साहित्यमा हग्ने र मुत्ने कथा, किताब बिकेनन् भन्दै प्रकाशकको रोइलो

यतिखेर किताब बिकेन भनेर रोइलो मच्चिएको छ प्रकाशकहरुबीच। वर्षौँ बेस्ट सेलर बेच्ने पुरानो रत्न पुस्तक भण्डारलाई जिल खुवाउँदै आफूलाई नम्बर वान प्रकाशक संस्थाको सुचीमा उकालेको (बिक्रीको हिसाब किताब त हामीलाई थाहा छैन, तर उनीहरुको दाबी त्यस्तो छ) दाबी गर्ने फाइन प्रिन्टका अजित बरालले ट्विटरमा सार्वजनिक रुपमा दुखेसो नै पोखे- लौ न हाम्रा किताबहरु बिकेनन्, मदन पुरस्कारको सूची निस्कँदा पनि कसैले किनिदिएन। 

मदन पुरस्कारमा ‘सर्ट लिस्टेट’ हुने बित्तिकै किनोस् पनि कसले? यसले पुरस्कार दिएका किताबको सूची हेर्‍यो भने पाठकले मन नै नपराएकाको संख्या धैरै हुन थालिसक्यो। आजकाल साहित्य तथा पाठक बजारमा नयाँ हल्ला जन्मेको छ, ‘मदन पुरस्कारको पनि ‘द’ हराइसक्यो। अब मनमा जसलाई लाग्यो उसलाई दिने ‘मन पुरस्कार’ हुन लागिसक्यो।’ पाठकहरुलाई थाहै होला, केही वर्ष पहिले एउटा जाँड खाएर वाकेको बयान गरेको किताबले मदन पुरस्कार पायो। जाँडकै सुरमा त होला नि, पुरस्कार जित्ने किताबमा लेखकले नारायण गोपाल आफ्नो बिहेको भोजमा आएको लेखेका थिए। तर वास्तविकतामा भने उनको बिहेको बेला नारायण गोपाल परमधाम पुगिसकेका थिए। अनि यस्ता किताबले पुरस्कार पाउने भएसि मदनको द हराउने नै भयो।

अझ लेखकले जाँड छाडेँ भनेर घोषणा गरेर किताब त लेखे, पुरस्कार पनि पाए। तर, ती लेखक एक दिन याक एन्ड यति होटलबाट ढलमलिँदै निस्केको देखेपछि यो न्युरोडे लेखकले जिब्रो टोक्दै भनेको थिएँ (मनमनै), ‘लौ ! जाँड छोडेर पाएको पुरस्कारले जाँड धोक्न थालिसकेछन्’ भन्दै।

अँ, अब मूल मुद्दामा आऊँ। हामी कहाँ थियौँ रे? ए, अँ किताब बिकेन भन्ने रोइलो। फाइन प्रिन्टका दाजु पनि मान्छे कडा नै हुन्। मदन पुरस्कारको प्रभाव परेन भनेपछि कुरै सिद्धिएको थियो त। त्यसमा फेरि किन सोसल मिडियालाई घुसाउनु परेको होला? प्रश्न सोधे पनि सोसल मिडियालाई गाली, सरकारको विरोध गरे पनि सोसल मिडियालाई गाली। हुँदाहुँदा किताब नबिक्दा पनि सोसल मिडियालाई गाली। 

हैन, अचेल सप्पै किन सोसल मिडियाका दुश्मन भएका हँ! अस्ति भर्खर पनि साझाका अध्यक्षले ‘छुच्चा, तँसित बोल्दिनँ’ पाराले घुर्की देखाए जस्तो गरी आफ्नो पत्रिका हिमालमा ‘उकालो लाग्दा’ लेख्नुभो। त्योभन्दा पहिला पनि दुई चारजनाले लेखेकै हुन्। १२ थरीमै हाम्रा सम्पादकले सोसल मिडियालाई आफूले चाहे बमोजिम चलाउनु पर्छ भन्ठान्नेहरुलाई दिएको दनक पढ्नुभो होला नि। छुटाउनु भएको भए यो लिंकमा क्लिक गरेर पढिहाल्नुस्।

हुँदाहुँदा अब त किताब बिक्न छाडेको नि सोसल मिडियाले गर्दा रे। अनि कि प्रकाशकज्यू, किताबको फोटो राखेर, किताब च्यापेर फोटो हालेर सोसल मिडियाले सिंत्तैमा प्रचार गरिदिँदा त हजुरहरुलाई खुब मज्जा आएको थियो नि। अनि कि तपाइँलाई पनि सामाजिक सञ्जालले सँधैभरी वाह वाह मात्रै गर्दिओस् भन्ने चाहना हो?

अब किताब बिकेन भनेर ह्वाँले रोइलो गर्नु ठीक पनि हो। मान्छेलाई मन पर्दैन र पढ्दैनन् त सोसल मिडियाको के दोष ! किताब धेरै बिकेको पनि सोसल मिडियाको प्रचारले नै हो। सोसल मिडियालाई दोष लाउनु अघि आजकाल बजारमा कस्ता कस्ता साहित्य छापिन्छन् भनेर आफैंले मुल्याङ्कन गरेर हेरे पनि त किताब किन बिकेनन् भनेर सामान्य ज्ञान त होला नै। अब म लेख्छु नि त किन बिक्दैनन् किताब भनेर। ल सुन्नुस्-

हग्ने र मुत्ने बयान गर्ने किताब किन पढ्ने मानिसले? 

बौलाइस् कि के हो भन्नुहोला फेरि मलाई। कहाँ छ हग्ने र मुत्ने बयान भनेर १२ थरीलाई नै गाली गरी ट्विट लेख्न हात उचालिसकेको हेर न। पख्नुस् पख्नुस्। यो न्युरोडे लेखकले त्यतिकै लेख्दैन। प्रमाण छ, प्रमाण। हामी दिन्छौं नि प्रमाण।

त्यसो त किताबमा यस पुस्तकको कुनै अंश वा पूरै पुस्तक कुनै पनि माध्यमद्वारा पुनरुत्पादन वा फोटोकपि गर्न पाइने छैन भनेर चेतावनी नै दिएको हुन्छ। दिइयोस् न त मलाई के। होलान् नि १२ थरीका कानुनी सल्लाहकार। उनीहरु मुद्दा लड्दै गरुन्, म चाहिँ यहाँ अंश उद्‍धृत गरेरै छाड्छु। 

फिरफिरेको एक अंश

पढ्नुस् त कति घिन लाग्ने ! रुखको हाँगामा बसेर हग्ने रे। अनि माथि रुखमा बसेर हग्दा दिसा पातपातमा ठोक्किएर भूँइमा खस्ने….छी छी छी! यो कुन किताबको अंश थाहा छ तपाईँलाई ? उही क्या- फिरफिरे। यसरी हगेको बयान गरेर साहित्य लेखिन्छन् आजकाल। साहित्यकारहरुले शौचालयमा हगौं भन्ने लेख्नुपर्ने हो नि, यहाँ त रुखमा चढेर हग्ने लेखेका छन्।

सेलिब्रेटी लेखक बुद्धिसागरको दोस्रो उपन्यास। ट्विटरमा त खुप वाह वाह लेख्नुभा थ्यो नि तपाईँले पनि फिरफिरेमा। यो अंश पढ्नु भा’थ्यो? कि पढ्दै नपढी वाहवाह गर्नुभाथ्यो? सामाजिक सञ्जालमा लेखकको रिट्विट र धन्यवाद खान पाउने लोभमा, ठूला लेखकले मलाई मेन्सन गरे भनेर सर्टको कलर उठाउँदै चिया पसलमा बसेर शान दिन काम लाग्छ भनेर हगेका पादेका, मुतेका बयानको किताबलाई वाह वाह गर्ने हो भने त १२ थरीमै प्रकाशित ओच्छ्यान मुतुवाको आत्मकथा पढे भयो नि बरु। 

मित्र राष्ट्रहरुले करोडौँ डलर खर्च गरेर खुला दिसामुक्त क्षेत्र घोषणा गराइरहेको बेला यसरी हाँगामा बसेर हग्ने बयान गर्ने किताब लेख्ने उस्तै, सम्पादन गर्ने उस्तै, छाप्ने झन् उस्तै। कसले कसरी हग्छ भनेर जान्न किन पढ्ने नि किताब किनेर?

मुत्ने साहित्य

हग्ने बयान पछि अब आउँ मुत्ने बयानतर्फ। मुत्ने जस्तो सामान्य कुरालाई पनि साहित्यमा प्रयोग गरेर हैरान छ साहित्यकारहरुले। अचेल सार्वजनिक शौचालयमा मुत्न पनि रुपैयाँ लाग्छ। त्यही भएर होला, मुताइको पनि बयान साहित्यमा लेखेर पैसा असुल्न खोजेका साहित्यकारहरुले। 

पढ्नुस् त त्यहाँ साहित्य- ट्वाइलेटमा भन्दा खुला ठाउँमा पिसाब फेर्न मजा आउँछ रे। खुला दिसा पिसाबमुक्त क्षेत्र घोषणावालाहरुले ब्यान गर्नुपर्ने किताब। सरसफाइलाई चुनौति दिने ? गोद्न त नगोदौँ तर सचेत चाहिँ गराउनु पर्ने। 

यो मुत्ने बयान भएको उपन्यासको किताबको नाम हो – पैताला । गनेस पौडेल हुन् यसरी मुत्न मन पराउने। ह्वाँलाई कतै पाहुना बनाउनु भएको छ भने होस् गर्नुस् है, कतै गिलो देखियो भने त्यो पौडेलको पिसाब हुनसक्छ। ढिलो देख्नुभो तर गिलो देख्नुभो भने पौडेलले मुतेको ठाउँ हुनसक्छ। धन्न टिकेका छन् होऊ खुल्ला ठाउँमा दिशा पिशाब गर्न मन पराउने साहित्यकारहरु।

बुद्धिसागर रुखको हाँगोमा बसेर हग्ने, गनेस चैँ पातमा नचाउँदै पिसाब फेर्ने- हे दैव ! अनि हामी नेपालीले साहित्यमा नोबल पुरस्कार किन पाएन भनेर गम्दै बस्छौँ !

हस्त मैथुने साहित्य

हग्ने र मुत्ने  बयान सकिएपछि अब हस्त मैथुन बयानको पनि कुरा गरौँ न। माफ गर्नुस् यो लेख १८+ नगरौँ भनेर मैले अंश चाहिँ यहाँ कपिपेस्ट गरिनँ। सम्पादकलाई मन लागे उनी आफैले खोज्लान्। छोल्ने बयान कुमार नगरकोटीका किताबहरुमा पाइन्छ। ‘मिस्टिका’मा त प्रशस्तै छ छोलेका कुरा। (यही लेखमा उद्धृत गर्नका लागि सम्पादक वा १२ थरी टीमले मिस्टिका भन्ने किताब किन्नुपर्ने कुरा त्यति व्यवहारिक लागेन। फेरि हस्त मैथुन कसरी गर्ने भनेर जान्नै मन लागे बरु स्वास्थ्य जनरल नै पढौंला नि- सम्पादक) 

रिट्विट गरे किताब सित्तैमा दिन्छु भन्दै प्रचार गर्ने लेखकको किताबमा पनि हस्त मैथुनको कुरा छ रे है। मैले पढ्या छैन र पढ्ने रुचि पनि छैन। पढेँ भन्नेहरुले भनेको सुनेर लेखिहालेको।

यत्रो पढिसकेपछि तपाईँले सोध्नुहोला- अनि के साहित्यकारलाई हग्न नदिने, मुत्न नदिने, हस्त मैथुन गर्न नदिने?

कल्ले भन्यो नदिने? हग्नुस् न, मुत्नुस् न। यो त प्राकृतिक कुरा हो नि। तर हग्ने र मुत्ने जस्तो सामान्य कुरालाई पनि साहित्य बनाएर रुखको हाँगाबाट हगेर पातमा दिसा खसेको भन्दै महिमागान चैँ नगरौँ भनेको। 

खुला ठाउँमा पिसाब फेर्ने मन पर्छ, पिसाबको धारोलाई पातमा नचाउँदै फेर्दा प्राकृतिक अनुभव हुन्छ भनेर गफ चैँ नजोतौँ भनेको ! लुगै नलगाई नाङ्गै हिँड्दा झन् प्राकृतिक अनुभव होला नि हजुरलाई। त्यसो भनेर बाटोमा नाङ्गै हिँड्न मिलेन नि हैन? सामाजिक मर्यादा भन्ने पनि त हुन्छ होला नि? कि साहित्य भन्दैमा जे पनि लेख्नु पर्ने हो? 

हग्ने, मुत्ने र छोल्ने बयान छँदासम्म नेपाली साहित्यका किताब बिकेन भनेर रोइलो कसैले गरेको देखियो भने छुच्चै हुने हो ट्विटरमा। तपाइँहरु पनि हुनुस्, परेको हामी बेहोर्छौँ, लुज्जा !

र, अन्त्यमा चाहिँ खुल्ला ठाउँमा दिशा पिशाव गर्न मन पराउने साहित्यकारका घरका ट्वाइलेटको फोटो नमूना हेर्नुस् है त, तल।


बुद्धिसागरको काठमाडौँस्थित घरको ट्वाइलेटको एक्सक्लुसिभ फोटो ।

 


गनेस पौडेलको घरमा उनलाई प्राकृतिक फिल गराउनका लागि यस्तो प्यान बनाइएको रहेछ।

 

(न्युरोडे १२ थरीका अतिथि लेखक हुन्। १२ थरीमा भर्खर मात्र लेख्न शुरु गरेका यिनी लामो समयदेखि लेखन पेशामा छन् भनिन्छ। यिनी आफ्नो लेखनले नै धेरैका बंगारा झार्ने र सुरुवाल फुकालिदिने हैसियत राख्छन् भन्ने कुरा गर्छन् मान्छेहरु यिनका बारेमा। त्यो पनि मिडिया बजारदेखि साहित्यबजारसम्म, भैंसेपाटीदेखि रत्नपार्कसम्म।)

 

 

 

One thought on “साहित्यमा हग्ने र मुत्ने कथा, किताब बिकेनन् भन्दै प्रकाशकको रोइलो

  1. “साहित्य भोजनालय हो भने राजनिती शौचायल” भन्ने भनाइ कुन्नि कुन्चाहि पुराना कवि जिले भनेको भनेर पढ्या थे बुद्धिसागरले त साहित्यलाइ पनि शौचालय नै बनाइदेछन् बरै ।हुन त यि बार्ह थरे का आँखा नि यस्तै ठाउँमा मात्रै जाने त हो नि ।
    यस्ता लेख अरु पनि पढ्न पाइयोस्
    हस्त नौस्ते

Leave a Comment

Your email address will not be published.

माइन्ड नगर्नुस है स्पाम कमेन्ट ले हैरान भैयो - टुच्च क्याप्चा *

Charlie