कनकमणि भर्सेस लोकमान कि राणा भर्सेस शाह

sc

अहिलेको ‘हट केक’ अर्थात् अख्तियारले साझाका अध्यक्षका रुपमा कनकमणि दीक्षितलाई पक्राउ गरेर अनुसन्धान थालेको बिषय। यसमा स्पस्ट दुई धार देखिएको छ बजारमा- एकथरी अख्तियारले ठीक गर्‍यो भनिरहेका छन्। उनीहरुको तर्क छ, अख्तियारले जोसुकैमाथि अनुसन्धान गर्न पाउँछ। यो वर्गमा माओवादी र दीक्षित विरोधीहरु पर्छन्। अर्काथरी छन्, जो कनकमणिमाथिको अनुसन्धान गैरकानुनी, अख्तियार प्रमुखको बदलाको भावना भनिरहेका छन् र यो वर्गमा खासगरी वरिष्ठ मिडियाकर्मीदेखि आफूलाई लोकतन्त्रका हिमायती ठान्नेहरुको लाइन छ। यस्तोमा १२ थरी मात्रै चुप बस्ने कुरा पनि भएन। १२ थरीलाई लाग्छ, यो बिषय अख्तियार र साझाका अध्यक्षको बीचको बिषय नै होइन, यो त राणा र शाहबीचको द्वन्द्व हो, जुन पुस्तौंदेखि चलिरहेको छ। आउनुस् अख्तियार र कनकमणिको जुहारीलाई १२ सत्ताइस् विश्लेषण गरौं।

सबैभन्दा पहिला, लोकमान र कनकमणि दुवै “बक्सिस”को सम्पत्ति पाएर धनी भएका व्यक्ति हुन् भनेर त भन्नु नपर्ला।  वैसे बक्सिसको सम्पति भनेर ओठ लेप्राउनुलाई पनि १२थरी ब्युरो उचित मान्दैन। थोडा कसैले चाहँदैमा वा मन गर्दैमा पाइने हो र ?  होटलमा पनि वेटर (हेर्नुस् – नेपालमा वेट्रेसहरुले सर्भ गर्ने सिति मिति रेष्टुराँमा १२थरीका टिप्पणीकारहरुले पाईलो टेक्दैनन् 😉 ) ले टिप्स पाउनको लागि राम्रो र समयमा अर्डर सर्भ गर्नु पर्छ । लोकमानका बाबु भूपालमानसिंह कार्कीले राजाबाट मौजाका मौजा जग्गा बक्सिस पाउँथे रे। यी राजाका भक्त, कृष्णप्रणामीहरु कृष्ण भगवानलाई नै सर्वेसर्वा मान्छन् नि, ठ्याक्कै त्यस्तै भूपालमानसिंह कार्की र यी लोकमान पनि। अर्कातिर कनकमणि, उनका बाउ बाजेले मदन शमसेर र उनकी रानी जगदम्बाको पुरै सम्पत्ति बक्सिसमा पाएका। राणा र शाहको टक्कर त उहिल्यैदेखिकै हो। यो अहिलेको अख्तियार प्रमुख र कनकमणिको टक्कर पनि त्यसकै शिलशीला मात्र हो।

सामान्य रुपमा हेर्ने हो भने पनि कनकमणि र लोकमानमा ठूलो फरक देखिन्छ। लोकमान साह्रै भाग्यमानी, बाउबाजेकै पालादेखि बक्सिस पाउँदै आएका मान्छे। जागिर पनि बक्सिसकै रुपमा पाए। राजाको चाकरी, ज्यू, हजुरी गरेर पाएको जागिरको माथिल्लो तहमा पुगे र आफूलाई राजा नै ठान्न थाले। अर्कातिर कनकमणि- सानैदेखि राम्रो स्कूल पढे, पैसाको कमी थिएन, अमेरिका पुगेर राम्रै विश्वविद्यालयबाट डिग्री पाए र युएनजस्तो संस्थामा जागिर पनि पाए। यी दुईमा फरक के भयो भने, एउटा चाकरीको योग्यताले जागिर खाने अर्का आफ्नो क्षमता देखाएर जागिर खाने। यी दुवैमा एकअर्काप्रति को इगोले यति ठूलो ठाउँ लियो कि नेपालको कानुन दैवले जानुन् भन्दै जसले सक्छ गोद्ने नितीमा देखिए।

लोकमानलाई दीक्षितसँगको इगो पनि व्यक्तिगत तवरमा पुग्नुको कारण लोकमान अख्तियार प्रमुख हुँदा गरेको विरोध मात्र हो भनेर विश्लेषण गर्दा त्यो पुर्णत अपुरो हुन्छ। किनकी यो अहिलेको मात्र वा छोराको पालाको मात्र टक्कर हुँदै होइन। राणाहरु आफूलाई अझैसम्म पनि राजा नै ठान्छन्, पशुपतिशमशेरलाई हेर्नुस् न। अनि दीक्षितमा त्यो राणाको बानी ठ्याक्कै सरेको छ, मदनशमशेर र रानी जगदम्बाबाट। लोकमान त राजाको खुट्टा समातेर यहाँसम्म पुगेका मान्छे आफूलाई राजा ठान्ने नै भए। जसरी राणाहरुले शाहलाई गन्दैनथे, ठ्याक्कै दीक्षितले पनि शाहलाई मान्दैनन्, अब त्यो शाहको पुच्छरलाई त गन्ने कुरै भएन।

देशमा राजाकै शासन हुँदा पनि दीक्षितहरुले आफूलाई राजा नै ठान्थे। रहन सहन, शैली सबै।

लोकमानलाई सँधै राजा चाहिने, उनलाई फाइदा हुन्छ नि त ज्यू हजुरी गरेर जहिल्यै शक्तिमा भइन्छ। यी कति भाग्यमानी भने, राजा फाल्न संघर्ष गरेका प्रचन्डका पनि यी प्यारा भइदिए। कोरीका पाउ मोल्ने भन्छन् नि, त्यस्तै। प्रचन्डले पनि लौ कोरीका पाउ मोलेर भए पनि जोगिऊँ भने, लोकमानले पनि कोरीकै पाउ मोलेर भएपनि शक्तिमा बसौं भने। उता दीक्षित, सँधैका प्रतिपक्ष। राजा पनि भएन, गणतन्त्र आयो तर लोकमान भएन। अनि भन्छन् नि, दुश्मनको दुश्मन आफ्नो दोस्त। प्रचण्ड र लोकमानको दोस्ती भएर लोकमान अख्तियारमा आए। प्रचण्ड वा माओवादीकै भनौं न, सबैभन्दा ठूलो वर्गिय दुश्मन नै राजा र दीक्षित। कुरो र्‍याङ का ठ्याङ।

अझै गहिरिएर हेरौं। राजा र राणाबाटै सुरु भएको टक्कर कालान्तरमा व्यक्तिगत भयो। कसरी? लोकमानलाई दीक्षितसँग किन यति धेरै इगो?

दीक्षितले आफूसँग सम्पत्ति भएपनि त्यसमै रमाएर बसेनन्, आफूलाई अब्बल बनाउँदै लगे। के मा हात हालेनन्? जताततै दीक्षितै दीक्षित। नेपालको टप स्कूल कस्को? रातो बंगला हेर्नुस्। नेपालमा टप प्रिन्टिङ प्रेस कसको? जगदम्बा प्रेस हेर्नुस्। नेपालको एउटा इज्जतिलो प्रकाशन कस्को? जगदम्बा प्रकासन हेर्नुस्। राम्रो रेस्टुराँ कस्को? ढोकैमा क्याफे हेर्नुस्। नेपालको साहित्यको सबैभन्दा इज्जतिलो र प्रतिष्ठित पुरस्कार कुन? मदन पुरस्कार र जगदम्बाश्री हेर्नुस्। हिमाल खबरपत्रिका, नेपाली टाइम्स, हिमाल साउथ एशियन, पानस मिडिया, हिमाल किताब, काठमाडौं माउन्टेन फिल्म फेस्टिबल। सबै हेर्नुस्, दीक्षितै दीक्षित। नेपालको नाम चलेको पुस्तकालय- मदन पुरस्कार पुस्तकालय, दीक्षितै जोडिन्छन्।

लोकमानले बक्सिसमा सम्पति पनि पाए, पद पनि पाए तर उनीसँग त्यही पद र सम्पत्ति मात्र भयो, त्योबाहेक उनीसँग देखाउन केही बाँकी छैन। एउटा भूपालमानसिंह पुरस्कार छ, त्यो पनि कौन पुछे खेसडीको दाल। लोकमानलाई आफू हिङ नै हुँ भन्ने भ्रम पनि छँदैछ। उनी जोसुकै सरकारमा आओस्, त्यसको “तलुवा चाटेर भन्छन नि त्यही स्टाईल” मा भएपनि चाहेको पद हत्याउन सक्ने खुबी भएका व्यक्ति हुन्। यो उनको बाजेका पालादेखि विशेषता हो। यता दीक्षित पढाइबाट आफूलाई क्षमतावान बनाउने, यो पनि पुर्ख्यौली हो।

अनि यी अख्तियारका प्रवक्ता छन् श्रीमान् खै के पुष्कर हुन् कुन्नि। यीनले लोकमानलाई राजा र अरु सबैलाई रैति मान्छन्। लोकमानले पादे भने यी भन्छन्, वाह साहेब, कस्तो दाम्मी वासना आएको। अर्काथरी छन् दीक्षितको खेमामा, तिनीहरु पनि उही ड्याङका।

जाँदाजाँदै, अख्तियार प्रमुख र कनकमणिको टक्करमा प्रेस स्वतन्त्रता हननको कुरा जोडतोडले आएको छ। पत्रकार महासंघ पनि विज्ञप्ति निकालिरहेको छ। बोल्नेको पीठो बिकेको त देखेकै हो तर कालो कोदोको पीठोलाई चामलको पीठो भनेर बेच्दा पनि सही हजुर सही गरेर पछि लाग्ने देख्दा त तुरुक्कै आँशु चुहिने र’च घुँडा’ट। यी पत्रकारका वकिल वा वकिल पत्रकारहरु वा वरिष्ठ पत्रकारहरु या त स्वाँठ हुन् या त चाक मोलेका हुन् दीक्षितको। नत्र कि खुलेर लेख, कनकमणि पत्रकार हुन्, साझाका अध्यक्ष हैनन्। नत्र पत्रकारले कसैको हत्या गर्‍यो भने उसलाई पक्रिँदा कसरी प्रेस स्वतन्त्रता हनन् हुन्छ भन्दिनुस् त महाराज।

यस प्रकरणमा १२थरी ब्युरोको धारणा

हाम्लाई बाल नै भएन। हाम्रो सिधा हिसाब छ। शक्तिशालीहरुलाई चेक एण्ड ब्यालेन्स गर्नुपर्छ।  यस हिसाबले भन्दा हामी यो लोकमान र दिक्षीत काण्डले फरक फरक पात्रको रुपमा निरन्तरता पाई रहोस भन्ने चाहन्छौँ।  चिकित्सा , प्रविधि , व्यापार, मिडिया जुनसुकै क्षेत्रका दिक्षितहरुलाई लोकमानहरुले यसरी नै खेदिरहुन् ता कि दिक्षीतहरुलाई पनि कसैको डर होस् वा भनौं लोकमान जस्ता जुन संस्थाले भ्रष्ट्रचारी हो भने नसियत दिएको हो त्यही संस्था हाँक्न साम दाम दण्ड भेदको प्रयो गर्ने नब धनाढ्यहरु विरुद्द दीक्षितहरु डटेर लडुन्। पाप गरेको भए धुरीबाट कराउन पाओस्। तर असत्यले नजितोस्।  नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने बृहद नेपाली शब्दकोषमा “नैतिकता,  सत्य” जस्ता शब्दहरुको परिभाषा नफेरियोस्। यस्ता काण्डाहरु नेपालमा भैरहुन ।

र सबभन्दा मुख्य कुरा – राज्यले नागरिकलाई विस्वस्त बनाउन गठन गर्ने आयोगले दोषी ठम्याएका व्यक्तिहरुलाई कि दण्डित गर्नुपर्‌यो कि त्यस्तो प्रतिवेदन तयार गर्नेहरुलाई नै उल्टै दोषी करार गर्नु पर्यो नत्र यस्ता घटनाहरुमा के ठिक के बेठिक भनेर चौवन्नी अट्ठनीले सोच्न सक्ने कुरा रहँदैन।  लोकमान प्रकरण यस्तो कन्फ्युज स्टोरिको एउटा प्लट हो। केही बुझ्न सकिन्नँ।

One thought on “कनकमणि भर्सेस लोकमान कि राणा भर्सेस शाह

  1. Dixit relentlessly pushed to expose Indian blockade and tried to internationalize it. The southern bully hated it. They tried to silence him using their puppets in the political parties. Being the incompetent that the party “leaders” are, Dixit didn’t give a hoot to their cajoling. So the southern bully pulled out their well-fed pet – Karki family. This Karki and his daddy have been trusted informants to the southern masters, and hence they have been riding well multiple high positions across multiple regimes, despite open corruption history. Karki didn’t disappoint and delivered to his masters – Dixit is shaken up and punished. Hell with the rule of law or ways of the land. Now the southern bully is happy that no one will dare to speak out internationally against them from their tiny bahadur ‘hood.

Comments are closed.

Boston