के सामाजिक सञ्जालमा प्रश्न सोध्नु नै छुच्चो हुनु हो?

नेपाली प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल वेबसाईटहरुमा मध्ये ट्वीटर जबदेखि चर्चामा आयो, यिनका नेपाली प्रयोगकर्ताहरुलाई शुरुवातदेखि नै असहिष्णु, छुच्चा, असभ्य, हुँडार, ट्रोल भनियो । जबदेखि केही ‘ठूला राजनीतिज्ञ’हरु सामाजिक सञ्जालमा जोडिए र उनीहरुका ट्विट वा फेसबुक स्टाटस मुलधारे पत्रिकाका समाचार बन्न थाले त्यसपछि नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु ह्वात्तै बढे। ट्विटरको सेरोफेरोमा नेपाली ब्रोडसिट दैनिकहरुले यसको बारेमा लेख्न थालेपछि यसका प्रयोगकर्ताहरु क्रमश: बढ्न थालेको देखिन्छ। अझ बाबुराम भट्टराई ट्वीटरमा रहेको समाचार छापिएपछि ह्वात्तै ठुलो मात्रामा नेपाली प्रयोगकर्ताहरुले ट्वीटर खाता खोलेको देखिन्छ । त्यसमाथि टेलिकम सेवा प्रदायक एनसेलले ‘ट्विटर जिरो’ शुरु गरेपछि त अर्को फड्को नै मार्‍यो।

विश्वभरी नै नयाँ मिडियाको बिस्तारसँगै पत्रिकामा आफ्ना विचार र भनाइ लाद्नेहरुमाथि त यसले धावा नै बोल्यो। सूचनाको व्यापकता, शक्तिमा बसेकाहरुलाई प्रश्न गर्नेदेखि पदमा बसेकाहरुको जवाफदेहिता यही प्लेटफर्ममार्फत जवाफ खोज्न थालियो। यसले जो जो आफूलाई विचार निर्माणका अगुवा ठान्थे, तिनीहरुमाथिको एकाधिकार सामाजिक सञ्जालले खोस्यो। हरेक मान्छे बोल्न थाले, आफ्ना विचार व्यक्त गर्न थाले। जवाफदेहिता खोज्न थाले। त्यसले पहिलेदेखि नै उपल्लो तहमा रहेकाहरुलाई छटपटिमा पार्‍यो।

उनीहरुका लेख पढेर वाह वाह मात्रै गर्नेहरुले त्यही लेखकै बारेमा प्रश्न गर्न थाले।

जतिबेलासम्म सामाजिक सञ्जालले व्यापकता पाएको थिएन, त्योबेलासम्म पत्रिकामा छापिएका लेख वा टेलिभिजन, रेडियोमा बजेका सामाग्रीबारे टिप्पणि गर्न सजिलो थिएन। यो टोलको, चौताराको चिया पसलमा मात्र सिमित थियो। पाठकपत्र लेखेर पत्रिकाको अफिस पठाउन सजिलो थिएन र त्यसले स्थान पाउने ग्यारेन्टी पनि थिएन। तर सञ्जालको विस्तारले तुरुन्तै प्रतिक्रिया दिन सकिने भयो। जेसुकै छापे पनि हुन्छ, चुपचाप पढेर बस्छन् भन्ने सोचमाथि पुरै धावा बोल्यो सञ्जालले। फलत: आफूले समाजको विचार निर्माण गर्छु भनेर टाउकामा बसेकाहरुले सञ्जालमा बोल्नेहरुलाई अराजक, हुँडार, ट्रोल, छुच्चा भन्न थाले। यो आफ्नो एकाधिकार हटेको छटपटाहट हो, रोदन हो र मेरा कुरा मात्र सुन्नु पर्छ, तिमीहरुले बोल्ने होइन भन्ने त्यही पुरानो दम्भ हो।

सरकारको चुकेको निसाना – किशोर नेपाल

नेपालमा ट्विटरको शुरुवातलाई हेर्ने हो भने पत्रिकामा समाचार लेख्ने वा विदेशी पत्रिकाबाट लेख सारेर उल्था गर्ने तर क्रेडिट नदिने पत्रकारहरुले त ट्विटरलाई देखिसहेनन्। ट्विटर त्यही प्लेटफर्म थियो जसले तिनीहरुले सारेका लेखहरुको पत्ता लगायो। यसका प्रयोगकर्ताहरुले चोरेका सामाग्री पत्ता लगाए। अनि ती लेख सार्नेहरुले उल्टै आफूलाई ‘विज्ञ’ भन्न थाले। तिमीहरुको हैसियत त यता सञ्जालमा उफ्रिने मात्र हो, हामी त विज्ञ नै हौं भनेर १२ हात उफ्रिए यिनीहरु। ‘धाकै सही, पत्रकार भनेका विज्ञ हुन्’ भन्ने पत्रकारहरु टन्नै भेटिए।

ट्विटरले गराएको टेन्सन – माईसंसार

अनि फेरि जन्मिए अर्काथरी वरिष्ठहरु। ट्विटरमा छिरेर ट्विटर प्रयोगकर्तालाई नै गाली गरे। कसैले ‘हुँडार’ भन्दै लेख नै छापे। अहिले फेरि ‘के खाएर ट्विटे यति धेरै छुच्चा हुन्छन्’ भन्ने प्रश्न सोध्न थालेका छन्। सँधै आफूले सरकार वा लाभको पदमा भएकाहरुलाई पत्रिकामा लेखेर जवाफदेहीता खोजिरहेका यिनीहरुमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गर्न थालेपछि यिनीहरुलाई छटपटी शुरु हुन्छ। आफूले जवाफ माग्ने हो, जवाफ दिनुपर्दैन भन्ने ठान्नेहरुका लागि प्रश्न असहज हुन्छन् नै। सत्ताको आसपास रहेर, सत्ताको मह चाट्नेहरुका लागि, अनि जहिलेपनि आफ्नो हैकम चल्नुपर्छ भन्नेहरुका लागि जनता बोल्न थाल्नु निश्चय पनि सुखद हैन।

नकाबपोस हुँडारको संजाल – प्रतिक प्रधान

जो जन्मिँदै सम्पादक वा प्रकाशक भएर जन्मिए, जो गर्भमै अध्यक्षको विरासत लिएर जन्मिए, जो जन्मिँदै शासनसत्ताको नजिक जन्मिए, जो जन्मिँदै लेखक र स्तम्भकार भएर जन्मिए तिनीहरुले जहिल्यै पनि सर्वसाधारणलाई पढाइरहे, सिकाइरहे, अर्ति र आदेश दिइरहे। उनीहरुलाई त्यही गर्दा सन्तुष्टि मिल्छ। तर जसले बर्षौं बोल्न पाएनन्, आफ्ना आवाज सुनाउन पाएनन्, तिनीहरुका लागि सामाजिक सञ्जालको बिस्तार वरदान भयो। यही सञ्जालका कारण तिनले सत्ताको मह चाट्नेहरु, जन्मिँदै लेखक, स्तम्भकार, प्रकाशक, सम्पादक भएकाहरुका कुरा थाहा पाए। थाहा मात्रै पाएनन्, प्रश्न सोध्न थाले। त्यसपछि स्वभाविक हो, यी तिलमिलाउन थाले। जब प्रश्न आफूतिर सोझिन्छन्, तब समाज अराजक भएको लाग्छ यीनलाई।

सुविधा अनुसार जस्तो खोज्यो किशो’दा को त्यस्तै ट्वीट छन । खासमा हामीले यो हैन अर्कै ट्वीट राख्न खोजेका थियौ । भेटिएन ।

राणा शासन लामो समय टिक्नुको कारण थियो, जनतामा रहेको अशिक्षा र गरिबी। जब जनतामा राजनैतिक चेत आयो, बुझ्न थाले तब राणा शासन बाँचेन। अहिले ठ्याक्कै यही भएको छ। सन्जालमा मान्छेहरु बोल्न थालेपछि जो बोलिरहेका थिए, तिनको बोली मधुरो सुनियो, किनकी बर्षौं बोल्न नपाएकाहरुले यति चर्को स्वरमा बोल्न थाले कि वाध्य भएर आफूलाई मुलधारे पत्रकार, सम्पादक वा प्रकाशक ठान्नेहरुले ती चर्का स्वरलाई ठाउँ दिनुपर्ने भयो। यसो गर्दा तिनको सत्ता डगमगायो। कुर्सी हल्लियो। कुर्सी हल्लिएपछिको छटपटीले केसम्म गराउँछ भन्ने जान्न त नेपालका राजनैतिक परिवर्तन अगाडिका सत्तावालाहरुको व्यवहार हेर्दा थाहा हुन्छ।

छुच्चै हुनुपर्ने ? ! – कनकमणि दीक्षित

अझ रमाइलो कुरा त यो छ कि पत्रिका, रेडियो वा टेलिभिजनबाट सभ्यता (?) पढाइरहेका यस्ता जीवहरु अहिले सामाजिक सञ्जाल छिरेर फेरि सभ्यता सिकाउन लागिपरेका छन्। यस्तो सभ्यता जहाँ निम्छराहरु निम्छरै रहुन्, तिनै पदमा रहेका, सँधै सत्ताको तर चाट्न पल्केकाहरुले वा सूचना वा विचारका ठेकदारले वाकेका हरेक छादलाई वाह वाह गरुन्, हजुर नमस्कार भनिरहुन् भन्ने सभ्यता। जसको सूचनामा पहुँच थिएन, जसको विचारको प्रवाह थिएन, तिनीहरुले बोल्ने ठाउँ पाए पनि नबोलुन्। यो बोल्न पाउने माध्यममा पनि भजन किर्तन नै गरेर बसुन् भन्ने अभिष्ट देखिन्छ ठेकदारहरुको।

अनि अहिले अर्को गुनासो पनि थपिएछ- सम्पादक, पत्रकार, स्तम्भकारहरुले जसरी विचारको निर्माण गर्थे, त्यो अहिले हराएर सामाजिक सञ्जालले यिनीहरुको विचारमा कब्जा जमायो रे। अरे यार, आफ्नो नालायकीको दोष सामाजिक सञ्जाललाई दिने? सम्पादक, स्तम्भकार, पत्रकारभन्दा सामाजिक सञ्जाल प्रयोगकर्ता स्मार्ट भएकोमा रीस उठेको? तपाइँहरुसँग साधन छ, स्रोत छ, पैसा छ। गर्नुस् न लगानी, उत्पादन गर्नुस् न उत्कृष्ठ विचार। सामाजिक सञ्जाल प्रयोगकर्ताभन्दा स्मार्ट बन्नुस् र डोहोऱ्याउनुस् न आफ्ना एजेण्डाका पछाडि। बर्षौंदेखि त तपाइँहरु नै बोलिरहनु भएको छ, लेखिरहनु भएको छ, विचार निर्माण गरिरहनु भएको छ। अनि अहिले त्यही गर्न नसकेर निम्छरा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि किन जाइलाग्नुपऱ्यो?

सोसल मिडियाको विपक्षमा – संजिव पोखरेल

हो, सामाजिक सञ्जाल छुच्चै छ, पदमा बसेकालाई प्रश्न सोध्दा छुच्चै हुनुपर्छ। सामाजिक सञ्जाल बाहिरै भएपनि, पत्रिकामै लेख लेखेर जवाफदेहीता माग्दा पनि खगेन्द्र संग्रौला छुच्चै लाग्छन्। सर्वसाधारण जनता प्रश्नमा लेप लगाउन जान्दैनन्, सिधा प्रश्न गर्छन्। बागीहरुले गर्ने प्रश्न छुच्चै सुनिन्छन्। सामाजिक सञ्जालको यो सुन्दरतालाई केही हनुमाने र कटप्पेहरुले भजन किर्तनमा पनि प्रयोग गरेका छन्। स्वभाविक हो, यो एउटा समाज हो, समाजमा सवै वर्ग हुन्छन्। तर यो सञ्जाल निम्न वर्गीय (सूचना, विचार प्रक्षेपण, बोल्ने ठाउँका हिसाबमा) का लागि हो। जहाँ आफ्ना तर्कलाई अरुले नकाटुन्, मेरै तर्क अकाट्य रहुन् भन्न चाहनेहरुका लागि सँधै छुच्चै हुन्छ यो सञ्जाल।

One thought on “के सामाजिक सञ्जालमा प्रश्न सोध्नु नै छुच्चो हुनु हो?

Leave a Comment

Your email address will not be published.

माइन्ड नगर्नुस है स्पाम कमेन्ट ले हैरान भैयो - टुच्च क्याप्चा *