१२/२७ समीक्षक

नेपालमा साहित्यिक कृतीहरुको बजार प्रबर्दन यसरी हुन थाले पछी सक्की गो नि । सही र प्रखर समालोचक किन चाहियो बजारमा ;-)
नेपालमा साहित्यिक कृत्तिहरुको बजार प्रवर्धन यसरी हुन थालेपछि सक्किगो नि ! सही र प्रखर समालोचक किन चाहियो बजारमा 😉

१२ थरीले समाजमा रहेका विभिन्न पेशाकर्मीहरुको चिरफार गर्ने क्रममा कसैको बारे पहिला र कसैको पछि चर्चा गर्नुपरेकोमा १२ थरी परिवार दु:खी छ। सबैको चिरफार एकैपटक गर्न मिल्ने कुरा पनि भएन। ढिला चाँडोको कुरा हो, पालो सबैको आउँछ। अहिले तपाइँ बाहेक अर्कोको पालो परेका बेला काखी बजाइहाल्नुस्। आजको पालोमा श्री समालोचक, ए हैन समीक्षकको पालो। समीक्षक बाहेक अरु थपडी बजाउन तयार हुनुस्।

अहिले लेखकका लागि अवस्था कतिसम्म मलिलो भएर आएको छ भने तपाइँले दुई चारवटा राम्रा ट्विट वा फेसबुक स्टाटस लेख्नुभयो भने पनि प्रकाशकहरु किताब लेख्नुस् न भनेर पेश्की रकम नै बोकेर घरै आइपुग्छन्। छाप्नुअघि लेखकको र छापिसकेपछि पाठककोमा आजकाल प्रकाशकहरु दौडिरहन्छन्। बिचराहरुलाई सास्ती नै छ। १० को माल, १० को माल भन्दै गाउँ गाउँ किताब बोकेर पुग्न नि गाह्रो छ नि। प्रकाशक, लेखक बढेपछि समीक्षकहरु पनि बढ्ने भए। आज १२ थरी ब्यूरोले हाम्रो समाजमा भएका समीक्षकको बारेमा चर्चा गर्नेछ। त पाठकवृन्द, आउनुस् हाम्रा वरिपरीका समीक्षक चिनौं।

मगन्ते समीक्षक

तपाइँहरुले गाउँघरतिर सुन्नुभएको होला, गाली गर्दा भन्ने गर्छन् बुढापाकाले, ‘कस्तो हल्लुँड’ रै’छ यो।’ यीनलाई मगन्तेसँगै हल्लुँड समीक्षक भन्नु पर्छ। भनेपछि बुझियो होला यी कस्ता समीक्षक हुन् भन्ने। यी समीक्षकहरुले समीक्षा कहाँ लेख्छन्, के लेख्छन्? कसैले थाहा पाउँदैनन्। तर किताब विमोचन हुने स्थान, साहित्यिक कार्यक्रम जताततै पुग्छन्। ‘हजुर, म समीक्षक’ भन्दै परिचय दिन्छन्। ‘समीक्षाको लागि एउटा किताब त चाहियो नि हजुर’ भन्दै किताब हात पार्छन् र टन्न चिया खाजा खाएर बाटो लाग्छन्। सुनिन्छ, यिनीहरु प्राय: घरमा खाना खाँदैनन्। यिनीहरुको विधा पनि हुँदैन। कतिसम्म पनि सुनिन्छ भने यिनीहरु रत्नपार्कमा भट्याइरहने मुकुन्देको भाषणको पनि समीक्षा गर्दिन्छन्। प्रकाशक तथा लेखकहरु बिहान घरबाट निस्कँदा ‘भगवान, भरे फर्किँदा लड्डु लिएर आएर चढाउँला, त्यो हल्लुँडलाई नभेटियोस्’ भनेर प्रार्थना गर्छन् भन्ने हल्ला सुनिन्छ भृकुटीमण्डपतिर।

चाप्लुसी समीक्षक

अोहो ! यिनीहरुको चर्चा त नगरौं कि के हो ! नामैले काफी छ यिनीहरुको विशेषता के हो भन्ने त। यि समीक्षक कस्ता हुन्छन् भने यिनीहरु लेखक वा प्रकाशक वा दुवैलाई ‘दाइ’ भनेर सम्बोधन गर्छन्। ‘दाइ’को फेसबुकको स्टाट्स, भाउजूसँगको फोटो, ट्विट, सबैतिर ‘वाओ’ ‘वाओ’ गर्दै कमेन्ट गर्दै बस्छन्। कहिलेकाहीं ‘भाउजू’ले खानाको फोटो राख्नु भयो भने ‘देख्दै कति मीठो, भाउजूको हातै मीठो’ भनेर प्रशंसा गर्छन् र त्यही प्रशंसाको पुल तरेर लेखक वा प्रकाशक भाउजूको हातको भात खान घरैसम्म पनि पुग्छन्। अब बुझ्नुस्, यिनीहरुले गर्ने समीक्षा कस्तो होला? किताबको समीक्षामा यिनीहरु कतै न कतै ‘भाउजू’ले ख्वाएको भातको प्रशंसा घुसाएरै छोड्छन्। अनि किताब विमोचनमा प्रकाशकले गरेको भाषण पनि साह्रै लय मिलेको भनेर घुसाउन पनि भुल्दैनन्। कतिपय बेला त यस्ता समीक्षकलाई समीक्षा पढेर लेखक वा प्रकाशकले फोनै गरेर भन्छन् रे, ‘अरे पगले, रुलाएगा क्या !’

खेताला समीक्षक

यी समीक्षकहरुको कुनै स्वतन्त्र विचार हुँदैन। यिनीहरु प्रकाशक वा लेखकका खेताला मात्र हुन्छन्। प्रकाशकले बनाएर दिएको खाकाभित्र बसेर यिनीहरु पुस्तकको समीक्षा गर्छन्। अलि पढेका, जानेबुझेका प्रकाशक परे भने यिनीहरुलाई ‘त्यो न्युयोर्क टाइम्समा फलानो किताबको समीक्षा छ नि, हो त्यो हेरेर लेख, दुईचार लाइन त्यहाँबाट कोट गर, समीक्षा बलियो हुन्छ’ भनेर सल्लाह दिन्छन्। दुई दिनपछि समीक्षा पढ्नुस् त, ओहो, महान महान ‘कोट’सहित समीक्षा आउँछ। यिनीहरुले समीक्षा गरेबापत निश्चित ज्याला पाउँछन्, तर ज्याला नगदमै हुन्छ भन्ने ग्यारेन्टी छैन, कफी वा म:म: मात्र पनि हुनसक्छ। अनि यी समीक्षकहरुले अरु सबैलाई ऐेरे गैरे नत्थु खैरे नै भन्छन्।

जिग्री समीक्षक

यी समीक्षक कस्ता भने लेखक वा प्रकाशकका अत्यन्त निकटका, जिग्री। यिनीहरु हरेक साँझ भट्टी पसलमा सँगै हुन्छन्, वाक्नेगरी रौसी पनि खाँदा हुन्। माफ गर्नुहोला पाठकवृन्द, चिया पसलमा पनि बसेका हुनसक्छन् है यिनीहरु। वाक्नु अगाडि नै यिनीहरुले समीक्षाको ड्राफ्ट तयार गरिसक्छन्। यस्ता समीक्षकहरु आफू एक्लै बसेर कहिल्यै पनि समीक्षा लेख्दैनन्। प्रकाशक वा लेखकले नै यिनीहरुलाई निम्ता गर्छन्, ‘खै यार बोस, एउटा समीक्षा त लेख्नुपरो नि, बरु आज साँझ बसौं न।’ जिग्री समीक्षकलाई किन पनि जिग्री भनिएको हो भने लेखक, प्रकाशक मात्र हैन, मिडियाका साहित्य, फिचर हेर्ने सम्पादक पनि यीनका जिग्री हुन्छन्।  त्यो बिचरो समीक्षक भोलिपल्ट समीक्षा छापिँदा आफै ट्वाँ परिरा’को हुन्छ कतिकतिबेला त। उसले जेजस्तो लेखे पनि ट्वाक्क छापिन्छ, फेलै खाँदैन।

दलाल समीक्षक

यो त नामै काफी छ नि विशेषता जान्न। यिनीहरु समीक्षाका लागि दलाली गर्ने गर्छन्। ‘के छ त प्रकाशक, लेखकज्यू? कति अरुसँग मात्र हो? हामीलाई नि समय दिनुस् न’ भन्दै फोन गर्छन्। लेखक/प्रकाशक तर्किन खोजे थपिहाल्छन्, ‘हाम्रो पनि अक्षर बिक्छ नि हजुर बजारमा, के धुलै पार्नु पर्ने हो र? दाजु भाइ मिलौं न, भाइले पनि खानु परो नि दाजु।’ धेरैपय अवस्थामा प्रकाशक, लेखकले यिनीहरुको फोन नै रिसिभ गर्दैनन् भन्ने हल्ला छ। फोन रिसिभ नभए पनि केही छैन, दुई चारोटा सन्ध्याकालिन पत्रिका वा अनलाइनहरुमा यिनीहरुले ठोकिहाल्छन् फोन रिसिभ नभएको झोंक।

टुक्रे समीक्षक

यीनलाई टुक्रे समीक्षक किन भनियो भनेर यस्को व्याख्या गरौँ कि नगरौँ दोधारमा छौँ। किन भन्नुहुन्छ भने, हामी आफै पनि प्रस्ट छैनौँ कि यिनलाइ समीक्षक भन्ने कि नभन्ने भनेर। कारण के भन्दा यीनका समीक्षा न ब्लगमा छापिन्छन्, न अनलाइन पोर्टलमा न त पत्रिकामा नै। यति भनिसके’सी अन्दाज लगाउनु भयो होला, यी स्वघोषित समिक्षक हुन्। जसलाई निबन्ध शैलीमा समीक्षा लेख्न आउँदैन। यिनले धेरै गरे सामाजिक सन्जालमा एक दुई लाइन समीक्षाजन्य स्टाटस लेख्छन, अनि किताब पढेको फोटो राख्छन्, लेखक प्रकाशकलाइ ट्याग गर्छन्। त्यसपछि के हुन्छ, ब्यापारीको काम नमस्कार गर्ने हो भने झैँ ट्यागित महाशयहरुले समीक्षकको उचाइ अनुसार, लाइक, मेन्सन, रिट्विट, सेयर वा धन्यवाद दिन्छन्। यहाँ समीक्षकको उचाइ भन्नाले उक्त टुक्रेको फलोवर वा फ्रेण्ड काउन्ट भनेर बुझ्न पर्छ।

उम्रिँदैका तीनपात

यी समीक्षकहरु कस्ता हुन्छन् भने यीनलाई न त समीक्षा भनेको के हो थाहा हुन्छ, न त किताबको समीक्षा कसरी गर्नुपर्छ भन्ने थाहा हुन्छ। तर कहाँ कहाँ, कुन कुन च्यानल फिट गरेर आफ्नो बकबास पत्रिकामा छाप्न सफल हुन्छन्। अनि त्यो छापिएको एकपातो बोकेर यी शहरभरी डंका पिट्छन्- लाग्छ यीनले अमेरिकाको राष्ट्रपति जिते, यीनले बिल गेट्सको सबै सम्पति पाए। यिनीहरु मान्छेहरुलाई सुनाउन अनेकानेक किताब पढेको भनेर पनि हल्ला गर्छन्। यीनको उमेर, यीनको शिक्षा, यीनको चेतनाको स्तर हेर्ने हो भने बिचरो लेखक र प्रकाशक आफै समीक्षा पढेर लाजले रातो हुन्छन्।

मेसो मिले समीक्षक

यी समीक्षक होइनन्, र यीनले म समीक्षक हुँ पनि भन्दैनन्। साह्रै इमान्दार। यीनको इमान्दारीताको बयान गर्न त स्वयं नारदमुनी पनि डराउँछन्। यीनले कुनै कृत्ति पढिसकेपछि ‘मलाई लागेको कुरा लेखेको छु, मेसो मिले पढ्नुहोला’ भनेर लिंक ठेलिहाल्छन् र साथमा थप्न बिर्सिँदैनन्, ‘म समीक्षक होइन है।’  बजारमा भएका कुनचाहिँ समीक्षकले अर्कालाई लागेको कुरा लेख्छ? स्पष्टिकरण किन दिनुपर्ने होला।

र, हरि अधिकारी*

हरि अधिकारी नामै काफी छ। यिनले प्रशंसा गर्ने किताब नेपाली साहित्यमा नगन्य मात्र हैन छँदै छैनन् भने पनि हुन्छ। यी पहिला आफैं कविता कोर्थे क्यारे, निबन्धहरु पनि पो लेख्थे होला। लेखनमा यी यति पत्रु भए कि यीनका पाठक खोज्न बिजुली यति खर्च हुन्छ रे कि बिचरो प्राधिकरणलाई लोडसेडिङको तालिका बनाउनको हैरान। समीक्षामा यीनले प्रयोग गर्ने शब्द त गाली शिरोमणि महापण्डित श्री संग्रौला बाजे पनि यिनका अगाडि तोते बालक लाग्छन्।

माथि हामीले केही खाले समीक्षकको बारेमा प्रकाश पार्ने जमर्को गर्यौँ, तर आजभोलि समीक्षा, पुस्तक लेखन, प्रकाशन जस्ता कुराहरु खहरे खोलो सरी होहल्लाका भरमा चल्न थालेका छन्। किताबहरुको संख्या दिनानुदिन बढेको बढ्यै छन्, र पनि पहिला पहिला जस्तो ओझिला कृतिहरु निस्कन सकेका छैनन्। यहाँ केही गन्यचुन्यले हल्ला गर्दिन्छन्, ‘ओहो त्यो नपढे त सोसाइटीमा नै परिन्नँ’ झैँ बनाउछन्। बल्ल बल्ल पैसा जोगाएर किन्यो, पढ्दा पढ्दा टीठ लागेर आउँछ। त्यो चार पाँचसय पैसोले त सातालाई पुग्ने तरकारी किन्न पुग्थ्यो नि भन्ने लाग्छ। न यी पुस्तकले साहित्यमा नै कुनै योगदान दिन्छन् न त पैसा अनुसारको दमदार।

आजभोलि सिन्डिकेट पनि बढेको छ साहित्यमा पनि। केही थान नाम चलेकाले राम्रो भनेको रचनालाई कसैले पढेर एकदमै निस्वार्थ समीक्षा गरेर कमजोरी केलायो भने ती केही थान सिन्डिकेटेहरु धावा बोल्न थाल्छन्, अझ संसारभरीका साहित्यसँग तुलना गरेर बयानबाजी गर्छन् र किन समीक्षा गरेछु नि भन्ने बनाउँछन्। अझ भनौँ आजभोलि नाम चलेका लेखकको कृत्तिलाई अलिकतिमात्र पनि आलोचनात्मक रुपले छुने हो भने सामाजिक सन्जालमा सास फेर्न नै गाह्रो हुने बनाउछन् सिन्डिकेटे भिजिलान्तेहरुले।

तसर्थ: पुस्तक किन्नुस्, पढ्नुस्, तर सामाजिक सन्जालमा हेरेर, लेखकमा आउरे बाउरेले वाह वाह भनेको भरमा पैसा नसक्नुस्, बुद्धि पुराउनुस्।

*यसअघि हरि अधिकारी हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ- सं.

One thought on “१२/२७ समीक्षक

Comments are closed.

Boston