१२ थरि मेकअप, २७ थरि विद्वान र ४२ थरि तुच्छता

तपाईँहरूलाई शीर्षक हेर्ने बित्तिकै लाग्यो होला यसले त्यही मिस नेपालको प्रतिस्पर्धा गर्न अडिसन सत्रमा जाने एक जना प्रतिस्पर्धीलाई निर्याणक मन्डलकी एक सदस्यले गरेको तुच्छ गाली (harassment) मा केन्द्रित भएर भँडास ओकल्न लाग्यो होला। तर कुरो त्यति हल्का पनि हैन। आज हामीले हाम्रो तुच्छ सोच र लिँडे विद्वताको बारे विश्लेषण गर्न खोजेका छौँ।

कुरो सुरु गरौँ त्यही केही दिन पहिले सार्वजनिक भएको मिस नेपालको अडिसन सत्रको भिडियोबाट। उक्त भिडियोमा एक जना प्रतिस्पर्धी कुनै झकिझकाउ मेकअप नगरी अडिसन दिन गइन्। तर निर्णायक मन्डलकी एक सदस्यलाई मेकअप नगरी उक्त प्रतिस्पर्धामा भाग लिन जानु भनेको समग्र प्रतियोगिताको अपमान मात्र गरेको हैन, २१ औँ शताब्दीकी नारीले विश्वलाई मुट्ठीमा लिन नसकेको लाग्यो। त्यस्तो लागेको मात्रै भए पनि समस्या हुन्न त्यो होला, तर उनले आफ्नो त्यो सोचलाई प्रतिस्पर्धीमाथि यसरी प्रस्तुत गरिन् कि, त्यसले फेसबुक ट्विटरमा झुन्डिने तपाइँहामीलाई बहसदेखि कतिपय अवस्थामा त आफ्नो भडास पोख्ने स्तरमा ल्यायो। हो, अब हामी त्यही भँडास यता पोख्दै छौँ। मन लाग्यो भने पढ्नु होला, नलागे पनि पढ्नु होला र भडाँस पोख्नु होला।

अहिले लगभग विश्वमा नै एउटा समूह सबै खाले दुर्व्यवहार (harassment) को विरुद्ध लडी रहेको छ। विशेष गरी हामीजस्तो इन्टरनेट पुस्ता यो लडाइमा छ, चाहे त्यो कार्यालयमा हुने अनेक खाले यौन दुर्व्यवहार होस्, घरमा श्रीमान श्रीमतीका बिचमा हुने दुर्व्यवहारहरू हुन् वा दाइजोको नाममा हुने गरेका दुर्व्यवहारहरू नै हुन्। सार्वजनिक यातायातमा हुने दुर्व्यवहारहरू हुन् वा राजनीतिको माथिल्लो तहमा समेत हुने गरेका अनेक खाले दुर्व्यवहार हुन्। लगभग सबैजसो देशका एउटा समूह, विशेष गरी युवा पुस्ता यस्ता खाले दुर्व्यवहार विरुद्ध आवाज उठाइ रहेको छ। तपाईँ अन्य विकसित पश्चिमी मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू समेत खोज्नुस्, समूह सानो होला, तर यस्तो लडाइ कम्तीमा इन्टरनेटमा अहिले हरेक देशमा छ (यसमा पुरुषबाट हुने हिंसा र दुर्व्यवहार मात्रै हैन, महिलाबाट पुरुषमाथि हुने वा महिलाबाट महिला माथि हुने दुर्व्यवहारहरू समेत पर्दछन्)।

अब सुरु गरौँ ती प्रतिस्पर्धी युवतीमाथि निर्णायक मन्डलकी सदस्यले सोधेका प्रश्न र गरेको व्यवहार जायज नै हो वा दुर्व्यवहार हो भन्ने तिर।

धेरैको सोच के देखियो भने मिस नेपाल युवतीहरूलाई नङ्ग्याउने, कम्मर र स्तन नापेर, तिघ्रा प्रदर्शन गर्न लगाएर महिलालाई उपभोग्य बस्तुको रूपमा प्रस्तुत गर्ने एउटा व्यापारिक नाफामुखी प्रतियोगिता हो र यसमा पढेलेखेका, बुझेका युवतीहरू भाग लिन जानु नै गलत हो। यस्तो युवतीहरूको तिघ्रा प्रदर्शनीजस्तो प्रतियोगितामा गएपछि त्यहाँको सिस्टम अनुसार जानु पर्थ्यो। मिस नेपाल भनेकै मेकअपको व्यापार हो, अनि मेकअप नगरी गएपछि आयोजकको नुन खाएकी निर्णायक मन्डलकि सदस्यले आयोजकको नुनको सोझो गर्नु नौलो भएन। अझ कतिपयले त मिस नेपालको नाममा विजेतालाई बँधुवा मजदुर जस्तो बनाउन खोजेको भनेर समेत विरोध गर्न भ्याए।

अब लागौँ यसको चिरफार गर्न तिर।

अहिले कुनै पनि प्रतियोगिताहरू खासमा व्यापार नै हुन्। तपाईँ चाहे कुनै क्रिकेट-२० प्रतियोगिता भन्नुस्, वा फुटबल प्रतियोगिताहरू भन्नुस् वा कुनै बढी बिल्डिङ प्रतियोगिता वा अन्य कुनै खेलकुद, सबैमा व्यापारिक उद्देश्य नै रहेको हुन्छ। कुनै पनि प्रतियोगितामा सहभागीले वा खेलाडीले त्यहाँको प्रक्रिया पूरा गरेर गएका हुन्छन् र केही पारिश्रमिक लिएर अनुबन्ध भएका हुन्छन्। आफ्नो अनुबन्धभरि नियम मानेर नै रहनु पर्ने हुन्छ, यो कुरो तपाईँ हामीले गरी रहेको जागिरमा समेत लागु हुन्छ। कि त नियम मान्नुस्, कि त राजीनामा दिएर हिँड्नुस्। यस अर्थमा हरेक प्रतियोगिताका सहभागी/विजेता हरू एक किसिमले बँधुवा मजदुर नै हुन्। हरेक जागिरहरू पनि यस आधारमा बँधुवा मजदुर हुन्। तपाईँ हाम्रै वरिपरि हेर्नुस्, विदेशी एनजिओमा काम गरेर विदेशी एजेन्डाको लागि दलाली गर्ने तपाईँ हामीले कतिपय व्यक्ति चिनेकै छौँ। उनीहरूले त्यसो गर्नु पनि एउटा अनुबन्धले गर्दा नै हो। हाम्रै सन्दीप लामिछाने २० लाख भारुमा दिल्ली क्यापिटल्सबाट आइपिएल खेली रहेका छन्। अन्य लिगमा त्यो भन्दा धेरै पैसा पाइसक्दा पनि उनी २० लाख भारुमै आइपिएलमा खेल्न परेको छ। नेपाल आइडलका विजेताहरू हेर्नुस्, तोकिएको समय अवधि सम्म कसरी नियममा बाँधिएर बसेका हुन्छन्। भनेपछि केहीको तर्क सापटी लिँदा सन्दीप पनि बँधुवा मजदुर भए र नेपाल आइडलका विजेताहरू पनि बँधुवा मजदुर भए। सन्दीपले अन्य लिग खेल्न पाउँछन्, तर मिस नेपालकी विजेताले अन्य प्रतियोगितामा भाग लिन किन नपाउने? भन्ने तर्क आउला। तर नियमहरू सबैका आफ्नै हुन्छन् र ती नियमहरू सार्वजनिक नै छन्। जानेहरू तोकिएका नियम बुझेर नै भाग लिन गएका हुन्छन्। र सिस्टममा छिरेपछि कि त अनुबन्ध अवधिभर बँधुवा मजदुर हुन पर्‍यो, कि त अनुबन्ध तोड्न पर्‍यो।

अर्को तर्कबाजहरु छन् जो मिस नेपाल गतिलो प्रतियोगिता हैन भन्छन्। महिलालाई व्यापारिक बस्तुको रूपमा प्रस्तुत गरिने प्रतियोगिता हो। यस्तो घटिया प्रतियोगितामा गएपछि स्तरीय रेस्पोन्स खोजेर हुन्न भन्ने उनीहरूको दलिल छ। केही भलाद्मिहरुले त के सम्म भन्न भ्याए भने ‘खाजा र दारु खान पाटनको गल्लीको फोहोर भट्टीमा छिरेपछि सिँगान चुहाउँदै फुच्चे केटाले ल्याएर दिएको खाजा पनि चुपचाप लागेर खाएर हिँडे, किनकि उनलाई त्यहाँको स्तर थाहा थियो’।

त्यस्ता भलाद्मिहरु के बुझ्दैनन् भने जुनसुकै पेसा व्यवसाय (वा अहिलेको सन्दर्भमा सुन्दरी प्रतियोगिता)मा पनि मर्यादा हुन पर्छ। यदि ती भलाद्मिहरुलाई सिँगान चुहाउँदै बियर ल्याएर दिने त्यो भट्टीको भाइले ‘के हो मुजा, हेर्दा त भलादमी देखिन्छस् त, फेरि के सान देखाउन, हामी भट्टीका मान्छेलाई हेपेर सान देखाउन बियर खान मुन्टेको?’ भन्दै बियर र खाजा ल्याएर दिएको भए खान्थे कि छाडेर हिँड्थे? वा पाखुरा सुर्केर झगडा गर्थे कि? वा चुपचाप लागेर बियरको घुट्को मार्थे? त्यस्ता विद्वानहरूले के बुझ्न पर्छ भने विश्वमा पोर्न व्यापारमा समेत मर्यादा हुन्छ। रेड लाइट एरियामा छिरेर कुनै युवतीसँग बस्दा पनि ‘तँ बाइफाले राँड त होस् नि भनेर जे मन लाग्यो त्यही गर्न वा भन्न पाइन्न। त्यसैले भलाद्मिहरुले पहिले त harassment भनेको के हो भन्ने कुरो बुझ्न पर्छ। नत्र खासै बनावटी विद्वताको अर्थ छैन।

अहिले भइरहेको बहस भनेको कुन प्रतियोगिता स्तरीय र निकृष्ट भन्ने हुँदै हैन/हुनु हुँदैन पनि। र प्रतियोगिताको स्तर मापन गर्ने हैसियत कसैमा छैन। हरेक प्रतियोगिताहरूले एउटा छुट्टै समूहलाई आर्षण गरेको हुन्छ। सबै व्यक्ति यो दुनियाँमा पत्रकार मात्रै बन्दैनन्। सबै व्यक्ति यो दुनियाँमा वकिल वा लेखक मात्रै बन्दैनन्, सबै व्यक्ति समाजशास्त्री पनि बन्दैनन्। फेरी मिस नेपाल प्रतियोगिता स्तरीय हो हैन भनेर मापन गर्ने कसले हो? कुनै पुरुषले? कुनै महिलाले? कुनै प्रगतिशीलले? कुनै पत्रकारले? कुनै वकिलले? वा कुनै समाजशास्त्रीले? सुन्दरी प्रतियोगिता स्तरीय हो या हैन भन्ने मापन के हो? प्रतिस्पर्धीले छोटा लुगा लगाएर स्तरहीन भयो, वा तपाईँलाई मन परेन त्यसैले स्तरहीन भयो? मलाई टेनिस मन पर्दैन, त्यसैले अब टेनिस खेल नै खराब, छोटो छोटो लुगा लगाएर टेनिस खेल्ने केटीहरू नै स्तरहीन हुन् भन्ने?

हरेकको छनौट र रोजाई भिन्न हुन्छ र यदि हामी खुल्ला प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्छौँ भने आफ्नो रोजाइको लागि सबै जना स्वतन्त्र छन्, हुन पर्छ। कसैलाई मेकअप गर्न मन लाग्ला, त्यो उसको स्वतन्त्रता हो। कसैलाई मेकअप गर्न मन नलाग्ला, त्यो पनि स्वतन्त्रता हो। छोटो लुगा लगाउन पाउनु पनि व्यक्तिको स्वतन्त्रता हो। कुनै युवती आफ्नो रोइजाइको कपडा लगाएर हिँड्न नपाउनु, वा आफ्नो छनौटको लागि कुनै पुरुष वा कुनै अरू महिलाको इच्छामा भर पर्नु भनेको खुल्ला समाजको लागि स्वीकार्य विषय हैन। त्यसैले मिस नेपाल प्रतियोगितामा होस् वा कुनै कुनै हाजिरी जवाफ प्रतियोगितामा होस्, कुनै पनि युवतीले भाग लिन पाउन पर्छ र त्यो मर्यादित बनाउने, नियम भित्र रहन बाध्य पार्ने जिम्मा तपाईँ हाम्रो सबैको हो। त्यसैले अहिलेको बहस एउटा व्यक्तिले अर्कोमाथि गर्ने व्यवहार कस्तो हुन पर्छ भन्नेमा हुन पर्दथ्यो। मिस नेपाल जस्ता सुन्दरी प्रतियोगिताहरूमा प्रतिस्पर्धीहरूमाथि हुने harassment हरू कसरी नियन्त्रण गर्न सकिन्छ, भन्ने तर्फ अहिलेको बहस केन्द्रित हुन पर्ने हो। अहिलेको बहस मेकअप नगरी मिस नेपालको प्रतिस्पर्धामा भाग लिन जाने युवतीलाई निर्णायकले मेकअप नगरी किन आएको भनेर तुच्छ व्यवहार गर्न पाउने कि नपाउने भन्ने हो। त्यस्तो दुर्व्यवहार विरुद्ध हाम्रो कानुन आकर्षित हुन्छ कि हुन्न? वा त्यस्ता harassment नियन्त्रण गर्न पर्ने हो कि हैन भन्ने तर्फ हाम्रो बहस हुन पर्ने त्यो।

कसैले चाहे पनि नचाहे पनि, जतिसुकै पुँजीवादी ह्यान् त्यान् भने पनि यस्ता प्रतियोगिताहरू चली नै रहन्छन् र प्रतिस्पर्धीहरू कहिल्यै सकिँदैनन्। चलचित्रहरू दुनियाँबाट बन्द नहुन्जेल सम्म, फेसन बजार दुनियाँबाट बन्द नहुन्जेल सम्म यस्ता सुन्दरी प्रतियोगिता चली नै रहन्छन्। यो व्यापार हो, यो चली नै रहन्छ। र यसमा भाग लिन जान पाउने नपाउने व्यक्तिको स्वतन्त्रता हो। नेपालमा कबड्डिको लिग प्रतियोगिता गरिएको छैन, तर फुटबल, क्रिकेटको गरिन्छन्। किन भन्दा जे कुरोमा बढी मानिसहरूको आकर्षण छ, जे मा व्यापार छ, त्यसैमा सबैको लगानी हुने हो। सुन्दरी प्रतियोगिताहरू पनि त्यस्तै हुन्, त्यसमा कुनै खास उमेर समूहका वा फेसनमा चासो हुने युवतीहरूको आकर्षण होला। त्यसैले हरेक वर्ष सहभागीहरू हुन्छन्। यस्तै गरी सुन्दरी प्रतियोगिता भित्रका घटनाहरू बाहिरिँदै गए र सबैमा यसप्रति घृणा बढ्दै गएर कुनै दिन सहभागीहरू हुनै छाडे भने यस्ता प्रतियोगिताहरू आफै बन्द हुन्छन्। तर तपाईँ हामीलाई मन परेन भन्दैमा कुनै पनि कुरो खराबै हो भन्ने पनि हुँदैन। हरेकको रोजाइ, क्षमता, सोच, र लक्ष्य फरक हुन्छ भनेर स्विकारे धेरै समस्या आफै सल्टिने थिए।

र अन्त्यमा एउटा सत्य के उजागर भयो भने मिस नेपाल प्रतियोगिता भित्र हामीले नसोचेको दुर्व्यवहारहरू हुने रहेछन्। त्यहाँ भित्रको खराब प्रवृत्ति अझै बाहिर आउन पर्छ। पूर्व प्रतिस्पर्धीहरूले समेत भोगेका ती खराब प्रवृत्तिहरू बाहिर ल्याएर सहयोग गर्नु पर्छ। प्रतियोगिता रोकेर समस्याको समाधान नहोला। तर त्यस्ता खराब प्रवृत्तिहरू रोक्न सकियो भने त्यस्ता प्रतिस्पर्धामा जानेहरूले उनीहरूको स्वतन्त्रताको मर्यादित ढङ्गले उपयोग गर्न पाउँथे। जय होस्।

लेखकलाई ट्वीटरमा फलो गर्नको लागी ट्वीटर खाता @raman8848 रहेको छ । यस लेख प्रति
ब्यक्तीगत रुपमा कुनै प्रतिकृया दिन मन भए [email protected] मा ईमेल पनि पठाउनु सक्नु हुन्छ यद्दपी उहाँको नाम शिव भट्ट हो भनेर हामी ठोकुवा गर्दैनौ किन भने हो कि हैन हामीलाई पनि थाहा छैन 😉

Leave a Comment

Your email address will not be published.

माइन्ड नगर्नुस है स्पाम कमेन्ट ले हैरान भैयो - टुच्च क्याप्चा *