट परेको सुटकेशसहितको माला र टीका लाएको फोटो पोस्ट गरेर विदेश लागेको मान्छे, दुई छाक खानकै लागि भाँडा माझ्न जाँदा कम्ता दु:ख त लाग्दैन नि गाँठे। विदेश पुग्ने बित्तिकैको समस्या भनेको भाषा, रहनसहन नै हो। आफू जन्मे हुर्केको भाषा, रहनसहन न त चट्ट छोड्न सकिने, न त उताको भाषा र रहनसहन फ्याट्ट सजिलै आउने। अनि यता दौडियो, उता दौडियो, लास्टाँ मस्काउँला विदेशमा डेक्ची हजुर, ए पञ्जा लगाउँदै…  भन्यो दियो दनादन।

स्थानीय लवज

ब्रिटिश काउन्सिलमा अंग्रेजी भाषाको तालिम लिएका हाम्रै एक संवाददाताले खैरेलाई फोनमा आफ्नो ईमेल ठेगाना दिँदा आई (i) भन्दा रहेछन्, खैरेले A बुझ्दो रहेछ, एच (h) भन्दा एस(s) बुझ्दो रहेछ। केही सिप नलागेपछि खैरेले नै उसको मोबाइलमा एसएमएस गर्न लगायो। त्यसपछि बल्ल हाम्रा संवाददाताले ब्रिटिश काउन्सिलको आफ्नो अंग्रेजीको धाक दिन कम गरे। खैरेहरूसँग संवाद गर्दा आफु बोल्दा खैरेले १० चोटी सरी! सरी! भनेको र खैरेले बोल्दा आफुले १० चोटी सरी! सरी! भन्नु पर्दाको संघर्ष कम्ता दिक्दार लाग्दो हुन्छ? बिचरा नेपालमा बोर्डिङ्ग पढेको भनेर के गर्नु, १० बर्ष अंग्रेजी रटान लगाए पनि एउटा ठेगना टिपाउँदा १० चोटी सरी माथि सरी भन्नु परेपछि। यो अंग्रेजीबाहेक कोरियन, जापनिज, चाइनिज, फ्रेन्च, स्पेनिस जताजता गए पनि हुने समस्या हो।

खैरेको संगत

तिनैका देशमा बसेपछि कहीँ कतै खैरे त साथी भइहाल्छन् हेर्नोस्। यदि खप्पराँ लेख्या र’च भने, नत्र त धोतीको होटलाँ पछाडिको कोठामा भाँडा धस्काउनेले बरु हिन्दी मिठो गरी बोल्न सिक्छ, त्यसले गोरे देख्ने भनेको त्यही भाँडा उठाउन जाँदा मात्र हो। लन्च, डिनरको लागि बोलाउने चलन त नेपालमै छ, बाहिरको त के कुरा गराई भो र। आफ्नो संस्कार र खानालाई अरु सामु देखाउनु, चिनाउनु नराम्रो त होइन तर नेपालीहरूले यसरी देखाउछन् कि मलाई मेरो बाल्यकालको यौटा घटना याद आउँछ। साथी सार्की थियो (अब तल्लो जातको भनेर हेप्यो भनेर सराप्न नि शुरु गर्नुस् है), आफुलाई जातभातको खासै वास्ता नलाग्ने, कहिलेकाहीँ उसकोमा गएर पानी मात्रै खाइदियो भने पनि उ मात्र होइन उसका बाउआमा पनि यति खुसी हुने कि, कुरै नगरौ.. ठ्याक्कै तेस्तै। कोही खैरे घरमा खाना खान आयो भने त्यही खैरेले खाना (म:म, दाल, भात जे जे पाकेको छ) खाएको फोटो अगाडिबाट, पछाडिबाट, तलबाट, माथिबाट, दायाँबाट, बायाँबाट फोटो खिचेर फेसबुकमा हाल्न हतारो।

छोराछोरीको भाषा

यी हाँडीबाट उछुट्टिएर भुङ्ग्रोमा परेका पलानवादी बाउ आमा जन्मँदै खैरैको ट्याग लाएर जन्मेका छोरा छोरीको भाषामा यति सजग हुन्छन् कि के भन्नु.. उही अगुल्टोले पोलेको कुकुर वाला। जन्मेदेखि खैरेकै एक्सेन्टका अंग्रेजी राईम सुनाउन थाल्छन्। चुचु टिभी त थाहै होला नि त्यसमा ईन्डियन एक्सेन्ट छ रे, त्यो सुनायो भने बच्चाको भाषा बिग्रन्च रे, “धोतीको जस्तो एक्सेन्ट बन्छ रे”। जन्मेर घिस्रेर हिँड्न थालेका हुँदैनन्, बाउ आमा पुरै खैरेवाला स्ल्याङ हाली हाली मुख बङ्गाई बङ्गाई भए पनि इङ्लिस नै बल्नु पर्ने रे। प्राय: भारतीयहरु चाँहि आफ्ना बच्चाहरूलाई भारतीयकै सर्कलमा राख्न खोज्छन्। तर यी टुप्पाबाट पलाएका पलायनवादी नेपाली चाहिँ सकेसम्म छोराछोरीले खैरैके सर्कल पाएदेखि, तिनीहरूकै भाषा र जिवनशैली सिक्ने थिए भनेर मरिमेट्छन्। नेपालमा हजुरबा हजुरआमा नाति नातिना भए, बोलौंला भनेर कत्रो रहर हुँदो हो। बिचरा नाति नातिना बोलेको हजुरबा हजुरआमाले बुझ्दैनन्, हजुरबा हजुरआमा बोलेको नातिनातिनाले बुझ्दैनन्। कति मन कुँडिदो हो बिचरा ती बुढाबुढीको।

छोराछोरीको जीवनशैली

जन्मिँदाको दिनदेखि पाइलैपिच्छे खेरै जस्तो बन्न पर्छ भनेर सिकाएपछि केटाकेटी कस्ता बन्छन् त? सुताउन समेत ‘ईङ्लिस स्टाईल’ भन्दै  दुधे बालकलाई आमाको काख छुटाएर अर्को कोठामा सुताउछन्। ती हुर्केपछि तिनीहरूको जीवनशैली कस्तो आश गर्ने? संस्कारी नेपाली कि खैरेको बच्चा बच्ची जस्तो?  स्वास्नी छोर्छोरी बढ्ता जान्ने हुँदा गोर्खेलौरी र लात्तैलात्ताले ठिक पार्ने समाजमा हुर्केका भुईँका न भाँडाका पलायनवादीले स्वास्नी छोर्छोरीलाई यस्सो चर्को स्वरमा थर्काउँदा, छोर्छोरीले पुलिस बोलाइदिँदा पुलिसले बाउलाई घर बाहिर राख्दिएका कहानी पनि बेला बेलामा नसुनिने होइनन्। त्यति मात्र कहाँ हो र, अल्ली हुर्केपछि छोरीले काले ब्वाइफ्रेन्ड, छोराले स्प्यानिस गर्लफ्रेन्ड लिएर हिँडेको देख्दा मन कति चिरा पर्दो हो नि बरै। छोराले गर्लफ्रेन्ड, छोरीले ब्वाइफ्रेन्ड लिएर हिँडेको सम्म पनि ठिकै छ, मन सम्हाल्लान् तर  meet my partner भनेर छोरा केटा, छोरीले केटी लिएर घरमा आउँदा ती पलायनवादीलाई त्यो भुङ्ग्रोले कति पोल्दो हो।

र अन्त्यमा

यसरी के के नै ख्याँसौला भनेर नेपालबाट बिदेश लागेकाहरु, आफ्नो सोचअनुसार केही नाप्न नसकेपछि, अरु केही गर्न नसके पनि सन्ततिलाई अवसर दिइयो विश्वबजारमा भनेर चित्त बुझाउँछन्। आखिर मानव जीवन भनेको सधै नै गुनासो गर्दै बित्ने हो। पलायनवादीहरुको हकमा गुनासो गर्न नैतिकताले दिँदैन, किनभने दु:ख पाइस् मङ्गले आफ्नै ढङ्गले भन्ने उखानले गर्दा नि त्यसो गर्न दिन्न। गुनासो गर्न नपाएपछि जबरजस्ती खुसी देखिन खोज्नु नै दिनचर्या बन्न जान्छ। दु:खी छु भनेर कसैले कठै भन्दिदैनन्। नेपालतिरकालाई दु:ख छ भन्यो भने अर्काको देशमा किन दु:ख गर्छस् त बाबै, यत्रा मान्छे अटेका छन्, तँ पनि अट्छस् आइज भन्दिन्छन्। अनि नेपाल फर्किनुभन्दा त त्यही गिजा च्यातेर एक किसिमको कृतिम मुस्कानले अरुको आखाँमा धुलो छर्न थाल्छन्। एउटा पलायनवादीले मात्र देख्न सक्छ अर्को पलायनवादीको मुस्कान भित्र लुकेको पिल्सिएको आत्मा।

लौ त, हाम्रो पलायनवादी ब्युरोले आजलाई यतै बिट मार्ने निर्णय गरेको छ, तपाइँहरूले पनि यस्तै भुङ्ग्रोमा पोलिँदै गरेका पलायनवादीहरूका संघर्ष देख्नु भएको छ भने तल कमेन्टमा लेख्नुहोला। अँ, लामै हुन्छ भने लेख नै लेखेर पठाउनु भए पनि हुन्छ।

ए साँच्चै, फुलपाती बिसर्जन गर्दा हुन्छ अब!