जहाँ पुग्दैनन कवि, त्यहाँ पुग्छन् रवी

नमस्कार पाठकवृन्दहरु ..!

आजभोलि जताततै रबीको चर्चा छाएको छ। रबीको नामको बर्षा भएको छ । घनघोर बर्षा भएपछि हामी नाथेलाइ पनि त्यसका बाछिटोले नछुने त कुरै भएन। हो, हामी कुरा गर्दैछौं नयाँ नेपालका जिता जागता भगवान श्री श्री १००८ रवी लामिछानेज्यूको बारेमा।

सिधै विषय प्रवेश गर्न खोज्दा हामी कता ओझेल परेका थियौं  भनेर त भन्नै बिर्सेको। त्यही त हो नि सरहरु म्याडेमहरु, १२ थरीमा न विज्ञापन छ न त क्लिकबेट नै। पापी पेट पाल्नै परो, त्यसको लागि घण्टा हान्नै परो । झन बर्सौंते पारामा परिवारमा सदस्य थप्दैमा फुर्सद छैन। केटकेटी भएसी तिनको गु-मुत पनि स्याहार्नै परो, धरालो पनि लाग्नै परो। बेलाबेलामा चारो पनि खुवाउनै पर्‍यो।  बहुतै गाह्रो छ सरहरु म्याडेमहरु बहुतै गाह्रो छ। कुन बेला हग्छन र सफा गर्ने भनेर कुरेर बस्दैमा दिन बितेको पत्तै हुदैन। यता छिर्ने मौका नै नमिल्ने। यति लेखिसकेपछि यो लेखक पनि घण्टै नै र’छ भन्ने त अनुमान लाइसक्नु भो होला केरे ।

हत्तेरी…. के कुरा गर्न छिरेको, कता पो मोडियो । ए अँ..! रवी लामिछानेको कुरा काट्न पो लागेको है हाम्ले त। पहिलो कुरो त हामी रवि लेख्ने कि रवी, कि रबी भनेर असमन्जसमा थियौँ । तर फ्याट्ट याद आयो । उनी त आधुनिक जमानाका नयाँ भगवान हुन, जुन नामले पुकारे पनी सुन्ने उनैले हो। हेर्नुस् हाम्रो १२ थरीको पत्रकारिता र सामाजिक बिट के निष्कर्षमा पुगेको छ भने रबी नेपालका राम नै हुन्। किनभने रबीभक्त हुनमानहरु केपी भक्त हनुमान र काँग्रेस भक्त कटप्पाभन्दा पनि ज्याद्रा र’छन्।

रवीको कुरा गर्दा उनका समर्थक यति साह्रो अन्धभक्त छन् नि, रवीले पहेँलपुर आची गरेर यो सुन हो भनेर भन्दिने मात्र हो भने रामलिला हार बनाइओरी लगाएर हिँड्छन होला। यहाँ हामीले रवीको समर्थन र विरोध भन्दा पनि उनले अवलम्बन गरेको बाटो, उनको घमण्ड अनि कसैलाइ मान्छे नगन्ने उनको स्वभावमाथि केही शब्द खर्च गर्न खोजेका हौं। हामी गीताको छातीमा हात राखेर भन्छौं, (कृपया गीता भनेको भागवत गीता बुझिदिनुस् है, नत्र फेरि अर्को आरोप खेप्न मन छैन हामीलाई) उनले हाम्रो खरबारी फाँडेका छैनन्। हामी त सिर्फ तमासे हौँ। तमासा हेर्ने अनि घरी ताली बजाउने घरी काखी ।

हेर्नुस् हामी नेपाली बहुतै दोलगा प्रवृत्तिका छौं। राष्ट्रप्रेम, स्वाधिनता र स्वाभिमानमा हामी जहिल्यै दोहोरो मापदण्ड बनाएर कारोबार गर्छौं । बिदेश जान पाए हुँदो हो, कुस्त डलरका हरिया पत्ता टिप्न पाए हुँदो हो, जसरी पनि काठमाडौंमा एउटा घर ठड्याउन अनि चारपाङ्ग्रेमा हिंड्न पाए हुँदो हो भन्ने चैं अधिकांश मध्यवर्गीय नेपालीको सपना-जपना हो।  त्यसको लागि अरुले थाहा नपाउने गरि बिदेश जाने गरिने तिकडम चैं ढोंग। एकातिर चिया पसलमा  “म बिदेश त कसैले मजत्रै सुनको हात्ती दिए नि जान्न” भनेर  गुड्डी हाँक्नु तरो अर्कोतर्फ लुकिलुकी न्यूरोडतिरका डिभी भर्ने साइबरमा गएर हजार रुप्पेँ तिरेर डिभी भर्नु द्वन्दात्मक ढोंगवादको एउटा चरम नमुना हो।

हेर्नुस्, नेपालमा पत्रकारको के हविगत छ, सबैलाई थाहा छँदैछ। मिडियाले तलब दिन्नन्। तलब माग्न गयो भने साहुले “हाम्ले करोडौं लगानी गरिदेर तिमीहरुले टिभीमा थुतुनो देखाउन पाका छौ, अझ तिमीहरुलाई पैसो चाहिने?” भन्दै लाठो लिएर  खेद्न आउलान जस्तो गर्छन् । हुनत अचेल च्याउसरी उम्रिएका अनलाइनहरुमा तलब बडाबडमा पत्रकार तान्ने होड चल्या छ रे भन्ने सुनिन्छ। तर तलब घोषणा मात्रै गर्छन् कि समयमा दिन्छन पनि भन्ने चाहिँ खोजको विषय हुनसक्छ। तलब नपाएपछि पापी पेट पाल्न यसो हल्का औंला बाङ्गो गर्न परेन त ? अरब खरबका समाचार लेख्या छ, करोडौंका भ्रष्टाचार भन्दै पत्रिकामा बाइलाइन छपाको छ, ठूलाबडाको संगत गर्या छ, ताल परे राम्रै होटेलमा लन्च-ब्रेकफास्ट गर्या छ तर बेल्का फर्केर डेरामा छिर्दा चामल राख्ने ट्याङ्कामा चामलको गेडो नहुँदा कति बिरक्तिदों हो पत्रकारको मन !

नेपालको पत्रकारितामा क्षेत्रमा केहि गरे पनि पैसा पाइने अनि केहि नगरे पनि पैसा पाइने चलन छ रे।कसरी भन्नुन्च भन्देखुन – पत्रकारले कुनै सकरात्मक समाचार लेखे ‘तेरो समाचार लेख्दिएँ’ भनेर फाइदो हुने पार्टीसँग पैसा लिन्छन् र कुनै नकरात्मक इस्यु फेला परे ‘तेरो समाचार लेख्दिम?’ भनेर थर्काएर पैसा उठाउँछन। यसरी  कमाउने आइडिया नेपालका केही पत्रकारहरुले सिके अनि सिकाए। सयमा सय यस्तै बेइमान/दलाल छन् त हामी पनि भन्दैनौं । तर तलबै नपाउने, पाए पनि नियमित नपाउने अनि पाउने बैधानिक तलब यो महँगीमा हात्ती मुखमा जिरा सरह हुँदा हुँदै पनि कसैले स्वाभिमान जोगाएर बाँचेको छ भने हामी त्यस्तालाई सलाम भन्न चाहन्छौ है ।

स्वाभिमानको कुरा चल्दा छुस्स याद आयो । नेपालका मेडिया चैं यसो टाइफाइँ लाउन सक्नेलाई बिदेश छिर्न गतिलै लिस्नो हुने गरेका छन् । यसो अलिअलि टिभीमा थुतुनो देखाएर यता हल्काफुल्का चर्चित भएपछि उसमा “साला नेपाली…. पुअर पिपुल, डर्टी पिपुल” भन्ने भावना पलाउँछ। म त अर्कै लोकको निम्ति सृजित गरिएको चिज हुँ, संयोगले ल्यान्डमात्र नेपालमा भाको हो भनेर उ बिदेशका चक्करमा लाग्छ। मिटिङ/ट्रेनिङ भनेर कतै जाँदा उतै लुक्नेदेखि लिएर पढ्न जान्छु भनेर दुनियाँलाई जिल्लाएर होस सबलाई त्यहि घ्यू खानु छ, कम्बल ओढेरै किन नहोस् । कनिकुथी नेपालीमा लेखेका आफ्ना केही किताबहरु र स्वाभिमानका गाथालाई अंग्रेजीमा अनुवाद गराएर अनि वकिललाई मोटो रकम खुवाएर भए पनि उसलाई त्यही सपनाको देश पुग्नुछ।

जब उ त्यहाँ गएर हन्डर खान थाल्छ, तब उसलाई नेपाल ‘मिस’ हुन थाल्छ। यता थर्काएर खाएको बानी, उता कसैले बाल नदिनी। यता बाटोमा हिँड्दा पब्लिकले चिनेर अटो मागेर ल्याङ गर्छन् भनेर स्कार्फ बाँधेर हिंड्न पर्ने, उता पुगेपछि कौन पुछे खेसरीको दाल। श्रीमती बालबच्चाको सेटलमेन्ट भैसकेपछि उसले महशुस गर्छ,  हैट ! यताको यो भतुवा जिन्दगी भन्दा त नेपालमा पो तिलस्मी थियो त जीवन। डिमाग लगाउने हो भने उता जति पैसा यता पनि नकमाइने होइन।

अनि बस नेपाल फर्क्यो। स्वदेशको मायाले तानेर ल्यायो। बिदेशमा सिकेको ज्ञान यहीं प्रयोग गर्छु भन्यो। चिन्न त पैले पनि चिन्थे नै, अब बिदेश छाडेर नेपाल फर्केको राष्ट्रवादी ट्याग लाएसी झन धेरैले चिन्ने भए। अनि सुरु हुन्छ…. हिरोइज्म्।

जब मान्छेसँग प्लान ए, प्लान बी र प्लान सी को व्यवस्था हुन्छ नि , उ अलिक अराजक पनि हुन्छ। हामीले यसो लेखिरहँदा कतिलाई रीस पनि उठ्यो होला। उठोस्। १२ थरी कोही रिसायो भनेर नाक फुलाएर बस्दैन। हाम्रो तर्क के मात्र हो भने नि, जुनसुकै पेशाका पनि आफ्ना सिद्धान्त, मान्यता, सीमा हुन्छन्। त्यसका केही नैतिकता हुन्छन्। विधि हुन्छन्, प्रक्रिया हुन्छन्। पत्रकारिताका पनि होलान्। पत्रकारिता अराजकता नहुनु पर्ने हो भन्ने लाग्छ। तर तपाइँहरुले पछिल्लो समय हेर्नुभयो भने पत्रकारिताका नाममा मान्छेको हुर्मत लिने काम ककसले गरेका छन् देख्नुहुन्छ।

यति लेखिसक्दा तपाइँहरुलाई रवीलाई अनुसन्धानको लागि थुनामा राख्दा १२ थरीले थप्पडी बजायो भन्ने लाग्न सक्छ। लागेपनि हामीलाई बाल हो। हामीले यहाँ प्रवृत्तिको कुरा गरिरहेका छौं। संसारमा काहीं पनि पत्रकार नै प्रहरी, वकिल र न्यायधिश समेत भएको देखिँदैन। सिद्धान्त्त: त्यस्तो नपाइनु पनि पर्ने हो। तर नेपालमा त्यस्तै भइरहेको छ। एक हिसाबले भन्ने हो भने न्यायको वैकल्पिक माध्यम खोज्नु नेपाली सर्बसाधारणको राज्य संयन्त्रप्रतिको चरम निराशा हो । अर्कोतर्फ रवि रबैया अराजकपनको उदाहरण ।

नेपालमा कुनै यस्तो ठाउँ छैन जहाँ रवी नपुगेका हुन्। बालुवा खन्ने ठाउँदेखि भूत देखिने घरसम्म। कञ्चनपूरदेखि अष्ट्रेलियासम्म। जहाँ जहाँ नेपालीले सूर्यको किरण पाउँदैनन्, त्यहाँ पनि रवी पुगेकै छन्।

 

 

Leave a Comment

Your email address will not be published.

माइन्ड नगर्नुस है स्पाम कमेन्ट ले हैरान भैयो - टुच्च क्याप्चा *

Charlie