ए भाइ…. चिया चुरोट ल्याइज त…..

नमस्कार है साsssब्, साsssबनीहरु…. 🙏🏼🙏🏼
खासै लेख्न आउने मान्छे त  होईन आफु, तर १२थरिले ट्वीट गरेर हैरान पारो। ‘कृपया केहि त लेखिदिनुस, हाम्रा स्तम्भकार जति जम्मै आ-आफ्ना स्तम्भ सुम्सुम्याउँदै ठिक्क भए, लेख्ने कुराको खडेरी पर्यो। प्लिज लेखिदिनुस न, बिद्यानास, तपाइँको परिचय गोप्य राखिनेछ’, आदि इत्यादि भनेर धर्नै बसे जस्तो गरे। लौ त नि, भनेर यसो आँटेको हो। ह्रस्व- दीर्घ माग्ने बुढाको दाँतजस्ता छन्, मनलाग्दी उछिट्टिएका। आशय बुझे भैगो नि, थोडी एसइइको परिक्षामा जस्तो अब्बल ग्रेड ल्याउन छ र ! अलिअलि त यी सम्पादक लठुवाले मिलाउलान् नि  भनेर छाड्देको छु ।

अब आफ्नो पुराण मात्र फलाक्न छाडेर अरुको कुरो काटुम है त ।  कुरो के भने नि……….. !!! हुन त कुरो स्वस्थानीमा जस्तो उपनयतु मंगलम बाटै सुरु गर्नहुन्थ्यो, तर यसको जरो त्यति छिमलिसाध्धे छैन। तपाईहरु सबैलाई था भएकै कुरो हो नि, ट्वीटरमा हुने बाझाबाझ र दोहोरीको न जगै अनुमान लाउन सकिन्छ, न गजुरै देखिन्छ। खैर… सिधै ‘कुमार जी आज्ञा गर्नुहुन्छ’ बाट सुरु गर्ने हो भने प्रसंग चाहि हेविवेट सम्पादक-कम-ट्वीटेहरुका हानाहानको हो है।

‘ताक परे तिवारी, नत्र गोतमे’ यसको ट्यागलाईन भन्दा पनि फरक नपर्ला । पानसमा बत्ति बालेर पारस सरकारबाट उद्घाटन गरायो, बहुदलबादी दललाई हान्यो। राजा निम्छरो हुँदै आए, बहुदलबादीसँग मिलेर राजालाई नै ‘फ्लाइङ् किक’ हान्यो । प्रचण्ड उदाए, उसको साईड हिरो बनेर कांग्रेसलाई छिर्के लायो। जसै जसै हतियार क्यान्टोनमेन्टमा थन्किए, माओवादीका नंग्रा झरे, तेसपछि  भुक्का कामरेडहरुलाई भकुर्यो । यो अनन्त शृंखला चलिरहेको छ। हान्तिपुरको हान्ने इतिहास संक्षिप्तमा यतिनै। अहिले यतिखेर घरभित्रकै बात मारम।

गुल्मेली बाहुन परिवार छुट्टिएर गए पनि माडे साउले व्यापार ठिकठिकै गरिरहेकै थिए। राजनैतिक दलसँगको कुम जोडाई, कहिले कुनै चिजको लफडा, कहिले कुनैको, एफ.एम, टिभी, पत्रिका, यता र उता गर्दागर्दा बडे साउ हत्तु भएका थिए। कताकता मात्रै व्यापार हेर्नु ? तब घरको टाँठोबाठो केटो व्यापार सम्हाल्न आयो।

‘हैट, अब यसरि हुन्न बा, नयाँ जमानामा नयाँ तरिका अपनाउन पर्छ’ भनेर केहि वर्षदेखि हेरफेरको मेलो सुरु गर्यो। ‘इन्डियन मिडियाले समाचार बेचेरै त्यत्रो खाईसके, हाम्ले पनि त नेपालीको दिमाग भुट्न परो नि’ भनेर उतैबाट मार्केटिङ -बिशेषज्ञ टोलि झिकायो।

महाबौद्धको २०० रुपैंयाको गन्जीमा, ठमेलमा छापिने रु २५ गोटाको ‘नाईकी’ स्टिकर चप्काएर दरबारमार्गको शो-रुममा २५०० मा बेच्ने टेकनिकजस्तै, कवाडी इस्यु उठाएर बिकाउ समाचार ‘म्यानुफ्याक्चर’ गर्न सिकाउनु उक्त टोलिको काम थियो। यसै बिचमा, यता समाचार ‘बनाउन’ खटि आएका टोलि अलि पुराना भए। भन्या नि राम्रोसंग टेर्न छोडे, कहिले एउटा कम्पनि चहार्छन, कहिले अर्को कम्पनि चहार्छन, ‘वल्ला घरका नरे पल्ला घर सरे’ भन्या झैं।

यस्तो भए’ पार चल्दैन, अब एउटा चम्बु केटो ल्याउन पर्यो, अंग्रेजी फिलिलि भाको, जर्ज बुशकै गाममा बसेर पढेको, भनेर झिल्के केटो ल्याईयो। महिनाको कमाई १० लाख अरे! सम्झंदै भनन्न रिंगटा चल्ने। ए बाबा ठाकुरे ….

ठुलाठुला सेता हाउस भएको एउटा मिडिया छ, जुन मेडियाहाउसको नाम हो ‘हान्तिपुर’ । ‘अरे यस्तो नाम त कतै पनि सुनिया छैन, बरु कान्तिपुर होला, यो लेखकले विड तानेर आयो कि क्या हो’  भन्नुहोला । अब हेर्नेस जुन मेडियाका  कर्मचारी, रिपोर्टर, सुपर रिपोर्टर, डुपर रिपोर्टर,  उपर रिपोर्टर, कसैका मुहारमा पनि ‘कान्ति’ हुन्न तेस्तालाई के खान कान्तिपुर भनिराख्नु ? जहाँका सबै सदस्य जैले हानाहानको मुडमा हुन्छन, त्यो मेडियाहाउसलाई हान्तिपुर नभनेर के भन्नु त ?

(यहाँ उपरान्त त्यो केटाको बारेको फेहरिस्त साम्दे शेर्पाको प्रहसनमा जस्तै क्यासेटको साईड ‘ए’ र ‘बि’ मा रेकर्ड गरिएको छ। इच्छा अनुसार पल्टाई पल्टाई सुन्नु होला)

साईड ‘ए’:

आउने बित्तिकै काफ्ले केटोले पारा ल्याउन थाल्यो। ‘ओप्पा ग्यांगनाम स्टाइल’ मा समाचार जान थाल्यो। कुनैबेला त धडाधड ‘बजफिजीकरण’ नै भएको हो कि भन्ने पनि लाग्थ्यो। अन्त्याँड एकदिन, केटोले भन्दियो- ‘एडिटर इन्टर्न’ मा मान्छे लिन्छौं, आओ। तर पहिलेको जस्तो सम्पादकलाई चिया-चुरोट टक्र्याउन पर्दैन। बकाईदा तालसंग छक्का-पन्जा देखि चक्का-जामसम्मको कुरो लेख्न पाउँछौ। अनि त्यसपछिको इतिवृतान्त सबैमा अवगत नै छ।

टाईमलाईन चलायमान भयो। सबलाई रिस उठ्यो। आफ्नो पालामा ‘इन्टर्न’हरुलाई राम्रै व्यबहार गरेकालाई सह्य भएन। ‘अनलाईक इन द पास्ट’ भनिदिए पछि त यसअघिका जम्मै उस्तै थिए भन्ने पर्यो। मालिकको आदेश सर्वोपरी गरि समाचार लेखेकै हो, नयाँ आउनेलाई पनि छोई-छिटो नगरी पार लगाएकै हो, बेक्कारमा एउटै घानमा हाल्ने? नेपालि पत्रकारितामा खुट्टो हाल्न नपाई ‘मपाई’ सुरु गर्ने? नयाँ जोगी भएर आएँ भन्दैमा खरानी सत्यानाश पार्ने? त्यस्सिमा डाँकु। राजाले शिवरात्रीमा बोलाए भन्दैमा बिहारबाट पशुपति आएर ‘मैं हुँ असली खडेश्वर बाबा’ भन्दै लिङ्ग ठड्याउने? यता, सोझालाई लाटो रिस उठ्यो। उता, बाङ्गालाई बाङ्गो रिस उठ्यो।

अब के ?

साईड ‘बि’

मिडिया हाउसमा कति शोषण भन्ने कुरो जगजाहेर नै छ। कुन सिनियर रिपोर्टरको कति रवाफ छ भनेर थाहा पाउन न्यूजरुम छिर्ने पर्दैन। गेट बाहिरको चिया पसलेले समेत जम्मै नालीबेली लगाईदिन्छ। झिल्के सम्पादकले उल्लेख गरेको चिया-चुरोट त सामान्य हो।

एकदिन (केहि वर्षअघि असार-साउन तिरको ) प्रसंग भन्छु है त । एउटा ‘बिट’ हेर्ने सिनियर जर्साब  (जसरि आर्मीमा तल्लो तहका सिपाहीलाई ठुलाले हेप्छन, पत्रकारितामा पनि उस्तै उस्तै झल्को पाईने भएकोले जर्साब प्रयोग गरेको, वास्तविक जर्नेलसंग यहाँ कुनै साईनो लाग्दैन) पत्रकारलाई टेन्सन भएछ। किन भयो, कसरि भयो, इन्टर्न बिचरोलाई मेसो भएन। न्युजरुम दुई फन्का लगाए, कम्प्युटरको किर्बोर्ड ड्याङ्ग ड्याङ्ग हाने, एकछिनमा कम्प्युटर ठाँडो गतिलो भएन भन्दै ‘आईटि’को मान्छेलाई खबर गरे (इन्टर्नलाई गर्न लगाए)। अनि  ‘ल भाइ, मिठो सुर्ती बना’ भन्ने हुकुम बस्के । चुनाको लाम्चो प्लास्टिक निचोरियो, सुर्ती मोलियो। यहाँसम्म केहि भएन, यार दोस्तीमा चल्छ यति। सिनियर सरले सुर्ती मुखमा हाल्नुभो। हाल्नेबित्तिकै अत्तालिंदै ओठबाट हातले निकालेर सुर्तीको लुँडो इन्टर्न भाइको हातमा पर्नेगरि फाल्दिनुभयो। ‘मुला, चुना कति हाल्नपर्छ, जान्दैनस? जा भाग, तँ मुलाले पत्रकारिता गरेर खान्नस।

‘चिया चुरोट मगाउने, जाँड पार्टीमा गएको बेला बाईकमा घर छोडिदिने, सुर्ती मोलेर टक्र्याउने, आदि इत्यादि (केटा) इन्टर्नको ‘बेसिक’ जब डिस्क्रिप्सनमै राख्दे हुन्छ।

अब (केटि) इन्टर्नको अर्को फेहरिस्त छ। पर्सनल फोन नम्बर सुरुमै टक्र्याउन पर्ने (नत्र अबिश्वास गरेको हुने)। ‘स्टोरी’ को सिलसिलामा न्युजरुममा भन्दा बाहिरको रेस्टुरेन्टमा समय ज्यादा बिताउनु पर्ने (नत्र स्टोरीमा ‘सिरियसनेस’ नदेखाएको हुने)। बेलुका ९-१० बजेपछि पनि ‘गुड नाईट, हाउ आर यु फ़िलिङ्ग, तिम्रो फेवरेट लभसङ कुन हो, आदि इत्यादिको रिप्लाई गर्नुपर्ने (नत्र सिनियरलाई डिसरेस्पेक्ट गरेको हुने)। ‘फलानो एनजियो/संस्थाको डिनर प्रोग्राम छ फलानो ठाउँमा (नगरकोट/धुलिखेल/यस्तै यस्तै रोमान्टिक डेस्टिनेसन), स्पेसल पास अफर भएको छ, जाने हो?’ भन्दा उत्तर ‘यस सर, माई प्लेजर’ हुनुपर्ने (नत्र उसको इन्टर्नशिप सकेर त्यहि संस्थामा जागिर खाने सपना ठाउँका ठाउँ शिबखुलित् हुने)। यस्ता लिस्ट लामो हुन्छ। सबलाई थाहा छ । बस, कसैले मुख फोरेर अगाडी उत्रीदैन।

यस्तो राम्रो अच्छा अवसरहरु मिलिहरेको बेलामा त्यो नयाँ ठिटो आएर यस्सै हिरो हुन खोज्छ बा ! यहाँको सिस्टम इन्जोय गर्नुछैन, बुझ्नु न सुध्नु, टुँडिखेलमा कुद्नु !

माथि उल्लेखित प्रसंगहरु सबै वास्तविक जीवनसंग मेल खाने घटनाहरु मात्रै हुन्, पढेर कसैलाई ‘आफ्नो बेला’ सम्झिएर ज्यानमा काँडा उम्रिए, हामी जिम्मेवार हुने छैनौं।

Leave a Comment

Your email address will not be published.

माइन्ड नगर्नुस है स्पाम कमेन्ट ले हैरान भैयो - टुच्च क्याप्चा *