ज्याक्सन हाईट्सका बाह्र सत्ताइस् ज्याकहरु

७४ ब्रडवे, रुजभेलट एभेन्यु!

यो ठेगाना भन्दा खासै सुनेजस्तो नलागे नि संसारभर छरिएका णेफोली (जन्म र कर्मले नेपाली तर पलायन भएपछि म त नेपाली हैन भने झैं गरेर ठूला ठूला गुड्डी छाँटने तर नेपालीपन छोड्ननसकेका पलायनवादीलाई चिनाउने शब्द, नेफोली वा णेफोली) माझ चिरपरिचित नाउँ हो ‘ज्याक्सन हाईट्स’! नाम सुन्दा जतिसुकै सेक्सी किन नलागोस्, यथार्थमा यो ठाँउभने चाउरिएको छ, कच्याककुचुक छ, फोहोरी छ! खैर ठाँउ आफैंमा राम्रो नराम्रो भने हुँदैन। त्यहाँ बस्ने, किनमेल गर्ने, सेवा लिने वा जागिर खाने भिड र समुदायका अगुवा तथा प्रतिनिधिले के कस्तो भूमिका खेल्छन त्यसले पनि प्रभाव पारेकै हुन्छ। हरेक चोक तथा गल्लीमा बग्रेल्ती णेफोली स्पिंकिंग ड्यूड्सहरु जागिर खोज्दै, केश फाईल गर्दै, बस्ने ठाँउ जुगाड गर्दै, प्यासेन्जर कुर्दै, म:म चाउमिन खाँदै, चुरोट सल्काउँदै, पान चपाउँदै, गुटखा खाँदै, पिच्च थुक्दै, टन्न खाएर ढ्याउऊ डकार्दै हिँडिरहेका देख्न सकिन्छ। उसो त लातिनो, बंगाली र पाकीहरुको संख्या उल्लेख्य मात्रामा भए पनि ज्याक्सन हाईट्समा णेफोली दाजुभाइ तथा दिदीबहिनीहरु यत्र तत्र सर्वत्र भेटिन्छन्। खासमा यी झ्याँसको चर्चाले हजुरका झाँट समेत झर्किदैनन् तर पनि हाम्लाई नि यस्सो मेसो मिलेको मने बनदाम हुनु तर गुमनाम नहुनु भन्ने एउटा उक्ति छ नि? सोहि ठिक गरेको क्या! आजको यो लेखमा हामी चर्चा गर्ने छौं त्यही ज्याक्सन हाईट्स वरपर भेटिने १२ सत्ताईसथरीका णेफूली ‘ज्याक’ हरुको बारेमा। ज्याक्सन हाईट्सलाई एउटा बिम्ब मानेर यहाँ चर्चा गरिएका ज्याकहरु भने समग्र अमेरिकाभरि नै पाइन्छन्। केहीगरी तपाइपनि कुनै कोटीको ज्याक पर्नुभयो भने ङिच्च हाँसेर म:म: खानु आच्या भन्नुहोला है त। 

वरिष्ठ ज्याकहरु

यिनीहरुमा अन्य वर्गका झिनामसिना ज्याकहरुभन्दा आफू उपल्लो वर्गको भएको घमण्ड हुन्छ। यस्ता ज्याकहरुले अमेरिकामा नेपालको संभ्रान्त वर्गको प्रतिनिधित्व गर्ने गर्छन्। आइस्यो गइस्यो लगाएर बोल्नु, राम्रो ठाँउमा जागिर खानु, गतिलो अपार्टमेन्टमा बस्नु, ठूलो गाडी चढ्नु यीनका बिशेषता हुन्। यिनीहरुले कामै नगरी बस्ने भन्ने त कुरै भएन। ठालु पल्टेर अन्य वर्गका ज्याकहरुलाई सरसल्लाह दिए झैं गर्नु, संघ संस्थाका कार्यक्रमहरुमा अतिथि वा वक्ताका रुपमा आफूलाई हेर्नु, कसैले निम्तो गर्न बिर्सिए तिनको उछितो काढ्नु र ती विरुद्ध गुटबन्दी गरेर छुद्र बन्नमा यिनीहरुले पिएचडी गरेका हुन्छन्। केही वरिष्ठ ज्याकहरुले आफ्नै कार्यालय खोलेर वा व्यापार गरेर वा क वर्गको जागिर खाएर कुश्त डलर छापेका पनि हुन्छन्। पैसा कमाएर अमेरिकाका विभिन्न राज्यमा प्रपर्टी जम्मा गर्नु, नेपालका ‘बिजनेश’ मा लगानी गर्नु, घरघडेरी किन्नु अनि फेसबुकमा चर्ती देखाउनु यिनको सोख हो भन्दा खासै फरक नपर्ला। 

संघ संस्थावाला सामाजिक ज्याकहरु

यी ज्याकहरु थरैपिच्छे, घरैपिच्छे, गाँउ टोलैपिच्छे र ठाँउपिच्छेका संघ संस्थाहरु खोल्छन् र आफू कार्यकारी समितिमा रहेर आफ्नो नाम आफैंले उज्जल बनाउन प्रयासरत हुन्छन्। यिनीहरु आफ्नो मनखुशीले संस्थाको पदभार विभाजन गर्ने अनि फेसबुकमा ‘फलानो जस्तो चर्चित संस्थाको ढिस्कानो जस्तो गरिमामाय पदमा मलाई चयन गर्नु भएकोमा यहाँहरुलाई धन्यवाद ज्ञापन् गर्दछु’ भन्ने स्ट्याटस अपलोड गर्छन्। लाइक्स र कमेन्ट्सको गन्दै मक्ख पर्छन् र नेपालमा रहेका आफन्तलाई आफू भयंकर चल्तापूर्जा रहेको भ्रम छर्न खप्पिस हुन्छन्। तर यथार्थ हेर्दा ‘डर्टी जब्स्’ तथा अप्ठ्यारा मानिने कामहरुमा घन्टा हानेर पाईपाईको हिसाब गर्दै लोग्ने स्वास्नी मिलेर डलर छाप्नु यिनको दैनिकी हो भन्दा अत्योशयोक्ति नहोला। बडा गज्जब त त्यतिबेला हुन्छ जब यिनीहरु बीस पचास जम्मा गरेर कोही कसैलाई सहयोग गरेँ भनेर समाचार छपाउन दौडधूप गरिरहेका भेटिन्छन्।

अभियन्ता ज्याकहरु

नेपालमा जस्तै यहाँपनि णेफोलीहरुले अभियान छेडेकै छन्। यीनमा अभियान छेड्ने ‘जिन’ पिताजीका डन्डादेखि नै घनिभूत रुपमा छाएको हुन्छ। माताको कोखबाटसमेत समयभन्दा अघि नै निस्केर समाजमा कुनै न कुनै अभियान छेड्ने यिनले प्रण गरेका हुन्छन् अरे भन्ने पनि यदाकदा नसुनिएको भने हैन। ‘रक्तदान जीवन दान’ अभियानलाई निरन्तर अघि बढाइरहने, हरेक फेसबुकेलाई यो पटकको जन्मदिन ‘ब्लड डोनेट’ गरेर मनाउनुस् है भनेर म्यासेजमा ल्याङ् गर्नेदेखि धुर्मुस सुन्तलीलाई पैसा जम्मा पारेर आफैं डलर पचाउने तथा टिपिएसमा रहेकालाई हरियो पातो प्राप्त गर्नकालागि लबिंग गर्नसमेत पछि नपर्ने खालका अभियन्ताहरुलाई यो कोटीमा पर्छन्। यिनीहरुपनि आफूलाई वरिष्ठ नै भन्न रुचाउँछन् तर यिनको जीवनयापनको स्तर हेर्दा त्यो कोटीमा पर्दैनन्। यस्ता ज्याकहरु नपुगेको कुनै कार्यक्रम नै हुदैन भनेर बुझ्नुस्। उस्तै परे आफ्नो काममा सहयोग गरेर ठूलो गुन लाएको, घरबाट बाहिर निस्कन दिएको लगायतका अन्य प्रशंसाका पुल बाँधेर आफ्नी जीवनसाथीलाई समेत पुरस्कार र प्रशंसापत्रहरु दिलाउन लबिंग गरि बस्छन्। यिनमा नाम कमाउने जब्बर भूत सवार हुन्छ र यस्तै गतिविधि गरेर अमेरिकी सरकार/समाजको नजरमा परेर केही ‘पुरस्कार’ हात पार्नु यिनको मुख्य उद्धेश्य हो । 

अलपत्रकार ज्याकहरु

यो वर्गका ज्याकहरुले नेपालमा आफूले लेखेर, रिपोर्टिंग गरेर कमाएको नाम भँजाएर बसेका हुन्छन्। विभिन्न कार्यक्रममा यता आइ यतै लुकेर शरणार्थीको आवेदन दिएर, नेपालमा आफ्नो ज्यान असुरक्षित रहेको हवाला दिँदै पहिले ‘लो प्रोफाईल’मा रहनु र जसोतसो हरियो पातो प्राप्त भएसी आफूलाई भयंकर प्रबुद्ध र संसारै हाँक्नसक्ने पात्रका रुपमा आफूले आफैंलाई देखेका हुन्छन्। यिनले आफूलाई बडो बुद्धिजीवी ठान्दछन् र कुनै कार्यक्रमको निम्तो पाएनन् भने वर्षाको भ्यागुतो फुले झैँ गाँड फुलाई बस्छन्। प्राय:जसोले एउटा न एउटा पोर्टल बनाएका हुन्छन्। यिनीहरुको पत्रकारिता कस्तो हुन्छ भने णेफूलीहरुको पिकनिकदेखि विवाह, व्रतबन्ध र भोजको ‘फेसबुक लाईभ’ गर्छन् र आफ्नो पेजमा भिजिटर बढाउँछन्। यीनको खास उद्देश्य आफ्नो वेब पोर्टलमा ‘हिट’ बढाउनु नै हो। त्यसमानेमा यिनीहरुलाई अलपत्रकार भन्दा अत्युक्ति हुँदैन।

खलपात्र ज्याकहरु

नामै काफी छ नि होइन? यी खलपात्रहरुको काम भनेको बाहिर आफू चोखो देखिनु तर भित्रभित्रै अरुको बन्दै गरेको काममा भाँजो हाल्नु यीनको मुख्य ‘रिक्रियशनल एक्टिभिटी’ हो। यीनलाई अरुको प्रगति देखेर औडाहा छुट्छ। हरेक वर्गका ज्याकहरुमा यस्ता ज्याक भेटिन्छन्। साँझ परेसी लोकल पबहरुमा भेला हुनु, अरुले गरेका काममा खोट निकाल्नु वा फेसबुक ट्विटरमार्फत अरुको कामको आरिस गरेर सिंगौरी खेल्नु, म ठूलो, म डाक्टर, म प्रोफेसर, म ईन्जिनियर आदि जस्ता कुत्सित ग्रन्थी पालेर बस्नु पनि यीनका केही विशेषता हुन्। 

कलाकार ज्याकहरु

यो प्रकृतिका ज्याकहरुले नेपालमा गीत गाएर, एल्बम निकालेर, कलाकारिता गरेर नाम कमाएका हुन्छन् अनि त्यसैको आडमा अमेरिका छिर्ने भिषा जितेका हुन्छन्। कुनै कार्यक्रममा पहिलोपटक आएर कोही फर्किएर पुन: आउछन् लुक्ने योजनासहित। अनि कोहीभने पहिलो राउन्डमै रफूचक्कर हुन्छन् र अन्त्याँण केजाति कलाकार समाज भन्नेको सदस्य पनि फ्याट्ट बनिहाल्छन्। जसोतसो चलेकै छ। चुच्चे ढुंगो उही टुंगो भने झ यता लुकिसकेसी यिनीहरु सबैभन्दा पहिले त पुग्ने तिनै वरिष्ठ ज्याकहरुको ल फर्म नै हो। यति भनिसकेसी त बुझ्नु भो नि हैन? उही क्या त सबैको पहिलो रोजाई के त भन्दा असाईलम हान्ने वा नाम कहलिएको ब्यक्तित्व अन्तर्गतको त्यही हरियो पातोलाई आवेदन दिने। बडा गारो त यिनिहरुलाई पर्छ। कि त ‘डर्टी जब्स’बाटै करियर शुरु गर्नु पर्‍यो कि त रेष्टुरेन्टमा गीत गाउने गीताङ्गे वा नर्तक बन्नु पर्यो। कार्ड हात नपरुन्जेल यिनीहरु लो प्रोफाइलमा बस्ने गर्दछन्। तर जसै हरियो पातो हात पर्‍यो अनि यी सम्झिन्छन् आफूलाई राजा।

द्वारपाले ज्याकहरु

माउ पार्टीका नेताहरु अमेरिका आउदा एयरपोर्टमा स्वागत गर्नु, नेपाली टोपी ढल्काउदै नेतासँग एयरपोर्टमा सामूहिक तस्वीर खिच्नु, तिनको बसोवास एवम् मनोरञ्जनको व्यवस्था गर्नु, तिनलाई घुमाउनु र सकेसम्म ‘खुशी’ पार्नु यीनको काम हो। काम गर्ने त सबैले त्यही नै हो तर ठूला कुरा गर्नमा भने यिनिहरु माहिर हुन्छन्। तिनै नेतासँग खिचेका फुटा फेसबुकमा हालेर आफूलाई ठूलो देखाउन यिनीहरु अब्बल हुन्छन्। पार्टीबाट पैसा निकासा गर्दै भोज गरेर मोज गर्न यी खप्पिस हुन्छन्। अर्को कुरा यिनीहरुको भित्री व्यापार भनेको ‘असलाइम् सिकर’हरुसँग गाँठ लिएर आफ्नो पार्टीको मान्छे भएको वा पार्टीको मान्छे भएर माओवादी पीडित हुन पुगेको ‘जष्टिफाई’ गर्ने पत्रहरु बनाइदिनु हो भन्छन् जानकारहरु।

हिमाली ज्याकहरु

अलि पहिले हिमाल चढन् जाने गोरा साहेब तथा मेमहरुले यिनार्को दैनिकी देखेर, हिमाल चढ्दा यिनले गरेको सहयोगको गुन मानेर स्पोन्सर मार्फत् शुरुमा केही हिमाली दोजुहरुलाई यता ल्याए। विस्तारै अधिकांश ‘समिटर’हरु आए। त्यसपछि आए शाखासन्तान। यो क्रम कतिसम्म बढ्यो भने हिमाली दाजुभाइले ज्याक्सन हाइट्स झपक्क भरियो। शायद ज्याक्सन हाईट्सका णेफोलीहरु माझ एकिकृत ठूलो समुदायमा कुनै छ भने त्यो हिमाली समुदाय नै छ भनेर भन्दा खासै फरक नपर्ला। ठूलो संख्यामा रहेका यिनीहरु मेहेनती छन् आफ्नो कर्म गरेर खाएका त छन् तर हिजाज यीनीहरुमा राजनीतिको भूत चढेको छ। जनजातिका नाममा ससाना कुरामा ठुस्किने, अलि धेरै भाउ खोज्ने, बाहुनक्षेत्रीलाई भित्री हृदयले गालीगर्ने, जातियतालाई प्रश्रय दिने जस्ता निकृष्ठ कार्यकालागि हिमाली ज्याक दोजुहरुले ख्याति कमाउदै गैरहेका छन्। 

एनारान ज्याकहरु

जबजब यीनको चुनाव नजिकिन्छ तबतब यी एनारान ज्याकहरु सक्रिय हुन थाल्छन्। माथिका संघसंस्थावाला ज्याकहरुलाई हल्का डोनेसन दिएर तिनको कार्यक्रममा आफ्नो उपस्थिति जनाउँदै प्रचारमा जुट्नु, एनारानको सदस्यता नलिएका णेफोलीहरुलाई व्यक्तिगत तवरमै भेटेर उनीहरुको सदस्यता स्पोन्सर गरिदिनु अनि कथंकदाचित चुनाउ जितिहालेमा त्यही त हो नि फेसबुकमा बडेबडे डिंग हाक्नु यिनका कार्यसूची हुन्। यिनमा अमेरिका निवासी भएकै कारणले सरकारले विशेष महत्व दिनपर्छ भन्ने खालको अहम् पोको परेर बसेको हुन्छ। संसारमा यिनीहरुभन्दा ज्ञानी, समाजसेवी, संवेदनशील कुनै प्राणी नै छैन भन्ने दाबी छ एनारन ज्याकहरुको।

लेखन्दास ज्याकहरु

नामै लेखन्दास! यिनीहरुभित्र रहेको भावुक लेखक अमेरिका पुगेसी अचानकै जाग्छ र यी लेख्न बस्छन्।लेख्दालेख्दै यति लेख्छन् कि पाठकहरु भयो बाबा, पुग्यो भन्न बाध्य हुन्छन्। उदयचलदेखि अस्ताचलसम्म यी लेखिरहन्छन्, फेसबुकमा पोष्टिरहन्छन्। यहाँको राम्रो पद्दति नेपालमा हुबहु लागु भए कस्तो राम्रो हुन्थ्यो भनेर हेल्लो सरकारलाई सुझाव दिन अनि नेपालमा विद्यमान कुरितीहरुको उछितो काढ्न यी खप्पिस हुन्छन्।लेखन्दासहरुको एउटा समस्या भनेको के हो भने संसार यीनले जाने र बुझेजति मात्रै हो भन्ने भ्रम यीनमा हुन्छ। यस्तै दुइचार लेखन्दास मिलेर समसामयिक विषय जस्तै रेल वा पानीजहाज वा स्याटेलाईटका बारेमा बडेबडे लेख लेखेर पत्रिकमा छपाउने पनि गर्दछन्। यीनले लेखेका कुरामा प्रतिप्रश्न गर्न वर्जित छ। बिर्सेर नि केही कुरो बुझाइदेउ न ख्वामित भनेर नसोध्नु होला। अन्यथा तपाईं अबुझ, यतिपनि नजान्ने, एक कक्षामा गएर भर्ना लेउ बाबु जस्ता नेपरिएका उत्तर प्राप्त हुनेछन्। यस्ता ज्याकहरुले फेसबुक ट्विटरका आफ्ना स्टाटस भेला पारेर किताब छपाउने, स्थानीय संस्थाको आडमा विमोचन गर्ने र स्थानीयलाई पुस्तक भिडाउने काम गर्दछन्। नढाँटी भन्नुपर्दा यिनका पुस्तक पढेर पाठकले ज्ञान आर्जन गर्नु वा मनोरञ्जन प्राप्त गर्नुको साटो १०/२० डलर भएपनि खेर गएको अनुभव गर्दछन्।

पढन्दास ज्याकहरु

यी खासमा हुनपर्ने हो हाम्रो देशका कर्णधार। सरकारले समन्वय गरेर छात्रवृत्तिमा विदेश पठाउने र पढाइ पुरागरि केही वर्षको अनुभव अनि केही पैसा लिएर नेपाल नै फर्किन पर्ने वर्गका ज्याकहरु हुन् यी। तर भैदिन्छ उल्टो! यी मेधावी हुन्छन् , दत्तचित्त भएर पढ्छन्, ज्ञान आर्जन गर्छन् र अन्ततोगत्वा ठूलो आकाशमा उड्न पखेटा फिंजाउछन्। आफ्नै बलबुतामा छात्रवृत्ति पाउँछन्, पढ्न आउँछन् तर शनैशनै यीनलाई यताको जीवनले छुन्छ। यता छिरेको केही वर्षसम्म देशप्रेमले ओतप्रोत युवाहरु पढाई सकिउन्जेलमा कोही यतैका गोरा मेम/सरसँग घरजम गरेर ज्वाँइ हुँदै क्रमश: नागरिक बन्छन्। कोही चाहिँ राम्रो ठाँउमा जागिर गरेर रोजगारदाता मार्फत हरियो पातो पड्काउँदै कालान्तरमा यतैको नागरिक हुन्छन्। यसरी नेपालका मेधावी छात्रछात्राहरु बिस्तारै ब्रेनड्रेन भएर हेर्दाहेर्दै कतिबेला विदेशी ज्याक बन्छन् पत्तै हुँदैन।

दुखारी ज्याकहरु

छिमेकीले कुश्त पैसा घर पठाएको सहन नसकी मानव तस्करको शरण परेर, घरबारी डिगमा राखेर वा धेरै ब्याजमा ऋण लिएर ५०/६० लाख खर्च गरेर बडो जद्दोजेहदकासाथ लगभग ६ महिना लाएर अमेरिकामा पाइला टेक्ने ज्याकहरु यो वर्गमा पर्दछन्। अरब वा युरोप हुँदै प्लेनमार्फत वा एशियाकै कुनैदेशबाट पानीजहाज चढेर जसोतसो ब्राजिल टेकेसी शुरु हुन्छ यिनको द ग्रेट अमेरिकन ट्रेल। घना जंगलैजंगल दक्षिण अमेरिकी देशहरु काटेर पनामा नपुग्दै यिनले पिताजीको बरियात देखिसकेका हुन्छन्। तरपनि अमेरिका टेक्ने उत्कठ अभिलाषा भने ज्यूँ का त्युँ नै रहन्छ। बाँकि रहेको मध्य अमेरिकी देशहरु काटेर ‘मेक्सिको’ नपुगुन्जेलसम्म यिनले कुकुरले नपाएको दु:ख अनि ५२ घुस्सा ५३ ठक्कर खाइसक्छन्। जसोतसो सिमा काटेर हात खडा गरेसी भने यीनलाई अमेरिकी सरकारले जेल हुल्छ र बल्ल यिनले सन्तोषको सास फेर्छन्। प्रकृया पुऱ्याएर कसैले जमानी बसिदिएसी जेल बाहिर निस्केर डलर छाप्न, घन्टा हान्न शुरु। अनि नेपालमा हुँदा कल्पेको अमेरिका र भोगेको अमेरिकामा आकाश पातालको फरक देखेसी भने कहिलेकाहीं अमेरिकाको त जेल नै ठिक रहेछ भन्न नि पछि पर्दैनन्। जसोतसो कसैकोमा मिलेर २/४ सय डलर शेयर गरेर बस्ने अनि नेपालको ऋण तिर्ने यिनको पहिलो सपना हो। रहँदै बस्दै ऋण नतिरुन्जेल र हरियो पातो नपाउन्जेल लो प्रोफाईलमा बस्ने त्यसपछि त ‘गेल आउट’।

सक्किगो नि’ हो तेस्का बाजे !!

Frank