ओच्छयान मुतुवाको आत्मकथा

जदौ टक्र्याएँ है पाठकहरु। यो १२ थरीले आफ्नो पहिलाको फ्लेबर नै बिर्सियो भन्ने गुनासो धेरै देखेपछि १२ थरी सम्पादक टीममा गहन छलफल भएको छ। यो छलफलबाट निस्केको निष्कर्ष अनुसार यो नयाँ लेख लेखिएको हो। यसमा तपाइँहरुले आफुलाई कतै भेट्नुभयो भने म म भन्दै आफैलाई ट्याग गर्नुहोला, नत्र टोल छिमेकमा आफुले चिनेका कोही मुतुवा भए उनीहरूलाई तँ तँ भन्दै ट्याग गर्नुहोला। हुनत अहिले डाइपर पुस्ता पनि आइसकेको छ, त्यसैले कतिलाई यो कथा गफजस्तो पनि लाग्ला। अझ शहरियाहरुका लागि त यो लेख लेख्ने असभ्य नै लाग्ला। तर गाउँमा हुर्केका धेरैका लागि यो आफ्नै कथा हो। ल आउनुस् अब सुनौं ओच्छयान मुतुवाको आत्मकथा।

हाम्रो १२ थरी टीममा भएका सबैजना लगभग एकै उमेरका छौं। १ बर्षका जेठा कान्छा होलाऊँ तर उमेरको त्यत्रो ठूलो ग्याप छैन। अनि भौगोलिक हिसाबले पनि पूर्वदेखि पश्चिमसम्मका सदस्य छौं। तर यो लेख लेखिरहँदा हाम्रै टीमका सदस्यहरुले पनि म पनि ओच्छ्यान मुत्थेँ भनेर कबुल गर्न लजाए। केही सदस्य त जमिन्दारका छोरा पनि छन्, काठमाडौं मै जन्मे हुर्केका, काठमाडौंका नामी स्कूल पढेका। त्यस्ता सदस्यका लागि त ओच्छ्यान मुत्ने भनेको दन्त्यकथा नै होला।

राति निदाएको बेला तपाइँहरु कसैलाई चर्पीमा वा बारीका कान्लामा सु गरेजस्तो लागेर आनन्दसँग सु गरेको थाहा छ? हुनत पहिलापहिला गाउँमा चर्पी नै हुन्थेनन्। चर्पी हुनेहरु अलि हुनेखानेहरु मात्र हुन्थे। सबैको चर्पी बारीका कान्ला वा घरछेउका खोल्सा, पाखा नै हुन्थे। त्यस्तोमा सपनामा पनि खोल्सा, पाखा, कान्लामै सु गरेको देखिने न हो। अझ सात आठ बर्षको उमेरबाट उकालो लागेपछि त कसले परसम्म पिशाव पुर्‍याउने भनेर प्रतिस्पर्धै हुन्थ्यो। अनि सपना देख्दा पनि त्यही देखिन्थ्यो। अब यसमा महिलाहरुले यस्तो प्रतिस्पर्धा गर्थे कि गर्थेनन् भन्ने अनुभव हामीसँग छैन। यतिबेला आएर १२ थरी टीममा महिला सदस्यको अभाव खड्किएको महशुस गरियो।

महिला सदस्यको अभाव किन पनि खड्किएको छ भने बाल्यकालमा खासगरी छोराले सिरक र छोरीले डस्ना भिजाउँछन् भन्ने १२ थरी टीमको अनुसन्धानको निष्कर्ष नै छ। १२ थरीका सदस्य परे सबै छोरा पाटी, ठनठन गोपाल। त्यसैले यसमा छोरीहरुले ओच्छयान मुत्दा सिरक भिजाउँथे कि भिजाउँदैन थे भनेर लेख्न सकिएन। भएपनि हाम्रा मान्य सदस्यहरु बढीजसो मिसनरी पोजिसनमा सुत्ने भएकाले प्राय: सबैले सिरकभन्दा बढी डस्ना नै भिजाएको पत्तो लाग्यो।

सपनामा पिशाव गरेको देखेपछि त के चाहियो? ओच्छ्यानमा सुतिराख्या हुन्छ, बारीको कान्लामा सु गरेँ भन्दै ओच्छ्यानमै सु गरिन्थ्यो। सु गरुन्जेल त बडा तातो हुन्थ्यो। आहा ! यति आनन्द आउने कि कुरै नगरौं। उखानै छ नि ‘मुतको न्यानो’ भन्ने त। सननन सु गर्‍यो, बारीको बाटो भिजाउँदै बगेको हेरेर दंग पर्‍यो। यता आफ्नै ओच्छ्यान भिजेर लपक्कै। तर एकैछिनमा ओच्छ्यान र कट्टु चिसो हुन्थ्यो। कहिलेकाहीं त कट्टु मात्रै हैन गन्जी पनि पिशाबले छपक्कै भिज्ने। त्यो पिशाब पर पुर्‍याउने प्रतिस्पर्धावाला सपना देख्दा चैं तुन्तुरो नि बडेको हुँदो हो अनि जोडले सु गर्दा गन्जीसम्मै भ्याइने हुँदो हो। ब्यानपख चिसो कट्टु र ओच्छयान थाहा हुन्थ्यो।

चोरेको फोटो। गुगलमा युट्युब भनेर देखायो। तर युट्युबको लिंक खोजिएन।

कट्टु पनि दमाइ दाजुले सिलाइदेको नाडा लाउने जाँघे कट्टु। त्योबेला न त डाइपरको प्रयोग हुन्थ्यो न त पुरानो कपडालाई नेप्किनजस्तो बनाएको लगौंटी। हुन्थ्यो त कि जाँघे कि घुँडा फाटेको पेन्ट काटेर चाकमा टालेको कट्टु। जति मुतिन्थ्यो सबै ओच्छ्यानमा सररर बग्थ्यो, बिना रोकतोक। रमाइलो चैं के हुने भने गाउँभरी कसले आज ओच्छ्यान मुत्यो भन्ने ठ्याक्क थाहा पाइन्थ्यो, डस्ना सुकाएको देखेर। सबका डस्ना हेर्दा पहेला टाटैटाटा देखिने।

बिहान ३/४ बजेतिर कट्टु र ओच्छ्यान मुतेको थाहा हुन्थ्यो। अनि अधकल्चो निद्रामै ओच्छ्यान मुतुवा भन्ने गालीबाट बच्न टिरिक लाउन शुरु हुन्थ्यो। पहिला ओच्छ्यान छाम्यो, कतासम्म भिजेको छ भनेर। अनि ओढ्ने तानेर घोप्टो परेर भिजेको डस्नामा घोप्टो परेर सुतिन्थ्यो। यो आसमा कि बिहान उठ्दासम्म डस्ना र कट्टु दुवै सुक्छन्। बिहान उठ्दा डस्ना र कट्टु सुके त कुरै सक्कियो, बालै भएन। तर कहिलेकाहीं कट्टु सुकेपनि डस्ना सुक्थेन। त्यसपछि भिडन्त हुन्थ्यो, कसले ओच्छ्यान मुतेको भन्ने बारे।

गाउँमा ओच्छयान पनि सिमित हुने। छोराछोरीजति एउटै ओच्छ्यानमा लाइनै सुत्ने। बाउआमा चाहिँ छुट्टै। डस्ना भिजेको ठाउँ हेर्दा त्यहाँ को सुतेको भन्ने त थाहा भैहाल्थ्यो तर पनि मुतुवा त हुनु भएन नि। यसले यता आएर मुतेर फेरि उता सरेर सुतेछ/सुतिछे भनेर दाजु भाइ वा दिदीबहिनीलाई दोष लगाउने काम हुन्थ्यो। गाउँमा दिनदिनै नुहाउने कुरा नि हुन्थेन। हप्तामा एकदिन वा १५ दिनमा वा १ महिनामा बल्ल नुहाउने हो। अनि त्यही मुतेको कट्टु मुत् गन्हाउँदै कति दिन लाइन्थ्यो, कति दिन त्यै कट्टु मुतिन्थ्यो, हिसाबै नहुने।

यसमा अझ अर्को रमाइलो हुन्थ्यो। कहिलेकाहीं त दुईतीन जनाले एकैपटक ओच्छ्यान मुत्ने। त्यसपछि त के चाहियो, ओच्छ्यान त मुतको आहाल 😂 यस्तोमा सँगै सुतेकाहरुको झगडा झन् ओहोहोहो ! हेर्नु न आमा, यसले मुतेर सप्पै हिलो बनाएछ भनेर एकले अर्कोलाई औंलो ठड्याउने। यस्तोमा बाठो हुने चैं ओच्छ्यान छोडेर भुइँमा सुतिराख्या हुन्थ्यो बिहान। डस्ना त भिज्यो भिज्यो सिरक नि बाँकी हुन्थेन मुतबाट।

अनि सिरक डस्ना सुकाउँदाको सास्ती। बर्खा र जाडोको समयमा त झन् यो पीडा बढी हुने। एक त गाउँमा साँझ ७ बजेतिरै भात खाएर सुत्ने तरखर भइसक्छ। ९ बज्दा नबज्दै सबै सुतिसक्छन्। अनि १२ बजेतिर पिशाब लाग्यो भने एक्लै उठेर मुत्न जान नि डर लाग्थ्यो। सँगै सुतेकोलाई उठाउँदा सजिलै उठ्थेनन्। उठाउन सजिलो धम्की चैं, ‘पख्, भोलि म पहिल्यै मुतेर सुत्छु, पानी पनि खान्नँ अनि तँलाई मुत आयो भने म उठ्दिनँ,’ भन्ने हुन्थ्यो। तर त्यस्तो धम्कीले नि सँधै काम गर्थेन। उल्टै सेम टु सेम धम्की भेटिन्थ्यो।

ढिलोमा ९ बजे सुतेको मान्छे, त्यो पनि केटाकेटी उमेर ढिलामा पनि मध्यराति १ वा २ बजे त पक्कै पिशाब लाग्ने। लौ त भनेर जेनतेन बल गरेपनि ३/४ बज्दासम्म त ट्याङ्की भरिसक्थ्यो। अनि ओभरफ्लो त हुने भइगयो। यता ट्याङ्की भरिएपछि सपना देखिन्थ्यो, बारीका कान्लामा उभिएर तुरुरुरुरु पारेको। उता कान्लो भिजाएको सपना देख्यो, यता डस्ना डुबायो।

अब यस्तोमा कोही कोही आमाहरु चाहिँ बडा ‘स्मार्ट’ पनि हुन्थे। हाम्रा एक सदस्यको ओच्छ्यान मुत्दाको अनुभव उस्तै भएपनि डस्ना जोगाउने टिरिक पनि मज्जाकै छ। गाउँघरमा युरिया मलका बोरा हुन्थे। त्यो बोरामा अर्को एउटा प्लाष्टिक नि हुन्थ्यो। बाठी आमाहरु चाहिँ त्यो युरिया मलको प्लाष्टिकलाई तन्ना र डस्नाको बीचमा ओच्छयाउने गर्नुहुन्थ्यो। हेर्नुस्, अनेक जुगाड गर्नुपर्ने। डाइपर नहुनुको पीडा भन्नुस् न अझ।

यसो गर्दा नि हाम्रा कट्टु त जोगिन्थेनन्। यो जुगाडले आमालाई त सजिलो हुन्थ्यो तर प्रत्यक्ष भने हामी मुतुवालाई नै हुन्थ्यो। पिशाब डस्नामा जान नपाएपछि सबै पिशाब आफ्नै लुगामा आउँथ्यो। अनि निदाउनु कसरी? तन्ना र डस्नाको बीचमा युरियाको प्लाष्टिक हालेपछि आमालाई दुईटा फाइदा हुन्थ्यो- पहिलो, दिन दिनै डस्ना सुकाउनु परेन, तन्नामात्र सर्लक्क पानीमा धोएर सुकाउँदा भयो। र, दोस्रो- गाम्लेका अगाडि शानले मेरा छोर्छोरी चैं ओच्छयान मुत्दैनन् है भनेर भन्न नि पाइने। तर आमाहरुलाई तनाव त्यतिबेला हुन्थ्यो, जब छिमेकी काकीले ‘ओच्छ्यान नमुत्ने केही काइदा भए सिकाइदिनुस् न दिदी’ भन्दै प्रश्न सोद्थे।

यति लेखिसकेपछि अलिकति वैज्ञानिक वा डाक्टरी कुरा गरौं। म ओच्छयान मुत्थेँ भनेर एकदम लजाउनु पर्ने कारण नै छैन। ५ बर्षदेखि १२ बर्षको उमेरसम्मका बच्चाहरुमा ओच्छयान मुत्ने समस्या हुन्छ। विश्वमा हरेक चारजनामा एकजना बच्चा ओच्छ्यान मुतुवा हुन्छ रे। किन मुतिन्छ त ओच्छ्यान भन्नेको पनि जवाफ भेटिएको छ। ओच्छ्यान मुत्नुको सबैभन्दा ठूलो कारण चाहिँ दिउँसोको तुलनामा राति पिशाबको उत्पादन बढी हुनु हो। अनि कसैको पिशाब थैलीको कारण पनि यस्तो हुन्छ। यसको बारेमा अलि डिटेल पढ्न मन लागे यो युएईको एउटा खबर र’छ। यसमा अलिअलि लेख्या छ। लिंक खोलेर पढ्नुस् न है 😉 अंग्रेजी त्यति राम्रो आम्दैन, उल्था गर्न झ्याउ लागो का।

3 thoughts on “ओच्छयान मुतुवाको आत्मकथा

  1. मुजी मुतुवा हो । हग्नेमुत्ने कुराँ पनी के ठालु पल्टी रा’

  2. धेरै दिन पछी सक्कली खाट्टि को लेख आयो है।रमाइलो लाग्यो।

Leave a Comment

Your email address will not be published.

माइन्ड नगर्नुस है स्पाम कमेन्ट ले हैरान भैयो - टुच्च क्याप्चा *