हामी महापुरुष !!

नमस्कार।

यो लेख केही पहिले लेखिएको म मर्दको सेरोफेरोमा नै रहेर लेखिएको हो। यसमा नयाँ कुरा केहीपनि छैन। त्यही हाम्रो सेरोफेरोमा रहेका मर्दहरु कसरी महापुरुष बन्दछन् भनेर व्याख्या गरिएको छ। म मर्दमा एउटा मर्दको दिनचर्या बर्णन गरिएको थियो भने यो लेखमा त्यही मर्द कसरी महापुरुष बनेको छ भनेर लेखिएको छ। अनि यो क्रम नरोकिएमा त्यो महापुरुष भोलि गएर युगपुरुष बन्ने ल्याकत राख्दछ भनेर पनि भन्न खोजिएको छ।

धेरै भयो केही लेखौँलेखौँ जस्तो लागेको। तर कहिले समय नमिल्ने, कहिले आफैँले समातेको बिषय उति टेसिलो नलाग्ने। ती यावत कारणहरुले गर्दा मैले लेख्न शुरु गरेका कैयौँ लेखहरु गर्भमा नै तुहिएर गए। मैले लेख्न छोडेदेखि कैँयौँ बिषयहरु सतहमा आए, तर कुनै पनि बिषयको गहिराइमा पुग्न आँट आएन। आज एकाबिहानै एउटा भिडियो हेर्न पुगेँ, जहाँ एउटी महिलाले कसरी पाइला पाइलामा प्रताडित हुनु परेको छ भन्ने बिषयमा बोलिएको रहेछ। त्यो भिडियो हेरिसक्दा आँखाहरु नरसाइ रहन सकेनन्। म आफूलाई नै केही हदसम्मको ढोँगी हुँ भन्न चाहन्छु। तर मैले लेख्न छोड्नुमा मभन्दा ४ कदम अगाडिका ढोँगी हात छ भनेर भन्न कत्तिपनि हिच्किचाउन्न्। हेर्नुस्, म लिङ्गले पुरुष भएपनि मलाइ यो पुरुष जात फिटिक्कै मन पर्दैन। हामी पुरुषको एउटा शैलीले त मलाइ घुटन नै हुन्छ। हामी पुरुष कस्ता छौँ भने नि, मुक्त कण्ठले खुल्लामन्चमा महिलालाई इज्जत गर्छौँ, अनि बन्द कोठामा तिनै महिलाको इज्जतलाई कुल्चिन्छौँ, कोपर्छौँ, लुछर्छौं, चिथोर्छौँ।

आउनुस् आज त्यस्तै महापुरुषहरुको नालीबेली बिस्तारमा सुनौँ।

हामी पुरुषहरु यात्रामा जानु पर्‍यो भने बसको छेउमा एउटी सुन्दर युवती परोस् भनेर मनकामनामामाईसँग भाकल गर्छौँ। किन गर्छौँ था’ह छैन, छेउमा सुन्दर युवती पर्दैमा हुने त केही हैन, सार्वजनिक बस हो, मान्छेहरु टन्नै हुन्छन्, र पनि हाम्रो चाहना युवती नै परोस् भन्ने हुन्छ। अनि हाम्रो भाकल बुझिदिने खलासी भाइ हुन्छ, दाजी तपाइँको छेउमा च्वाँक केटी पार्दिन्छु भनेको मात्र के हुन्छ, १० रुपियाँको भाडा हामी २० रुपियाँ तिर्न नि तयार हुन्छौँ। हामीलाई मानवसँग यात्रा गर्नुमा कुनै मतलब हुँदैन। बस एउटा सुन्दर युवती छेउमा राखेर गन्तव्यमा पुग्न पाइयोस्। हाम्रो सोच यस्तै भएर होला हामी आफ्नै छोरीचेलीलाई एक्लै यात्रामा जान दिदैनौँ, किनकि हामीलाई राम्रोसँग था’ह छ, यात्रामा हामी जस्तै पुरुषहरु हुन्छन्। हाम्रो जस्तै सोच भएका महापुरुषहरु हुन्छन्। त्यसैले त हामी तिनैसँग डराउछौँ। यहाँनेर सत्य बोल्नु पर्दा हामी आफैसँग डराउछौँ। आफ्नै पुरुषत्व यहाँनेर आएर आफ्नै छोरीचेलीको दुश्मन बनेको हुन्छ।

हामी पुरुषहरु एउटै घरमा भाडामा बस्ने छोरीचेलीको झ्याल वा ढोकाको कापाबाट तिनीहरुले कपडा बदलेको हेरेर रमाउछौँ। लुकीछुपी तिनका अङ्गहरु हेर्छौँ अनि रमाउछौँ। त्यसैले त हामी आफ्नै चेलीको ढोकामा कुनै दुलो हुन दिदैनौँ। नुहाउने कोठामा बाहिरबाट कसैले केही नदेखोस् भनेर सचेत हुन्छौँ। पर्दाहरु राम्रोसँग लाइएको छ वा छैन जाँच गर्छौँ। छेस्किनी लाग्ने नलाग्ने जाँच गर्छौँ। हामीलाई राम्रोसँग था’ह छ, आफू जस्तै अरु पुरुषहरु पनि त्यही घरमा बस्छन्। त्यसैले आफू जस्तै महापुरुषहरुको गिद्दे नजरबाट आफ्ना छोरीचलीलाई जोगाउन हदैसम्मको प्रयास गर्दछौँ।

हामी पुरुषहरु कतिसम्म महान हुन्छौँ भने नि- फेसबुकमा ट्विटरमा महिला शसक्तिकरणका ठुला ठुला स्टाटसहरु राख्छौँ। ती स्टाटसमा लाइक गर्ने, रिट्विट गर्ने; राम्रो राम्रो डिपी भएका महिलाहरुलाई छानीछानी प्राइभेट म्यासेज गर्छौँ। आहा ! कति राम्री ! कस्ती हिरोइन जस्तै देखिएकी, तिमी त सेक्सी र’छौ, तिमी त हट र’छौ भन्दै जान्छम्। त्यहाँनेर पुगेपछि अर्को पुरुषले त्यस्तै किसिमले महिला हकहितको कुरा गर्‍यो भने हामी दुकुर्दै पुगेर आफ्नो सर्कलका महिलालाई त्यस्ता पुरुषबाट सचेत हुन उर्दी जारी गर्छौँ। हामीलाई राम्रोसँग था’ह जो छ, त्यसलेपनि आफूले जस्तै जाल हान्दैछ। त्यसको मनासय नि आफ्नो जस्तै छ। तब न हामी आफ्ना सर्कलका महिलालाई जोगाउन खोज्छौँ। नढाटी भन्नुपर्दा हामी आफैबाट तिनलाई जोगाउन खोजेका हुन्छौँ किनकी हामीलाई आफैसँग डर जो लागेको हुन्छ, आफैमाथिबाट विश्चास जो गुमेको हुन्छ।

साँझ डिनर गरेपछि हामी टहलिन बाहिर निस्कन्छौँ। बाटोमा हिँड्ने महिलालाई सिठ्ठी बजाउछौँ। कता हो कान्छी भन्दै गिद्दे नजर लगाउछौँ। लछारपाटो केही नलाग्ने भए नि हामी भुस्याहा कुकुर झैँ भुक्न छोड्दैनौँ। ब्वाँसो बनेर झम्टिन खोज्छौँ। कुना कन्तरा पाइयो वा मौका मिल्यो भने हात समातिहाल्न पनि पछि पर्दैनौँ। हामीलाई आफ्नो टोलको कुना काप्चा था’ह हुन्छ। कुन ठाँउमा कसैको आँखा पर्दैन हामीलाई सबै अनुमान हुन्छ। अनि सिकार कहाँ कसरी गर्न सकिन्छ सबै जानकारी भएका हामी आफ्नो घरका चेलीलाई घाम डुबेपछि त्यो बाटो एक्लै हिडाउँदैनौँ। हिड्न दिदैनौँ। हामीलाई राम्रोसँग था’ह छ, त्यहाँ आफुजस्तै ब्वाँसो ढुकेर बसेको हुन्छ, सिकार खोजेको हुन्छ।

हामी कार्यलयमा सँगै काम गर्ने महिलाले अलि खुकुलो छाती भएको वस्त्र लगाएमा निहुरेर छाती चिहाउछौँ। कसिलो पेन्ट लगाएकी महिलाको नितम्बमा गिद्दे नजर लगाउछौँ। लेडिज फस्ट भन्दै महिलालाई अघि लगाएर उनको नितम्बको चाल हेर्दै पछि लाग्छौँ। मुखबाट पानी निकाल्छौँ र घुटुक्क निल्छौं। हामी पुरुष दामी छौँ। त्यसैले त आफ्नै घरकी छोरीचेली काम गर्न जाँदा कस्तो कपडा लगाएमा आफुजस्तै महापुरुषको नजरबाट जोगाउन सकिन्छ भनेर पहिरनमा जोड दिन्छौँ। यस्तो नलगाऊ, उस्तो नलगाऊ भनेर उर्दी गर्छौँ। हैनौँ त हामी दामी?

हामी आफ्ना छोरीचेली सामाजिक सन्जालमा धेरै नभुलुन् भन्ने चाहन्छौँ। च्याटमा मस्त नहुन् भन्ने चाहन्छौँ। आखिर हामी किन त्यस्तो चाहन्छौँ? च्याटमा अर्कोतिरबाट कुरा गर्ने त आफुजस्तै महापुरुष नै हो नि है, हैन र? र पनि हामी किन डराउछौँ होला आफ्नो छोरी चेली च्याटमा भुल्दा? अनलाइनमा भुल्दा? किनकी हामी च्याटमा अर्काका छोरीचेलीसँग जस्तो कुरा गर्छौँ, आखिर अर्को महापुरुषले च्याटमा आफ्नी छोरीचेलीसँग गर्ने कुरा पनि त्यस्तै त हो। हामीले अर्काका छोरीचेलीसँग जस्तो अपेक्षा राखेका हुन्छौँ, जस्तो माग राखेका हुन्छौँ, उताबाट आफ्नै सहोदर महापुरुषले राख्ने अपेक्षा र माग पनि त उस्तै हुन्छ। अनि हामीलाइ डर नलागेर भयो? स्वभाविक छ डर लाग्नु। आफ्नै नियतसँग डराउन पर्ने दिन आएको छ हामी महापुरुषहरुलाई। डर अरुसँग हैन आफैसँग छ।

हामी महापुरुषहरुलाई राम्रोसँग ज्ञान छ- गाँउशहरमा कस्ताकस्ता नाट्टिकुट्टी आफुजस्तै महापुरुषहरुको बास छ भनेर। त्यसैले त हामी घोक्रो सुक्नेगरी महिला सुरक्षाका कुरा गर्दछौँ। हामीलाई राम्रोसँग था’ह छ, कार्यालयमा महिलालाई कसरी दुर्व्यवहार गर्न सकिन्छ भनेर। कसरी सार्वजनिक यातायातमा दुर्व्यवहार गर्न सकिन्छ भनेर पनि थाहा छ अनि थाहा छ कसरी घरमा दुर्व्यवहार हुन सक्छ। हामी पुरुषहरुलाई चप्पाचप्पाको ज्ञान छ। त्यसैले त हामी हाम्रा छोरीचेलीलाई आफुजस्तै व्बाँसोबाट कसरी जोगाउन सकिन्छ भनेर लागीपर्दछौँ। हामी महापुरुषहरु यही हिसाबले अगाडि बढ्दै गयौँ भने चाँडै नै युगपुरुष बन्नेछौँ। अनि हामीले इतिहासको पानामा कहिल्यैपनि नमेटिने गरी आफ्नो नाम छपाउने छौँ।