फिल्मकर्मी भर्सेस मिम नेपाल

युट्युबर प्रनेश गौतम

कुराको शुरुवात हुन्छ, मिम नेपालकालागि प्रनेश गौतमले गरेको चलचित्र समीक्षाबाट। मिलन चाम्स निर्माता तथा निर्देशक रहेको चलचित्र बिर बिक्रम-२ का बारे गौतमले व्यंग्यपूर्ण समीक्षा गरेपछि निर्देशक चाम्सले चलचित्र र कलाकारको अपमान गरेको भन्दै प्रहरीमा उजूरी दिए। बिर बिक्रम-२ बिर बिक्रमको सिक्वेल हो। उनको उजूरीकै आधारमा प्रहरीले गौतमलाई पक्राउ गर्‍यो। अपमानको उजुरीलाई प्रहरीले अदालतसम्म लाँदा साइबर क्राइममा परिणत गर्‍यो। घटना यत्ति हो। हेर्दा सामान्य। तर युट्युबमा फिल्मको आलोचना गरेर कमेडी समीक्षा गरेकै आधारमा साइबर क्राइम मुद्दा चलाउनु ठीक हो? निर्माता निर्देशक मिलन चाम्सको कदममा किन फिल्मकर्मी तथा फिल्मपत्रकारहरू बोलेका छैनन्? नबोलेका मात्र होइनन्, उनीहरु प्रनेशलाई जेल हालेको ठीक हो नै भनिरहेका छन्। के साँच्चै ठीक हो त प्रनेशलाई साइबर क्राइममा जेल हाल्नु?

निर्देशक मिलन चाम्स

१२ थरी प्रहरी र फिल्म निर्माता निर्देशक चाम्सको यो कदमको समर्थन गर्दैन। किनकी बजारमा आइसकेपछि फिल्म एउटा सामान हुन्छ र दर्शक त्यसका ग्राहक। सामान्य कुरा हो, ग्राहकले आफुले किनेको सामान नराम्रो छ भने नराम्रो छ भन्न पाउँछ। अब आउनुस् मिम नेपालका प्रनेशलाई जेल हाल्न समर्थन गर्नेहरुका बारे एकछिन चर्चा गरौं।

दर्शकलाई टर्चर

आलोचना सुन्न सकिँदैन भने फिल्म नै नबनाउनू। दर्शकलाई फिल्म हेर्न कुनै निर्माता निर्देशकले पैसा दिँदैनन्। आफ्नो गोजीको पैसा खनखन तिरेर फिल्म हेरेपछि मन परे मन पर्‍यो र मन नपरे मन परेन भनेर लेख्न, बोल्न पाइन्छ। यो सामान्य कुरा हो। आलोचना सुन्नै नसक्ने हो भने तिम्रो फिल्म आफै बनाऊ, आफै खेल, आफ्नै घरमा आफै बसेर हेर। अनि वाह ! क्या फिल्म बनाएँ भनेर आफैलाई धाप मार र मक्ख पर। हलमा फिल्म नचलाऊ। यसो गर्दा दुईटा फाइदा छन्- १) फिल्मलाई नराम्रो भनेको सुन्नु परेन २) तिम्रो कवाडी फिल्मको टर्चरबाट दर्शक मुक्त भए। होइन भने दर्शकको लागि फिल्म बनाएर दर्शकले नराम्रो भन्दा जेल हाल्ने जस्तो घटिया काम नगर। कि फिल्म नराम्रो भए हलबाट बाहिर निस्किने गेटमा बसेर दर्शकको पैसा फिर्ता गर। त्यसो भयो भने हामी नेपाली फूर्सदिलै छौं, समयको हिसाब नमागौंला।

पेशा पत्रकार, काम ठेकदार

अब यो काण्ड के कसो थियो भनेर कपाल कन्याउन थाल्नु भएको भए माईसंसारको यो ब्लग पढ्नुस ।

कस्तो गज्जबको दहीचिउरे देखिन्छन् भने नि। आफू नै पत्रकार, तिमी आफू फिल्मको समीक्षा गर्छौ। तिमी आफू समाचार लेख्छौ, तिमी आफै अभिव्यक्ति स्वतन्त्रताका कुरा गर्छौ। तर तिमी निर्देशकको लहैलहै (वा पाँचहजारमा) बेचिएर भनिरहेका छौ, मिम नेपालले गरेको गलत हो। अरे यार, लाज भन्ने कुरा हुन्छ कि हुँदैन? तिमी नै होइनौ अस्ति हिरोइनको टाङमुनिबाट क्यामेरा छिराएर कट्टुको फोटो खिच्न नदिँदा प्रेस स्वतन्त्रता हनन भयो भन्ने? अनि तिमी नै होइनौ हिजो कुनै सिनेमाको प्रिमियरमा हलवालाले पछाडिको सीटमा बस्नुस् भन्दा प्रेसलाई हेप्यो भन्दै क्यामेरा उठाउँदै मुक्का बर्साउन जाने? अनि अहिले एकजनाले चलचित्रको व्यंग्यात्मक समीक्षा गर्दा तिम्रा ‘मालिक’को टाङमुनी पुुच्छर हल्लाउँदै कुइँकुइँ गरेको किन? तिमी पत्रकार हौ कि ठेकदार? अहिले प्रनेशलाई थुन्दा ‘वाह वाह, डाइरेक्टर साहेब, ठीक गर्नुभो’ भनिरहँदा भोलि तिमीले लेखेको समाचारले तिमीलाई नै साइबर क्राइममा जेल हाल्दा चाहिँ कसका खुट्टा ढोग्न जान्छौ?

पत्रकारको बारेमा हामी यो भन्दा पहिले पनि लेखेका छौ । पढ्न छुटाउनु भएको भए यहाँ क्लीक गर्नुहोस अर्को लेख यहाँ छ

किलो रित्तो भएकोमा खुशी, बाघ पल्केको चिन्ता छैन

यो मुद्दामा चलचित्रकर्मीको मौनता अनौठो नहोला तर यो डरलाग्दो हो। आफ्ना चलचित्रमा पुलिसलाई चोर, घुस्याहा देखाउने, नेतालाई भ्रष्टाचारी, देश बेचुवा भन्दै प्रस्तुत गर्नेहरु पनि प्रनेश गौतमलाई साइबर क्राइममा जेल हाल्दा किलो रित्तै भएकोमा दंग परेका छन्। तर यसले निम्त्याउने परिणाम सोचेको देखिएन। भोलि तिम्रो फिल्मले नेता, प्रहरीको अपमान गरेको, चरित्र हत्या गरेको भन्दै कसैले मुद्दा हाल्यो र तिमीलाई साइबर क्राइममा जेल हालेका दिन हामीले खुच्चिङ भन्नु पर्ने हो? किलो रित्तिएकोमा दंग पर्दा बाघ पल्केको देख्दैनौ भने तिमलाई रामराम। त्यो मात्रै होइन, तिम्रो फिल्म सेन्सरले रोक्दा वा कुनै दृश्य काट्दा ‘फिल्म भनेको क्रियटिभ चिज हो, यसमा अंकुश लगाउनु अभिव्यक्ति स्वतन्त्रता विरोधी कदम हो’ भनेर कोकोहोलो गर्ने पनि तिमी नै हुन्छौ। अनि आफूले गरेका सबै कुरा अभिव्यक्ति स्वतन्त्रता भन्नेले अरुलाई त्यही काम चाहिँ गर्न नदिने?

गुण्डागर्दी गर्ने भए ‘डन’ बन्नु, फिल्म किन बनाउनू?

चलचित्रकर्मीलाई सृजनात्मक मानिस ठानिन्छ। उनीहरु समाजमा देखिएका घट्नाहरुलाई कल्पनाको उँडान उडाउन पखेटा हालिदिन्छन्। अनि दर्शकलाई आफ्नो कल्पनाको संसारमा भुल्याउँछन् र मनोरञ्जन प्रदान गर्छन्। सृजना उनीहरुको पौरख हो। तर देखिरहिएको छ उल्टो। चलचित्रकर्मीहरु दादागिरीमा उत्रिएका छन्। तँ मलाई नराम्रो भन्ने? तँलाई म देखाउँछु भन्दैछन्। अनि त्यसलाई मलजल गर्ने पनि तिनै अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती सृजनाका खानी फिल्मकर्मीहरु नै। दादागिरी गर्ने भए गुण्डा बन न सिधै, किन दर्शकलाई धम्क्याउछौ यार। कतै यस्तो दिन नआओस् कि दर्शकले ‘नेपाली फिल्मलाई बहिष्कार गरौं’ भन्दै सडकमा नआउन्। त्यो दिन डुब्ने तिम्रै व्यापार हो, दर्शकको केही डुब्दैन।

फिल्म क्षेत्र फेर्छु भन्थ्यौ आफै फेरियौ?

गज्जब छ, आफूलाई युवा, फिल्मको धारै फेर्छु भन्दै आफुलाई सेलिब्रेटी ठान्ने फिल्मकर्मीहरु मुखमा दही जमाएर बसेका छन्। फिल्ममा पाइरहिएको आइटम डान्स पनि नपाइने चिन्ता त पक्कै होइन होला? नत्र आफूलाई परिवर्तनको सम्बाहक मान्ने, अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने, नेताले देश बिगारे भन्दै सडकमा ठूला भाषण गर्ने, टेलिभिजनमा अनुहारमा कालो पोतेर र मुख बंग्याएर रातदिन नेता र कर्मचारीलाई गाली गरिरहने, ठूला सेलिब्रेटीहरु यो मुद्दामा किन मौन बसेका? जेमा पनि ल्वात्त ल्वात्त साइबर क्राइम घुसाएर जेल हाल्दा त्यसले सबैभन्दा बढी फिल्मकर्मीलाई नै असर गर्छ बन्ने किन नबुझेको?

वरिष्ठहरुको मौनता, एक्लिने डर?

मिम नेपाल भर्सेस मिलन चाम्समा अनौठो र उदेकलाग्दो कुरा ‘वरिष्ठ हाँस्य कलाकार’हरुको मौनता पनि हो। आफूले मिम नेपालको पक्षमा बोल्दा फिल्म क्षेत्रमा एक्लिने डर हो कि, खै ! नत्र यत्रो लफडा हुँदा पनि खै त बोलेका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलहरु। प्रनेश गौतमलाई बिर बिक्रमकै समीक्षाका आधारमा जेल हाल्ने हो भने त मह अनि मनोज गजुरेलहरुलाई त जन्मकैद नै ठोक्दिए नि कम होला नि ! उनीहरुका हरेक प्रहशनमा नेताहरुले, प्रहरीहरुले, मन्त्रीहरुले गाली मात्र भेट्छन्, उनीहरुको चरित्र हत्या मात्रै देखिन्छ। कि आफू पनि फिल्म निर्माता भएर जसोजसो डन उतैउतै गन गरेको हो?

र, अन्त्यमा

अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता होइन

सृजनात्मक क्षेत्रमा हुनेहरुले पनि बुझ्नुपर्ने कुरा के हो भने अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता होइन। अराजक र उत्श्रृङ्खल नभै पनि आलोचना गर्न सकिन्छ। आलोचना गर्नको लागि अनुहार बिगार्नै पर्दैन। ठूलो स्वरमा चिच्याउनु पनि पर्दैन, अनुहारमा कालो पनि पोत्नुपर्दैन। तर कसैले पकाएको खाना मिठो भएनछ भने – तपैंको खानामा नुन कम छ, स्वाद कम भयो वा खुर्सानी चर्को भयो भनेर भन्न पाइन्छ/पाउनुपर्छ । भलै कुरा अर्को हो कि, त्यहि कुरालाई लिएर उसको व्यक्तिगत वा पारिवारिक जीवनका पक्षहरु सार्बजनिक गरेर दोहोलो काढ्न भएन । अधिकार छ भन्दैमा बाटामा नाङ्गै हिँड्नु राम्रो होइन, बाटोमा नाङ्गै हिँड्नु सभ्य समाजमा सुहाउने कुरा होइन।

One thought on “फिल्मकर्मी भर्सेस मिम नेपाल

Comments are closed.