आधुनिक जमानाका १२/२७ हनुमान

लामो पुच्छर भएको, रामभक्त हुँ भनेर छाती चिरेरै देखाउन सक्ने, श्रीरामको लागि आफ्नै पुच्छरमा आगो सल्काएर लङ्का जलाउन हिँड्ने बजरङ्गबली हनुमानको कथा त सबैले सुन्नुभएकै होला भानुभक्तिय रामायणमा। आफ्ना प्रात: पुज्यनीय भगवानकालागि ज्यान हत्केलामा राखेर हिँड्ने पुरातनवादी हनुमान। भगवानले भनेपछि भन्नुभयो, त्यो कुनैपनि हालतमा सत्य र पुरा हुनुपर्छ भन्ने ठान्ने त्यस्ता अटल, बहादुर हनुमान- पुराना। तर त्यस्ता बजरंगबली हनुमानलाई पनि पछि पार्दै दिलमा भगवानको निशानी बोकेका आधुनिक हनुमानहरुको जन्म भएको छ यतिबेला। त्यस्ता आधुनिक हनुमानहरुको चर्चा गर्ने जमर्को गर्दैछौं हामी।  हामीले चर्चा गरेका हनुमानहरुमा सबै नसमेटिएका हुनसक्छन्। तपाइँहरुका वरिपरी रहेका अन्य प्रकारका हनुमानहरु भए कमेन्टमा ठोक्दिनुहोला।
खासमा आधुनिक हनुमानहरुको जन्म ठ्याक्कै कहिले भयो भन्नलाई त इतिहासको अध्ययन र अनुसन्धान नै गर्नुपर्ला। राणाकालमा त हनुमानहरु छ्याप्छ्याप्ती नै थिए होलान्। पन्चायत पनि हनुमानहरुकै कारण ३० वर्ष टिक्यो होला। हामी त्यतिपरसम्म नपुगौं। अहिलेलाई हामी भर्खरकै हनुमानगिरीतिर फोकस होऔं। समकालीन हनुमानको जन्मदाताको रुपमा हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रवक्ता कृष्णहरी पुष्करलाई मान्छौं। उनी प्रवक्ता त अख्तियारका थिए तर  तत्कालिन अख्तियार प्रमुखका हनुमानको छवि बनाएर बिदा भए। उनले कतिसम्म हनुमानगिरी गरे भने अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लाउनुपर्छ भन्दै अनशन बसेका डा. गोविन्द केसीलाई ‘पागल’ भन्दै विज्ञप्ति निकालेपछि उनको हनुमानगिरी रातारात हिट भयो। यहाँ सोही सेरोफेरोका हनुमानहरुको चर्चा गरिनेछ। आधुनिक हनुमानहरु भिन्न भिन्न प्रकारका भेटिन्छन्। तपाइँहरुले पनि देखे भोगेकै हुनुहुन्छ होला, हनुमानहरु उनीहरुका ‘श्रीराम’ विरोधीहरु विरुद्ध कसरी जाइलाग्छन्। यी हनुमानहरु यति खराब हुन्छन् कि तिनका ‘भगवान’लाई गल्ती महशुस गर्नै दिँदैनन् देवत्वकरण गरेर। अँ, एउटा नेपाली फिल्म थियो नि नाम केरे? त्यो एकजना हनुमान नै पात्र भएको, त्यसले पनि लास्टै फेमस बनाएको हो है हनुमानलाई।

साइलेन्ट हनुमान

यी हनुमानहरु कस्ता हुन्छन् भने एकदमै चुपचाप बस्ने, सार्वजनिक ठाउँमा आफ्ना ‘श्रीराम’का बारे बोल्दै नबोल्ने, बोल्नुपरे फलानाले उबेला यसो पो गरेको थियो क्यारे भनेर घुमाउरो पाराले बचाउ गर्ने, तर पर्दा पछाडि बसेर श्रीरामको कानमा खुस्खुसाइरहने, यसो गर्नुपर्छ है भनेर भगवानलाई  सुझाव दिइरहने। आधुनिक ‘श्रीराम’हरु यिनै हनुमानहरुका सल्लाहमा रवाफ दिँदै हिँड्छन् भन्ने पढ्न र सुन्न पाइन्छ। यिनीहरुलाई इज्जत दिएर भन्ने हो भने योजनाकार या रणनीतिककार भन्नुपर्ने हो तर यी बाहिर नदेखिने भएकोले त्यसो भनिहाल्न पनि सकिँदैन। यी हनुमानहरु मन्त्रीदेखि कार्यालय प्रमुखसम्मका सहयोगी भएर काम गरिरहेका हुन्छन्। तपाइँहरुले कफी पसलहरुतिर यस्ता हनुमानहरु छ्याप्छ्याप्ती भेट्नुहुन्छ।

कनसुत्ले हनुमान

कनसुत्लो भन्ने जीवका बारे थाहा छ? जीव यो कि किरो हो यो खासमा? मान्छेका कानमा पस्ने भएकोले यसलाई कनसुत्ले भनेका हुँदाहुन् गामघरतिर। ठ्याक्कै, यो वर्गका हनुमानहरु त्यस्तै हुन्छन्। नजानिँदो पाराले तपाइँको कानमा छिर्छन्, तपाइँले भनेका कुरा सुन्छन् र ‘श्रीराम’लाई सुनाउँछन्। यिनीहरुको काम फलानोले उसको भगवानलाई के भन्यो, फलानाको के धारणा छ भन्ने जान्नु हो। अँ, धेरैपय कनसुत्ले हनुमानहरुले ‘श्रीराम’लाई प्रत्यक्ष भेट्न नै मुश्किल पर्छ रे, उनीहरुको पहुँच साइलेन्ट हनुमानसम्म मात्र हुन्छ रे। तर यी हनुमानहरु आफू भगवानको एकदम नजिक रहेको र भगवानले आफूलाई अत्ति सम्मान गर्ने ठानेरै दंग पर्छन्।

रणनीतिक हनुमान

यी बडा खतरनाक प्रजातिका हनुमान हुन्। यीनले ‘श्रीराम’कै तलब खान्छन्, उनका भगवानभन्दा बाहेक सबै रावण हुन् भन्ने ठान्छन् यिनीहरु। यो प्रजातिका हनुमानहरु आफ्ना ‘भगवान’ले अहिलेसम्म कसैले गर्न नसकेका, चिताउँदै नचिताएका, सोच्नै नभ्याएका काम गरेको बताइरहन्छन्। यो प्रजातिका हनुमानलाई किन खतरनाक प्रजाति भनिएको हो भने यी आधुनिक श्रीरामका अगलबगलमा घोषित रुपमै बस्छन्। यो प्रजातिका हनुमानलाई आधुनिक नाम पनि दिइएको छ- सल्लाहकार भनेर। तर व्यवहारले यिनीहरु चाटुकार- ‘भगवान’को थुक चाट्ने हुन्। सामाजिक सन्जाल वा अनलाइन, पत्रपत्रिकामा यस्ता हनुमानहरु ‘भगवान’का भक्तिगानहरु छापिरहन्छन्। यी हनुमानहरु ठूला पदहरु जस्तै मन्त्री, प्रधानमन्त्रीस्तरकासँग बसेर हनुमानगिरी गर्छन्।

बजरङ्गबली हनुमान

वाफ रे ! अघि खतरनाक प्रजाति भनिसकियो, अब यो प्रजातिलाई के भन्ने होला त? हाइवेतिर हिँड्दा ट्याङ्करको पछाडि के लेखेको हुन्छ? याद छ नि ! ‘अति प्रज्वलनशील पदार्थ।’ हो, यो प्रजातिका हनुमानहरु ‘अति खतरनाक’ हुन्छन्। सिधै पुच्छरमा आगो झोसेर तपाइँलाई जलाउन आउँछन्। विभिन्न पेशामा भए पनि हनुमानगिरीमा यिनीहरुको विद्यावारिधी छ। कसैले ‘उनका भगवान’का बारे दायाँबायाँ कुरा यिनले पहिला त्यो व्यक्तिलाई थर्काउँछन्, धम्क्याउछन्, नसके कम्प्लेन बोकेर व्यक्ति काम गर्ने संस्थामै पनि पुग्छन् र संस्थाको हाकिमसँग अनुनय गर्छन्- हाम्रा भगवानबारे तपाइँको कर्मचारीले यसो भन्यो भनेर। कार्यालय पुगेर पनि यिनीहरुको गुनासो सुनुवाई भएन भने श्रीरामको बचाउ गर्दा यिनीहरु व्यक्तिको काम गर्ने संस्थालाई जोडेर आक्रमण गर्छन्। यी बजरङ्गबलीहरुका केही अड्डा छन् जहाँ यिनीहरु रणनीतिक हनुमान, भगवान, कनसुत्ले हनुमानलाई भेट्छन्। दुश्मनमाथि कसरी जाइलाग्ने भन्ने रणनीति बनाउँछन्।

ताइँ न तुइँ, हात लाग्यो दुई

यी हनुमानहरु चाहिँ सामाजिक सन्जालतिर छ्याप्छ्याप्ती भेटिन्छन्। यीनलाई हनुमान भन्नुभन्दा पनि बाँदर सेना भन्दा ठ्याक्क अर्थ लाग्ला। कुनै एक व्यक्ति वा पार्टीलाई भगवानको प्रतिमा मानेर पूजा गर्छन् यी हनुमानहरु। जसले जे कुरा गरेपनि बीचमा छिरेर आफ्ना भगवानलाई पूजा गर्दै बाँकीलाई राक्षस बनाउनु यीनको चरित्र हो। यीनले हनुमानगिरी गरेको न त तलब पाउँछन्, न त भत्ता, न त कुनै पद। अझ भन्ने हो भने यीनले जसलाई भगवान मानेर पूजा गरिरहेका हुन्छन्, त्यो भगवानले यिनीहरुलाई चिनेकै पनि हुँदैन तर पनि यिनीहरु सामाजिक सन्जालमा टाउको फुट्नेगरी हिमालय पर्वत उठाइरहेका भेटिन्छन्। संजिवनी बुटी नचिनेरै त होलान् नि यसरी हिमालय पर्वत उठाउने यिनीहरुले 😉 कमल थापालाई भगवान मान्ने अथवा राजतन्त्र बाहेक अरु सबै देशका दुश्मन ठान्ने हुन् या म हनुमान होइन भन्दै कांग्रेस/एमालेको भक्तिगान यी हनुमानहरु गरिरहन्छन्।आफूलाई स्वच्छ छविका बताउने केही डाक्टरहरुलाई (मेडिकल) पनि यो वर्गमा राख्दा हुन्छ- जो हरेक कुरामा अरुलाई ‘गगनका हनुमान’ भन्दै उफ्रिरहन्छन्। टिचिङ अस्पतालतिर आँखा लाए डाक्टर पनि चिनिएलान्।

कलमजिवी हनुमान

नामैले प्रष्ट हुन्छ, यी हनुमानहरुको चरित्र। यिनीहरु कलम चलाएर वा रेडियो टिभीमा भट्याएर आफ्नो हनुमानगिरी प्रष्टयाउँछन्। गैर पत्रकारको त कुरै नगरौं, पत्रकारिता पेशामा रहेका, कुनै पत्रिकामै काम गरिरहेका पत्रकारहरु पनि हनुमानगिरीमा लिप्त देखिन्छन्। आम्मामामा, तपाइँहरु छक्क पर्नुहुन्छ यिनीहरुका भक्तिगान पढेर, बडो विश्वसनीय बनाएर, मेहनत गरेर लेख्छन् भक्तिगान, ताकि त्यो बजारमा सबका मुखमा झुण्डियोस्। बजारमा अहिले चल्तीमा रहेका केही नामहरु सम्झिनुभए हुन्छ तपाइँहरुले- प्रचण्डलाई भगवान ठानेर लेख्नेहरु हुन् या केपी ओलीलाई भगवान बनाएर लेख्नेहरु, यो वर्गका हनुमानहरु हुन्। यति भनेपछि त त्यस्ता हनुमानहरुको नाम थाहा पाउनु भयो होला नि !

हनुमान पत्रकारिता

नेपालमा दुईथरीका पत्रकारिता हुन्छन्- अनुमान पत्रकारिता र हनुमान पत्रकारिता। आजकाल नयाँ शब्द पनि जन्मेको छ  ‘दलाल पत्रकारिता’। हनुमान पत्रकारिता भन्नाले ‘भगवान’का लिला छाप्नैका लागि पत्रिका चलाउनेहरु। यी पत्रिका/अनलाइनमा भगवानका लिला यत्ति रोमाञ्चक ढंगले छापिएका हुन्छन् कि वाफ रे, स्वस्थानी, रामायण वा महाभारतका लेखक पनि फ्लप खान्छन् यीनका अगाडि। यिनीहरु हरेक प्रहर चक्रपथ वरिपरी घुमिरहेका भेटिन्छन्। कहिले पाटी, पौवामा, कहिले कुन चौतारीमा यस्ता हनुमानकारिता पढ्न पाइरहिन्छ। नाम चलेका, नाम चल्न चल्न खोजेका, नामै नसुनेका धेरै अनलाइनहरु छन् हनुमानगिरीमा। ती अनलाइनहरु पढ्दा आधुनिक रामायण पढेकोभन्दा बढी मनोरन्जन पाउन सकिन्छ।

संजिवनी बुटी नचिनेर सिंगो पहाडै बोकेर हिँड्ने हनुमानहरुका चर्चा गर्न त हजार जिब्रा भएका शेषनाग नै चाहिएला जस्तो छन्त हनुमानजी। धेरै लामो पनि भयो, हनुमान चालिसा अहिलेलाई यत्ति गरौं?!

Adams