तीज : १२थरी मन्थन

तिजको लहर आयो बरी लै….

तिजको लहर आयो बरी लै….

हेर्नुस हरेक चाडवाड भन्ने बित्तिकै केहि परिचयात्मक गीत/संगीत र धुन हुन्छन् । जस्तो दशैंमा मालश्रीको धुन, तिहारमा देउसी भैलो, होलीको जोगिरा सरर अनि तिजमा माथि उल्लेखित गीत। हुन त अचेल बर्षभरीमा नेपाली सांगितिक क्षेत्रमा निस्किने गीत भन्दा तीजमा निस्किने गीतको संख्या बेसी हुन्छ, तैपनि करीब ३० बर्ष पैले यादव खरेलले कन्यादान फिलिममा समावेश गरेको यहि गीत नै तीजको “अथेन्टिक” गीत हुन पुगेको छ। भनिन्छ होली मनाएर मैजारो गरिने हिन्दु चाडवाडहरु साउने संक्रान्तिसँग फेरी सुरु हुन्छन्। साउन सुरु भएपछि त के छ र ? तीज पनि सुरु भै त गो !!!

हो हजुर ….. हामी पनि यो बिचमा खेतीपातीमा अलि व्यस्त भयौं । यता उति सारो बिकोर्ड चलाउन पाइएन । तर हाम्रो कस्टुमर केयर बिटका केहि साथीहरु यो बिचमा काठमाडौंका स्वनामधन्य पढाकुहरु भेट हुने कफी सप, भट्टी पसल र मण्डपको चिया पसल लगायतमा गएर कान थाप्दा १२ थरीलाई धेरैले मिस गरेको पाइयो ।अनि के त भन्दा… नेपालीको सबैभन्दा लामो चाड (दर खान सुरु गर्ने देखि लिएर पञ्चमीसम्म गन्दा) को बारेमा केहि लेखेर कम ब्याक गर्न परो भनेर यो जमर्को गर्दै छौं । त्यसमा पनि तीज मनाउने पात्र अनि प्रबृतिको बारेमा आज हामी केन्द्रित हुनेछौं । लौ त अब फुलपाती लिनुस् –

पतिब्रता तीज भक्तालु

हाम्रो पुर्वीय संस्कारले नारीलाई पुरुष प्रति समर्पित हुन पर्छ, नारी भनेका पुरुषका चरणका दासी हुन भन्ने पाठ राम्रैसँग स्थापित गराउन खोजेको छ । उसो त फेमिनिस्टहरुको बिगबिगी भाको बेलामा किन यस्तो लेखिस् भनेर निहुँ खोज्न नआउनुस, तर मैले यो आफ्नो विचार देको चैं होइन है । त्यसैले त जति नै गोपीनी घुमाए पनि कृष्ण भगवान दरिन्छन्, जतिसुकै भाङ धतुरो खाएर झ्याप भए पनि महादेव देवादिदेव कहलिन्छन्, र जालन्धरकि बृन्दालाई फ्लर्ट  गर्न जाने बिष्णु औतारी मानिन्छन् ।र त धर्म संस्कार पनि तेसरी नै बनाइएका छन् । चलन तेसरी नै चलाइएका छन् । हुन त तिज भनेकै महिलाले महादेव जस्तो पति पाम् भनेर ब्रत बस्ने चाड अरे । महादेव जस्तो गजँडी र झ्यापिस्ट पति राम्रो हुन्छ भनेर के दिमाग भुट्न खोजिएको हो, त्यो त वेदका लेखकहरुलाई नै थाहा होला । तर तीजको ब्रतको विधी यसरी दिमागमा हालिएको छ कि ब्रत मात्र होइन, पानी पनि नखाइ निहाहार सम्म पनि बस्न महिलाहरु हच्किदैनन । अघिल्लो रात दर खाँदा उस्तै परे पर्सीपल्ट सम्मको लागि हुने गरि “भुँडी फुटेर” पनि तिजको दिन भने धेरै महिला थुक समेत ननिलि बस्छन् । पोइको लामो आयुको कामना गर्छन् । भलै कुरो आफ्नो ठाउँमा छ कि दिनदिनै उनैले गर्ने किचकिचले पोइको उमेर कति घट्दो हो ?

घरको उछित्तो काड्नेहरुको महाकुम्भ

पैलेपैले सुचना प्रविधिको बिकास भएको थिएन । एक पटक बिहे गरेर घर गैसकेपछि उताका हालखबर, सुख-दुख, घर व्यवहार बारे चेलीले माइतिलाई सुनाउने मौका भनेकै तिज हुन्थ्यो। अनि त तिज आउन हप्ता दश दिन बाँकि छँदै माइतीबाट दाजु-भाइ वा बा/काकाहरु चेलीलाई लिन उनका घर जान्थे । भनेकै भाखामा कोशेलीपात सहित पठाउने कबुलियतनामा गरेर छोरी-चेली लिएर फर्कन्थे । तर यो बिचमा फोन/मोबाइल इन्टरनेटको बिकास यसरी भयो कि पलपलको खबर यताउति भैराख्छ । भाइबर, स्काइप र मेसेन्जरको आगमनले यति सम्म भैसक्यो कि भान्सामा के तरकारी पाक्यो भन्ने देखि लिएर छोरीको अनुहारमा चायाँ बढ्या छ कि घट्या छ भन्ने समेतमा माइती पक्ष पलपलको अपडेटमा रहन्छन् । तर पनि सृष्टीको सृजना देखि नै चलि आएको चलन, तिजमा भेट भएर माइतका कुरा काट्ने क्रममा भने कुनै कमी भएको देखिन्न । अझ फेसकुकमा सबै सबैसँग ‘साथी’ हुने चलनले गर्दा कसैको पनि व्यक्तित्व कसैबाट छिपेको हुन्न । अनि तेरी फलानी नन्दको के हो पारा, कस्ति उखरमाउलो बैंश आएको हो देखि लिएर  तेरी सासु त अस्ट्रेलिया जाने बित्तिकै जिन्सको पयँटमा फोटो खिचाएर के तमाशा गरेकि हुन् भन्ने सम्मका कुरा कटाइ र मन माझामाझ गर्ने अवसर पनि बनेको छ तिज् ।

गहना/लुगा प्रदर्शन गर्न मौका पर्खनेहरु

अर्काथरी हुन्छन्, तीज मात्रै हैन, जुनसुकै चाड आओस् गहना देखाउन हतार हुनेहरु। ओहो, यिनीहरुले झन यो तीजमा त एकमहिना अघिदेखि गहना छान्ने, लुगा छान्ने काममा व्यस्त हुन्छन्। दराज भरी लुगा भए पनि बाहिर निस्कने बेलाम बुढाहरुसँग यिनीहरुको एउटै गनगन हुन्छ – लुगै भएन भन्ने । गहनाको त भो कुरा नगरम – गोरेहरुले क्विन्टलका क्विन्टल सुन यिनै गहनाका भोखाका खातिर तस्करी गर्नेहुन् । ज्यानमा मिल्न अर्न परेन, बस कपडा लपेट्न पाए पुग्यो, गहना टाँङ्न पाए पुग्यो । कसको बुढाको गाँठी कत्रो, कसको बुढाले कति कमाउने अनि कसको बुढाले कति माया गर्ने – केहि नेपाली नारीहरु अचेल यस्तै बोक्रे आडम्बरहरुले नाप्न थालेका छन् । तेसैले त इमानको कमाइ खान्छु भनेर जागिर खान छिरेकाहरु हरामको कमाइमा फस्न पुगेका छन् । साग र सिस्नो खाएको बेस आनन्दी मनले भनेर जप्नेहरु अरबको मरुभुमीमा खबुज खाँदै श्रीमतीको गहना प्रेमले बिरक्तिएका छन् ।

दारु वाला दरका पारखीहरु

हुन त जैले पनि पैलेकै कुरो मिस गरिने रच । ऐलेका भुराहरु पनि भोली पर्सी हाम्रो पालामा तिज क्या रमाइलो हुन्थ्यो, ममीहरु पशुपती शर्माको गीतमा क्या नाच्नुहुन्थ्यो भनेर आफ्ना जुनियरहरुलाई कथा सुनाउनेहोलान् तर ऐले तीस देखि चालिसको दशकमा हिंडिरहेकाहरुले एक पल्ट आफ्नो दिमागमा आफ्नो बाल्यकालको तिज् सम्झना ल्याउनुहोस् त । झिनुवाको चामलमा घ्यू हालेर पकाइएको घरै मगमग आउने भात, बारीका घिरिम्ला टिपेर आमाले खुँडी खुँडी पकाएको तरकारी अनि लैनो भैसीको गोरस् । तर अचेल शहरतिरका दरमा बिस्तारै बिस्तारै दारुको अतिक्रमण हुन थालेको छ । बुढाहरुले बर्षै दिन भरी दारु खाएर रल्लिंदै घर आउन हुने, हाम्ले पनि यसो तिजको दरमा दुइ चार गिलास वाइनको स्वाद लिन नहुने ? यत्तिकै हुन्छ लैंगिक समानता? भनेर दारुलाई समानताको सुचक बनाइदै छ । दारु खाएर ज्योति मगर, हिन्दी आइटम डान्स र पशुपती शर्माका रत्यौली पारामा गीतमा नाचेर संस्कृतिको जगेर्ना गर्न हाम्रा सबै चेलीबेटीहरु लाग्नु भएकै छ । १२ थरी टोली यहाँ नेर थोरै प्रस्ट पार्न चाहन्छ है – सके त दारु कसैले नै नखाएकै बेस हो, न पुरुष न महिला । र आँतले माग्छ भने बाह्रै मास खाए पनि हाम्लाई केहि भन्नु छैन । अझ घरमा स्विकार्य छ भने त बुढाबुढी मिलेर चियर्स गर्दा पैसा पनि सस्तो पर्ने, मापसेको झमेलामा पनि नपरिने । तर लोग्नेहरुको मेख मार्ने साधन चैं दरको दारु नबनाएकै भए हुने । अचेल त बिस्तारै बिस्तारै गाउघर तिर (सदमुकाम सम्म ) बियरलाई ठूलो कोक भन्दै वा कोककै बोतलमा बियर मिसाएर ककटेल कोक खाने चलन पनि बढेको छ अरे ।

माइतमा भुपु भेट्न जानेहरु

हेर्नुस – यो जिन्दगीको चक्र पनि बिचित्रको हुन्छ । सायद सबैले एकछिन आँखा चिम्लेर आफ्नै जीवनका पाना पल्टाउनु भयो भने यसमा सहमत हुन सक्नुहुनेछ, तर नभए पनि हजुर फरक मत राख्न स्वतनत्र हुनुहुन्छ । जीवनमा मन कसैलाई पराइयो होला, पहिलो लप कसैसँग पर्यो होला, पहिलो पल्ट सेक्स कसैसँग भयो होला अनि बिहे गरेर जीवन कसैसँग बिताउन पुगियो होला । अब हाम्रो सामाजिक दायराले निसंकोच आफ्ना भुपुहरुलाई भेट्दै हिड्न मिल्ने गरि स्वच्छन्दता त दिइसकेको छैन । तर पनि पहिलो भनेको पहिल्यै हुन्छ र सितिमिति त्यसलाई भुल्न सकिन्न । र त तिजमा माइत गाको बेलामा ति भुपुहरुसँग साक्षात्कार हुने मौका पनि मिलिहाल्न सक्छ, भलै बाटोमा जम्काभेट हुँदा ‘मामालाई नमस्कार गर’ भनेर छोराछोरीलाई सिकाउन किन नपरोस् । मन मिल्नेहरु त्यो भन्दा अगाडी पनि बढ्लान् तर चोक-पसल वा दोबाटोमा अनायासै भेट हुँदा आँखैको भाखामा ‘मलाई आफ्नो बनाउन सकेनौ है तिमी लाछिले’ भनियोस वा ‘मलाई छाडेर कत्ति न तेस्तो सँग बिहे गरिथ्यौ, देखियो सुख’ भनेर मनको तुष पोखियोस् ।

बुढी माइत जाँदा ‘लोकतन्त्र’ इन्जोय गर्नेहरु

हेर्नुस महिलाको मात्र हुर्मत काढियो यो लेखमा भनेर धारे हात लाउन हतार नगर्नुहोस् । पुरुषहरुको बंगारा झार्ने मौका बल्ल आउँदैछ । बुढी कैले माइत जाली र फुकेको साँढे झै भइएला भनेर बर्षदिनमा यहि दुइ चार दिन कुर्ने मानिसहरु पनि नभएका होइनन । तपाई पनि यहि वर्गमा पर्नुहुन्छ भने निसंकोच मम: भन्नुहोस् । बुढीलाई गाडी चढाउने बित्तिकै मैयालाई फोन गरेर डेटिङ प्लान गर्ने सदाचारी सद्गुणानन्द स्वामीहरु हाम्रै समाजमा छ्यापछ्याप्ती भेटिन्छन् । दिनभर यताउता चरेर साँझ परेपछि निस्फिक्री आँखाका गेडा फुत्कुन्जेल जाँडको झोलमा डुब्नेहरु बग्रेल्ती भेटिन्छन् । न कता गइथिस भन्ने टोकेसो, न धेरै धोकिस भन्ने गनगन … तेसैले त बुढी उता माइतमा निलाहार बस्दा यता कयौं लोग्नेहरु भने आँखा राता राता बनाउँदै जाँडकै तालमा रमाइरहेका हुन्छन् ।

 

लौ त हजुर । हामीले देखेका तिज सम्बन्धी केहि प्रतिनिधी कुराहरु यति नै हुन केरे । हजुरहरुको मनमा लागेका कुरा केहि छुटेछन् भन् तलको कमेन्टको सुबिधा यसै राखिएको होइन केरे । जधौ !!!