१२ सत्ताइस् मतदाता

बैशाखको यो गर्मीले मौसम जति तताएको छ, त्योभन्दा बढी चुनावी सरगर्मी सुरु भैसकेको छ। उसो त चुनाव हुने नहुने/कैले हुने/कति चरणमा हुने भन्ने विवादको “बदली” नभैदेको भए ऐलेसम्म अर्कै रौनक थपिइसकेको हुन्त्यो, तर पनि येनतेन मुलुक चुनावतिर लतारिइ नै रहेको छ। सामाजिक सञ्जालमा त विभिन्न पार्टीका हनुमानहरुबीचमा तँ ठुलो कि म ठूलो हनुमान, तेरो लंका म ध्वस्त पार्दिन्छु भनेर पुच्छरमा आगो लाएर दौडिरहेको देख्न थालिसकियो। चुनावको चहलपहल शहर बजारमा भन्दा गाउँघरका चियापसलमा आको छ। टोल छिमेकका भित्ताभन्दा सामाजिक संजालका भित्ता रंगिन थालेका छन्। कुनै पत्रिकाले आफ्नो बारेमा लेखिदिएन भने पत्रकारलाई यसो दान दक्षीणा दिएर भएपनि उसको ब्लगमा आफ्नो बारेमा लेख्न लाएरै भए पनि उम्मेदवारले आत्मरति लिइरहेका छन्। यी चुनावका उमेदवारका कुरा अहिलेलाई चैं हनुमानहरुले नै गरुन्। हामी चाहिँ आउनुस् १२ सत्ताईस् मतदाताको बारे चर्चा गरौं। 

फोटो – चाइना डेलि

लोते मतदाता

बुझ्नु भएन ? ‘लोती’ भनेको अल्छी टाइपको मान्छे के। घरमा आफ्नो पार्टीको झन्डा पनि फहराएका छन्, टोल-समाजका चिया पसलमा आफ्नो पार्टीको डिफेन्डमा मुक्का हान्न/खान पनि पछि पर्दैनन्। बेलाबेलामा चन्दा पनि दिन्छन्। तर समस्या के भने चुनावमा भोट हाल्न भने यी जाँदैनन्। यीनीहरु प्राय: “प्रजातान्त्रिक” विचारधारावाला हुन्छन्। कुरो बुझ्नुभयो होला नि 😉 वेपार व्यवसायमा व्यस्त हुन्छन्। अनि त चुनावको बेलामा ‘मैले भोट नहाले पनि अरुले हालिहाल्छन्, त्यसै नि हाम्रो पार्टीले जितिहाल्छ क्यारे’ भनेर यी ढुक्कसँग बस्छन्। लोते मतदाता धेरै हुनुको परिणाम तिनकै पार्टीले भोग्छ।

लिँडे मतदाता

उमेदवार जोसुकै होस्- हत्यारा प्रमाणित नै होस्, डकैतिमै संलग्न होस्, भ्रष्टाचारले चुर्लुम्मे डुबेको होस्, मतलब छैन- ठ्याङ् ठयाङ् केही नहेरी आफ्नो पार्टी भन्दै आँखा चिम्लेर भोट हाल्ने मतदाता। लिँडे भनेको बुझिन्छ नि? एकोहोरो क्या, लागेसि लाग्यो लाग्यो। नेपाली मतदातामा धेरै संख्या यही लिँडे मतदाताको छ। रेष्टुराँ गएर सारा मेनु पल्टाएर लास्टाँ, साहुजी, एक प्लेट म:म: दिनुस् त भन्ने हनुमानहरु यिनै हुन्। देश बिग्रियो भनेर फलाक्न पनि छोड्दैनन्, अनि त्यही देश बिगार्नेलाई भोट हाल्न नि छोड्दैनन् लिँडेहरु।

बोक्रे मतदाता

ठूला ठूला आदर्शका डिङ हाँक्ने। चिया पसलमा, फेसबुक, ट्विटरका भित्तामा राजनैतिक दर्शनका प्रवचन दिने। यस्तो उस्तो उम्मेदवारलाई जिताउन पर्छ भन्ने। तर जताबाट आफुलाई फाइदा हुन्छ, जसले साँझ लगेर भट्टीमा “मतदाता शिक्षा” दिन्छ, वा बाइकमा फुल टैंक तेल हाल्दिन्छ त्यतै लाग्ने। बाहिर बाहिर ‘हाम्रालाई हैन राम्रालाई भोट हालौं’ भन्ने तर भित्र भित्रचाहिँ ‘जसले दिन्छ नोट, उसले पाउँछ भोट’ भन्दै भैलो खेल्नु यिनको पहिचान हो। ‘गुदी न सुदी टुँडिखेलमा कुदी’ हुन् खासमा यी।

गोब्रे मतदाता

यी गोबर गणेशहरु हुन्। यिनीहरुलाई न कुनै राजनैतिक सिद्धान्त नै थाहा हुन्छ,  न थाहा नै छ भनेर बोक्रेले जसरी स्वाङ पार्छन्। अधिकांश गरीबहरु भएको हाम्रो जस्तो समाजमा चुनाव जित्न यस्तै भोटको भूमिका ठूलो हुन्छ। बुढीलाई फरिया, केटाकेटीलाई झोला तथा कापीकलम र चुनावको केही दिन अगाडि टोल समाजमा खसी/ठूलो खसी काटेर जसले सोमरसको खोले बगाउँछ त्यही भेलमा बग्छन् यस्ता मतदाता।”प्रजातन्त्र” वाला राजा “उम्मेदवारले” यस्तै’स्विङ भोटर’ को भरमा चुनाव जित्ने गरेका हुन् भनेर  टपर्टुइँया विद्वानहरुको बेलाबेलामा टिप्पणि पढ्न पाइन्छ।

टपरटुँइया मतदाता

यसमा प्राय: पलायनवादीहरुको बाहुल्यता छ । यीनले नजानेको राजनैतिक सिद्दान्त हुन्न। यीनले नचिनेको कुनै उम्मेदवार हुन्न। यिनीबाट लुकेको कसैको कमजोरी हुन्न। यीनको नजरमा कुनै पनि उम्मेदवार लायक हुन्न। यिनीहरु आफुलाई मात्र लायक र अरु सबलाई झ्याँस ठान्छन्। यीनको खास सिद्धान्त पनि हुन्नँ। सबैलाई गाली गरेर चर्चा कमाउनु यिनको उद्देश्य हुन्छ। यीनले भोट हाल्दैनन्  त के भन्नु, हाल्नै पाउँदैनन्। आजकाल त ट्विटर र फेसबुकले गर्दा यस्ता टपर्टुइयाँले पनि राम्रै ठाउँ पाएका छन्। अोहो ! कुन उमेदवारलाई जिताउने, कसका कस्ता योजना छन्, सब यी टपर्टुइयाँलाई थाहा छ। नयाँ खुलेका वैकल्पिक भनिएका दलका मतदाता हुन् यी 🙂

खोस्टे मतदाता

नामै काफी छ नि, जसको कुनै गुदी छैन त्यही हो खोस्टे भनेको। मतदाताको गुदी भनेको के हो त भन्दा मतदाता नामावलीमा नाम। खोस्टे हुनु भनेकै नामावलीमा नाम नहुनु। तर यिनीहरु मेरो मतदाता नामावलीमा नाम छैन भनेर चुप लागेर नि बस्दैनन्। भोट त जसरी नि फलानालाई हाल्ने हो, ढिस्कानालाई त जिताउनै पर्छ भनेर सात हात उफ्रिन्छन्। ऐजेन्डा सेजन्डा भन्दा नि कैले “युवा उम्मेदवारको इनर्जी” को प्रचार गर्छन् त कहिले रिटायर्ड कर्मचारीको अनुभव र भिजनको ! तर लास्टाँ हालत  उही रेखा थापाले संविधानसभाको चुनावमा उमेदवार हुन्छु भनेर गरेको हल्ला झैं हुन्छ !

होस्टे मतादाता

यीनलाई खासमा भन्न त हनुमान वा झोले मतदाता भन्नुपर्ने हो। तर कडै रुपमा प्रस्तुत किन हुनु र भनेर अलि इज्जत दिएर होस्टे मतदाता भनियो। यी भनेका चुनाव जिताउन झोला बोकेर हिंड्ने। राजनीतिको नशामा चुर्लुम्म भाका हुन्छन्। दौराको तुनो बाँध्नेदेखि मुखको जुठो पुछ्ने फुर्सत हुन्न यीनलाई। सामाजिक सञ्जालमा लड्ने भिड्नेदेखि गाउँ टोलमा हानाहान गर्नेसम्म यी अग्रसर हुन्छन्।एक जमाना थियो नि, अग्रगामी छलाङ लगाएर युगान्तकारी परिवर्तन गर्छौं भन्ने पार्टीका ‘स्यालहरु’ को बोलबाला ! ‘तिमीहरुले कसलाई भोट हाल्छौ भन्ने कुरा हामी रुखमाथि चढेर हेर्छौं अनि हाम्लाई भोट हालेनौ भने खैरियत छैन’ भनेर साम, दाम, दण्ड भेदको रणनीति लाउने । हो… यो वर्गमा त्यस्तै अतिवादीहरु पर्छन्।   चुनाव जित्दा त्यो उमेदवारलाई भन्दा यी झोलेलाई बढी फाइदा हुन्छ। पछि कुनै योजना आउनेबित्तिकै ठेकदारदेखि कामदारसम्म यिनै हुन्छन् एकलौटी।

भल छोपुवा

चुनावमा उमेदवारले जोगिनुपर्ने यि मतदातासँग हो तर चुनाव लड्नेसँग बुद्धि नै नहुने हो कि होस्टेहरुको भरमा पर्छन् कुन्नि, यस्तै मतदाताका भर परिरहेका देखिन्छन् उमेदवारहरु। भल छोपुवा भनेपछि धेरै भन्नैपर्दैन- खोलाको किनारमा बस्ने, भल जता बगेको छ उतै दौडिने र झ्याप्प भल थुनेर मलिलो माटो खेतमा हुल्ने। फेरि भल अर्कातिर बग्न थाले फेरि त्यतै दौडिहाल्ने। यिनको इमान, जमान, धर्म जे भने नि सकेसम्म धेरै भल छोपेर आफ्नो गंग्र्याइलो खेतलाई मलिलो बनाउने। चुनावको मुखमा ‘फलाना पार्टीका फलाना नेता यति कार्यकर्ता सहित ढिस्काना पार्टीमा प्रवेश’ भन्ने समाचार सुन्छौं नि हामीले, ति यस्तै भल छोपुवा हुन्। ति सबैको संख्या जोड्यो भने त नेपालकै जनसंख्याभन्दा पनि बढी आउन बेर हुन्न।

यी त भए हामीले सर्सर्ती देखेका मतदाताका प्रकार। हामी पात्र भन्दा पनि प्रवृत्तिको कुरा गर्न चाहन्छौं। हाम्रा मतदाता स्वाँठ हुन् भन्दा फरक पर्दैन। भोट दिने बेलामा दर्जनौं थरी उम्मेदवार र पार्टीलाई दिन्छन् अनि राजनैतिक स्थायित्व भएन भनेर कोकोहोलो गर्छन्। खुरुक्क एउटा पार्टीलाई एकपटकमा सबै दुइ-तिहाइ नभए सामान्य बहुमत दिए भएन ? राम्रो काम गरे अर्को पटक पनि तेसैलाई…. नत्र पार्टीको कमि त के छ र नेपालमा ? तैपनि यी भन्दा फरक किसिमका मतदाताहरु हजुरहरुको पनि नजरमा छन् भन्ने भन्नुस केरे… तल 👇🏼 कमेन्ट बक्समा गएर !!