हनुमाने, अनुमाने र जजमाने पत्रकार

पाठकवृन्द, तपाइँहरु हाम्रो नियमित पाठक हनुहुन्छ भने हल्का नाक खुम्च्याइसक्नुभो होला । किनकि थरिथरी पत्रकारबारे हामीले यसअघि नै पनि लेखिसकेका छौं। नपढ्नुभएको भए यी यता छ हजुर लिंक 👉🏼 १२सत्ताइसपत्रकार । “पहिले नै बङगारा झारीसकेका पत्रकारका थोते गिंजामा फेरी किन मुक्का प्रहार त?” भनेर सोध्नुहोला। तर मूल कुरो के हो भने – धाकै सही, पत्रकार भनेका विशेषज्ञ हुन् । तीन त्रिलोक, चौध भुवनका यी ज्ञाता हुन, यिनका बारे जत्ति लेखे नि कमै हुन्छ। अझ भर्खरै सम्पन्न चुनावको बेला सामाजिक सञ्जालमा पत्रकारहरु कट्टु खोलेर नाङ्गै उफ्रिएको देखेपछि यो लेख नलेखिरहन सकिएन। आफ्नो आस्थाको पक्षमा माहोल बनाउन कोही चामल बोकेर निस्किए त कोही कनिका च्यापेर । अब कसको के कति बिक्यो भनेर त हजुरहरुले पनि बिश्लेषण गर्नु भाकै होला। तर पनि एक अर्कालाई सम्मानका साथ खिसिटिउरी गर्न, लठैत भन्न, ख्वामित-सेवक सम्बन्ध पुष्टि गर्न स्वतन्त्र, कटप्पा, हनुमान, रामसेवक, पबनपुत्र जस्ता उपनामहरुको रचना गरियो। यो छिनाझम्टी कस्तो छ भने लँगुरे बाँदर राता बाँदरको झुन्डमा पुग्यो भने राताले सातो खाने, रातो बाँदर एक्लै दुक्लै लँगुरेको बथानमा पुग्यो भने लँगुरेले हियो खस्काउने र दुबैको ग्याङ बराबर भयो भने सामाजिक संजाल कुरुक्षेत्र बन्ने ! यस्ता पत्रकार जसका प्रकार गुलाबका पत्रभन्दा पनि बेसी हुन्छन्, जसका गुणस्तर पनि कारका झै फरारी देखि अल्टोसम्मका हुन्छन, जसको वर्णन गर्न हजार जिब्रो भएका शेषनागलाई पनि हम्मे हुन्छ, यो अकिंचन आज त्यस्ता अलौकिक चौथो अंगका अवयवको बारेमा केही चर्चा गरिँदैछ।

लौ , अब फूलपाति लिनुस्।

हनुमाने पत्रकार

कार्टून: कार्टूनस्टक डट कम

हनुमान बोले तो हनुमान । यो बर्गको त नामैले पुरापुर वर्णन गर्छ भनेर चर्चै नगरि बस्दा यो लेखको नि राम नाम सत्य हुन्छ होला। तपाइँहरु सामाजिक सन्जाल त चलाउनु नै हुन्छ होला। फेसबुक, ट्विटरतिर नारदले चिम्टा बजाँदै नारायणss नारायणss गरे झै  रामभजन गर्ने पत्रकारहरु त भेट्नु नै भयो होला। वा भनौं उस्तै परे एकदुईपटक भिड्नु नै भयो होला। यी पत्रकार कस्ता भने – नाम पनि ठूलो भएका, दाम पनि ठूलै कमाउने ! व्यवसायिक पत्रकारिताको आकाश आफैले थामेको छु भने गुड्डी हाँक्ने तर मनमा रामलाई राखेर भजन गाउने। खुलेरै लागेका, प्रष्टै देखिएका चक्रपथ, रातोपाटीजस्ता अनलाइनवालाका त कुरै नगरौं, किनकी यीनलाई त हनुमाने भन्दा पनि तलुवा चटुवा पत्रकार भने पनि फरक पर्दैन ।तर त्योबाहेक पनि केही अनलाइनका सम्पादकहरु, सिनियर रिपोर्टरहरुले नि यसपालिको चुनावमा कट्टु काँधमा हालेर, हातमा भाटा बोकेरै हिँडे। यीनीहरु आफ्नो कुनै पनि राजनीतिक आस्था नरहेको र सत्य कुरा गर्न नडराउने पत्रकार हुँ भनेर ध्वाँस दिन्छन्। कुनै अवस्था भनेर कसैले प्रतिप्रश्न गर्यो भने भए पनि नभएपनि राजाको सक्रिय शासनको बेला भनेर रेडिमेड जवाफ फर्काइहाल्छन् । यिनले कतिसम्म तिकडम जान्या हुन्छन् भने चुनावको माहोमा फ्याट्ट मत सर्वेक्षण पनि गरिटोपल्छन् अनि परिणाममा आफ्नो  पार्टीको पल्ला भारी भएको देखाउँछन्। कोही हनुमाने पत्रकारले यो पढ्दै हुनुन्छ भने म:म भन्नुहोला । यस्तो जाडो छ गाँठे, म:म सुपले ज्यान रन्काउला ।

अनुमाने पत्रकार

यीनका त के कुरा गर्नु। हुनत यी पनि हनुमाने नै हुन् तर हनुमाने हुन आफ्नो ल्याकतले नभ्याउने, आफूले भनेको कुरा पनि कसैले फ्याट्ट नपत्याइदिने। अनि त यी बने अनुमाने पत्रकार। एउटा नेतालाई भेट्ने, नेता पनि पार्टीमा खासै राम्रो पहुँच नभएको। अनि त्यै नेताका कुरा सुन्ने र सामाजिक सञ्जालमा अनुमान ठोकिहाल्ने। मौका मिले आफुले काम गर्ने मिडियामा त्यै अनुमानको लम्बेतान लेख लेखेर गजक्क पर्ने। यीनले गरेको अनुमानको राम नाम सत्य भइसक्दा पनि यिनीहरु ‘स्रोत’ले भनेको आधारमा लेखेको भनेर मुखको कालो मेट्न खोजेका भेटिन्छन्। यस्ता अनुमाने पत्रकारहरुमा कोही त ट्विटरमा निलो टिको लाउने पनि छन्। अझ हाँसो नउठने कुरा त के छ भने यीनले आफु अनुमाने हुँ भनेर देखाउन ट्विटरतिर पोल पनि खडा गर्थे, कसले जित्ला भनेर।

जजमाने पत्रकार

यो पनि नामै काफी छ। जजमाने भन्या टापटिपे क्या त। यसो मन्त्र पढे झैं गर्‍यो दक्षीणा लियो, टाप कस्यो। फेरि अर्कोकोमा गयो मन्त्र पढ्यो, दक्षीणा लियो टाप कस्यो। कांग्रेसका कतिपय नेता हार्नुमा यस्ता जजमाने पत्रकारको भर पनि थियो भन्छन् जान्ने बुझ्नेहरु। यिनीहरुलाई अझ गहिरिएर चिनाउनुपर्दा यी नेताको भाषण टिपेर वाक्ने पत्रकार हुन्। यीनको मगजमा प्रश्न नै हुन्नँ। हिजो कुनैनेताले एकथोक बोले र आज हिजोको उल्टो बोले भने पनि यिनले प्रश्न गर्दैनन्। जस्ताको तस्तै टिप्छन्, र आफ्नो अनलाइन, पत्रिका वा टिभी, रेडियोतिर वाक्छन्।

अपराधी पत्रकार

माफ गर्नुहोला, अपराधी पत्रकार भनेर कुनै काण्ड गरेका वा अदालत, प्रहरीबाट दोषी ठहरिएका भन्न खोजेको हैन। अपराध विधामा कलम चलाउने पत्रकार भन्न खोजिएको हो। ठगी, लुटपाट, अपराध, हत्याजस्ता घट्नाको समाचार लेख्ने पत्रकार। यो त बीटको कुरा भयो। अब चुनावका बेला यिनीहरुले गरेका केही रिपोर्टिङलाई हेरेर कसैले यी पत्रकारलाई अपराधी पत्रकार नै भन्छन् भने त्यसको जिम्मा १२ थरीले लिन सक्दैन। चुनावका बेला कोही एक उमेदवारलाई टार्गेट गरेर बारम्बार यसले यहाँ यति ठग्यो, उता यति किर्ते गर्‍यो। फलाना ठाम्मा यसले फलानीलाई हातपात गरेको थियो, घाँस काट्न जाँदा गाउँकै चेलिबेटीलाई नि छोडेन भन्ने टाइपका समाचार लेख्नेहरुले यतिबेला म:म भन्दा हुन्छ।

फरकधारे पत्रकार

यी फरकधारै भनेका एकपटक नेपाली चलचित्रमा हल्ला आएको थियो नि फरकधार भनेर, हो त्यस्ता चाहिँ भन्न खोजेको हैन है। यी कस्ता भने आफू अरुभन्दा अलग/फरक छु भनेर देखाउन जे पनि गर्ने; जस्तै टिकापुरमा थारुले ठिकै गरे भन्ने, मधेसीले ठिकै गरे अझ आन्दोलन सशक्त हुनुपर्छ भन्ने। कुनै पनि इभेन्टलाई ठ्याक्क जातिय साम्प्रदायिक रंग दिइहाल्ने। टीकापुर घटनाका दोषी ठहर गरिएका रेशम चौधरी र प्रधानमन्त्रीलाई यीनले उस्तै देख्छन्। विरगंजमा हुने मधेशी आन्दोलन (चाहे त्यसमा जति नै हिँसा होस्) लाई अधिकारको लडाइँ, हकको लडाइँ भन्ने तर माओवादी जनयुद्ध (जसलाई नेपालको संविधानले समेत मान्यता दिइसक्यो) लाई अपराध भन्ने पत्रकारहरु सामाजिक सञ्जालका टाइमलाइनतिर देखिए भने यी फरकधारे र’छन् भन्ठान्नुस्। यीनका स्टाटसमा सबले खेदो खन्छन् अनि जसले जति जे भने पनि म माइनोरिटीका लागि बोलेको छु भनेर चान्स पाउनासाथ भुकिहाल्छन्, मानौं यिनीहरुले नबोलेर नै अहिलेसम्म  देश पछाडि परेको जस्तो।

तर्कप्रसाद

यी पत्रकार कस्ता हुन्छन् भने स्कुलमा वादविवाद प्रतियोगितामा फर्स्ट हुने टाइपका। जस्तै; जे मा नि पुरै तर्क देश विदेशको कुरा ल्याएर पढ्नेलाई ‘ए हो है’ जस्तो बनाइदिने। यिनीहरुले राजनीति, अर्थशास्त्र, भौतिक योजना जुनसुकै क्षेत्रमा उत्तिकै दमदार तर्क पेश गर्छन्, युरोप, अमेरिका, चीन, जापानजस्ता देशका उदाहरण ल्याएर। अनि हामी चैं क्युबा, सिरिया भयौं भनेर उताका उदाहरण पनि सँगै बोकेर ल्याउँछन्। यिनीहरुको खुबी के हो भने यीनले जुन पक्षपोषण गरेर लेख्छन्,  त्यसैको विपक्षमा पनि पक्षका तर्कको खण्डन गर्दै पनि त्यति नै दमदार लेख्छन् जस्तो लाग्छ। यी अलौकिक प्राणी हुन्।

र, अन्तिममा सान्काजीका भजनमण्डली

पहिला सान्काजीलाई चिनौं है त- उही क्यात, हाम्रा एकमात्र देवादिदेव, कांग्रेस पार्टीका थापा काजी के त। आम्मामामामामा, यीनका भजनमण्डलीको त के कुरा गर्नु? काजीले पादनुभयो भने पनि यिनले ‘यो पाद काजीसा’बको खुदको पाद होइन, यो त पुरै तीनकरोड जनताको पाद हो, यो पादले नेपाली जनताको अस्वस्थ्य अवस्था देखाउँछ’ भनेर शुरु गरिहाल्छन्। कुनै यस्तो अनलाइन, कुनै यस्तो पत्रिका छैन जहाँ सान्काजीका थप्पडी समुह नहुन्। यिनका नजरमा देशमा भएको आर्थिक विपन्नता, नाजुक स्वास्थ्य व्यवस्था, बेहाल शिक्षा अवस्था, आदि ईत्यादि, ह्यानत्यान, अगडम् बगडम् सबैको समाधान मात्र सान्काजी सा’ब हो। धेरै नलेखौं होला वहाँको बारेमा, यो भजनसेना पुरै हातमा मसाल बोकेर आउँछ फेरि।

Boston