भोट के मा?

नमस्कार पाठकज्युहरु ! आजभोलि जे लेखे नि सबैभन्दा पहिला पाठकलाई दश औंला नजोडी लेख्ने आँटै आम्दैन। पाठक नै हाम्रा भगवान हुन्, पाठक नै हाम्रा सम्पति हुन्। अनि यिनै पाठक नै हाम्रा हनुमान हुन्, जे लेखे नि जय राम जी कि गर्दिन्छन्। सल्लाह सुझाव त भुत्राले नि दिन्नन्, लेख्यो कि वाह वाह ! गर्न थाल्छन्। रचनात्मक प्रतिक्रिया त सुरुवाती बखतदेखि नै पाइएको छैन। मन परे नि ताली, मन नपरे नि ताली, यस्ता हनुमान त तित्रा बिश्वराज ध्वजे जस्ता पार्टीका हनुमान नि छैनन् जस्तो लाउँच बेलाबेला त। चुनाउ आम्न लाग्या भएर भोट के मा हाल्ने भनेर लेख्न थाल्या, आफ्नै पाठकको खेदो खन्न थालिएछ। क्या बाटो बिराइएछ भन्देखुन्। सप्पैलाई था’ह छ बरु मुकुन्देले केटी पाएर ब्या गर्ला तर यो देशाँ चुनाउ हुन बहुतै गाह्रो छ। त्यही नि सबैले चर्चा गरेको चुनाउको बारेमा नलेखि बस्दा प्रजातन्त्र र लोकतन्त्र नमान्नेहरु रचन् यी १२थरीवाला भन्नोला भनेर कनी कनी कुन चिन्हमा भोट हाल्ने भनेर ब्याख्या गर्ने जमर्को गरेका छौं। १२ हात लामो मत पत्रमा डेढ दुइसय थरी चिन्ह छन्। सबैको बारेमा नि लेखेर सकिन्न हेर्नुस्। यसो माथिल्ला केही हरपाँ अटाएका चिन्हको बारेमा लेख्न पर्ला।

रुख

यति पढिन्जेल कतिचोटी श्वास फेर्नु भयो, गन्नु भयो? त्यो श्वास फेर्दा भित्र हुल्या अक्सिजन हजुरका बाउले पादेर छोडेको ग्याँस हैन, रुखले हामीलाई काम नलाग्ने कार्बनडाइअक्साइड लिएर हामीलाई नभई नहुने अक्सिजन छोड्ने भएर श्वास फेर्न पाइएको हो। अब भन्नुस् त, एक मुठ्ठी श्वास फेर्न नि नभई नहुने रुखमा भोट नहालेर अन्त हालेर भयो त? रुखको महिमा यत्तिमै त पक्कै सकिन्न होला। शनिबार ब्यान ब्यान उठेर नुहाई धुवाई गरेर जल कहाँ चढाउनुन्छ? रुखमा। सुर्जेले ढडाउला भनेर त्यही रुख काटेर नै पाटी पौवा बनाइन्छ। ठुला रुखका छहारीमा बतास खाँदै सुस्केरा हालेको बिर्सनु त पक्कै भएको छैन होला नि मुर्दार सुर्जेले ढडाउला झैं गरी बनाएको उरण्ठेउलो गर्मी याममा। भोक लाग्दा फल दिने होस्, गर्मीमा शीतलता, रात बिताउने छानो बनाउन परोस् या खाना पकाउन दाउरा बाल्न परोस्? रुख बिनाको जीवन कल्पना पनि गर्न सकिन्नँ। जीवनको अभिन्न अङ्गको रुपमा खडा हुने यस्तो रुखलाई भोट नहाले त पाप लाग्छ। मरणपछि यमराजले तातो तेलको बडेमानको ताउलामा भकभकी उमाल्छन्। गुण तिर्ने नै जीवन छँदै हो, त्यसैले भोट त रुखमा नै हाल्न पर्छ। मरेपछि पितृ बोलाम्न सन्तति आए त लौ यसो गर्दैऊ न पुल तर्न पाइनँ भन्न पाइएला। पितृ बोलाम्न आएनन् भने न पृथ्वीको भइन्छ न परलोकको। याद गर्नुस्, भोट त रुखमा नै हाल्न पर्छ।

सुर्य

हा हा हसाम्छ बुढो रुख। त्यो रुखले राति म सुत्न गा’को बेला अक्सिजन छोड्या था’ह पाम्नु भएको छ? म हुन्थिनँ भने यो रुखले मानिसले खाने अक्सिजन पुरै खाएर सक्थ्यो। कम्ता नकच्चरो र हाँडिघोप्टे छ र यो रुख ! म दिम्सो आएर यस्लाई कार्बन नखाई नहुने बनाउने भएर मात्र अक्सिजन छोड्या। जुन मुला रुखलाई अक्सिजन निकाल्न म नभई हुन्न उसैले मेरो अक्सिजन भनेर भोट माग्या देख्दा अस्ताको अस्ताइ भइदिम् कि झैं लाग्छ। हिन्दुले बिहान सबेरै सुर्य नमस्कार गर्छन् कि रुख नमस्कार? सुर्यलाई अर्घो चढाम्छन् कि रुखलाई? सुर्यदेव भनेर कस्लाई पुज्छन्? जाडोमा न्यानो घाम तापेर लिन्छन् कि रुखमुनि बस्छन्? सुर्य उदाएर उठ्न र सुर्य अस्ताएर सुत्न पाइएको छ। यदि सुर्यले धर्म बिर्सेर उदाको उदाइ वा अस्ताएको अस्ताइ गर्दिने हो भने के हुन्छ? सुतेका सुतेको सुत्यै, उठेका उठेको उठ्यै .. राम राम कल्पना गर्नुस् त सुर्यदेव बिनाको अस्तित्व सम्भव छ? जीवनको कल्पना गर्न सकिन्छ? यसै भावनामा बगेर रुखले अक्सिजन दियो भनेर त्यता भोट हाल्दा सुर्यमाथि अन्याय हुँदैन? खै कुरा बुझेको? स्वर्गमा सुर्यदेव आफ्नै स्थान छ। मरेसी स्वर्गमा कसरी मुख देखाउनु हुन्छ भोट अरु चिन्हमा हाल्नु भयो भने?

गाई

नेपाल देशमा बस्नु हुन्छ, नेपाल देशकै मतदाता हुनहुन्छ। राष्ट्रिय जनावर के हो था’ह छ? दूध, घ्यू, दही, मोही, चीज, रसमलाई, पेडा, लालमोहन, गुलाबजामुन यी यावत शक्तिबर्धक खानाको लागी कस्ले योगदान दिएको छ? तिहारमा कस्लाई पुज्नु हुन्छ? पुज्ने बेला गाई चाहिने अरु बेला बाल दिन सुहाउँछ? गाईलाई त हाम्रो धर्मले पनि माता मानेको छ। गाईको गँहुत नछर्की घर चोखो हुँदैन। गाइको गोबरले नलिपी पिढीं चोखिन्न। मरेपछि स्वर्गजाँदा बाटोमा ठूलो कोशी पार गर्नुपर्छ। त्यहाँ पुल छैन, कोशी तर्ने नै गाईको पुच्छरमा समातेर हो। गाईको महिमा नेपालमा मात्र हो र? गाईको अन्तराष्ट्रिय महत्व पनि छ। सर्वशक्तिमान देशको प्रमुख माँसहारी खाना पनि गाई नै हो। गाईको हड्डीले टाँक बनाएर शरिरको लाज छोपिन्छ। गाईले बाच्छो पाएर गोरु बन्छ। जिम्दो हुदाँ खेत जोत्न होस् या गोरु मरेसी छालाको जुत्ता बनाउन गोरु नै चाहिन्छ। जन्मिदाँ सुतक चोख्याउन गाईको गहुँत चाहिन्छ। बैतर्णी तर्न गाई नै दान दिन पर्छ। जन्मेदेखि मरुन्जेल धर्म धान्न नभइ नहुने गाई छोडेर अन्त आँखा लगाए के को धर्म के को देवता? जिउँदै मरेतुल्य भइन्छ। त्यसैले गाँउ शहर सबैले एकछापे हान्नु पर्ने नै गाई चिन्हमा हो।

हँसिया हथौडा

गोलो घेरा लेखिरहन मन लागेन. त्यो घेरा भनेको बाँदरको पुच्छर लौरो न हतियार भने झैं हो। गामबेसी गर्ने किसानलाई हँसियाको महत्व बुझाउन पर्छ जस्तो लाग्दैन। शहरीया सुकिला मुकिलाहरु कनाइफले चपिङ्ग बोर्डमा ख्याटख्याट काट्चन् तिन्लाइ जति बुझाए नि बुझ्दैनन्। हथौडा त ठोक्नलाई नभई नहुने जिनिस भईहाल्यो। काट्ने र ठोक्ने बर्गको राम्रोसँग प्रतिनिधित्व गर्च यो चिन्हले। यस्लाई जीबिकोपार्जनको लागि पनि प्रयोग गर्न मिल्च। जीवनको ईहलिला समाप्त गर्नको लागि पनि प्रयोग गर्न मिल्छ। यहाँ मार्ने कुरा गर्न खोज्या हैन है, हँसियाको उपयोग घाँसपात दाउरा काट्न लगायतमा हुन्छ। घरमा तरकारी काट्न होस् या त्यो माथिको गाईको भुँडी भर्न घाँस झार्न होस्, हँसिया नभई हुँदैन। मानिस बुद्धिमानी प्राणी हो, र जसरी रुख सुर्य र गाईको आविस्कार गर्न परेन, आफै कालान्तरमा उत्पत्ति भए त्यसरी हँसिया हथौडा आएको होइन। यो त आविस्कार गरिएको जिनिस हो। मानव जीवनलाई अघि बढाउन, सहज र सजिलो बनाउन भौतिकवादको जडमा उभिएर गरिएको आविस्कार हो। मानिसको आफ्नै उत्पादन हो। प्रकृतिले दिएको वरदान हैन। आफ्नो बुद्धिले विकास गरिएको यस्तो अमुल्य कुरालाई नजर अन्दाज गरेर हामीले नचाहे पनि हामीलाई भिडाइएका सुर्य रुख गाई जस्तामा ठप्पा लगाउनु भनेको बुद्धिमा बिर्को लगाउनु हो। ढुङ्गे युगतिर लम्किनु हो।

तराजु

यो पनि मानविय आविस्कार हो। मोलतोल र मोलमोलाइको लागि नभइ नहुने जिनिस। अहिलेको जमाना भनेको भौतिकवादको जमाना हो। जहाँ भौतिकता हुन्छ, त्यहाँ हर चिजको जोखना हुन्छ। नजोखि केही पाइँदैन। मानिसहरु बोल्दा नि जोखेर तौलेर बोल्छन् पैसा पर्छ कि झैं गरि। सुनदेखि नुनसम्म, चामल रासन जे सुकै लिन परोस् जोखेरै लिने दिने गरिन्छ। जोख्नलाई के चाहिन्छ? तराजु। तराजु कहाँ हुदैन? न्यायालयमा आँखामा पट्टी बाँधेकि महिलाले नि तराजु बोकेर खडा भएकी छिन्। सुनारले तोला जोख्न नि तराजु नै लिएको छ, लोहारले फलाम नि तराजुमा नै जोखेको हुन्छ। दान धर्ममा आफ्नो तौल बराबरको सिक्का दिएर पुण्य पनि जोखेरै कमाइन्छ। यस्तो आधुनिक जीवनको अमुल्य औजार तराजुमा भोट नहाले भोलि पाउने भन्या सबै कुरा अड्कलमा हो। जोखे जस्तो थोडी हुन्छ हजुर इत्ति दे न, त्यत्ति भए पुगिहाल्ला नि भन्दाको कोलाहलपुर्ण अवस्थाको परिकल्पना गरि उक्त अवस्था आउन नदिनको लागि भोटिङ्ग शुरु नभए पनि गएर तराजुमा भोट हालिहाल्नुस्।

कुकुर

घरमा कुकुर होस् या नहोस्, अधिकांसका घरका गेटमा एउटा साइनबोर्ड झुण्डिएको हुन्छ, “कुकुरदेखि सावधान”। तर त्यसो भन्दैमा कुकुरलाई भोट नहाल्नुस्, सावधान भन्न खोजेको होइन। कुकुरको महत्व ठुलो छ, तस्कर र लागु औषध समाउन पनि कुकुरको प्रयोग हुन्छ। बरू पुलिसले सुरक्षा नदेला, तर घरमा पालेको कुकुरले घरको सुरक्षा अवस्य पनि गर्दछ। जसरी कुकुरले घरको सुरक्षा गर्छ, यदि भोटे कुकुर र’च भने त पुरै टोलको सुरक्षा गर्दिन्छ। त्यसरी कुकुर चिन्हमा मत हालेमा आफ्नो वडा गाँउ शहर सुरक्षित हुने ग्यारेन्टी दिन सकिन्छ। कुकुरलाई बुद्धिमान प्राणी भनिन्छ, यो मानिसको नजिकको साथी पनि हो। यस्को पातलो निद्रा हुन्छ र सधैँ चनाखो र छरितो हुन्छ। त्यसैले आफुले चुनेको मान्छे, कुकुर जस्तै बफादार, चनाखो, छरितो र सुरक्षाको कवज होस् भन्नाका खातिर पनि कुकुर चिन्हमा भोट हाल्नु पर्छ। अँ, झण्डै बिर्सेको, जत्तिसुकै खराब भए पनि तिहारमा कुकुरको पूजा पनि गरिन्छ। कुकुरलाई भोट हाल्नुस्, तिहारमा कुकुर पूजा नगरे पनि यमराजले माफ गर्दिन्छन्।

र अन्त्यमा,

हेर्नुस्, भोट हाल्नै पर्ने धेरै चिन्ह छन्। सबैको बारेमा लेखुम् भने त एउटा मा’भारत नै बन्ने र’च नि १८ सय पेजको। तर धेरै मध्ये भोट हाल्न छुटाउनै नहुने चुनाव चिन्हका बारे थोरै लेख्चु। हामी नेपाली- रेष्टुरेन्टमा गएर टेबुलको मेनु दुईतीनपटक ओल्टाइपल्टाई पढेर के अर्डर गर्छौं? म:म। अनि म:म: र म:म पकाउने भाँडोमा भोट नहाली भओ? भोलि म:म रिसायो भने के हुन्छ? अनि अर्को महत्वपूर्ण चिन्ह छ- गिलास। गिलासको पनि चर्चा गर्नुपर्च र? ब्यान गिलासाँ चिया खाएर सुरु भ’को दिन राताँ गिलासाँ रौसी पिएर सकिन्छ। पानी पिउन नि गिलास नै चाइन्च। खाट, लामखुट्टे धपाउने धूप, ठेकी, गोलभेँडा जस्ता चिन्हमा पनि झ्यापका झ्याप छाप ठोक्नुहोला। ७ ठाम्मा कि कति ठाम्मा छाप लाउनु पर्छ रे, सबैलाई नछुटाइकन छाप लाम्नुहोला। मर्दापर्दा, सास फेर्दा चाहिने सामानलाई खुशी पार्नुहोला।

One thought on “भोट के मा?

Comments are closed.