ज्याक्सन हाईट्सका बाह्र सत्ताइस् ज्याकहरु

७४ ब्रडवे, रुजभेलट एभेन्यु!

यो ठेगाना भन्दा खासै सुनेजस्तो नलागे नि संसारभर छरिएका णेफोली (जन्म र कर्मले नेपाली तर पलायन भएपछि म त नेपाली हैन भने झैं गरेर ठूला ठूला गुड्डी छाँटने तर नेपालीपन छोड्ननसकेका पलायनवादीलाई चिनाउने शब्द, नेफोली वा णेफोली) माझ चिरपरिचित नाउँ हो ‘ज्याक्सन हाईट्स’! नाम सुन्दा जतिसुकै सेक्सी किन नलागोस्, यथार्थमा यो ठाँउभने चाउरिएको छ, कच्याककुचुक छ, फोहोरी छ! खैर ठाँउ आफैंमा राम्रो नराम्रो भने हुँदैन। त्यहाँ बस्ने, किनमेल गर्ने, सेवा लिने वा जागिर खाने भिड र समुदायका अगुवा तथा प्रतिनिधिले के कस्तो भूमिका खेल्छन त्यसले पनि प्रभाव पारेकै हुन्छ। हरेक चोक तथा गल्लीमा बग्रेल्ती णेफोली स्पिंकिंग ड्यूड्सहरु जागिर खोज्दै, केश फाईल गर्दै, बस्ने ठाँउ जुगाड गर्दै, प्यासेन्जर कुर्दै, म:म चाउमिन खाँदै, चुरोट सल्काउँदै, पान चपाउँदै, गुटखा खाँदै, पिच्च थुक्दै, टन्न खाएर ढ्याउऊ डकार्दै हिँडिरहेका देख्न सकिन्छ। उसो त लातिनो, बंगाली र पाकीहरुको संख्या उल्लेख्य मात्रामा भए पनि ज्याक्सन हाईट्समा णेफोली दाजुभाइ तथा दिदीबहिनीहरु यत्र तत्र सर्वत्र भेटिन्छन्। खासमा यी झ्याँसको चर्चाले हजुरका झाँट समेत झर्किदैनन् तर पनि हाम्लाई नि यस्सो मेसो मिलेको मने बनदाम हुनु तर गुमनाम नहुनु भन्ने एउटा उक्ति छ नि? सोहि ठिक गरेको क्या! आजको यो लेखमा हामी चर्चा गर्ने छौं त्यही ज्याक्सन हाईट्स वरपर भेटिने १२ सत्ताईसथरीका णेफूली ‘ज्याक’ हरुको बारेमा। ज्याक्सन हाईट्सलाई एउटा बिम्ब मानेर यहाँ चर्चा गरिएका ज्याकहरु भने समग्र अमेरिकाभरि नै पाइन्छन्। केहीगरी तपाइपनि कुनै कोटीको ज्याक पर्नुभयो भने ङिच्च हाँसेर म:म: खानु आच्या भन्नुहोला है त। 

वरिष्ठ ज्याकहरु

यिनीहरुमा अन्य वर्गका झिनामसिना ज्याकहरुभन्दा आफू उपल्लो वर्गको भएको घमण्ड हुन्छ। यस्ता ज्याकहरुले अमेरिकामा नेपालको संभ्रान्त वर्गको प्रतिनिधित्व गर्ने गर्छन्। आइस्यो गइस्यो लगाएर बोल्नु, राम्रो ठाँउमा जागिर खानु, गतिलो अपार्टमेन्टमा बस्नु, ठूलो गाडी चढ्नु यीनका बिशेषता हुन्। यिनीहरुले कामै नगरी बस्ने भन्ने त कुरै भएन। ठालु पल्टेर अन्य वर्गका ज्याकहरुलाई सरसल्लाह दिए झैं गर्नु, संघ संस्थाका कार्यक्रमहरुमा अतिथि वा वक्ताका रुपमा आफूलाई हेर्नु, कसैले निम्तो गर्न बिर्सिए तिनको उछितो काढ्नु र ती विरुद्ध गुटबन्दी गरेर छुद्र बन्नमा यिनीहरुले पिएचडी गरेका हुन्छन्। केही वरिष्ठ ज्याकहरुले आफ्नै कार्यालय खोलेर वा व्यापार गरेर वा क वर्गको जागिर खाएर कुश्त डलर छापेका पनि हुन्छन्। पैसा कमाएर अमेरिकाका विभिन्न राज्यमा प्रपर्टी जम्मा गर्नु, नेपालका ‘बिजनेश’ मा लगानी गर्नु, घरघडेरी किन्नु अनि फेसबुकमा चर्ती देखाउनु यिनको सोख हो भन्दा खासै फरक नपर्ला। 

संघ संस्थावाला सामाजिक ज्याकहरु

यी ज्याकहरु थरैपिच्छे, घरैपिच्छे, गाँउ टोलैपिच्छे र ठाँउपिच्छेका संघ संस्थाहरु खोल्छन् र आफू कार्यकारी समितिमा रहेर आफ्नो नाम आफैंले उज्जल बनाउन प्रयासरत हुन्छन्। यिनीहरु आफ्नो मनखुशीले संस्थाको पदभार विभाजन गर्ने अनि फेसबुकमा ‘फलानो जस्तो चर्चित संस्थाको ढिस्कानो जस्तो गरिमामाय पदमा मलाई चयन गर्नु भएकोमा यहाँहरुलाई धन्यवाद ज्ञापन् गर्दछु’ भन्ने स्ट्याटस अपलोड गर्छन्। लाइक्स र कमेन्ट्सको गन्दै मक्ख पर्छन् र नेपालमा रहेका आफन्तलाई आफू भयंकर चल्तापूर्जा रहेको भ्रम छर्न खप्पिस हुन्छन्। तर यथार्थ हेर्दा ‘डर्टी जब्स्’ तथा अप्ठ्यारा मानिने कामहरुमा घन्टा हानेर पाईपाईको हिसाब गर्दै लोग्ने स्वास्नी मिलेर डलर छाप्नु यिनको दैनिकी हो भन्दा अत्योशयोक्ति नहोला। बडा गज्जब त त्यतिबेला हुन्छ जब यिनीहरु बीस पचास जम्मा गरेर कोही कसैलाई सहयोग गरेँ भनेर समाचार छपाउन दौडधूप गरिरहेका भेटिन्छन्।

अभियन्ता ज्याकहरु

नेपालमा जस्तै यहाँपनि णेफोलीहरुले अभियान छेडेकै छन्। यीनमा अभियान छेड्ने ‘जिन’ पिताजीका डन्डादेखि नै घनिभूत रुपमा छाएको हुन्छ। माताको कोखबाटसमेत समयभन्दा अघि नै निस्केर समाजमा कुनै न कुनै अभियान छेड्ने यिनले प्रण गरेका हुन्छन् अरे भन्ने पनि यदाकदा नसुनिएको भने हैन। ‘रक्तदान जीवन दान’ अभियानलाई निरन्तर अघि बढाइरहने, हरेक फेसबुकेलाई यो पटकको जन्मदिन ‘ब्लड डोनेट’ गरेर मनाउनुस् है भनेर म्यासेजमा ल्याङ् गर्नेदेखि धुर्मुस सुन्तलीलाई पैसा जम्मा पारेर आफैं डलर पचाउने तथा टिपिएसमा रहेकालाई हरियो पातो प्राप्त गर्नकालागि लबिंग गर्नसमेत पछि नपर्ने खालका अभियन्ताहरुलाई यो कोटीमा पर्छन्। यिनीहरुपनि आफूलाई वरिष्ठ नै भन्न रुचाउँछन् तर यिनको जीवनयापनको स्तर हेर्दा त्यो कोटीमा पर्दैनन्। यस्ता ज्याकहरु नपुगेको कुनै कार्यक्रम नै हुदैन भनेर बुझ्नुस्। उस्तै परे आफ्नो काममा सहयोग गरेर ठूलो गुन लाएको, घरबाट बाहिर निस्कन दिएको लगायतका अन्य प्रशंसाका पुल बाँधेर आफ्नी जीवनसाथीलाई समेत पुरस्कार र प्रशंसापत्रहरु दिलाउन लबिंग गरि बस्छन्। यिनमा नाम कमाउने जब्बर भूत सवार हुन्छ र यस्तै गतिविधि गरेर अमेरिकी सरकार/समाजको नजरमा परेर केही ‘पुरस्कार’ हात पार्नु यिनको मुख्य उद्धेश्य हो । 

अलपत्रकार ज्याकहरु

यो वर्गका ज्याकहरुले नेपालमा आफूले लेखेर, रिपोर्टिंग गरेर कमाएको नाम भँजाएर बसेका हुन्छन्। विभिन्न कार्यक्रममा यता आइ यतै लुकेर शरणार्थीको आवेदन दिएर, नेपालमा आफ्नो ज्यान असुरक्षित रहेको हवाला दिँदै पहिले ‘लो प्रोफाईल’मा रहनु र जसोतसो हरियो पातो प्राप्त भएसी आफूलाई भयंकर प्रबुद्ध र संसारै हाँक्नसक्ने पात्रका रुपमा आफूले आफैंलाई देखेका हुन्छन्। यिनले आफूलाई बडो बुद्धिजीवी ठान्दछन् र कुनै कार्यक्रमको निम्तो पाएनन् भने वर्षाको भ्यागुतो फुले झैँ गाँड फुलाई बस्छन्। प्राय:जसोले एउटा न एउटा पोर्टल बनाएका हुन्छन्। यिनीहरुको पत्रकारिता कस्तो हुन्छ भने णेफूलीहरुको पिकनिकदेखि विवाह, व्रतबन्ध र भोजको ‘फेसबुक लाईभ’ गर्छन् र आफ्नो पेजमा भिजिटर बढाउँछन्। यीनको खास उद्देश्य आफ्नो वेब पोर्टलमा ‘हिट’ बढाउनु नै हो। त्यसमानेमा यिनीहरुलाई अलपत्रकार भन्दा अत्युक्ति हुँदैन।

खलपात्र ज्याकहरु

नामै काफी छ नि होइन? यी खलपात्रहरुको काम भनेको बाहिर आफू चोखो देखिनु तर भित्रभित्रै अरुको बन्दै गरेको काममा भाँजो हाल्नु यीनको मुख्य ‘रिक्रियशनल एक्टिभिटी’ हो। यीनलाई अरुको प्रगति देखेर औडाहा छुट्छ। हरेक वर्गका ज्याकहरुमा यस्ता ज्याक भेटिन्छन्। साँझ परेसी लोकल पबहरुमा भेला हुनु, अरुले गरेका काममा खोट निकाल्नु वा फेसबुक ट्विटरमार्फत अरुको कामको आरिस गरेर सिंगौरी खेल्नु, म ठूलो, म डाक्टर, म प्रोफेसर, म ईन्जिनियर आदि जस्ता कुत्सित ग्रन्थी पालेर बस्नु पनि यीनका केही विशेषता हुन्। 

कलाकार ज्याकहरु

यो प्रकृतिका ज्याकहरुले नेपालमा गीत गाएर, एल्बम निकालेर, कलाकारिता गरेर नाम कमाएका हुन्छन् अनि त्यसैको आडमा अमेरिका छिर्ने भिषा जितेका हुन्छन्। कुनै कार्यक्रममा पहिलोपटक आएर कोही फर्किएर पुन: आउछन् लुक्ने योजनासहित। अनि कोहीभने पहिलो राउन्डमै रफूचक्कर हुन्छन् र अन्त्याँण केजाति कलाकार समाज भन्नेको सदस्य पनि फ्याट्ट बनिहाल्छन्। जसोतसो चलेकै छ। चुच्चे ढुंगो उही टुंगो भने झ यता लुकिसकेसी यिनीहरु सबैभन्दा पहिले त पुग्ने तिनै वरिष्ठ ज्याकहरुको ल फर्म नै हो। यति भनिसकेसी त बुझ्नु भो नि हैन? उही क्या त सबैको पहिलो रोजाई के त भन्दा असाईलम हान्ने वा नाम कहलिएको ब्यक्तित्व अन्तर्गतको त्यही हरियो पातोलाई आवेदन दिने। बडा गारो त यिनिहरुलाई पर्छ। कि त ‘डर्टी जब्स’बाटै करियर शुरु गर्नु पर्‍यो कि त रेष्टुरेन्टमा गीत गाउने गीताङ्गे वा नर्तक बन्नु पर्यो। कार्ड हात नपरुन्जेल यिनीहरु लो प्रोफाइलमा बस्ने गर्दछन्। तर जसै हरियो पातो हात पर्‍यो अनि यी सम्झिन्छन् आफूलाई राजा।

द्वारपाले ज्याकहरु

माउ पार्टीका नेताहरु अमेरिका आउदा एयरपोर्टमा स्वागत गर्नु, नेपाली टोपी ढल्काउदै नेतासँग एयरपोर्टमा सामूहिक तस्वीर खिच्नु, तिनको बसोवास एवम् मनोरञ्जनको व्यवस्था गर्नु, तिनलाई घुमाउनु र सकेसम्म ‘खुशी’ पार्नु यीनको काम हो। काम गर्ने त सबैले त्यही नै हो तर ठूला कुरा गर्नमा भने यिनिहरु माहिर हुन्छन्। तिनै नेतासँग खिचेका फुटा फेसबुकमा हालेर आफूलाई ठूलो देखाउन यिनीहरु अब्बल हुन्छन्। पार्टीबाट पैसा निकासा गर्दै भोज गरेर मोज गर्न यी खप्पिस हुन्छन्। अर्को कुरा यिनीहरुको भित्री व्यापार भनेको ‘असलाइम् सिकर’हरुसँग गाँठ लिएर आफ्नो पार्टीको मान्छे भएको वा पार्टीको मान्छे भएर माओवादी पीडित हुन पुगेको ‘जष्टिफाई’ गर्ने पत्रहरु बनाइदिनु हो भन्छन् जानकारहरु।

हिमाली ज्याकहरु

अलि पहिले हिमाल चढन् जाने गोरा साहेब तथा मेमहरुले यिनार्को दैनिकी देखेर, हिमाल चढ्दा यिनले गरेको सहयोगको गुन मानेर स्पोन्सर मार्फत् शुरुमा केही हिमाली दोजुहरुलाई यता ल्याए। विस्तारै अधिकांश ‘समिटर’हरु आए। त्यसपछि आए शाखासन्तान। यो क्रम कतिसम्म बढ्यो भने हिमाली दाजुभाइले ज्याक्सन हाइट्स झपक्क भरियो। शायद ज्याक्सन हाईट्सका णेफोलीहरु माझ एकिकृत ठूलो समुदायमा कुनै छ भने त्यो हिमाली समुदाय नै छ भनेर भन्दा खासै फरक नपर्ला। ठूलो संख्यामा रहेका यिनीहरु मेहेनती छन् आफ्नो कर्म गरेर खाएका त छन् तर हिजाज यीनीहरुमा राजनीतिको भूत चढेको छ। जनजातिका नाममा ससाना कुरामा ठुस्किने, अलि धेरै भाउ खोज्ने, बाहुनक्षेत्रीलाई भित्री हृदयले गालीगर्ने, जातियतालाई प्रश्रय दिने जस्ता निकृष्ठ कार्यकालागि हिमाली ज्याक दोजुहरुले ख्याति कमाउदै गैरहेका छन्। 

एनारान ज्याकहरु

जबजब यीनको चुनाव नजिकिन्छ तबतब यी एनारान ज्याकहरु सक्रिय हुन थाल्छन्। माथिका संघसंस्थावाला ज्याकहरुलाई हल्का डोनेसन दिएर तिनको कार्यक्रममा आफ्नो उपस्थिति जनाउँदै प्रचारमा जुट्नु, एनारानको सदस्यता नलिएका णेफोलीहरुलाई व्यक्तिगत तवरमै भेटेर उनीहरुको सदस्यता स्पोन्सर गरिदिनु अनि कथंकदाचित चुनाउ जितिहालेमा त्यही त हो नि फेसबुकमा बडेबडे डिंग हाक्नु यिनका कार्यसूची हुन्। यिनमा अमेरिका निवासी भएकै कारणले सरकारले विशेष महत्व दिनपर्छ भन्ने खालको अहम् पोको परेर बसेको हुन्छ। संसारमा यिनीहरुभन्दा ज्ञानी, समाजसेवी, संवेदनशील कुनै प्राणी नै छैन भन्ने दाबी छ एनारन ज्याकहरुको।

लेखन्दास ज्याकहरु

नामै लेखन्दास! यिनीहरुभित्र रहेको भावुक लेखक अमेरिका पुगेसी अचानकै जाग्छ र यी लेख्न बस्छन्।लेख्दालेख्दै यति लेख्छन् कि पाठकहरु भयो बाबा, पुग्यो भन्न बाध्य हुन्छन्। उदयचलदेखि अस्ताचलसम्म यी लेखिरहन्छन्, फेसबुकमा पोष्टिरहन्छन्। यहाँको राम्रो पद्दति नेपालमा हुबहु लागु भए कस्तो राम्रो हुन्थ्यो भनेर हेल्लो सरकारलाई सुझाव दिन अनि नेपालमा विद्यमान कुरितीहरुको उछितो काढ्न यी खप्पिस हुन्छन्।लेखन्दासहरुको एउटा समस्या भनेको के हो भने संसार यीनले जाने र बुझेजति मात्रै हो भन्ने भ्रम यीनमा हुन्छ। यस्तै दुइचार लेखन्दास मिलेर समसामयिक विषय जस्तै रेल वा पानीजहाज वा स्याटेलाईटका बारेमा बडेबडे लेख लेखेर पत्रिकमा छपाउने पनि गर्दछन्। यीनले लेखेका कुरामा प्रतिप्रश्न गर्न वर्जित छ। बिर्सेर नि केही कुरो बुझाइदेउ न ख्वामित भनेर नसोध्नु होला। अन्यथा तपाईं अबुझ, यतिपनि नजान्ने, एक कक्षामा गएर भर्ना लेउ बाबु जस्ता नेपरिएका उत्तर प्राप्त हुनेछन्। यस्ता ज्याकहरुले फेसबुक ट्विटरका आफ्ना स्टाटस भेला पारेर किताब छपाउने, स्थानीय संस्थाको आडमा विमोचन गर्ने र स्थानीयलाई पुस्तक भिडाउने काम गर्दछन्। नढाँटी भन्नुपर्दा यिनका पुस्तक पढेर पाठकले ज्ञान आर्जन गर्नु वा मनोरञ्जन प्राप्त गर्नुको साटो १०/२० डलर भएपनि खेर गएको अनुभव गर्दछन्।

पढन्दास ज्याकहरु

यी खासमा हुनपर्ने हो हाम्रो देशका कर्णधार। सरकारले समन्वय गरेर छात्रवृत्तिमा विदेश पठाउने र पढाइ पुरागरि केही वर्षको अनुभव अनि केही पैसा लिएर नेपाल नै फर्किन पर्ने वर्गका ज्याकहरु हुन् यी। तर भैदिन्छ उल्टो! यी मेधावी हुन्छन् , दत्तचित्त भएर पढ्छन्, ज्ञान आर्जन गर्छन् र अन्ततोगत्वा ठूलो आकाशमा उड्न पखेटा फिंजाउछन्। आफ्नै बलबुतामा छात्रवृत्ति पाउँछन्, पढ्न आउँछन् तर शनैशनै यीनलाई यताको जीवनले छुन्छ। यता छिरेको केही वर्षसम्म देशप्रेमले ओतप्रोत युवाहरु पढाई सकिउन्जेलमा कोही यतैका गोरा मेम/सरसँग घरजम गरेर ज्वाँइ हुँदै क्रमश: नागरिक बन्छन्। कोही चाहिँ राम्रो ठाँउमा जागिर गरेर रोजगारदाता मार्फत हरियो पातो पड्काउँदै कालान्तरमा यतैको नागरिक हुन्छन्। यसरी नेपालका मेधावी छात्रछात्राहरु बिस्तारै ब्रेनड्रेन भएर हेर्दाहेर्दै कतिबेला विदेशी ज्याक बन्छन् पत्तै हुँदैन।

दुखारी ज्याकहरु

छिमेकीले कुश्त पैसा घर पठाएको सहन नसकी मानव तस्करको शरण परेर, घरबारी डिगमा राखेर वा धेरै ब्याजमा ऋण लिएर ५०/६० लाख खर्च गरेर बडो जद्दोजेहदकासाथ लगभग ६ महिना लाएर अमेरिकामा पाइला टेक्ने ज्याकहरु यो वर्गमा पर्दछन्। अरब वा युरोप हुँदै प्लेनमार्फत वा एशियाकै कुनैदेशबाट पानीजहाज चढेर जसोतसो ब्राजिल टेकेसी शुरु हुन्छ यिनको द ग्रेट अमेरिकन ट्रेल। घना जंगलैजंगल दक्षिण अमेरिकी देशहरु काटेर पनामा नपुग्दै यिनले पिताजीको बरियात देखिसकेका हुन्छन्। तरपनि अमेरिका टेक्ने उत्कठ अभिलाषा भने ज्यूँ का त्युँ नै रहन्छ। बाँकि रहेको मध्य अमेरिकी देशहरु काटेर ‘मेक्सिको’ नपुगुन्जेलसम्म यिनले कुकुरले नपाएको दु:ख अनि ५२ घुस्सा ५३ ठक्कर खाइसक्छन्। जसोतसो सिमा काटेर हात खडा गरेसी भने यीनलाई अमेरिकी सरकारले जेल हुल्छ र बल्ल यिनले सन्तोषको सास फेर्छन्। प्रकृया पुऱ्याएर कसैले जमानी बसिदिएसी जेल बाहिर निस्केर डलर छाप्न, घन्टा हान्न शुरु। अनि नेपालमा हुँदा कल्पेको अमेरिका र भोगेको अमेरिकामा आकाश पातालको फरक देखेसी भने कहिलेकाहीं अमेरिकाको त जेल नै ठिक रहेछ भन्न नि पछि पर्दैनन्। जसोतसो कसैकोमा मिलेर २/४ सय डलर शेयर गरेर बस्ने अनि नेपालको ऋण तिर्ने यिनको पहिलो सपना हो। रहँदै बस्दै ऋण नतिरुन्जेल र हरियो पातो नपाउन्जेल लो प्रोफाईलमा बस्ने त्यसपछि त ‘गेल आउट’।

सक्किगो नि’ हो तेस्का बाजे !!

१२ थरि मेकअप, २७ थरि विद्वान र ४२ थरि तुच्छता

तपाईँहरूलाई शीर्षक हेर्ने बित्तिकै लाग्यो होला यसले त्यही मिस नेपालको प्रतिस्पर्धा गर्न अडिसन सत्रमा जाने एक जना प्रतिस्पर्धीलाई निर्याणक मन्डलकी एक सदस्यले गरेको तुच्छ गाली (harassment) मा केन्द्रित भएर भँडास ओकल्न लाग्यो होला। तर कुरो त्यति हल्का पनि हैन। आज हामीले हाम्रो तुच्छ सोच र लिँडे विद्वताको बारे विश्लेषण गर्न खोजेका छौँ।

कुरो सुरु गरौँ त्यही केही दिन पहिले सार्वजनिक भएको मिस नेपालको अडिसन सत्रको भिडियोबाट। उक्त भिडियोमा एक जना प्रतिस्पर्धी कुनै झकिझकाउ मेकअप नगरी अडिसन दिन गइन्। तर निर्णायक मन्डलकी एक सदस्यलाई मेकअप नगरी उक्त प्रतिस्पर्धामा भाग लिन जानु भनेको समग्र प्रतियोगिताको अपमान मात्र गरेको हैन, २१ औँ शताब्दीकी नारीले विश्वलाई मुट्ठीमा लिन नसकेको लाग्यो। त्यस्तो लागेको मात्रै भए पनि समस्या हुन्न त्यो होला, तर उनले आफ्नो त्यो सोचलाई प्रतिस्पर्धीमाथि यसरी प्रस्तुत गरिन् कि, त्यसले फेसबुक ट्विटरमा झुन्डिने तपाइँहामीलाई बहसदेखि कतिपय अवस्थामा त आफ्नो भडास पोख्ने स्तरमा ल्यायो। हो, अब हामी त्यही भँडास यता पोख्दै छौँ। मन लाग्यो भने पढ्नु होला, नलागे पनि पढ्नु होला र भडाँस पोख्नु होला।

अहिले लगभग विश्वमा नै एउटा समूह सबै खाले दुर्व्यवहार (harassment) को विरुद्ध लडी रहेको छ। विशेष गरी हामीजस्तो इन्टरनेट पुस्ता यो लडाइमा छ, चाहे त्यो कार्यालयमा हुने अनेक खाले यौन दुर्व्यवहार होस्, घरमा श्रीमान श्रीमतीका बिचमा हुने दुर्व्यवहारहरू हुन् वा दाइजोको नाममा हुने गरेका दुर्व्यवहारहरू नै हुन्। सार्वजनिक यातायातमा हुने दुर्व्यवहारहरू हुन् वा राजनीतिको माथिल्लो तहमा समेत हुने गरेका अनेक खाले दुर्व्यवहार हुन्। लगभग सबैजसो देशका एउटा समूह, विशेष गरी युवा पुस्ता यस्ता खाले दुर्व्यवहार विरुद्ध आवाज उठाइ रहेको छ। तपाईँ अन्य विकसित पश्चिमी मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू समेत खोज्नुस्, समूह सानो होला, तर यस्तो लडाइ कम्तीमा इन्टरनेटमा अहिले हरेक देशमा छ (यसमा पुरुषबाट हुने हिंसा र दुर्व्यवहार मात्रै हैन, महिलाबाट पुरुषमाथि हुने वा महिलाबाट महिला माथि हुने दुर्व्यवहारहरू समेत पर्दछन्)।

अब सुरु गरौँ ती प्रतिस्पर्धी युवतीमाथि निर्णायक मन्डलकी सदस्यले सोधेका प्रश्न र गरेको व्यवहार जायज नै हो वा दुर्व्यवहार हो भन्ने तिर।

Continue Reading “१२ थरि मेकअप, २७ थरि विद्वान र ४२ थरि तुच्छता”

हामी महापुरुष !!

नमस्कार।

यो लेख केही पहिले लेखिएको म मर्दको सेरोफेरोमा नै रहेर लेखिएको हो। यसमा नयाँ कुरा केहीपनि छैन। त्यही हाम्रो सेरोफेरोमा रहेका मर्दहरु कसरी महापुरुष बन्दछन् भनेर व्याख्या गरिएको छ। म मर्दमा एउटा मर्दको दिनचर्या बर्णन गरिएको थियो भने यो लेखमा त्यही मर्द कसरी महापुरुष बनेको छ भनेर लेखिएको छ। अनि यो क्रम नरोकिएमा त्यो महापुरुष भोलि गएर युगपुरुष बन्ने ल्याकत राख्दछ भनेर पनि भन्न खोजिएको छ।

धेरै भयो केही लेखौँलेखौँ जस्तो लागेको। तर कहिले समय नमिल्ने, कहिले आफैँले समातेको बिषय उति टेसिलो नलाग्ने। ती यावत कारणहरुले गर्दा मैले लेख्न शुरु गरेका कैयौँ लेखहरु गर्भमा नै तुहिएर गए। मैले लेख्न छोडेदेखि कैँयौँ बिषयहरु सतहमा आए, तर कुनै पनि बिषयको गहिराइमा पुग्न आँट आएन। आज एकाबिहानै एउटा भिडियो हेर्न पुगेँ, जहाँ एउटी महिलाले कसरी पाइला पाइलामा प्रताडित हुनु परेको छ भन्ने बिषयमा बोलिएको रहेछ। त्यो भिडियो हेरिसक्दा आँखाहरु नरसाइ रहन सकेनन्। म आफूलाई नै केही हदसम्मको ढोँगी हुँ भन्न चाहन्छु। तर मैले लेख्न छोड्नुमा मभन्दा ४ कदम अगाडिका ढोँगी हात छ भनेर भन्न कत्तिपनि हिच्किचाउन्न्। हेर्नुस्, म लिङ्गले पुरुष भएपनि मलाइ यो पुरुष जात फिटिक्कै मन पर्दैन। हामी पुरुषको एउटा शैलीले त मलाइ घुटन नै हुन्छ। हामी पुरुष कस्ता छौँ भने नि, मुक्त कण्ठले खुल्लामन्चमा महिलालाई इज्जत गर्छौँ, अनि बन्द कोठामा तिनै महिलाको इज्जतलाई कुल्चिन्छौँ, कोपर्छौँ, लुछर्छौं, चिथोर्छौँ।

आउनुस् आज त्यस्तै महापुरुषहरुको नालीबेली बिस्तारमा सुनौँ।

Continue Reading “हामी महापुरुष !!”

ए भाइ…. चिया चुरोट ल्याइज त…..

नमस्कार है साsssब्, साsssबनीहरु…. 🙏🏼🙏🏼
खासै लेख्न आउने मान्छे त  होईन आफु, तर १२थरिले ट्वीट गरेर हैरान पारो। ‘कृपया केहि त लेखिदिनुस, हाम्रा स्तम्भकार जति जम्मै आ-आफ्ना स्तम्भ सुम्सुम्याउँदै ठिक्क भए, लेख्ने कुराको खडेरी पर्यो। प्लिज लेखिदिनुस न, बिद्यानास, तपाइँको परिचय गोप्य राखिनेछ’, आदि इत्यादि भनेर धर्नै बसे जस्तो गरे। लौ त नि, भनेर यसो आँटेको हो। ह्रस्व- दीर्घ माग्ने बुढाको दाँतजस्ता छन्, मनलाग्दी उछिट्टिएका। आशय बुझे भैगो नि, थोडी एसइइको परिक्षामा जस्तो अब्बल ग्रेड ल्याउन छ र ! अलिअलि त यी सम्पादक लठुवाले मिलाउलान् नि  भनेर छाड्देको छु ।

अब आफ्नो पुराण मात्र फलाक्न छाडेर अरुको कुरो काटुम है त ।  कुरो के भने नि……….. !!! हुन त कुरो स्वस्थानीमा जस्तो उपनयतु मंगलम बाटै सुरु गर्नहुन्थ्यो, तर यसको जरो त्यति छिमलिसाध्धे छैन। तपाईहरु सबैलाई था भएकै कुरो हो नि, ट्वीटरमा हुने बाझाबाझ र दोहोरीको न जगै अनुमान लाउन सकिन्छ, न गजुरै देखिन्छ। खैर… सिधै ‘कुमार जी आज्ञा गर्नुहुन्छ’ बाट सुरु गर्ने हो भने प्रसंग चाहि हेविवेट सम्पादक-कम-ट्वीटेहरुका हानाहानको हो है।

Continue Reading “ए भाइ…. चिया चुरोट ल्याइज त…..”

बाह्र सत्ताईस अभियन्ताहरू

केही समय यता सामाजिक सञ्जालको पक्ष विपक्षमा पत्रिकामा विभिन्न थरीका विद्वान एवम् स्वनामधन्य अभियन्ताहरूले आ-आफ्ना तर्कहरू राखिरहनु भएको कुरा त हजुरहरू सबैले देखिराख्नु भएको छ र आँखा टट्याइराख्नुभएकै छ । अहिलेको तात्तातो बहसको विषय पनि यही हो – सामाजिक सञ्जाल साच्चिकैको सामाजिक हो वा असामाजिक सञ्जाल हो। अब यसको चर्चा यत्र..तत्र.. सर्वत्र.. भइरहँदा हामी अछुतो हुने कुरै रहेन ।थरीथरीकामा पनि हामी त झन् १२थरी !

सामाजिक सञ्जाल आफ्नो कुरो निस्फिक्री राख्न मिल्ने ठाउँ मात्रै नभएर केही का लागि अभियान नै सञ्चालन गर्न सक्ने एउटा डबली प्रमाणित भैसकेको छ! ओल्बाको गुलामी र सरकारको स्तूतीगान गर्ने ‘हनुमन्ते अभियन्ता’, शेर बादुर र काँग्रेसका मसिहा झैँ व्योहोरा देखाउने ‘कटप्पे अभियन्ता’, मधेस बाहेक अन्य विषय नदेख्ने ‘काल्झण्डे अभियन्ता’ लगायतका सयौंथरिका अभियन्ता र हजारौँ थरीका अभियानहरू नभएका भने पक्कै होइनन् । तर यिनको सधैँको ल्याङ्ल्याङ्लाई बाल दिँदै आज हामी अलि भिन्न प्रकृतिका वरिष्ठ ट्विटे/ट्विटी अभियन्ताहरूको बारेमा चर्चा गर्नेछौँ ! लौ हजुर… अब फुलपाती लिनुस् र प्रत्येक ‘थरी’ को अन्त्यमा ‘अर्पणम् …..’ भन्दै त्यो यतै चढाउनुहोस् ।

Continue Reading “बाह्र सत्ताईस अभियन्ताहरू”

नेपालमा #MeToo: सुझ्नु न बुझ्नु, तुलिगाँडा पुज्नु

पहिला चैं लामो समय हातमा दही जमाएर बसेकोमा हामी क्षमाप्रार्थी छौं।

नमस्कार छ है इष्टमित्रहरु ! सन्चै नाम्रै हुनुला के रे। सन्चो छैन भने चैं यसरी इन्टरनेट खोलेर ताइँ न तुइँका दुईपैसे लेख पढेर नबस्नुहोला। डाक्टरलाई देखाएर ओखति खाएर सुत्नुहोला। अँ, डाक्टर देखाम्दा दाँत, गाला वा आँखा चेक गर्दा हात काम्छ भनेर हात चैं तपैंको छातीमा अड्याएर जाँच गर्ने डाक्टरसँग सतर्क हुनुहोला 😛 वा पेट जाँच्दा छातिसम्म उदाङ्गो बाउन लाएर पेन्टको जीपरतिर कुहिनो घोट्ने डाक्टर्नीहरुसँग पनि सतर्क रहनुस्। कथम्‌कदाचित डाक्टर डाक्टर्नीले त्यस्तो गरिहालेमा #मिटु भन्न नभुल्नुहोला। यति सावधानी गराएपछि आउनुस् आजको बिषयवस्तुतिर अगाडि बढौं।

सन् २००६ मा पहिलोपटक प्रयोगमा आएको तर सन् २०१७ बाट एकाएक पश्चिमि बजारमा उग्र भएको #मिटु अभियान भारत हुँदै नेपालसम्म पनि आइपुगेको छ। पश्चिमाहरुले उत्पादन गरेको कुरा प्रयोग गर्न पनि पहिला भारतलाई नै कुर्नुपर्ने हाम्रो बानी मिटु अभियानमा पनि दोहोरियो। नत्र २०१७ को अक्टोबरदेखि सामाजिक सञ्जालमा छरपष्ट देखिएको, पश्चिमा समाचारहरुमा ‘हट टपिक्स’ बनेको, मैं हुँ भन्नेहरुको समेत धोती खुस्काएको मिटु अभियान नेपाल भित्रिन भारतीय अभिनेता, निर्देशक, पत्रकारहरुमाथि दोष लागुन्जेल कुर्नुपर्थेन। कुनै कुनै कुरा त सिधै पश्चिमाबाट कपि गर्दा नि हुने हो के रे। खैर ! लगभग १ बर्ष लगाएर भएपनि अम्रिकाबाट मिटु नेपाल आइपुगो। यसमा खुशी हुने कि दु:खी भन्नेबारे चैं १२ थरी टीम नै दोधारमा छ। खुशी यसमानेमा कि, अब नेपालका मैं हुँ भन्नेहरु पनि सेक्सुअल हर्‍यासमेन्टमा जाकिने भए भनेर। दु:खी यसमानेमा कि, कतै हामी आफै पनि पो परिएला कि भनेर 😀

अब नेपालमा मिटुकाबारे कुरा गरौं।

Continue Reading “नेपालमा #MeToo: सुझ्नु न बुझ्नु, तुलिगाँडा पुज्नु”

श्रीमानको थर लिनेलाई ‘दासी’ देख्ने ‘हिप्पोक्रेट’ हरु !

‘बिहेपछि श्रीमानको थर राख्ने महिला ‘दासी’ हुन्।’ आइतबार सामाजिक सन्जाल ट्विटर र फेसबुकमा एउटा यस्तो महानवाणी प्रसारित भयो। यो भनाइमा अनेकन प्रतिक्रिया आए र सबैजसोले ‘लेखक’लाई सकेजति गाली बके। यो बहशका पक्ष विपक्षमा खासै दमदार तर्क आएनन् तर बहश जारी नै रह्यो। हुनत १२ थरीले यो बिषयमा कलम नचलाएको भए पनि हुन्थ्यो तर १२ थरीको उदेश्य नै १२ सत्ताइस कुरा गर्नेहरुका बंगारामा ताक्नु भएकोले चुप लाग्ने कुरै भएन। बहश अलि सेलाएपछि कलम चलेकोमा क्षमा।

देखे/भोगेकै कुरा हो: केही मान्छेहरु सोसल प्लेटफर्ममा मेरा वरिपरी रहेर बहश होस्, बहशको केन्द्रमा म रहुँ भन्ने रोगबाट ग्रसित छन्। सायद अंग्रेजीमा यसलाई ‘नार्सिसिस्ट’ भन्छन् क्यार। यो रोग यति डरलाग्दो हुन्छ कि यसले त्यो नार्सिस्ट व्यक्ति कति पाखण्डी (हिप्पोक्रेट) छ भन्ने पनि छर्लङ्गै देखाइदिन्छ। ‘दासी’ उपमालाई हामी पाखण्डपनको ज्वलन्त उदाहरणका रुपमा लिन सक्छौं। किन? यसबारेमा नै १२ थरीको यो लेख केन्द्रित रहने छ।

Continue Reading “श्रीमानको थर लिनेलाई ‘दासी’ देख्ने ‘हिप्पोक्रेट’ हरु !”

पढाइ लेखाइ के काम, हलो जोत्यो खायो माम् !

१२ सत्ताइस चेतावनी: यो लेख धेरै किताब नपढ्न र किताब पढ्नु रोग हो भन्ने प्रमाणित गर्न लेखिएको हो। तपाइँलाई पढ्नु र किताब मात्र संसार हो भन्ने लाग्छ भने ‘गेट आउट फ्रम हेयर।’ यति भनिसकेपछि पनि कथम् कदाचित यो लेख पुरै पढेर तपाइँले पढ्न छोड्नु भने त्यसको जिम्मेवार हामी हुने छैनौं। Continue Reading “पढाइ लेखाइ के काम, हलो जोत्यो खायो माम् !”

ओल्बाको अंग्रेजी फरर, हनुमानलाई बास्ना हरर

फोटो साभार: नेसनल हेराल्ड

कहिलेकाहीं १२ थरी हरायो भन्ने गुनासो सुन्न पाइन्छ। तर १२ थरी हराएको हुँदैन। त्यो समुद्रको बालुवामा मुन्टो गाडेर बस्ने लामालामा खुट्टा भएको चरो हुन्छ नि, हो त्यस्तै हो १२ थरी। मरेजस्तो लाग्ला तर जिवितै। हामीले पहिल्यै भनेका छौं, १२ थरी व्यवसायिक रुपमा अघि बढ्न खोजेको ब्लग साइट हैन, न त यो क्लिक बटुलेर विज्ञापन खोज्ने समाचार साइट नै हो। यसमा लेख्नेहरु व्यवसायिक लेखक पनि हैनौं र पत्रकार पनि हैनौं। हामी कहिलेकाहीं महिनौंसम्म समाचार नहेरी, देश, समाजलाई बाल दिएर आफ्नै काममा व्यस्त भइरहेका हुन्छौं। त्यस्तोबेला हामीलाई १२ थरी ब्लग पनि छ है हाम्रो याद समेत हुँदैन। अहिले पनि यस्तै भएको हो। लामो समय हामीबाट कुनै सामाग्री नआएकोमा क्षमा माग्दा पनि हुने हो तर हामी क्षमा माग्दैनौं। किनकी हामी ठूला मान्छे हौं, हामी कसैलाई गन्दैनौं, मान्दैनौं। हामी हुट्टिट्याऊँ हौं, हामीले सगर थामेका छौं। अरु सबै ऐेरे गैरे नत्थु खैरे हुन्। यति भनिसकेपछि पनि यहाँभन्दा अगाडि बढेर पढ्नु भयो भने लप यु डियर ! Continue Reading “ओल्बाको अंग्रेजी फरर, हनुमानलाई बास्ना हरर”

हनुमाने, अनुमाने र जजमाने पत्रकार

पाठकवृन्द, तपाइँहरु हाम्रो नियमित पाठक हनुहुन्छ भने हल्का नाक खुम्च्याइसक्नुभो होला । किनकि थरिथरी पत्रकारबारे हामीले यसअघि नै पनि लेखिसकेका छौं। नपढ्नुभएको भए यी यता छ हजुर लिंक 👉🏼 १२सत्ताइसपत्रकार । “पहिले नै बङगारा झारीसकेका पत्रकारका थोते गिंजामा फेरी किन मुक्का प्रहार त?” भनेर सोध्नुहोला। तर मूल कुरो के हो भने – धाकै सही, पत्रकार भनेका विशेषज्ञ हुन् । तीन त्रिलोक, चौध भुवनका यी ज्ञाता हुन, यिनका बारे जत्ति लेखे नि कमै हुन्छ। अझ भर्खरै सम्पन्न चुनावको बेला सामाजिक सञ्जालमा पत्रकारहरु कट्टु खोलेर नाङ्गै उफ्रिएको देखेपछि यो लेख नलेखिरहन सकिएन। आफ्नो आस्थाको पक्षमा माहोल बनाउन कोही चामल बोकेर निस्किए त कोही कनिका च्यापेर । अब कसको के कति बिक्यो भनेर त हजुरहरुले पनि बिश्लेषण गर्नु भाकै होला। तर पनि एक अर्कालाई सम्मानका साथ खिसिटिउरी गर्न, लठैत भन्न, ख्वामित-सेवक सम्बन्ध पुष्टि गर्न स्वतन्त्र, कटप्पा, हनुमान, रामसेवक, पबनपुत्र जस्ता उपनामहरुको रचना गरियो। यो छिनाझम्टी कस्तो छ भने लँगुरे बाँदर राता बाँदरको झुन्डमा पुग्यो भने राताले सातो खाने, रातो बाँदर एक्लै दुक्लै लँगुरेको बथानमा पुग्यो भने लँगुरेले हियो खस्काउने र दुबैको ग्याङ बराबर भयो भने सामाजिक संजाल कुरुक्षेत्र बन्ने ! यस्ता पत्रकार जसका प्रकार गुलाबका पत्रभन्दा पनि बेसी हुन्छन्, जसका गुणस्तर पनि कारका झै फरारी देखि अल्टोसम्मका हुन्छन, जसको वर्णन गर्न हजार जिब्रो भएका शेषनागलाई पनि हम्मे हुन्छ, यो अकिंचन आज त्यस्ता अलौकिक चौथो अंगका अवयवको बारेमा केही चर्चा गरिँदैछ।

लौ , अब फूलपाति लिनुस्। Continue Reading “हनुमाने, अनुमाने र जजमाने पत्रकार”