१२ सत्ताइस जँड्याहाहरु

IMG_7750जँड्याहा भन्ने बित्तिकै जाँड धोक्नेलाई बुझिन्छ भनेर हामीले तपाइँलाई भन्नुपर्ने हो भने यो पोस्ट नपढ्नुस्। १ थोपा पिओस् या १ ग्यालेन, जाँड भन्या जाँड हो, खाए’सी खायो खायो। म अरु जस्तो जँड्याहा हैन भन्ने मान्छे र म अरु जस्तो हैन भन्ने केटीमा हाम्रो १२ थरी ब्युरोले केही फरक देख्दैन। हाम्रो समाजका हामीले विभिन्न खाले जाँड खाने मान्छे देखेका छौँ। यहाँ हामीले जाँडको प्रभावले ब्यक्तिहरुमा कस्तो चरित्र विकाश गर्छ त भन्ने बारेमा छलफल गर्न चाहन्छौँ।

यो जाँड भन्ने पदार्थ कस्तो छ भन्नुन्छ भन्दा थोरै खाएर लाग्दैन, धेरै खायो.. भोलिसम्म छाड्दैन। 😂

बिहान फ्रेस उठ्दा त दारु कहिल्यै खान्न भन्ने जस्तो हुन्छ नि…. खै के हुन्छ कुन्नि, साँझ परेपछि घाँटी खस्खसाउँछ र पो !! यसको मतलब हामीले यो लेख्दा जाँड खाएका थियौं भन्ने चाहिँ पटक्कै हैन।

हर्षबहादुर

यी यस्ता खालका जँड्याहा हुन् जस्को मुखमा रौसीको एक थोपा परेपछि यी एकाएक खुसी हुन थाल्छन्। जे भने नि हाँस्ने, रमाउने, नाच भने नाच्दिने जे भन्यो त्यही गर्दिने। एकदमै रमाइला प्रवृतिका जँड्याहा हुन् यिनीहरु। यिनीहरुसँग बसेर जाँड खान पाउनु भनेको एकदमै सौभाग्यशाली हुनु हो। यिनीहरु त्यो कुरकुरे बैँश चढेका किशोर किशोरी जस्तो कुकुरको पुच्छर बाङ्गो देखे नि हाँस्ने खालका हुन्छन्। यिनीहरुसँग बसेर जाँड धोक्दा आफु पनि खुसी भएको नाटक गर्नु पर्छ। नत्र, के भो तँलाइ? यो बेला मोज नगरे कहिले गर्ने? यही हो बेला मोज गर्ने भनेर यति गिदी गर्छन् कि हल्का खुसी हुन लागेको मान्छेलाइ नि दु:खी बनाउने हुन कि भन्ने पीर पर्छ।

दु:खीराम

रौसी खाएसी भुपु सम्झेर, आफ्ना दु:ख सम्झेर धुरुधुरु रुने टाइपका जाँड प्रसादहरु। खासमा यस वर्गका दु”खीरामहरुलाई जाँड खाने अवसर मात्र मिल्नु पर्छ , यिनीहरुसँग दु:खको भवसागर हुन्छ। दारु खाएपछि रुनु यी दु:खीरामहरुको जाँड पचाउने तरिका हो।  वैसे भन्ने हो भने यी दु:खीरामहरु बढो बेसर्मी हुन्छन्। यिनले सँसारमा आफुले मात्र दु:ख पाएको छु, बाँकी सबै खुसी छन्, भगवानले आफैले ठग्यो, कर्म नि भएन, भाग्य नि भएन, म बाँचेर के काम, कलेजो कुहिने गरी जाँड धोक्छु, सिरानी भिज्ने गरी रुन्छु, मर्नुभन्दा बहुलाउनु निको हो नि भनेर आत्महत्या गर्न नसकेकाहरु पुरै पीडित शैलीमा जाँडको मानसरोवरमा पौडी खेल्छन्। यस्तासँग जाँड खाँदा सकेसम्म सकरात्मक कुरा गर्न पर्छ। यदि यी आफ्नै धुनमा छन् भने चलाउनु हुँदैन, तर केही उट्पट्याङ्ग गरि हाल्छन् कि भनेर नजर भने लगाइरहनु पर्छ।

दार्शनिक

दर्शन छाँट्ने टाइपका। यीनले नपढेका दर्शन र वाद हुदैनन्- कार्लमार्क्सदेखि गान्धीसम्म, ओशोदेखि बाबा रामदेवसम्मका कुरा यीनैले जानेका हुन्छन्। यिनले आफ्नो धरातल बुझे नि नबुझेनी, अरुलाई तिनीहरुको धरातल के हो भनेर राम्ररी बुझाउने खुबी राख्छन्। यिनले साना कुरा गर्दै गर्दैनन्। विश्व अर्थतन्त्र, मानवविकास, अन्तर्राष्ट्रिय राजनीति कुटनीति र घरी घरी आफ्नै कन्स्पिरेसि थ्यौरी पनि निकाल्न बेर लाउँदैनन्। यदि तपाइँ हल्का ‘टिप्सी’ हुनुहुन्छ र लाटो जँड्याहा हुनुहुन्छ भने तिनका कुरा सुनेर बस्दिँदा फरक पर्दैन। खोकीको दबाइ हुन्छ यस्ता खोक्नेको दबाइ हुन्न भन्ने ठान्नुहुन्छ भने चाँहि यीबाट जति चाँडो भाग्नु नै उपयुक्त हुन्छ। यस्तासँग जाँड खान बस्दा यिनको धाराप्रवाह खोकाइलाई अवरुद्ध हुने गरी बिषय बाहिरको प्रश्न सोध्नुस्, अनि तपाइँ यो बारेमा सोच्दै गर्नुस्, म मुतेर आउँछु भनेर टाप दिनुस्।

लाटो जँड्याहा

जाँड खाएपछि वाक्य नै नफुट्ने। धुम्धुम्ती बस्ने, अर्काका कुरा सुन्दा नि टाउको मात्र हल्लाउने, आफु हो नि नभन्ने होइन नि नभन्नेलाई लाटो जँड्याहा भनिएको छ। यस्ता जँड्याहा खासमा दार्शनिक जँड्याहाका काम आउछन् किनभने यिनीहरु एकदमै ‘गुड लिसनर’ हुन् केही नभनि चुपचाप टाउको हल्लाएर सुनेर बस्दिन्छन्। यस्ता जँड्याहा अलि दुर्लभ प्रकृतिका हुन्छन्। घरी घरी त युनेस्कोलाई भनेर विश्व सम्पदा सुचिमा नै सुचिकृत गरौँ झैँ लाग्छ। नत्र तँपाइँहरु आफै भन्नुस न, रौसी खाएर नि गाँजा खाए जस्तो पुरा ‘टिरिप’मा चुपचाप आफै उडनस्तरी हुँदै बस्नेलाई अरु के गर्ने?

बलबहादुर

जाँड खाएसी आफुलाई हिरो सोचेर जहाँबाट हामफाल् भने नि फडाल्ने टाइपका। यिनलाई यस्तो आत्मबल आउँछ कि जाँड खाए’सी भुपु मायालुलाई फोन गरेर ‘मलाइ किन छोडिस्’ भनेर गिदी नि हान्न थाल्छन्। यिनीहरु लड्न जाने भनेको नै त्यही बेला हो। सडक इन्जिनेरले झैँ घरी वारी सडक घरी पारि सडक गरेर हिँड्ने यस्ता बलबहादुरहरुको जाँड खाएपछिको भोलिपल्ट हुने भनेको हात खुट्टामा काटेको खाउ, कुटाइ खाएर सुन्निएको अनुहार त्यस्तै त्यस्तै हो। यिनले लडेर अरुलाई कुट्ने त त्यस्तै हो, आफै रामधुलाइ खाएर नालीमा वा खेतको अालीमा पल्टिरहेका भेटिन्छन्।

सत्यवादी हरिषचन्द्र

जाँड खाएपछि कत्ति नि झुटो नबोल्ने, मनपेट खोल्ने। यिनीहरुको लागि जाँड खानु भनेको गीतामा हात राखे जस्तो, भगवानको कसम खाए जस्तो हो। बरु मर्छन्, अँह झुट बोल्दैनन्। अरुले सोधेको कुरा भन्दा पनि आफै रेडियो टाइपले सत्यकथा भट्टाउँदै बस्छन्। तपाइँहरुलाई त अवगतै होला- मानव चोला भनेको नै मायाजाल वाला चोला हो, यहाँ सम्बन्धहरु विश्वास नाम गरेको सबैभन्दा ठुलो झुटको आधारमा टिकेको हुन्छ। जब यस्ता हरिषचन्द्रहरु प्रकट हुन्छन्, तब कैँयौँ सम्बन्धहरु १ बोत्तल रक्सीले बगाएर लग्न बेर लाग्दैन। त्यसैले हजुरले यस्ता जँड्याहा चिन्नु भएको छ भने यीनलाई बढी बोल्न नदिईकन लगेर कुनामा च्याप्न पर्छ नत्र यिनले बिताउँछन, वा तपाइँले नै केही सत्य ओकल्न लगाएर आफ्नो फाइदामा प्रयोग नि गर्न सक्छु हुन्छ। तर स्मरण रहोस्, यिनले ओकल्ने सत्य मीठो हुन नि सक्छ तितो हुन नि सक्छ। त्यसैले आफैले होस पुर्‍याउनु उचित हुन्छ।

फिरेस बहादुर

यिनले जति गिलास खाए नि म झ्याप भा’को छैन, तँ झ्याप भइस् भन्दै बस्छन्। वाकुन्जेल खाएर सिधा हिँड्न नसक्दा नि आफु झ्याप छु भनेर नस्वीकार्ने। यिनीहरु कहिल्यै नशामा हुदैनन्, भलै भोलिपल्ट हिजो के गरेँ भनेर यिनीहरुलाइ याद नहोस्। तर जुन बेला नशामा हुन्छन् त्यो बेला लास्टै फ्रेश हुन्छन्। थाहा छैन यीनमा त्यो फ्रेशनेस आउँछ कहाँबाट, तर १०० बाट उल्टो गिन्ती होस् या सिधा रेखामा हिँड्ने चुनौती ती सबै सजिलै पार गर्दिन्छन् र पनि यिनीहरु झ्याप नै हुन्छन् साथमा फिरेस पनि। अनि बेला बेला ‘म झ्याप छैन’ भन्न नछुटाउनु नै यिनीहरुको ठुलो गुण हो। यस्ता जँड्याहा जबबाट म झ्याप भा’को छैन भन्न थाल्छन्, बुझ्नुस् त्यसपछि यिनको गिलासमा रौसीको साटो पानी हाले नि थाहा पाउँदैनन्, र पनि भन्न छोड्दैनन्- ‘म झ्याप छैन।’

झ्याप बहादुर

यी चाहिँ फिरेसबहादुरका उल्टा। सुँघ्न पाएको छैन, म झ्याप भन्न थाल्ने। यिनीहरु रौसी खाने भनेर सल्लाह गर्दागर्दै आधा झ्याप भइसक्छन्। यस्ता झ्याप बहादुरहरुले दारुको पहिलो घुटको निलेदेखि नै मलाइ घुमायो यार, बोमिट आउला जस्तो भयो यार, म त ढल्छु होला यार, मलाइ समात यार भनेर ईरि हान्छन्। यस्ता जँड्याहाहरु खासमा जाँडले भन्दा जाँडको डरले झ्याप भएका हुन्छन्। जाँडको नाम सुन्ना साथ यिनीहरुको मनमष्तिस्कले म त झ्याप हुन्छु होला यार भनेर पहिले नै एउटा डर खडा गर्दिएको हुन्छ, त्यसैले यिनीहरु त्यसै झ्याप हुन्छन्।

अँग्रेज जड्याहा

‘बुलऽऽऽ सिट।’ ‘सट अप।’ ‘ह्वाट?’ ‘आइ टक यु लिसन।’ बुझिहाल्नु भो नि, दुई थोपा जाँडरुपी अमृत यिनको जिब्रोमा परेपछि सक्कियो। यीनले नेपाली मातृभाषा बिर्सिन्छन् अनि अँग्रेजी मातृभाषामा फररररर बोल्न थाल्छन्। भलै एउटै शब्द १५/ २० चोटी किन भन्नु नपरोस्, यीनले एउटा अँग्रेजी वाक्य सकाउन १ दर्जन लाइक, १ दर्जन सो र उतिकै मात्रामा यु नो ह्वाट आइ मिन, डन्ट यु भनेका हुन्छन्। साला २०० शब्द अँग्रेजी बोल्दा नि एउटा वाक्य टुङ्ग्याउन सक्दैनन्। तैपनि हार खाँदैनन्, अँग्रेजी बोलिरहन्छन्।

यौनप्यासी

जाँड खाएसी केटी नभइ नहुने झैँ गर्नेहरु। यीनले यो बेला केटी पाएनन् भने जे पनि हुन सक्छ। अब के के हुन्छ भनेर हाम्रो ईथिक्सले भन्न नदिने हुनाले मिलाएर बुझ्नु होला। भट्टी चलाएर बस्नेलाई ब्या’ गर्नेहरुमा यिनीहरु एक नम्बरमा पर्छन्। हामीले यहाँ भट्टी चलाउनेलाई नराम्रो भन्न खोजेको हैन कि, यी जँड्याहाहरुले भट्टीवाल्नीलाइ यति यौन शोषण गर्छन् कि ती भट्टीवाल्नी ह्या~~ यसैलाइ पोइ बनाउनु पर्‍यो भन्ने तिर लाग्छन्। यिनको मुखमा रौसी परेसी दुई खुट्टा उभिएका महिला(पुरुष भएमा) वा पुरुष(महिला भएमा) लाई यस्तरी घुरेर हेर्छन् कि कुरै नगर्नुस, आँखैले बलात्कार गरेर छोडे कि झैँ बनाउँछन्।

अलकत्रे

अाफु सुक्को ननिकाल्ने अरुले खुवायो भने  वाक्नेगरी खानेहरु यो वर्गमा पर्छन्। यो वर्गका दुइटा उपवर्ग छन्। पहिलो उपवर्गकाहरु मातेपछि खुवाउनेको तारिफ गर्छन् अनि दोस्रो उपवर्गकाहरु खुवाउनेसँगै झगडा गर्न थाल्छन्। पहिलो उपवर्गमा नि केही अपवादहरु छन् जो अगाडि तारिफ गर्छन् अनि पछाडि कुरा काट्न थाल्छन्। यिनीहरुको विशेषता के हो पनि हो भने दारू खाएर जत्ति झ्याप भए पनि मलाई पुगेन भनेर उफ्रिरहन्छन्। अनि रौसी सकियो भन्यो भने ‘जा किनेर ले’रा, कति चाहियो पैसा?’ भन्दै पेन्टको खल्तीमा हात पनि हाल्छन्। खल्तीमा सुक्को त हुँदैन अनि थप्छन्, ‘हिसाब गर, भोलि दिन्छु।’

4 thoughts on “१२ सत्ताइस जँड्याहाहरु

  1. अर्को एक समुह हुन्छ जसले झ्याप हुना साथ भुपु मायालुहरूलाई भकाभक फोन गर्न थाल्छन् । बिहान लाज र ग्लानीले भुतुक्कै हुन्छन्

  2. बहुत चित्त बुझो साप 😉

Comments are closed.

Frank