नबनौं हनुमान, जिताऔं ‘गुड’ म्यान

जम्ला हात गरें है हजुर ! परे त धनुष्टंकारै पनि पर्न सक्छु। चुनावको माहोल जो छ, भोट जो माग्नु छ । सुरुमा काठमाडौं अनि देश जो बनाउनुछ। हेर्नुस् मुलधारका मेडिया र हेभिवेट पत्रकारहरुले एक एक पार्टी बोक्या छन्। हामीले के महशुस गर्यौं भने जसको कोही छैन, उसको बाह्रथरी छ भन्ने बनाउनुछ। निर्धोले बोल्न सकेन भने त्यसको आवाज १२ थरी बनिदिनुपर्छ। परिवर्तनको संवाहक बनिदिनुपर्छ। हुनत यसअघि १२ थरीले कांग्रेस र एमालेलाई भोट मागेको पनि हो। तर हामी यसपालीको यो लेखमा अलि गम्भीर भएर साँच्चै नै राजधानीको हितको लागि र हामी सबैले गर्व गर्नसक्ने राजधानीको परिकल्पनाको लागि भोट मागिरहेका छौं। हुन पनि कस्तो परो भने बिबिसीमा काम गरेका घाघडन पत्रकार रविन्द्र मिश्रको साझा पार्टीको चर्चा सामाजिक संजालमै मात्र सिमित हुने हो कि भन्ने लागिरा’छ। त्यत्रो लाखौंको जागिर छाडेर देश बनाउँछु भनेर लागेका मान्छेको पार्टीले सुरुमै पानी समेत खान पाएनन् भने सबै नेपालीलाई गौहत्याको भन्दा बढ्ता पाप लाग्छ। त्योभन्दा पनि बढी काठमाडौं र ललितपुरका मेयर उपमेयरका उमेदवारको तुलनात्मक रुपमा अध्ययन गर्ने हो भने पनि साझा पार्टीका उमेदवार अग्रपंक्तिमा आउँछन्।  आजको लेखमा हामी साझा पार्टीका उम्मेदवारलाई किन जिताउने भन्ने तर्कनामा केन्द्रित रहनेछौं।

हाम्रो राजधानी, राम्रो राजधानी

हुन त चुनाव देशभरि नै हुन ला’को छ, तर काठमाडौंको जीतले नै यो पार्टीको भविष्य निर्धारण गर्नेछ। आखिर कुनै जमानामा नेपाल भनेकै काठमाडौं खाल्डो न थियो। काठमाडौं महानगर एउटा महानगरमात्र हैन यो देशको राजधानी हो। राजधानी हेरेर संसारले नेपालको बारेमा धारणा बनाउँछन्। भनिन्छ, कुनै देशमा जाँदा त्यहाँको विमानस्थलमा ओर्लिनेबित्तिकै एक किसिमको वासना वा गन्ध आउँछ रे। पहिलोपटक त्यो देश पुगेको मान्छेले देश सम्झिँदा त्यो पहिलो वासना वा गन्धबाट पहिचान गर्छ रे। हामीकहाँ त विदेशी देश छिर्ने एउटै विमानस्थल छ। विमानस्थलबाट बाहिर निस्किने बित्तिकै विदेशीलाई वासना सुँघाउने कि गन्ध भनेर अब हामीले सोच्नुपर्छ।  मिश्रजीले धुँइपत्ताल लाएर यत्तिका उम्दा उम्मेदवार खोज्या छन्। काठमाडौंको मेयर/उपमेयर जिते भने अरु बडे बडे हस्ती पनि प्रादेशिक र संघिय चुनावसम्म साझा पार्टीमा आउनेछन्, नत्र डुब्न लाको जहाजबाट मुसा भागे जस्तै (नयाँ शक्तिबाट रामेश्वर खनाल भागे जस्तै) बल्लबल्ल ल्याएका मान्छेले पनि छाड्नेछन् । त्यसैले एक लट नारा घन्काएर लेख सुरु गरौं – भोट केमा ?? —– क्यामेरामा…….!!! भोट केमा??? ……. सेलरोटीमा !!!

अबको मिसन, नयाँ भिजन

हेर्नुस्, धैर्यको पनि सीमा हुन्छ। हतार भयो भन्दैमा काँचो भात खायो भने कटक्क पेट काट्छ। तर यहाँ त भात पुरै डढिसक्यो।  अब होला प्रगति….अब होला विकास भनेर कुर्दा कुर्दा पशुपतिबाहिर बसेको साँढेको पारा भैसक्यो हाम्रो। कैले प्रजातन्त्र ल्याउने भनर फकाको छ, कैले शिशु प्रजातन्त्र भनेर अल्मल्याको छ, कैले जनयुद्दको नाममा तर्साको छ, कैले राजा फाल्ने भनेर उक्साको छ, कैले तराइलाई हक पुगेन भनेर पम्प हालेको छ। हामी कति वर्षसम्म हाम्रो भाग्यलाई दोष दिँदै बस्ने? कैलेसम्म हामी संक्रमणकालको दुहाइ दिँदै बस्ने? अब त अत्ति भयो। भो देखियो मुलधारे राजनीति गर्ने पार्टीको भिजन। आभोकाडो भन्ने फल यस्तो हुन्छ भन्ने देखेको, चिनेकोले पनि बजारमा वा बगैंचामा देखे घरमा ल्याएर सबैलाई खुवाउला। त्यो कस्तो जिनिस हो भन्ने थाहा नै नभाकोले मोबाइल हो कि, लगाउने लुगा हो कि वा चढ्ने गाडी हो भन्ने मै रुम्मलिन्छ। हो, विकास भनेको तेस्तै अभोकाडो भाको छ नेपालका परम्परागत पार्टीलाई। शहरी विकासका विज्ञ, नेपाल सरकारका सचिवसम्म भैसक्या मान्छेको त केही न केही गिदी होला नि बाबै ! कति यी लिदी भरिएका पुराना नेतालाई मात्र चान्स दिने, नयाँ प्रयोग गरौं न एक बार ! फेरि किशोर थापा यसअघिका काठमाडौंका मेयर केशव स्थापितको पालामा पनि राम्रै काम गरेका मान्छेमा गनिन्छन्।

शालीन भद्र उम्मेदवार, विपक्षीको हुन्छ हार

मेरो हली अनुभवले के भन्छ भने, बुढो गोरु लिएर बाली लाउन गयो हिंड्दै नहिँडेर हैरान, बहर गोरुलाई नार्‍यो मेलो नलाएर बर्बाद। यसपाली काठमाडौं खाल्डोका उम्मेदवारको पारा पनि उस्तै छ  बुढाखाडा पार्टीको त के कुरा गराइ भो र, आन्तरिक खिचातानी मिलाउन डेट एक्सपायर दबाइ बाँड्या छन् काठमाडौंबासीलाई। हामी परिवर्तन गर्छौं भन्ने विवेकशील  त झन उरन्ठेउलो पो देखियो। बर्षेनी अर्बौं रुपैंयाको व्यवस्थापन गर्न पर्ने जिम्मेवारी छ, संघिय सरकार साथै उपत्यकाभित्रकै १२-१५ वटा नगरपालिकासँग समन्वय गर्ने पर्ने दायित्व छ। तर उम्मेदवार उठाको छ  उरन्ठेउला केटाकेटी। उमेर युवा हुनु नै सबै कुराको योग्यता हुँदैन नि। युवा हुनु र केटाकेटी हुनुमा फरक छ। NGO ले प्रपोजल लेख्दा बनाउने नाराजस्ता भिजनले पनि कहीं देश विकास होला ? घृणाको राजनीति देखेर हुक्कss भका नेपालीलाई फेरि पनि घृणाको राजनीति चाहिएकै छैन। हामीलाई अहिले चाहिएको छ शालीन र भद्र व्यक्ति, जसमा कुनै दाग नलागेको होस्, विज्ञ होस् र केही गर्ने अठोट र योजना होस्। काठमाडौंलाई अहिले मेट्रो, मोनोरेल चाहिएकै छैन। दिनै पानी आओस्, बाटोमा धूलो नउँडोस्, सडकमा हिँड्दा मास्क लगाएर जुत्ता हातमा बोकेर हिँड्नु नपरोस्, सार्वजनिक यातायातमा चढ्न युद्ध लडेजस्तो गर्नु नपरोस्। यत्ति हो हामीलाई चाहिएको। र, यो गर्नसक्ने एकमात्र उमेदवार साझा पार्टीमै छन्।

इमान नामका भि कोही चिज होता है भाइ

हुन त राजनीति सम्भावनाको खेल हो भन्छन्। तर त्यसो भन्दैमा केही आधारभुत मुल्य, मान्यतालाई पनि लत्याउन मिल्छ र भन्या ? सालीको जिउ र बिरालाको घ्यू समेत बेच्न पछि नपर्ने प्रवृत्ति देखा पर्दैछ, नेपाली राजनीतिमा पद र पैसाको लागि। लु हेर्नुस  त, कुनै जमानामा टाउकाको मुल्य तोकिएका र मुल्य तोक्नेहरुको घाँटी जोडिएको अचेल ! जसको उक्साहटमा लागेर बन्दुक समातेको नेपाली दाजुभाइलाई भुट्न जसले दिँदा हजारौं नेपालीले ज्यान गुमाए… आज उनै राम-लखन नै बनेका। पुरै पार्टी नै आफ्नी आमाको पेवा जस्तै एक अर्का ठालुको जुँगा बचाइदिन जित्न सक्ने ठाममा समेत आफ्ना उम्मेदवारको मनोनयन फिर्ता गर्न लाका। झन एमालेको त के कुरा गर्नु । आफुलाई गणतन्त्रको पहरेदार ठान्ने पाटी राजतन्त्रलाई आफ्नो निर्देशक सिद्दान्त मान्ने पार्टीसँग मिल्न गाको कति नसुहाउने के। छि छि ! शिकार पाएन भने बाघले घाँस खान्न। तर यी पार्टी त हुँडार जस्ता भए, जो आफ्नो शिकारको निम्ति कुनै पनि स्तरको घृणित काम गर्न किन्चित धक मान्दैनन्। उनीहरुलाई जसरी हुन्छ, राज्यसत्तामा बसिरहनु छ र तर मारिरहनु छ। अब पनि हामीले राजनीतिमा इमान नखोज्ने हो भने पछुताउनु बाहेक हामीसँग केही बाँकी रहने छैन।

 विकल्प छ

फोटो: पहिलोपोस्ट

हाम्रो राजनीति दलीय दलदल अनि ठालु नेताहरुको सिन्डिकेटमा चलिरहेको छ।  ठुला पार्टीमा नि राम्रा मान्छे नभएका हैनन् तर सिन्डिकेटले उनीहरुलाई माथि जान दिँदैन। भर्खरकै महाभियोग मुद्दामा होस् या एनसेलको फोर जी स्विकृत्तिको मुद्दामा हेर्नुस्, कांग्रेस एमालेका युवा र आशाको केन्द्र ठानिएका नेताहरुको हर्कत। अब पनि हामीले विकल्प नखोज्ने? ठूला पार्टीलाई पाठ पढाउनै भए पनि विकल्प खोज्नु जरुरी भैसक्यो। त्यसमाथि ठूला पार्टीका उमेदवारभन्दा योग्य र क्षमतावान उमेदवार हुँदा पनि हामी किन परिवर्तन नखोज्ने? काठमाडौंको सडक एक इन्ची पनि बढाउन दिन्नँ, काठमाडौंमा २ वर्षमै मोनोरेल ल्याउँछु भन्नेहरुसँग न त काठमाडौंको ट्राफिक व्यवस्थापनको बारे केही योजना छ न त धूलो धुवाँ नियन्त्रणको। उनीहरुलाई त काठमाडौंमा धूलो धुँवा छ भन्ने ज्ञान समेत छैन। फुटपाथ निर्माण, खुल्ला पार्क भन्ने त परको कुरा।

मेयर-उपमेयर, एक रथका दुइ पांग्रा

नेपालको संविधानले स्थानीय निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न प्रमुख/उपप्रमुख पदमध्ये एकमा महिला हुनै पर्ने व्यवस्था गरिदियो। तर वास्तविकतामा के भैदियो भने मेयर जति पुरुषलाई, उपमेयर जति महिलालाई । हुन त साझा पार्टीमा पनि त्यस्तै भाको छ, तर एकाध ठाममा उम्मेदवारी देको पार्टी र देशभरि मान्छे उठाउने पार्टीको बाध्यता बुझिदिनुपर्छ भने नियत बिश्लेषण गर्नुपर्ने हुन्छ। जुन हिसाबले अब बन्ने स्थानीय निकायको संरचनामा उपमेयरको काम कर्तव्यहरुलाई व्याख्या गरिएको छ, त्यो हिसाबले पनि निरुपमा यादव यसको निम्ति सबैभन्दा योग्य उम्मेदवार हुन्। ससाना मुद्दा, न्यायिक कारवाहीको जिम्मा उपप्रमुखलाई तोकिएको अवस्थामा जो पायो त्यहीलाई जिताउने हो भने कुनै जमानाको जनअदातल भैहाल्यो नि। वकिल पृष्ठभूमिकि निरुपमा न्याय र सत्य निरुपणमा पनि अब्बल ठहरिनेछिन् भन्ने प्रसस्त आधार छन्।

आजको आवश्यकता, समावेशिता

हेर्नुस्, यो संसार ग्लोबल भिलेज भैसक्यो। नेपालीहरु विदेशका कुनै ससाना काउन्टी (गाउँपालिका जस्तै) मा उठे वा जिते भने चन्द्रमामै पुग्या झैं गरेर नाकमा पोरा फुलाउँछौं। उ नेपाल आउँदा बिश्व नै जितेर आएको जस्तो गरेर पत्रिकामा ठाउँ दिन्छौं। तर हाम्रो डबल स्ट्यान्डर्ड कहाँ नेर छ भने काठमाडौंको मेयर हुन रैथाने नेवार नै हुन पर्छ भनेर पुर्वाग्रह पाल्छौं। चाहे न्यूयोर्क होस् होस् वा सिड्नी होस वा दुबइ नै.. यी शहरको विकासको मुख्य तत्व नै बहुसामाजिक, बहुसांस्कृतिक अन्तर्घुलन हो।काठमाडौंमा कुन जिल्ला, कुन सम्प्रदाय वा जातजातिका मान्छे छैनन र ? यस्तोमा नेवार समुदायबाट नै मेयर हुन पर्छ भनेर भन्नु संकुचित मानसिकता हो। हामीले अब रोज्नेबेला आएको छ- सजिलोसँग सास फेरेर बाँच्नेकि समुदायको नाममा निस्सासिएर मर्ने? अझ साझा पार्टीले त उपमेयरमा मधेसी मुलकी महिलालाई उठाएको छ। केन्द्रिय राज्यसत्ताबाट मधेसीलाई सधैं बाहिरै राखियो भन्ने मधेसी सम्प्रदायको गुनासो मत्थर पार्न पनि एकपटक निरुपमा जीलाई मौका दिइनु पर्दैन र ?

सँधै हनुमानै बन्ने कि अब सम्वृद्धि हेर्ने?

काठमाडौं महानगरपालिकामा उमेदवारी दिएका अन्य मेयरका उमेदवारहरुलाई हेरौं। उनीहरुसँग न त भिजन छ न त योजना। दिनप्रतिदिन दूषित हुँदै गइरहेको काठमाडौंको हावा, दिनप्रतिदिन बढिरहेको ट्राफिक चाप, दिनप्रतिदिन साँघुरा हुँदै गएका फुटपाथ र सडकहरु- यिनको व्यवस्थापन नगर्ने हो भने काठमाडौं मृत शहर हुने निश्चितप्राय: छ। देशको राजधानी, विश्व सम्पदा सूचिमा रहेका हाम्रा धरोहर, संस्कृतिले धनी शहर, जिवन्त र सुन्दर शहरलाई जिवीत शहर बनाउन सानोतिनो कमिटमेन्ट वा हावा भाषणको कामै छैन। भन्नलाई त धेरैले स्विजरल्याण्ड, सिंगापुर बनाउँछु भनेकै हुन्। तर वास्तविकता हेरौं- मेलम्ची खानेपानी ल्याउनै हामीलाई २० वर्षभन्दा बढी लागिसक्यो। हामीसँग काठमाडौंलाई अझै २० वर्ष यस्तै अवस्थामा छोड्न सक्ने सुविधा छ? यत्रो वर्ष हामीले हनुमानै बनेर भोट हाल्यौं, व्यक्ति र एजेण्डा हाम्रा प्राथमिकतामा परेनन्। तर के अझै पनि हामी हनुमानै बनेर दास नै बनिरहने? संस्कृति र ऐतिहासिक धरोहरले भरिपूर्ण काठमाडौंलाई जिवित राख्ने कि मृत शहर बनाउने?

र अन्त्यमा,

लेखिसकेपछि पनि तपाइँलाई अझै पनि चित्त बुझेन भने एकपटक साझा पार्टीको घोषणा पत्र पनि पढ्नुस्। यो लेख पढेर हामीलाई कसैले साझा पार्टीको हनुमान ठान्नुहुन्छ भने पनि ठान्नुस्। काठमाडौंको मुहार फेर्नको लागि हनुमानको पगरी पनि सहुँला। किनकी हामीलाई सफा काठमाडौं, सुरक्षित काठमाडौं, अवसरयुक्त काठमाडौं, ऐतिहासिक काठमाडौं र हामी सबैको काठमाडौं चाहिएको छ।

 

Boston