फिरफिरेका १२ सत्ताइस बिंगा

बुद्धिसागरको फिरफिरेमा हराउदाँ

गाँउ ठाँऊको फिरफिरे
गाँउ ठाँऊको फिरफिरे

फिरफिरे भन्ने शब्द देख्नै नहुने कि त रिट्विट कि त फेब। हुनत उहिले एउटा स्पस्टिकरण अनलाइनमा एउटा पलायणवादीसँग कुरा गर्दा बुद्धिसागरले रिट्विट त गरिरन्छु भनेका थिए क्यार। बोलीमा पक्का र’छन्, ठोकेका ठोकै छन्।नाकाबन्दीले गर्दा लामोसमयसम्म एउटा प्रति आफैले बोकेको फोटोबाहेक पाठकको हात पर्न महिनौँ कुर्न पर्‍यो, यस्मा त लेखकलाई दोष दिन मिल्दैन। परिस्थिती र राजनितीले नै उनीमाथि ठुलै मजाक गर्‍यो। त्यसमा त हामीलाई बहुतै दु:ख लागेको छ। एकदमै आक्रामक शैलीमा गरिएको प्रचारले गर्दा यसका नराम्रा पाटाहरुलाई ढाक्न बढी नै मिहिनेत पो गरेको हो कि भन्ने छनक हामीलाई शुरुमै परेको थियो, त्यसमाथि केही सिन्डिकेटे लेखक र मपाइँ समीक्षकहरु किताबको डिफेन्डमा उत्रिएको देख्दा दाल मैँ कुछ काला है भन्ने नि पर्न गएको थियो। लामै प्रतिक्षा पछि पढ्नै पर्‍यो भनेर पढियो। अब उपन्यास पढेपछि हल्का समिक्षा नगरे त सोसाइटीमा नै नपर्ने चलन चलिसकेको छ, त्यसैले हामीले नि पढ्यौँ। १२ थरी साहित्यिक ब्युरोको समीक्षक समाजले फिरिफिरेका केही पत्ता उधिन्ने जमर्को गरेको छ।

गाता

किताबमा आँपका पातको फिरफिरे बनाएर दुइ जना साथी घुमेको कथा छ । गातामा भने इन्टरनेटबाट तानिएको जस्तो (वा भनौं सामसुङको एउटा मोडलेको वालपेपर जस्तो) फिरफिरे  राखेका छन्।यसलाई भन्छन ‘ढाकाको टोपीलाई गुँयलाको फूल।’  यसको गाता चोरिएको हो भनेर चर्चा पनि भयो क्यार, अनि प्रकाशक कट्टु खोलेरै यसको डिफेन्डमा लागेका पनि देखिएकै हो। तर बिस्तारै उपन्यास पढ्दै जाँदा त्यहाँ गुन्द्रुक पकाउदाँ मिसाइएको ब्रियानी मसला किसिमका वर्णन सुन्दा, बाँसैको फिरफिरे गातामा राख्या भए त्यो फिरेफिरेको अपमान लाग्न जान्थ्यो। जे गरे ठिकै गरे, मसलेदार उपन्यास सुहाँउदो नै लाग्यो उपन्यासको अन्त्यसम्ममा पुग्दा। गाताको डिजाइनको हिसाबले उपन्यासले यसलाई न्याय गरेको छ।

स्थानीय कथालाई उपन्यासमा हालेपछि किताबको गाता पनि मौलिक बनाएको भए प्रकाशकको प्रशंसै हुन्थ्यो होला। आजकाल शहर पसेका छन् क्यार प्रकाशक लेखकलाई बोकेर। त्यो किताबको गाता चाहिँ कुन शहरको फिरफिरे हो भनेर बुझाउँदा हुन् यीनले पाठकलाई, छक्क लाग्छ।

के यो नयाँ उपन्यास हो ?

अहँ तेस्तो लागेन। अचेल फिलिमका सिक्वेल बन्ने चलन छ। यो उपन्यास पनि तेस्तै सिक्वेल झैं लाग्यो ‘कर्णाली ब्लुज’ को। हुन त लेखकले अन्त्यतिर – म जेमा पोख्त छु, त्यही लेख्ने हो, मैले नजानेको कुरा म लेख्न सक्दिनँ भनेर नयाँ कुरा दिन नसकेको कुरा घुमाउरो पारामा स्विकार पनि गरेका छन्। त्यो उनको इमान्दारी पनि हो। नत्र यहाँ त आफूलाई महान लेखक घोषणा गर्नेहरु आफूले देख्दै नदेखेका, भोग्दै नभोगेका कथा लेखेर पनि हिँडेका छन्। फिरफिरेका लेखकले आफ्नो परिवेश र सिमितता बाहिर निस्केर लेखेका छैनन्। यसलाई राम्रै भनौं। तर प्रकाशन पुर्व नै ठूलो अपेक्षा गरिएको र लेखकको प्रसस्त चर्चा गरिएको कृति ‘नयाँ बोतलमा पुरानो रक्सी’ हुँदा पाठकले नाक खुम्च्याउनु स्वभाविक हो ।

सबैले राम्रो भन्छन् त !

नेपालको समसामायिक साहित्य सिन्डिकेटमा चलेको छ। सामाजिक संजालको प्रभावले  त झन् यो पृथ्वी राजमार्ग बस संचालक समितिभन्दा पनि जब्बर हुँदैछ। पहिला पो बजारमा आएका किताब साँच्चिकै क्रिटिक्सले केस्रा केस्रा खुट्याएर समालोचना लेख्थे। अचेल त पुस्तक विमोचन हुनुभन्दा पहिले प्रकाशकको खर्चमा हुने जमघटमा निम्त्याइने ‘जिग्री’हरुले समीक्षा लेख्छन्… जसमा केही खोट देखाउनको लागि मात्र लेखिएका हुन्छन्। कतिसम्म भने ती समीक्षकहरु हरेक साँझ लेखकसँग भेट्छन्, सँगै पिउँछन्। अनि कतिपय अवस्थामा लेखक स्वयंले नै भन्छन्- धेर प्रशंसा नलेख है, यो यो ठाउँमा हल्का गाली गर्नू।’ झन् बुद्धिसागर त्यो ब्रान्ड हो, जसको विरुद्ध केही लेख्नु लोकतन्त्रपछिको कर्णाली र अचेलको तराइको विरुद्धमा लेखे जस्तो हो। उनी बिकाउ लेखक हुन्, सेलिब्रेटी लेखक। नेपाली साहित्य उनैले धानेको भन्ने सिन्डिकेटे तर्क पनि छ। सबैले वाह वाह गरिदिंदा यी उम्दा लेखक ‘बादशाहको नयाँ लुगा’ वाला किस्सामा जस्तै नाङ्गै हिँड्ने हुन कि भन्ने पीर  लाग्दैछ। अझ ट्विटरमा त बुद्धिसागरको रिट्विट पाउन पनि अक्षर बल्लबल्ल चिनेर हाम्री आमाहरुले स्वस्थानी पढेजस्तो ठसठस कन्दै पढ्नेहरुका प्रशंसाका के कुरा गर्नु।

बलिउड  शैली

फरमुला उपन्यास। सबैसँग मिल्ने बाल्यकालका सम्झना। उपद्रयाहा कान्डहरु। हरेक गाउँमा जन्मेका नेपालीहरुका कथा उस्तै छन्। अभाव, दु:खका कथा। २५ पैसा पाइए संसारकै धनी लाग्ने, १० पैसाको मिठाई खान पाउँदा ८४ व्यन्जनै खाएजस्तो लाग्ने। तर गाउँनै नदेखेका, नबुझेका र शहरमा भिडियो गेम खेल्दै हुर्केको एउटा वर्गलाई बुद्धिसागरका दुवै उपन्यासहरु रोमान्चक लाग्छन्। यो वर्ग जसलाई माओवादीकालको युद्ध पनि रोमान्टिक लाग्थ्यो। यीनले कहिल्यै गाउँ देखेका छैनन्, गाउँको कथा थाहा नै छैन, बुद्धिसागरले अच्छा रोमान्टिक बनाएका छन्, आँशुको सहारामा। हाँसो, पारिवारिक सम्बन्ध, सामाजिक कुरितीको यथार्थ वर्णन र किलकिले दुखाउँदै तुरुक्क आँसु झार्ने प्रयास। अट्टहासँ नहाँसे पनि, पिलित्त नरोइ कन पनि कथाको रोमान्चमा पाठकलाई बग्न दिन हुँदैन र ?

फिरफिरे पढ्दा हिन्दी फिल्म जस्तो लाग्छ- एक्सन, कमेडी, इमोसन, रोमान्स सबै मिसाएर बनाएको मसालेदार बलिउड फिलिम। तर स्थानीय भाषामा कथालाई चटक्कै पारेका। बुद्धिसागरलाई राजकुमार हिरानी भने हुन्छ यस अर्थमा।

पात्र र प्लट र लोकेसन

उही केटाकेटीका कुरा, मेरा बा/आमा महान्। फिरफिरेमा त झन् यति धेरै पात्र छन् कि ती को हुन् भनेर सम्झदै दिमागमा बल पर्छ। अनि बुद्धिसागरले कैलाली र कर्णाली नदी बाहेक अरु ठाउँको कल्पना गर्न सक्दैनन्? कर्णाली ब्लुजमा उल्लेखित कटाँसे त वास्तविक रुपमै छ, फिरफिरेको बाँसबारी पनि त्यही आसपास नै हो। चाहे त्यो अमौरीखोला होस्, चाहे शौतेनी नदी, त्यसले कर्णालीको भंगालोलाई इंगित गर्छ । उपन्यास लेखनको लागि कुनै ठाउँमा गएर त्यहाँको समाज, संस्कृति, लवज र सिक्ने धेरै प्रसस्त उपन्यासकार छन्। तर खै कुन्नि किन हो, बुद्धिसागरले भने हामीलाई टिकापुर, राजापुर, दौलतपुर, कटाँसे, नेपालगंजभन्दा अन्तका लोकेसन घुमाउँदैनन्। (अँ साँच्ची अघिल्लोमा अलिअलि कालिकोटको मान्म पनि घुमाका थे है ) ! अनि हरेक उपन्यासमा मान्छे मार्नै पर्ने किन होला ? अझ फिरफिरेको सबसे विरक्तलाग्दो पाटो- सयौं फिलिममा देखाइएको विस्मृतिको घिसापिटा कथा। चिकित्सकका अनुसार इन्सेफलाइटिसमा यो  भन्दा अरु जटिलता धेरै, निकै धेरै हुन्छन् ।

कथावाचन

बुद्धिसागर कथा रच्नभन्दा पनि कथा सुनाउन खप्पिस छन् भन्छन् उनका जिग्री तथा सिन्डिकेटेहरु।  उहि क्या त… पुराण वाचनमा नारायण पोखरेल थिए नि!! फिरफिरे पढ्दा त्यो कुरा थप महसुश गर्न सकिन्छ। ५३० पान्नाको फिरफिरेलाई गुरु प्रसाद मैनालीले पाएको भए कर्तव्य वा छिमेकी जस्ता ससाना कथामै सकाइदिन्थे।  यसमा त लेखकले हरेक कुरालाई विवेचनात्मक उत्तर लेखे झैं यसरी वर्णन गरेका छन् कि किताब पढ्दा पाठकले दृश्यको सजिव वर्णन आफ्नो मानसपटलमा उतार्न सक्छन्। यो राम्रो त हो, तर यसैले गर्दा उपन्यासका पान्ना ढिलो बढेको देख्दा कतिको धैर्य पनि टुट्छ। त्यसैले पाठकले ह्या, यो पेज किन पढ्नु भनेर स्किप गर्न सक्छन् मजाले।

मार्केटिङ

धेरै नेपाली पाठकहरु सिरियस रिडर हैनन् । ह्वीम , देखासिखी , छेउको मान्छेलाई देखाउनको लागि पढ्ने हुन् प्राय:ले । सबैले त्यसै गर्छन् पनि नभनौं। मैले यो किताब पढेँ, म पनि खुब किताब पढ्छु भनेर देखाउने जमात मस्तै बढेको छ नेपाली समाजमा, अझ खासगरी सहरी क्षेत्रमा र युवाहरुमा। त्यसैले धेरैले राम्रो भनेको कुरालाई हामीले नराम्रो भन्दा आँखी भइने हो कि ? आऽऽऽ भए, यत्रैसिति। त्यसैपनि १२ थरी आलोचना मात्र गर्छ भन्ने परेकै छ क्यारे। ज्यु, हजूरी गरेर नराम्रोलाई नि राम्रो भन्दै प्रतिभावान लेखकलाई हस्काउन हुन्न भन्ने हाम्रो धारणा हो। यसमा हामी टसमस हुन्नौं । उसो त केही वर्ष यता नेपालय, बुकहिल, फाइनप्रिन्ट जस्ता कर्पोरेट प्रकाशकहरुको उदयले गर्दा लेखकहरुले पनि लाखौंमा पेश्की पाउन थालेका छन्। साहित्य यात्राहरु आयोजना हुन थालेका छन्। लेखकहरु किताबका हस्ताक्षर गर्दै बाँड्दै हिँड्न पाउने सेलेब्रेटी हुन पाएका छन्।

साहित्यमा मौखिक स्वच्छन्दता

हुन त बोलीचालीको भाषामा यौनिकतासँग जोडेर कुनै गाली गर्नुलाई मुख छाड्नु भनिन्छ।  फिरफिरेभन्दा केही दिन पछि रिजिल भएको अर्का एक धुरन्धर लेखकको उपन्यासमा त्यस्ता केही पदावली प्रयोग भए भनेर ठूलै खैलाबैला भयो। तर हामीले माथि नै भन्यौं नि, बुद्धिसागर नेपाली साहित्य क्षेत्रका ती महादेेव हुन् जो नाङ्गै हिंडे पनि निन्दा हुन्न। उनले पनि फिरफिरेमा मुजी, रन्डीको बान, ब्यान्चोद, भ्यान्चोद जिब्रो फड्कारेरै लेखेका छन्। हाम्रो एउटा प्रस्ताव के भने…. कि सबैले मु.. मा…जाँ.. सबै निस्फिक्री लेख्न थालौं, नत्र लेखक अनुसार पुर्वाग्रह नराखौं। कहिलेकाहीं त लेखक स्वयंलाई आफ्नो किताब सार्वजनिक ठाउँमा वाचन गर्न लगाऔं र हेरौं हिम्मत जस्तो नि लाग्छ। बरु त्यो उपन्यासमा जहाँ जहाँ मुजी, मा.. लेख्या छ उपन्यासको त्यो भाग लेखक आफैले वाचन गरेर भिडियो युट्युबमा हाल्दिने हो कि लेखकज्युहरुले, वा प्रकाशकहरुले।


एकजना समाजशास्त्री समीक्षकका (यसअघि मानव *मानशास्त्री लेखिएकोमा क्षमासहित सच्चाइएको छ) अनुसार लेखकले हरेक पाठकलाई ‘तपाईंलाई कुन शब्द कम्फर्टेबल लाग्छ ?’ भनेर सोधिहिँड्न सक्दैनन्।  American Beauty, Before Midnight आदि सिनेमामा  सम्भोगका दृश्य पनि छन्।नेपाली उपन्यासमा चै  शब्दै लेख्न हुन्नँ भन्ने कुरा हजम हुन्नँ।’ १२ थरीले वहाँ समीक्षकलाई पनि चुनौति दिन्छ- हजुरका त युट्युबमा अनेक भिडियो आएकै छन्, लौन ती उपन्यासमा त्यस्ता शब्द प्रयोग भएका भागहरु पढेको भिडियो युट्युबमा आओस्, जुनेली र फिरिफिरे दुवैका।

उग्र फेन्टासी

मुनमुनलाई नेपालगंजमा भेटेको, अनि उसैलाई भनि पोस्टकार्ड किनेको, उसैले पोस्टकार्ड माग्दा गाडी नहेरि हुर्रिएर पसलमा गइ साइनपेनको साटो डटपेनले भए नि शुभकामना लेखेको, गाडीले धन्न हानेको जस्ता फिल्मी दृश्य झल्काउने कुराले अलि बढी नै खोके कि भन्ने लाग्ने छ। हुनत यी खोक्नमा नम्बर वान नै हुन् भन्ने जनजनलाई थाहा छ। चिया पसलमा गफ गर्न बसेभने यीनले कति पत्यारिलो बनाउँछन् रे भने ‘चन्द्रमा झर्दै थियो, म हेरिराखेको थिएँ, चन्द्रमा मेरो छेउमै आयो, मैले च्याप्पै समातेँ’ भनेर कथा भन्दा पनि सुन्नेहरु आँ… गरेको गर्‍यै हुन्छन् रे।

नोस्टाल्जिक मात्र कि समसामायिक पनि ?

हिन्दी फिलिममा थ्री इडियट्स, ये जवानी है दिवानी होस् वा नेपाली फिलिम लुट, होस्टेल र पशुपति प्रसाद सबै समसामयिक कथामा रचिएका छन्। बालापना, नोस्टाल्जिया कर्णाली ब्लुजबाट प्रसस्तै पाइएको थियो। फेरी उस्तै कथा? क्यासेट चक्का नै नदेखेका पुस्ताहरुको जमानामा रेडियोको फर्माइस् गीतको उल्लेख आउटडेटेट देखिँदो रहेछ। अहिलेका युवापुस्ताको मानसिकता पढेर लेखिने ‘स्वर्ग बंक’ जस्ता रचना लेख्न किन बुद्धिसागरको दिमागमा कब्जियत हुन्छ ? १२ थरी ब्युरोलाई चिन्ता के छ भने बुद्धिसागरले अब अर्को उपन्यास लेख्न सक्लान्? यसरी सँधै एउटै नोस्टालजिया बेच्न कहिलेसम्म सम्भव होला र? उनैलाई पनि थाहा छ, उनको उपन्यासको दायरा साँघुरो छ, नत्र ६५ हजार शब्द लेखेको उपन्यास फालेर फेरि नोस्टालजियामा उनी फर्किने थिएनन्। सँधै त्यही बालापन, सँधै बा् आमाको दु:ख, सँधै त्यही एउटै लोकेसनको दु:ख, सँधै एउटा भाइ, एउटी दिदी, सँधै एउटा पात्र मार्ने तर कोही नजन्मिने, कति बुन्छौ बुद्धिसागर यस्ता कथा?

राम्रा पक्षहरु …..

उपन्यास खराब मात्र छैन। सबैलाई थाहा छ, बुद्धिसागरको लेखनीमा दम छ। उनले छोटा छोटा, चुटुक्कका वाक्यहरु प्रयोग गरेर उपन्यासलाई पढनीय बनाएका छन्। अनुकरणात्मक शब्दको सटिक प्रयोगले टेसिलो भाषा।  जुठीआमैको मुखबाट सुनाइएका घत लाग्दा कथाहरु। सामाजिक कुरीति बिरुद्धको बुलन्द विचार। असल मित्रताको परिभाषा। रुपक र उपमाको भरपुर प्रयोग। नवीन बिशेषण र क्रियाबिशेषणको उपयुक्त प्रयोगले पाठकहरुले उपन्यासमा वर्णन गरिएको भाव छर्लङ्ग बुझ्न सक्छन्।

One thought on “फिरफिरेका १२ सत्ताइस बिंगा

  1. नारायण जिओर्ज पर्भो,

    जता ततैको हल्ला र “फिरफिरे”को भजन किर्तन सुनेर, यो परलोकमा भर्खर मगाएको थिएँ पढ्छु भनेर । यो १२थरी कुरो पढेसी त…….नारायण नारायण किन पो मगाएछु पो भयो पर्भु ।

    अनि हरेक उपन्यासमा मान्छे मार्नै पर्ने किन होला ? – भन्नु भो प्रभु धराबासी देखिन स्वर्गबासी सम्मले यही रुन्चे साहित्य बेचेर बरीष्ठ भएसी चलन यसै रहने नै भयो हैन र ?

    नारायण…… नारायण

    – नारदमुनी

Comments are closed.

Frank