तर्क, वितर्क र कूतर्क

आजकाल धेरैजसो बहसहरू हेर्दा, सुन्दा, पढ्दा के महशुस हुन्छ भने केही बहसकर्ताहरू स्पष्ट रुपमा कूतर्कहरूलाई आधार बनाएर बहस गर्छन। चाहे ति ट्विटरका हुन् वा टेलिभिजनका हुन वा छापाका नै किन नहुन्। यो कस्तो कुरा हो? के आधारमा यो मानिसले यस्तो कुरा गरिरहेको छ? के यो सत्यकुरा हो? के यो मानिसले बिषयबस्तुको महत्वपूर्ण पाटाहरूलाई समेटेको छ? जस्ता प्रश्नहरूको उत्तर खोज्ने क्रममा केही मानिसहरू सरासर कूतर्क गर्दैछन् भन्ने भान पर्न थालेको छ। मलाइ परेको यो भानका बारे यो लेखमा उल्लेख गर्ने जमर्को गरेको छु। यो लेखले समसामयिक कुरामाथि चर्चा गर्दै तर्क र कूतर्कको बारेमा बताउनेछ। आउनुहोस् केही सामान्य कूतर्कहरूका बारेमा केहि चर्चा गरौं:

व्यक्तिगत कटाक्ष

यसले प्रमाण वा तर्कको वैधताको सट्टा तर्कलाई अगाडि बढाउने व्यक्ति प्रति गरिने कुनै पनि आक्रमणलाई बुझाउँछ। उदाहरणहरू: “मलाई गगन फिटिक्कै मन पर्दैन, त्यसको कुराहरू आलु हुन्” भन्छ भने बहसकर्ता कूतर्क गरिरहेको छ। “त्यो अर्को पार्टीको हनुमान्  वा कट्प्पा  हो, जहिले मुर्ख कुरा गर्छ!,” भन्नु पनि त्यस्तै कूतर्क हो। चित्रमा अर्को उदाहरण:

यसमा लेखकले तिमी जस्तो मानिसले यस्तो प्रश्न उठाउने भन्दै प्रश्न सोध्ने महिला व्यक्तिगत लान्छना लगाएका छन्।

आत्मकेन्द्रित दम्भ

सामाजिक संजाल तथा टिभीका अन्तर्वार्ताहरूमा हुने अधिकांश बुध्दिबिलासी बहसहरू हुन् वा पत्रपत्रिकामा पढ्न पाइने लामा-लामा लेखहरू, आजकाल यस्तो लाग्छ कि, कतिपय बहसकर्ता वा बिचारकहरू “मैले जे वाक्दे पनि हुन्छ, पत्याईदिने जमात छदैछ! म नै यो संसारको मियो हुँ, यदि म नै हुन्थिन भने कसरी यो संसार चल्थ्यो होला र?” भन्ने किसिमको दम्भ बोकेका हुन्छन् ।यस्तै स्वनामधन्य बौद्धिकहरु हाम्रा समाज तथा सामाजिक संजालमा ‘अपिनियन मेकर’ बन्न खोज्छन्, जसलाई तार्किक हिसाबमा राम्रो मान्न सकिदैन। “मेरा धारणाहरू नै तथ्य हुन्, मेरा विश्लेषणहरू यस्ता त्रिकालदर्शी हुन्छन् कि बिदुरले धृतराष्ट्रलाई गरेको महाभारतको बयान त के हो र!” जस्तो मानसिकता बोकेर आफ्नै वा चिनजानको मित्रको मिडिया कारखानामा छापिएर आएका लेखहरू हुन् वा “हामीलाई पनि प्रश्न सोध्ने हो? कहीँ नभका छुच्चाहरू!!” जस्ता लेखहरूले यस्तो “म” केन्द्रित दम्भलाई उजागर गर्छ। तलको भिडियोमा एउटा उदाहरण हेर्नुहोस् ।

सम्भावनाहरुलाई नकार्नु

हुनसक्ने सम्भावनाहरूलाई खारेज गरि हतारमा कपोलकल्पित निष्कर्श निकालेर कोही वादविवाद गर्दैछन् भने तिनीहरू कूतर्क गरिरहेका हुनसक्छन्। यस्तो तर्क अत्यन्तै अप्रगतिशिल हुन्छ। सालोक्यले निर्मला पन्तको घटनामा यस्ता कूतर्कहरुको राम्रै शल्यक्रिया गरिसकेकाछन्। एउटा उदाहरण तलको चित्रमा:

यहाँ लेखकले “निज”को विवेक,नै‌तिकता र इमानमा प्रश्न उठाएका छन्। निजको विवेक, नै‌तिकता र इमानसम्म पुग्नुभन्दा पहिले कतै निज चिप्लिएर लडेर हिँड्न नसक्ने भएको हो कि वा अचानक बिरामी भएर हिँड्न नसकेको हो भन्ने प्रकारका प्रश्न सोधिनु आवश्यक थियो। यो लेखनीमा अरु पनि कमजोरीहरू छन्।

अर्को उदाहरण साझा यातायातमा बसको सहचालकले टिकट दिंदैन। त्यहीभएर साझा घाटामा गएको हो भन्ने तर्कले पनि अन्य सम्भावनाहरुलाई नकार्छ। यो एउटा कारण हुनसक्छ तर साझा घाटामा गएको निष्कर्श निकालिहाल्न मिल्ने तर्क यो होइन।

अज्ञानतामा आधारित कूतर्क

यो कूतर्क बुझ्न सजिलो छ। उदाहरणकोलागि, एउटा बहसमा एउटा पक्षले ३ प्रतिशत वा त्यो भन्दा धेरै ग्राडिएन्टमा रेल चलाउने प्रविधि आइसक्यो, रेल चल्न सक्छ भनेर तर्क गरे। अर्को पक्षले ३ प्रतिशतको उकालो चढाउन सक्दै-नसकिने भनेर अर्को तर्क गरे। यी दुई पक्षमध्ये एकपक्षले स्पष्टरुपमा निजको अज्ञानतामा आधारित कूतर्क गरिरहेको देखिन्छ।

https://www.youtube.com/watch?v=5-nxTtxUoQQ&feature=youtu.be&t=2670
प्ले बटन थिच्नु होला । हामीले सुनाउन खोजेको कुरा १ मिनेटको पनि छैन । थप हेर्न मन भए आफ्नै रिस्कमा हेर्नु होला ।

अर्को महत्वपूर्ण उदाहरण: जमराको जुसले हानी गर्छ भनेर प्रमाणित भइसकेको छैन, त्यसैले जमराको जुस अत्यन्तै स्वास्थ्यकर छ भन्ने प्रकारको तर्क पनि कूतर्क हो।

हो मा हो मिलाएर गरिने तर्क

हो मा हो मिलाएर गरिने तर्क पनि कूतर्क हुनसक्छ। जस्तै, “हाम्रा प्रमुख नेताले मास्क लगाउनुपर्ने प्रदुषण नरहेको भनिसके, त्यही भएर अब शहरमा प्रदुषण निकै कम भएको छ।” अलिअगाडि देख्न पाइएको अर्को लहर, “बजारका नामचलेका सम्पादकगणले विज्ञप्तिनै निकालेर ‘मुकेस’ लाई एकदम राम्रो व्यक्ति भनेर घोषणा गरिसके, ‘मुकेस’ भन्ने मन्छे खतरै राम्रो हुनुपर्छ, यार!” यी दुवै उस्तै प्रकारका कूतर्क हुन्। अथवा, “समाज”मा पर्न तपाईंले गर्नुहुने धेरैजसो कृयाकलापहरू पनि यस्तै कूतर्कको उपज हुनसक्छन्।

आधारहिन वा भावनात्मक दावी र हठी दाबी

तर्क गर्दा तपाईं आफूले गरेको दाबीको बलियो समर्थन गर्न सक्नुहुन्न र एउटै दाबी पटक-पटक दोहोर्‍याइरहनु हुन्छ भने तपाईं कूतर्क गर्दै हुनुहुन्छ। जस्तै, कसैले तपाईंलाई एउटा “जिन्दगीनै परिवर्तन गराइदिने किताब” किन्न कर गर्दै भन्छ, ‘यदि यो किताब किन्नुभएन भने तपाईंको भाविपुस्ताले धिक्कार्नेछन्।” सम्झिनुस् यो मान्छेले कूतर्क गर्दै छ ।

रुढिवादी धारणाबाट प्रेरित

यदि तपाईंको तर्कहरू रूढिवादी धारणाबाट प्रेरित छन् भने तपाईं कूतर्क गरिरहनुभएको हुनसक्छ। उदाहरणको लागि, यदि तपाईंको लागि सद्‍गुरू प्रकाण्ड दार्शनिक हुन् र तपाईं सद्‌गुरुले भनेजस्तै आँखाले हेरेर नै पानीको आणविक रुप परिवर्तन गराउन सकिन्छ भन्नुहुन्छ भने त्यो कूतर्क हो। यस्तो कूतर्क यतिसम्म खराब हुन्छ कि, तपाईं आफ्नो तर्कमा विश्वास पनि मिसाउनुहुन्छ र विपक्षीको तर्कको गहिराई समेत मापन गर्न सक्नुहुन्नँ।

लघुआयामिक तर्क

धेरै जसो लघुआयामिक तर्कहरूलाई कूतर्कको रुपमा लिन सकिन्छ। छोराहरू फटाहा हुन्छन् तर छोरीहरूले बुढेसकालमा आमाबुवालाई माया गर्छन् जस्ता कूतर्कहरू लघुआयामिक तर्कहरू हुन्। त्यस्तै, बिपी वा भूतपूर्व राजा महेन्द्र देशलाई तहसनहस पारे भनेर बुरुक् बुरुक् उफ्रिएर बहस गर्दै हुनुहुन्छ भने तपाईंले उनीहरूका केही राम्रा आयामहरुलाई नजरअन्दाज गर्दै हुनुहुन्छ। बहसकर्ताले यदि कुनैपनि बिषयको ब्ल्याक‍-एण्ड-ह्वाईट आयाम भित्र रहेर तर्क गर्छन् भने त्योभन्दा बाहिरको आयामहरुलाई पूर्णरुपमा बेवास्ता गर्छन्।

भावनात्माक अत्याचार

जब दाबीको वैधता वा सत्यता निर्धारण गर्न तर्क गरिन्छ, प्रमाण र आधारको गुणस्तरको प्रयोग भन्दापनि  भावनाको माध्यमले तर्क स्थापित गर्ने कुनै पनि प्रयासलाई भावनात्माक अत्याचार  मान्न सकिन्छ। तलको भिडियो ब्लगमा अमितजीले राम्रो मुद्दाको उठान गर्नुभएको छ तर उहाँको तर्कमा अत्याधिक भावना लत्पतिएको छ र तर्क कमजोर बनेको छ।

https://www.youtube.com/watch?v=9vQovesznzs

अत्याधिक सामान्यिकरण, गलत सुचनाको प्रवाह

अत्याधिक सामान्यिकरण र गलत सुचनाको प्रवाह आदि पनि कूतर्कका रुपहरू हुन्। मेरो क्षेत्रका चारै जना मेयर फटाहा छन् यो देशैभरिका मेयरहरु चोरै-चोर छन् भन्ने प्रकारको तर्क पनि  अत्याधिक सामान्यिकरण गरिएका कूतर्क हुन्। अर्को उदाहरण भिडियो मा:

https://www.youtube.com/watch?v=MZy1KFZZLao&feature=youtu.be&t=74
प्ले बटन थिच्नु होला । हामीले सुनाउन खोजेको कुरा १ मिनेटको पनि छैन ।

विपक्षीको कमजोर पक्ष (जस्तै कुनै अपवाद)मा ताकेर

विपक्षीका कमजोर पक्ष (जस्तै कुनै अपवाद)मा ताकेर तर्क गर्नु पनि कूतर्क हो। उदाहरणकोलागि, एक विद्यालयका सम्पूर्ण छात्रछात्रामध्ये एकजना अपराधमा सामेल भएको पाइएको अवस्थामा  “त्यो विद्यालयको उत्पादनमा शंका गर्नुपर्छ” भन्नु बलियो तर्क होइन।

Leave a Comment

Your email address will not be published.

माइन्ड नगर्नुस है स्पाम कमेन्ट ले हैरान भैयो - टुच्च क्याप्चा *

Frank