पढाइ लेखाइ के काम, हलो जोत्यो खायो माम् !

१२ सत्ताइस चेतावनी: यो लेख धेरै किताब नपढ्न र किताब पढ्नु रोग हो भन्ने प्रमाणित गर्न लेखिएको हो। तपाइँलाई पढ्नु र किताब मात्र संसार हो भन्ने लाग्छ भने ‘गेट आउट फ्रम हेयर।’ यति भनिसकेपछि पनि कथम् कदाचित यो लेख पुरै पढेर तपाइँले पढ्न छोड्नु भने त्यसको जिम्मेवार हामी हुने छैनौं।

पृष्ठभूमि

पढपढ बाबु पण्डित हौला… नपढेमा बाबु हलो जोती खाउला !

फोटो साभार: पपसुगर डट कम

सानो छँदा हाम्रा हजुरबाहरुले पिंढीमा गुटुटुटsss गुगुटुटुटsss हुक्का तान्दै हाम्लाई पढ्न प्रोत्साहन दिन यही कुरो भन्थे। तर केटाकेटीमा सबै लगभग उस्तै मुखाले, छुच्चा, वचनका तिखा। बालाई वचन फर्काउँदा गोर्खेलौरी लाग्ने सम्भावना हुन्थ्यो, तर हजुरबालाई भने नाति नातिना सावाँ भन्दा ब्याजको माया बेसी लागे झैँ हुन्थ्यो। त्यसैले पनि होला, हजुरबाको डाइलग नातीनातिनाबाट फर्केर उतै पुग्थो।

पढ्यो लेख्यो के को काम, हलो जोति खायो माम् !!

बाउआमा, हजुरबा हजुरआमा, फुपु, काकाकाकी, मामा माइजू… जो सुकै हुन्, केटाकेटी हुन्जेल यता फर्कियो पढ, उता फर्कियो पढ भन्ने वाक्कै लाग्दा रटान। पढिस् भने ठूलो मान्छे हुन्छस्, चामलको भात खान पाउँछस्। नपढे हलि हुन्छस् र ढिँढो खाँदै बस्लास् भनेर पुरै ईमोस्नल अत्याचारै हुन्थ्यो। यति लेखिसकेपछि नयाँ पेन्सिल पाउलास्, १ रुपियाँ पाउलास् भन्ने अत्याचार त कतिकति। नपढेको निहुँमा सिर्कनोदेखि कुचाको झटारो, चिर्पटको झटारोदेखि जूटको बोरामा हालेर खिर्राको रुखमा झुण्ड्याएका सम्म दृष्ट्रान्त त कति कति। त्यसमाथि स्कूलमा सरहरुले दिने तनावको त हिसाबै छैन।

त्यो बेलादेखि पढ्न थालेको गाँठे त्यो क्रम अझसम्म सकिएको छैन। शहरबाट कोही गाउँले दशैंमा जाँदा आइए, उइए, बिए, डिउरी पढ्दै भनेको सुनिन्थ्यो। तर आफुलाई भने एसएलसी पास गरेर जिन पयँटको पछाडि एउटा कापी भिरेर क्याम्पस जान पाए जिन्दगीको पढाइको एउटा चरण सकिन्थ्यो भन्ने लाग्थ्यो। पछि आफू पनि पढेर काठमाडौंबाट गाम् जाँदा कति पढिस् त भनेर कसैले सोधे जवाफ ट्वाक्क दिइहालिन्थ्यो, हात्ती पढेर ठूलो भ’को हो र? कि कमिलो नपढेर सानो भ’को? पढ्न त कति पढियो पढियो नि, आइए बिए, खाइए पिए चार थाल पाँच गिलास भनो अनि हाँस्यो।

तर आज हामीले यहाँ चर्चा गर्न खोजेको यो स्कूल, क्याम्पसको पढाइको कुरो हैन। कुरो आजकाल फेशन बन्दै गएको साहित्य पढ्ने (खासमा यसलाई पढ्नेभन्दा पनि सेल्फी साहित्य भन्दा ठीक होला) बारेको हो। कस्तो जमाना आयो भने, बजारमा आएका किताब पढेँ भनेर फोटो खिचेर नराखे त मान्छेले कुरै सुन्न छोड्न थाले। बजारियाहरुले कतिसम्म गर्न थालेभने फेरि, किताब छापिएर बजार पुगेकै हुँदैन पहिल्यै यो बर्षको उत्कृष्ठ कृति भनेर ट्याग लगाइभ्याउँछन् समीक्षकहरुले। १२ थरी ब्यूरोका कतिपय सदस्यहरु पनि किताब किनेर देखाउने तर एकै पेज पनि नपढ्ने वर्गका छन्। अनि दुईचार जना ‘भलादमी’हरु बसेका ठाउँमा ‘फलानोको किताब पढिस्? क्या लेखेको छ’ भन्न थालेपछि आफू पनि विद्वान देखिन पढिटोपल्ननु नि परो।

उसो त हामी नेपालीहरु पढाइलेखाइको मामिलामा अलि अल्छी नै हौं। बिदेशीहरु ट्रेनमा यात्रागर्दा उभिएरै भएपनि किताबै पढिरहेका भेटिन्छन् भने एरपोटमा प्लेन कुर्दा पनि एउटा कुनामा किताबमै घोत्लिरहेका हुन्छन्। नेपालीहरु भने टेम्पुमा झुन्डिदा समेत मोबाइलमा कि त फेसबुकमा लाइक ठोकिरहेका हुन्छन् भने कि त क्यान्डी क्रसका डल्ला फोडिरहेका हुन्छन्। तर केही समय यता नेपालीहरुमा पनि पढ्ने संस्कृति विकास हुने लागेको हो कि भन्ने डर १२ थरीको सामाजिक ब्यूरोलाई पर्न  थालेको छ।

पढ्नु राम्रो हो, तर यो पढाई भनेको पनि गाँजा, चुरोट, रक्सीको लतभन्दा डरलाग्यो लत हो। यो लतले क्यान्सर भएर फोक्सो नबिर्ला, मुटुको नशा बन्द नहोला तर त्योभन्दा झन् डरलाग्दा रोग निम्त्याउँछ। आउनुस् धेरै पढ्दा लाग्ने १२ सत्ताइस रोगका चर्चा गरौं।

किताब विमोचनको निम्तो भ्याइनभ्याइ

हेर्नुस्, अचेल शहरमा किताब निकाल्ने लहर चल्या छ। हप्तैपिच्छे किताब विमोचनका निम्तोहरु विवाहको मौसममा आउने निम्तोभन्दा छ्यालब्याल हुन थालेका छन्। विमोचनमा जाँदा लेखकको हस्ताक्षर सहित किताब पाइने लोभले हो कि सामाजिक संजालमा लेखक सहित नारिएका फोटो राखेर समाजमा आफ्नो “बुकवर्म” छवि कायम राख्न हो, मानिसहरुको तछाँडमछाड हुन्छ। यो ‘पढन्दास’ देखिने लत यति डरलाग्दो हुन्छ कि मान्छे आफ्नो छोराको न्वारन छोडेर किताब विमोचनमा पुगिरहेका हुन्छन्। ती किताब लगेर कतिले पढ्छन् त्यो त भगवान नै जानुन्, तर किताबका श्रष्टासँग खिचिने फोटा हेर्दा लाग्न सब नेपाली विद्वान हुने क्रममा छन्। भ्रष्टाचार, बेरोजगारी, नकरात्मकता भरिएको नेपाली गिदीमा अब चैं सृजनशीलता, सकरात्मक सोचाइ र नवीन सोचका किराहरु स्याउँस्याउती सल्बलाउनेछन्।

विद्वता छाँट्नको सकस

धेरै पढ्दा लाग्ने अर्को नशा हो विद्वताको नशा। तपाइँ जति धेरै किताब पढ्नुहुन्छ त्यति नै तपाइँमा आफूले सबै कुरा जानेको अहम् पलाउँदै जान्छ। त्यसले तपाइँ नबोल्दा हुने कुरामा पनि आफ्नो विद्वता छाँटन शुरु गर्नुहुन्छ। पढ्नु मात्र त सजिलै कुरो हुन्थ्यो होला।अझ हाम्रो नेपालीको बानी कस्तो भने, आलु खाएर पेडाको धाक दिन पर्ने। किताब पढेर दुई चार कुरा मनन गर्न भन्दा पनि यत्तिको किताब त मैले पनि लख्ने सक्थें होला, जाँगर मात्र नचलेर हो भनेर आफु ठूलो पल्टिन पर्ने। यो किताब किनेर फोकटमा यति पैसा खर्च भयो, बरु तेतिको मासु किनेर खाको भए पुट्ठामा थोरै बोसो त लाग्थ्यो भनेर मपाईं बन्न पर्ने। अनि फलाना किताबमा लेखकले यो लेखेका रैछन् खासमा कुरो यसो हो वा यसो हुन पर्थ्यो भनेर लेखकको हुर्मत काढ्न पर्ने। यो एक रोग हो, मानसिक रोग, जुन तपाइँले धेरै किताब पढेर जन्माउनुभएको हो।

पढिरहन पर्ने दबाब

अहिले त बजारमा म:म पसलभन्दा प्रकाशन गृहहरु धेरै छन्। तिनले हरेक हप्ता नयाँ किताब निकाल्छन्। हरेक दिन पत्रिकै पिच्छे पढ्नै पर्ने किताबका सूचि निस्किन्छन्। २ बर्षपछि किताब छापिने छ भने २ बर्ष अघिदेखि नै आउने बर्षको उत्कृष्ट कृतिका ट्याग लागेर आउँछन् कति किताब त। जब तपैंलाई पढ्ने नशा लागिसकेको हुन्छ नि तब तपाइँ यी सब कुराबाट भाग्नै सक्नुहुन्न। यो पागलपनको पनि उच्चतम विन्दू हो। गोजीमा ४२० रुपैयाँ बोकेर तपाइँ किताब विमोचनमा पुग्नुहुन्छ र ४०० को किताब किन्नुहुन्छ, लेखक वा अरु ‘भलादमी’सँग बसेर २० रुपियाँको चिया पिउनुहुन्छ र राति गाडीभाडा नभएर हिँडदै घर फर्किनुहुन्छ। तर एउटा कुरा के याद गर्नुस् भने नि ४०० को किताबले तपाइँको पेट भरिँदैन, पेट भर्न खाना खानुपर्छ।

त्यसमाथि पढेर मात्र भएन। कुनै लेखक मन परेन भने आफ्नो स्वादअनुसारको लेख्ने लेखक खोज्न परो। मन परो भने उसले लेखेको अरु पनि कृति पढ्न परो। कहींकतै केही गल्ती लेखेको रै’छ लेखकले भने पनि सन्दर्भ सामाग्रीमा छिरेर सत्यतथ्य निकालेर लेखको उछित्तो काढ्न परो र राम्रो लेखेकै रै’छ भने पनि उसको लेखकि अनुसार अरु को को ले अनुसरण गरेका रैछन् भनेर उजागर गर्न परो। बडो गाह्रो छ गाँठो किताबको किरो बनिटोपल्न।

समाजमा एक्लो परिने डर

जब पढ्ने नशा लाग्छ तब तपाइँ आफूजस्तै रोगीकै संगतमा पुग्नुहुन्छ। सबै किताबका किरा भएका ठाउँमा बहश पनि त्यस्तै हुने भए। अब बहश नगरौं, आफुले त्यत्रो पढेको छ। अर्कोले २ वटा किताब सक्दा आफूले ३ वटा सकेको छ। तर तपाइँ सँधै त रोगीहरुसँग मात्रै बस्नुहुन्नँ, कहिलेकाहीं टोल, समाजतिर पनि जानपरो, चियापसलमा जम्मा हुनुपरो। भन्छन् नि… देश अनुसारको भेष, टाउको अनुसारको केश। अब किताबको पान्ना पल्टाउन भन्दा तासका पत्ता फर्काउन माहिर समाज र बौद्धिक छलफल भन्दा आफ्नो रुढ पुर्वाग्रहको ओठे जवाफ फर्काउने संस्कारमा पढन्तेलाई टिक्न पनि उत्तिकै गाह्रो छ। अरुको कुरा मान्दिम्, तेत्रातेत्रा किताबका ठेली चाटेर पाएको ज्ञानले दिन्न, नमानुम् कागको बथानमा बकुल्लो भइन्छ। आफूले मात्रै एकोहोरो विद्वता छाँड्न थालेपछि भोलिदेखि तपाइँसँग टोलका मान्छे गफ गर्न आउँदैनन् वा आएभने पनि यो पागलका के कुरा सुन्नु भन्दिन्छन्।

बौद्धिक द्वन्दले निम्त्याउने अनिँदो

अघि माथि नै उल्लेख गरियो, मान्छे जति पढ्दै जान्छ उसमा उति आफू जान्ने हुँ भन्ने अहम् बढ्दै जान्छ। यो रोग कति खतरनाक हुन्छ भने मान्छे सुत्नै छोड्छ। सामान्यत: स्वस्थ्य रहनका लागि कम्तिमा ८ घण्टा सुत्न पर्छ। तर तपाइँ धेरै पढ्न थाल्नुभयो भने तपाइँको निद्रा सकियो भनेर बुझ्नुस्। एकातिर तपाइँको दिमाग तपाइँले पढेका पात्र र कथाबाट बाहिरै निस्कदैन। रक्सीको ह्याङ् त एक गिलास कागती पानीले मेटाउँछ तर किताबको ह्याङ् मेटाउन त तपाइँ पुरै विपश्यना केन्द्र नै पुग्नुपर्छ। अनि त्यो पढाइको ईगो। कसैले आफ्नो ज्ञान वा विचारलाई लल्कार्यो भने इतिहासको गर्भदेखि आधुनिक विज्ञानको क्षितिजसम्मका तर्क र दृष्टान्त झिकेरै भए पनि आफ्नो कुरो माथि पारौं भन्ने कसलाई नलाग्ला र ! अनि सोच्नुस् त त्यो मथापच्चि गर्दा कति दिमागी कसरत हुन्छ।

घाँटीबाट नछिर्ने हड्डी निल्न खोज्ने जोखिम

पटकपटक एउटै कुरो दोहोर्‍याउनु राम्रो होइन। त्यसैले धेरै पढ्नु रोग हो भनिसकेपछि यसका अनेक आयाम हुन्छन्। पढ्नै पर्ने रोगको अर्को पाटो हो घाँटीबाट नछिर्ने हड्डी निल्ने प्रयास। जब तपाइँ किताब मै गहिरिनु हुन्छ तब तपाइँ इतरका हरेक मान्छेले कुरा गरेका किताब पढ्नुपर्ने हुन्छ। किनकि तपाइँको पढन्ते ईगोले तपाइँलाई चुप बस्नै दिँदैन। संसारभरीका हरेक मान्छेको आफ्नै स्वाद हुन्छ, खानामा, पिउनमा देखि फिल्म, किताबदेखि पहिरनसम्म। तर जब तपाइँ धेरै किताब पढ्नुहुन्छ नि तपाइँलाई स्वादलस हैन तपाइँ स्वयम्‌को अहम्‌ले शासन गर्छ। अनि त के चाहियो? तपाइँ आफ्नो रुचिको विषय होइन, अर्को मान्छेले पढेर चर्चा गरेको किताब पढ्न थाल्नुहुन्छ। त्यो त तपैंलाई बोकाको मुखको कुभिण्डो हुने पक्कै छ।

र अन्त्यमा, पिएचडी वाग्ले बन्ने खतरा

तपाइँ ट्विटरमा हुनुहुन्न भने यो विषय नयाँ हुनसक्ला। तैपनि छोटकरीमा भनौं। हप्ता दशदिन अघि एक जना पिएचडीधारी सम्पादक वाग्लेले  औपचारिक पढाइ नपढेको मन्त्रीमन्डलका प्रभावशाली मन्त्रीहरुलाई ट्विटरबाट बिल्ला हाने। मन्त्रीमन्डलका एक जना सदस्यले पनि विनम्रतापुर्वक तिमीहरु पढेकाले पनि के ख्याँसेका छौ त आशयमा जवाफ फर्काइदे। अनि त के चाहियो र नेपाली सामाजिक संजालका साँढेहरुलाई। समाज पुरा दुईचिरामा विभक्त भयो। परेर जानेको ठूलो कि पढेर जानेको ज्ञानी भन्ने सवालमा झन्डैझन्डै गृहयुद्ध नै भयो। यो युद्धमा कम पढेका भनिएका मन्त्रीको सबैले वाहवाही गरे। तर पनि पिएचडी डाक्साब पछि हट्नुभएन। कारण त माथि हामीले बुँदागत रुपमा लेखिसकेकै छौं।

जदौ।