बुढो रुखको बिलौना

हाम्रा श्रद्धेय पाठकहरुमा जदौ, म  बिचरो बुढो रुखको तर्फबाट!

हो, म बिचरो बुढो रुख- १०४ बर्षे जहानियाँ राणा शासनसँग पौँठेजोरी र सिंगौरी खेल्दै, कहिले हाँगा काटिँदै, कहिले ढाड नै गिँडिँदै फेरि उठ्दै, हावा, हुरी र चट्टान खेप्दै आएको म बुढो रुख। बिपी, किसुनजी, गणेशमान, सुवर्णशमसेरहरुले रोपेर उमारेको म रुख। पानी पाएर हल्का पालुवा लाग्न नपाउँदै जरा खनिनुपर्ने नियति भोगेर पनि ठिंग उभिएरहेको म रुख। कहिले महाराजा त कहिले महाराणा, कहिले महाआतंकमा पनि ठिंग उभिएको, हो म बिचरो त्यही बुढो रुख। यस्तो रुखमा अहिले कस्ता कस्ता किराको बास छ भनेर अब चर्चा गरौं है त।

फोटो क्रेडिट: नयाँलुक डट कम

भक्कानिएर आउँछ सम्झेर ल्याउँदा मेरो बालापनमा मैले खेपेका कष्ट, हुण्डरी, कठ्याङ्ग्रिगो जाडोमा खाली खुट्टा, नाँगो आङ् ती पाखा र गाउँबस्ती घुमेको। हरेक नेपालीको एउटा सानो झुपडी होस्, गोठमा एउटा गाई होस् भन्दै अर्काको खुकुरी र झिरका ताता खोपाइहरु खेप्दै आफ्नो डाँठमा प्वाल पार्दै खेतका आलीआली घुमेको। धमिराले फेदमा घर बनाउँदा पनि, चराले ठुँगेर प्वालैप्वाल बनाउँदा पनि आफूलाई ठिंग उभ्याउँदै आएको म बुढो रुख। कहिले देशैभित्रका कालकठोरीमा थुनिएर, कहिले देशबाहिर निर्वासित भएर पनि नहडबडाइ सँधै अग्र मोर्चामा ठिंग उभिएको, हो म बिचरो त्यही बुढो रुख। तर बाजेले घ्यू खाएका थिए मेरा हात सुँघ् त भनेर नहुने, उहिलेका बाजेले खाएको घ्यू अहिलेका बाजेहरुले घुँडामुनीबाट छल्छल् बगाइसके र पुरै लुथ्रुक्क परेको अवस्थामा पुर्‍याएका छन्।

हो, म त्यो बिचरो बुढो रुख- जो आज आफ्नै फेदमा टोड्को खोपेर बसेकाहरुले लगाएको आगोमा जलिरहेको छु। खुमबहादुर, गोविन्दराज, चिरन्जिवी, जेपी, विजयकुमारजस्ता मेरो छहारीमा बसेर मेरै फल टिपेर पेट भरेर, मेरै हाँगा छिमलेर बेचेर, मेरै हाँगाको निदाल र सरा हालेर घर ठड्याएर मेरै फेदमा विष्ट्याइरहेकाहरुलाई टुलुटुलु हेरिरहेको म बिचरो बुढो रुख। सिंहदरबारभित्रको कालकोठरीमा, हग्ने र खाने ठाउँसमेत अलग नपाएर पनि नलडेको, सोलुखुम्बुको जंगलमा अन्धाधुन्ध चलेका गोली र बारुदले पनि उँडाउन नसकेको, हो म बिचरो त्यो बुढो रुख। कति बिडम्बना हेर्नुस् त, कोइरालाहरुको विरासतले धानेको रुखको इज्जत कोइरालालाई लाखा पाखा लाएर कहाँ उ पर सुदूर पश्चिमका मान्छेले फडानी गर्दिए। खान्दान भन्या खान्दान नै हुने र’च हेर्नुस्, जे भए पनि विरासत भन्या विरासत नै हुने र’च। कोइरालाहर्लाई जति रुखको मुयाँ अरुलाई नहुने र’च।

भर्खरै देशमा सम्पन्न भएको निर्वाचन परिणामले नि देखायो, ‘बा’दुर लोग’ले मेरो इज्जत जोगाउन सक्तैनन् र’चन्। म सुनिरहेको छु- कोही भनिरहेका छन्, म अब बुढो भएँ, म अब ढल्छु। कोही भनिरहेका छन्, मेरा पातहरु झरेका हुन्, म फेरि पलाउँछु। कोही भनिरहेका छन्, अब मेरा हाँगा छिमल्नुपर्छ र नयाँ हाँगा पलाउन दिनुपर्छ। म सुनिरहेछु, म हेरिरहेछु यी सबै बिना प्रतिक्रिया, चुपचाप, नेपथ्यमा। टाढा टाढा क्षितिजमा हेर्छु र टोलाइरहन्छु- कतिबेला बेहोश हुन्छु र कतिखेर बौरिन्छु पनि थाहा पाउँदिन्। बौरिन्दा फेरि कताकता सुन्छु- मेरो हाँगामा गुँड बनाएर बसिरहेकाहरु जरा खन्दैछन् रे। विरक्तिन्छु र फेरि बेहोश हुन्छु। कैयौं दिनदेखि मेरो दिनचर्या यस्तै छ। खान्दान कै कुरा गर्दा श्रीमती सभापतिका कुरा गर्छन् कति मान्छे। हो, श्रीमती सभापतिको खान्दान त कडै हो तर दुश्मन खान्दान परो। कांग्रेस अहिलेको अवस्थामा पुग्नुमा खासमा गिर्जाउको हात छ। उनले बा’दुर सभापतिसँग राणाकी छोरीको ब्या नगराइदेका भए आज कांग्रेसको यो दुर्दशा हुन्थेन।

शेरबहादुर, रामचन्द्र, बालकृष्ण, महेश, अर्जुन, रामशरण, शेखर… मेरो हाँगाको गुँडमा बस्नेहरुको नाम मात्र पढ्यो भने अयोध्याका राजा रामको याद झलझल आउँछ। तर नामले मात्र नहुने रहेछ। म त्यही रुख हुँ, जो देशमा आएका अनेक बाढीहरुमा पनि निर्भिक, निडर भएर आफ्नो शीरलाई उँचो पारेर ठडिएँ। तर अहिले म निथ्रुक्क छु। ती तनहुँतिरका एउटा पण्डित छन्, ख्याँर ख्याँर गरेर बोल्ने। बेलाबेला तै रुद्री पाठ गरेर प्राण भर्छु झैं गर्छन्। लास्टाँ उही रुद्रीका अक्षर फड्कार्न नसकेर आफै दमको रोगी झैं ठसठस गर्छन्। यीनले के पार लगाउलान्।

म घामपानी, हुरी, हुण्डरी, अनिकाल, अनिष्ट जतिसुकैबेला पनि आफूले सबै सहेर पनि अरुलाई शितलता प्रदान गर्न लागिरहेँ। विराटनगरबाट पूर्व ३ नम्बर हुँदै मेरा जन्मदाता बिपीको काठमाडौंको जेलसम्मको यात्राका क्रममा खेतमा, बारीमा, पाखामा भेटिएका ती मैलो, कटकटिएको, फाटेको कमिज, टु्प्पी र निदारमा प्वाल परेको टोपी, जिङ्रिङ्ग परेको अनुहारमा देखिएको आशा, भरोशा, विश्वास सब आज माटो भएको छ। म त्यही कुनै एउटा पहाडको ढुंगैढुंगे बाटोको एउटा चौतारोमा पात पहेलिँदै गएको वरको रुखको फेदमा बसेर टोलाइरहेको छु।

परपरबाट एकजना किसान हातमा एउटा लौरोको सहारामा थरथर गर्दै म टोलाइरहेको चौतारोतिर आउँदैछन्। उनी म छेवैमा आएर टुसुक्क बस्छन्। टन्टलापुर घामले उनको अनुहारबाट पसिना बगिरहेका छन्। कम्मरको पटुकीमा सिउरेको हँसिया फ्यात्त चौताराको ढुंगामा फाल्दै उनी आफ्नो धुजे टोपी फुकालेर पसिना पुछ्दै माथितिर हेर्छन् र सुस्केरा हाल्छन्- कस्तो सासै लाने घाम लागेको। खै, यो वरको रुख पनि मर्छ कि के हो यो साल त। उनी वरको रुखतिर हेर्छन्- ‘हेर, यो ज्यानमारा ऐँजेरु। यही ऐँजुरेले नै यो रुखलाई मास्ने भयो। कसैलाई ऐँजुरु फाल्ने जाँगरै छैन।’

म ती वृद्ध किसानले भनेको ऐँजुरुलाई नियाल्छु, वरका हरेक हाँगामा मात्र हैन त्यो बिस्तारै फेदतिर सरिरहेको छ।अझ नियालेर हेर्छु, ऐँजेरुको बीचबीचमा एकादुई साना साना हाँगाहरु हरियो छर्न खोजिरहेका देखिन्छन्। तर ती हाँगाहरुको हरियोपनलाई ऐेँजेरुको हरियोले ढपक्कै ढाकेको छ। केही टपर्टुय्येँहरु भनिरहेका छन्, अब कांग्रेसको गगनमा राजहरु आउने छन्, धन बर्षा गर्ने छन् र विश्वमा प्रकाश छर्नेछन्। सुनेरै हाँसो थाम्न सक्दिनँ म। यिनीहरु बर्खाको मेघको गर्जन पनि हुन सक्दैनन्। एकछिन गुडुङ्ग गर्छन्, मुहानबाट सबैलाई बगाउँला झैं गरेर उर्लिन्छन्। अलि तल्तिर आइपुगेपछि देख्छन् पहाड र चट्टानहरु र छिर्छन् त्यहिँ कतै ढाँडमा र हराउँछन्। अब हामी हस्तक्षेप गर्छौं भन्छन् अनि सभापतिभन्दा तीनतहको सानो कुनै धुपौरेले पाद्ने बित्तिकै भागा रे भाग गर्छन्।

मेरो फेदमा ओत लागेर, मेरै बलिष्ठ शरीरको धाक दिएर मलाई हुर्काउँछु भन्नेहरु, मलाई जोगाउँछु भन्नेहरु नै देश विदेशबाट ऐंजेरुका बीउहरु आयात गरिरहेका छन्, बेर्ना उमारिरहेका छन् र ऐँजेरुलाई नै हुर्काइरहेछन् र भन्छन्- अब हामी यो रुखलाई जिवन दिन्छौं। ऐँजेरुको बीउ छरेर, ऐेँजेरुको बेर्ना उमारेर कुन रुखलाई बचाउने हुन्? सम्झेरै कहालिन्छु म।२० बर्ष अघिदेखि रोपिएको ऐँजेरु फैलिँदै फैलिँदै फेदसम्म पुगिसक्यो। मेरो ढाडमा प्वाल पारेर ऐंजेरुको बीऊ छर्दा मलाई कति पीडा भयो भन्ने म कसरी बर्णन गरौं।

बाल्यकालमै हो, ढाडमा चक्कुले काटेर नुन चुक दलेको, त्यो सहेरै बाँचेको हुँ म। त्योबेला पनि पीडा त जर्जर नै थियो तर अरुले दिएको पीडाभन्दा आफ्नैले दिएको पीडाले बढी पोल्दोरहेछ। दुश्मनसँग त लड्न सकेँ म, किनकि यसमा मेरो अनुभव पनि थियो, बाल्यकालदेखि बयश्क हुँदासम्म दुश्मनसँगै लडेर आएँ। तर घरकै मान्छेसँग लड्न गाह्रो हुँदोरहेछ। घामपानी, हावा हुरीसँग लड्न त पहिला आफ्नो फेद, हाँगा बलियो हुनुपर्छ। तर म त आफै ऐँजेरुसँग लड्नु परिरहेछ। जन्मिँदै दु:ख साथमै बोकेर आएको म बुढो कतिन्जेल ऐँजेरु बोकेर बाँच्छु, हेर्दै जाम्।