सामाजिक सञ्जालको गुलियो: अटेन्सनमा भुलियो

यतिबेला सामाजिक सञ्जाल, त्यसमा पनि विशेषगरी ट्विटरमा चर्चाको शिखरमा पुगेको शब्द एउटा छ – ‘अटेन्सन’। यो अंग्रेजी शब्दको ठ्याक्क नेपाली शब्द के हो त थाहा छैन तर, अटेन्सन सिक (Attention Seek) गर्नु भनेको मैले जानेको अर्थमा कसैको ध्यान आफूतिर आकृष्ट गर्नु हो। भीडमा रमाउने, भीडले आफूलाई यथेष्ट ध्यान देओस्, आफ्ना कुरामा प्रतिक्रिया जनाइरहोस्, आफ्ना ट्विटहरु सकेसम्म बढी रिट्विट होउन्, कमेन्ट र मेन्सनले डोरो लामो होस् र उस्तै परे आफ्ना ट्विट कुनै पत्रिकामा छापियून भन्ने चाह नै अटेन्सन सिकिङ (Attention Seeking) प्रवृत्ति हो। तर जुग पर्‍यो कली! आफ्नो आङको ट्रक नदेख्नेहरु अर्काको आङको भने अल्टो कार देखाएर खिज्याइरहेका भेटिन्छन्। आफू दिन रात ‘अटेन्सन’ खोजिरहेकाहरुले नै अरुलाई तथानाम ‘अटेन्सन’ भन्दै बसिरहेको देख्दा चाहिँ हाँसो रोक्न मुस्किल नै पर्ने रहेछ। कसैले केही लेख्यो ‘अटेन्सन सिकर’, कसैले फोटो राख्यो ‘अटेन्सन सिकर’।

ए ! बाबा !! सोसल मिडिया चलाउने नै ‘अटेन्सन सिक’ गर्न न हो। हो, यसका आफ्नै हैसियत अनि स्तरचाहिँ होलान्, ती आफ्ना ठाउँमा छन्। त्यता अहिले नजाऊँ। सोसल मिडिया महात्म्य अपरम्पार छ, छिचोली नसक्नु छ, त्यसैले छिचोल्ने दुष्प्रयास नगरेकै बेस।  टुइटरमा  “अटेन्सन” शब्द खोज्दा थेगिनसक्नु टुइट आउँदा रचन्। नेपाली मात्र होइन हिन्दी भाषामा पनि चर्चित शब्द र’छ अटेन्सन। सोचेको त सबै टुइट पढेर लेख्छु भनेर तर सबै टुइट पढ्न सकिएन, पढ्न मन लागेन भन्दापनि हुन्छ। पढ्नु त हुदै भएन त्यसैले नपढी धारणा बनाइहालेँ र लेख्न थालिहालेँ, जस्तोसुकै होस्। तपाईंहरूलाई मन परे परोस् नपरे मलाई बाल।  उसैपनि १२ थरी आफ्नो लेखलाई कसले अटेन्सन दियो भनेर हेरेर बस्दैन।

‘अटेन्सन सिकिङकै सवाल’मा एक दिन @iMaanthaa को ट्विट टाइमलाइनमा देखा पर्यो –

यो ट्विटले महिला वा पुरुष कस्लाई इंगित गर्न खोजेको हो वा टुइटे आफैं कत्तिको अटेन्सन खोज्छन्, त्यो पत्ता लगाउने जिम्मा तपाईंहरूकै, म त्यता लागिनँ।

त्यसको केही दिनपछि निर्मला ढकाल को ट्विट देखियो टाइमलाइनमा…

यो टुइटको पनि आन्द्राभुँडी केलाउने काम पनि तपाईंहरूकै । मैले तपाईंको काम खोसिन है। 

यी दुइ त केवल उदाहरण मात्र हुन्। यति भूमिका बाँधिसकेपछि मलाई लागेका कुरा चैैं-

  • सोसल मिडिया भनेकै आफ्ना मनमा उब्जिएका भावना पोख्न बनाएको हो। विचार राख्दैमा अटेन्सन नै खोजेको हो भनेर भन्न कसरी मिल्छ ?
  • छातीमा हात राखेर कसैले भन्न सकोस् त मलाई कसैको अटेन्सन चाहिँदैन भनेर। म त सक्दिन हेर्नुस्। मलाई त  अटेन्सन चाहिन्छ। (यति लेखेसि तपैंहरुले अटेन्सन त दिनुहुन्तो होला। तर, नचिनेर पो आपत्)
  • जसले मलाई अरुले घाँस हालोस् भन्ने सोचेको हुन्छ त्यसैलाई थरी थरी घाँस बोकेर जाने जमात सोसल मिडियामा नभएको हो र ? अनि सोसल मिडियामा अटेन्सनको अस्तित्व झनै मौलाउँदो हुनु के नौलो भयो र ?
  • ‘सबै राम्रा फिल्म खेल्दैनन्’। ‘गरिबको खाना’। ‘बिरामी परें’। ‘फल चिन्नुस्’। ‘ठाउँ चिन्नुस’?

यी केहि हदसम्म ‘ज्ञानी खाले’ अटेन्सन सिकर हुन, किनकि यिनीहरुले कसैलाई हानी गर्दैनन्। कसैलाई हानी नगर्ने कुराको बारेमा किन गाली गलौज गर्नुपर्‍यो? किन नाम राख्नुपर्‍यो?

बौद्धिक अटेन्सन र राजनीतिक अटेन्सन सिकिङ चैं अत्यन्त संक्रामक एवं डरलाग्दो हुन्छ। आफू इतरको विचार आउनै हुन्न। ग्रुप डिएममा गठन गरिएका लडाकु (हनुमान, कटप्पा वा यस्तै केही नाम दिइएका छन् क्यार) दस्ता सिधै आक्रमणमा उत्रिन्छन्। तारिफै मात्र गर्नु भयो भने बच्नु भयो नभए सिधै ब्लक लिस्टमा।  खैर, ब्लक लिस्टमा मात्र हाले त हुने, पुरै झूण्ड नै खनिन्छ, हा हा र हि हि गर्दै।

हामीकहाँ द्वैध चरित्र बर्खामा पलाएको तितेपाती भन्दा बढी झ्यांङ्गिएको छ। छोरीबुहारीलाई बाहिर अबेरसम्म हिँड्न दिनुहुँदैन भनेर सरकारी मुखपत्र गोरखापत्रमै लेख छापिन्छ। कुनै महिलाले त्यसमा आपत्ति जनाए भने शुरु हुन्छ खेदो खन्न। संसार २१ औं शताब्दीमा आइपुग्दा पनि यस्ता ‘आउट डेटेड’ विचारवाला लेख लेख्ने अनि छाप्ने भन्दा दोषी ठहरिन्छन् यसमा विरोध जनाउनेहरू। महिला अल्पसंख्यक नै छन् सोसल मिडियामा। त्यसैले महिलाले लेखेका लेखमा पुरुषको चित्त बुझेन भने जग हसाँइ बनाएरै छाड्छन। खिसिटिउरी गरेर, Stalk गरेर जीना हराम गरिदिन्छन् अनि अटेन्सन सिकर “करार” दिन्छन्।  सबका सबलाई गुनासो छ एकअर्कादेखि। कसैलाई कसैको विचार मनपर्दैन, सबै मेरै गोरुको बाह्रैटक्का भनेर कुर्लेका छन्। के यो सब अटेन्सन सिक होइन? म आफैंपनि मलाई मन नपर्ने मानिसको लिस्ट बनाउँछु भनेर लागेको लिस्टमा रहन बाँकी कोही भएनन्। कसको केमा खोट भेट्छु, कसको के मा ? अनि सोचेँ, के मेरा सबैकुरा अरुलाई पनि मन पर्छ त ? पर्नै पर्छ भन्ने छ त ? पक्कैपनि पर्दैन, यो कुरा मैलेपनि स्वीकार्न सक्नुपर्छ।    

 गाँसबाँस र अटेन्सन कसैले स्वीकारोस् वा नस्वीकारोस् सबैलाई अत्यावश्यक नै भएको छ। पृथ्वीनारायण शाहले भनेको जस्तै चारजात छत्तिस वर्णको जमात सामाजिक संजालमा भेटिन्छ। तर, आफु कुन कित्ताा जाने भन्ने आफ्नो विवेकमा भर पर्छ भने अरुका विचार स्वीकार्न सक्ने नसक्ने आफ्नै सहनशीलतामा। संविधानले दिएको वाक स्वतन्त्रता प्रयोग गर्दा आफूले त्यहीकुरा स्वीकार गर्न सकिन्छ की नाई पनि सोचौं। हामी कति सजिलै अर्कालाई अटेन्सन सिकर करार गर्छौं। तर त्यसो गरिरहदाँ आफै अटेन्सन सिकर भएको पत्तो पाउदैनौं।  एउटा औंला अरुलाई देखाउँदा चार औंलाले आफैलाई देखाएको हुन्छ।

मेरो व्यक्तिगत धारणा के हो भने यो चराचर जगतमा सबैका आआफ्ना बिशेषता छन्, आआफ्ना आकर्षण छ्न। हामी सिटमा बसेर मोबाइल/ल्यापटमा यी कुरा लेखिरहेका छौ, त्यसको निम्ति पृथ्वीको गुरुत्वाकर्षणले सहयोग गरेको छ । सुर्य, पृथ्वी र चन्द्रमा पनि यहि कारणले आआफ्नो ठाउँमा छन्, धर्म निभाएका छन् । अरु त अरु अणु भित्रका प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोन बिचमा एक किसिमको आकर्षण र अन्तरक्रिया हुन्छ । कोइलीको कुहुकुहु, झ्याउँकिरीको झ्याइँझ्याइँ, जुनकिरीको पिलपिल, सल्लेरीको सुसाइ, झरनाको छङछङ सबै अरुलाई आकर्षित गर्नैको लागि होइन त ? मिलेका लुगा लाएर, कोरीबाटी गरेर, जुल्फी लर्काएर, मङमङ्ती बासना आउने अत्तर छर्केर हिंड्नु आकर्षणको लागि नभए के को लागि हो त ?

अझ सामाजिक संजालमा त लाइक, कमेन्ट, RT, Likes, Shares के का मापक हुन त ? आफ्ना बिचारले कति अरुको ध्यान खिच्न सक्यो, त्यसकै मापक होइनन यी ? यदि हो भने के को रोइलो हो त नि ?

इमान्दार भएर भन्नुस त तपाईंलाई अटेन्सन चाहिन्छ की नाई ? मलाई त चाहिन्छ, दिनुस हैं अलिकति अटेन्सन ? ? 😄😄😄

(नोट: अतिथि लेखकको लेखमा हामी १२ थरी टीमले टिप्पणि गर्दा राम्रो त नदेखिएला। तर, हामी सबैमा अटेन्सन सिकिङको केही प्रतिशत हिस्सा होला जस्तो त लाग्छ। अटेन्सन सिकिङ नहुने नै हैन, कहिलेकाहीं त प्रष्टै देखिने गरी नै हुन्छ। एउटा ट्विट याद आउँछ।

अरे यार! कसैले आफ्नी आमाको बारे यस्तो टिप्पणि गर्दा होलान् त? हुनत, सबैको मनमा पस्न सकिन्नँ। सबैले आमालाई मैले सोचेजस्तो सोच्लान् भन्न नि सकिँदैन। सबै स्वतन्त्र छन्।- बोस्टन)

Leave a Comment

Your email address will not be published.

माइन्ड नगर्नुस है स्पाम कमेन्ट ले हैरान भैयो - टुच्च क्याप्चा *