आइमाई

‘के पाराको लुगा लाको हो ? बरू नाङ्गै हिँड् न, नकचरी !’ कलेज जानलाइ निस्कँदै गरेकी भदैको लवाई देखेर फुपुले झाँको झारिन्। उत्पातै लुगा लगाएकी त हैन आफु। खुकुलो सर्ट र हाप प्यान्ट त हो। एकाबिहानै बेफ्वाँकमा फुपुको कर्कशले कान घोचे जस्तो भो उसलाई । बाउकी दिदीलाई मुख फर्काओस् भने फेरि ‘फुपूसँग मुख मुखै लाग्छे, सोमत नभएकी उरन्ठेउली’ भनेर अर्को वचन सुन्न पर्छ। रिसले मन अमारिएपनि उ भुनभुनिँदै स्कुटीमा टाप कसी।

यसै त काठमाण्डौको पत्रु साँघुरो बाटो त्यसमाथी अफिस ट्याम । जामको त के कुरा गराइ भो र ? जाममा सँगै परेको मोटरसाइकलवालाले ट्याँट ट्याँट हर्न बजायो । ‘नो हर्न’ त भन्ने कुरा न परो । जामले दिक्क लाको मुडलाई त्यो उच्चेटलाग्दो हर्नले झन गिजोल्यो । उ तेता फर्किन नपाउँदै हेर्दै ट्यापे जस्तो केटाले मास्क खोल्यो । ‘आम्मा नी तिघ्रा, प्याट्प्याट पिट्दै चिमोटु जस्ता छन त सोल्टिनी” भनी जिब्रो फड्कार्दै जात जनायो ।साला लोदर लाको दिन !! रिस थाम्न नसकेर उस्ले । अनायासै मुखबाट निस्क्यो – “मा-साला फुटेको कण्डमको नतिजा, धर्तीको बोझ मुजी” । सँगैको माइक्रोमा बसेको, ढाका टोपी लगाएको, चिटिक्क पारेर जुगाँ मुठारेको भलाद्मीको स्वर फुट्यो “राम राम के बोलेकी, कस्तो छाडा हुन थाले गाँठे अचेलका केटाकेटी?”

जती नै चाँडै निस्के भने पनि, बाटोको बिलम्बले गर्दा पहिलो पिरियड भने मुस्कीलले भेट्थी उस्ले। अर्को पिरियड शुरु हुन आधी घण्टै बाँकी भएकोले स्कुटर पार्क गरे उ सिधै गेट छेउको होटल छिरी । एक कप चिया मगाई र एउटा चुरोट सल्काई। क्याम्पसको ट्वाइलेट पछाडीको झाडीमा गएर दुइ स्टिक विड हानेर आएर अर्को टेबुलमा  गफ हान्दै गरेकाहरुले पनि खासखुस गरे – “पहिलो पिरियड हापेर, चुरोट तान्न थाली । ओभ्भर फ्रिक छे यार यो केटी ”

बिहानको पहिलो प्रहर नसकिदै उसको आचरणमाथि एक से एक प्रहार भैसकेका थिए । हुन पनि उ अलि स्वच्छन्द नै थिइ । कपालको एकातिरको पाखो सिनित्तै पारेकी थिइ ।कानको  कुन्डल र पाखुरामा ट्याट्टुले गर्दा नै होला, समाजले भन्ने गरेको सहनशिला शुसिलाको परिभाषामा अट्थिन उ। स्वतन्त्र थिइ, अराजक थिइन। फुपुको गाली खाए नी चुपचाप निस्केकी थिइ, चिन्नु न जान्नुको मोटरसाइकलवालालाई झपारेकी थिइ। सम्बन्धको ज्ञान थियो, सानालाइ माया गर्थी, ठुलालाइ सम्मान गर्थी आफ्नै पाराले, उस्को स्वतन्त्रताको सिमाना ननाघ्नेहरुलाइ यसै झम्टिन जान्थिन।

आफ्नो हिसाबमा राम्रै भए पनि मोरल पुलिसिङ गर्ने समाजले के भन्न बाँकी राख्यो होला र उस्लाइ ? एकातिरको कपाल काट्दा उ ट्यापे भइ, ट्याट्टु खोपेर हिन्दा ड्रग एडिक्ट भइ, छोटा बस्त्र लगाउदा बजारु भइ। त्यस्तो कुनै लान्छना बाँकी छैन समाजले उस्लाई बिभुषित नगरेको। र पनि स्वतन्त्र, सवच्छन्द रुपमा खुला आकाशमा उड्ने उ एउटी चरी हो! उ निरन्तर उडी रही। लान्छना लगाउने समाजलाइ उस्ले केहि गरिदिएकी थिइन। समाज लान्छना लगाउदै गयो, उ बिन्दास आफ्नो शुरमा आफ्नो बाटोमा “बिच्च बिच्चमा नाँच्दै” हिडिरही। समाजलाई उ त्यसै भारी भइ, कँसिगर भइ।

अरुले जे भने नि घरमा बा’ले केटी भन्थे। “कती चर्को स्वरले हाँसेकी हो, टोलै थर्किने गरी ? कती छाडा भाकी हो यो केटी!” बा’ले बैठक कोठाबाटै चिच्चाए। उसले ठम्याउन सकिन उसको हाँसो चर्को थियो अथवा उसको बा’को चिच्याहट ! के कुराले उ खुलेर हास्न सकेकी थि त्यो पनी भुसुक्कै बिर्सी। ‘हाँसेको हो कसैको केहि चोरेको हैन!’ उस्ले बा’ले सुन्ने गरी जवाफ फर्काइ । एकछिन भनाभन नै भयो।

उ सानै थिई! बा’ले भानुभक्तको बधुशिक्षा पढाउदा। उसले किताप खोसेर फ्याकिदेकी थिइ। बाले गालामा नराम्रो संग झापड लगाएका थिए। उसको आफ्नै सिद्धान्त छ। मान्छेले निस्फक्री हास्नु पर्छ , निस्फिक्री बाच्नु पर्छ। Nikolai Berdyaev लाई अध्ययन गर्ने र उसैको स्वतन्त्रताको परिभाषा पच्छ्याउने उसलाई लाग्थ्यो कुनै पनि सामाजिक, धार्मिक बन्धन मुक्त मान्छे मात्र स्वतन्र हुन्छ।

स्वतन्त्रता कुनै सिमा परिधीमा अटाउदैन। यस्ता मान्छेहरू बढि कृयटिव हुन्छन। मन मस्तिस्कलाई कुनै संस्कार वा धर्मको आडम्बरले छोएन भने यो स्वतन्त्र भएर काम गर्न सक्छ भन्ने उसको बुझाई छ। उस्को अध्ययनशिल बानीको कारण नै हुन पर्छ, स्कुल सकिने बित्तिकै फ्रिलान्स राइटर बनेर आफ्नो खर्च आफै धान्ने भइ। छाडाको शाब्दिक अर्थसंग उसको ज्ञान कत्ती पनि छैन तर उसलाई थाहा छ सामाजिक अर्थ जुन उसले कत्ति पनि सरोकार राख्दिन।

‘केटीमान्छे भएपछि खुट्टा बजारेर हिड्नु हुन्न। खुट्टा फट्याएर पनि हिड्नु हुन्न। बिस्तारै सुस्त संग दुबै गोडा बिच कम फासला राखेर हिड्नपर्च। कुम थोरै झुकाउनु पर्छ। छाती तन्काएर हिड्दा छाडा भइन्छ।’ हजुरआमाले माया गरेर सम्झाउनु भयो। हजुरआमा लाई पिर छ नातिनीको बिहे हुदैन कि भन्ने । नाक काटी भनेर समाजले टँडेसा सुनाउाल  भन्ने पिर अर्को।

” फलानीले त चुरोट पनि तान्छे रे! आफ्ना छोराछोरी लाई त बेलैमा तह लाउनु पर्छ नि!” छिमेकी आण्टीले आमालाई दोष लाईन। हुन त उनको छोरो पनि चुरोट पिउछ । तर उ त छोरा न हो । उसको त समाजले नोटिस गर्दैन। उसले बिहे गरेर अर्काको घर जानु पर्दैन।

बिहे? अंह उसले सोचेकी छैन। गरगहना, मेकअप केहीमा उसको ईन्ट्रेस्ट छैन। लवाई हेर्दा समाजले आफ्नै लख काट्छ , “यस्ले ज्वाँई होईन, बुहारी ल्याउछे।”

उसले धेरै भयो यस्ता कुरालाई वास्ता गर्न छोडेको। उसको आफ्नै लक्ष्य छ। आफ्नै हिसावले जीवन जीउने कला साच्चै लोभलाग्दो छ। सायद लोभ लागेरै होला पुरा ब्रम्हान्ड उसको पछी लागेको छ। “जीम जाने भए दिउसो जाउ, यो सांझमा केटाहरु आउछन जाने हैन!” दाईले हकार्यो; बाले सहमती मा दुई शब्द गाली थपे। केटाहरू आउछन एक्लै नहिड, दाई संग जाउ! उसले बुझ्छे सायद बा आमा चिन्तित छन। उसैको सुरक्षाको लागी हो। हुन त मार्सल आर्टस मा ब्ल्याकबेल्ट पनि हो उ। आफ्नो सुरक्षा गर्न सक्ने आत्मबिश्वास छ। तर घर परिवार किन उसलाई कमजोर बनाउन अहोरात्र खटिरहन्छन? उसलाई लाग्छ उसका घरका मान्छे उ संग संम्वाद कम, गाली गलौज ज्यादा गर्छन। उसका वरिपरीका मान्छे, आफन्त को बोलीमा मिठास हुन्न।

उसको जन्म पछी हरेक कृयाकलापमा लगाम लगाईयो! कसरी हिड्ने, कसरी खाने, कतीसम्म छोटो र के कस्ता कपडा लगाउने, कस्ता सामग्री पढ्ने, के कती एक्टिभिटिज उसको लागी बनाईएको हो, उसको जन्मको प्रयोजन के हो आदि ईत्यादी शिक्षा घरमा दिदै गए। सायद उसको जन्मको प्रयोजन उसको घर परिवार छर छिमेकले भने जस्तो थिएन त्यसैले उ भिन्न भई। उसलाई बन्देज मन पर्दैन थ्यो। उ स्वतन्त्र रूपमा आफूलाई हेर्न चाहन्थी। हावा संग उड्न, बादल पच्छ्याउदै दौड्न, झरी संगै रूझ्न उसलाई मन पर्थ्यो ।

आखिर सबैको लागि कोहि न कोहि बनाएरै पठाका हुने रचन भगवानले । उसको पनि विवाह भयो । बाबुआमाको निर्देशनको अक्षरस: पालना गरेकि भए कस्तो घरमा पर्थि होली कुन्नी, तर पनि स्वच्छन्द पाराले जीवन चलाउँदा पनि उसले खासै शारिरक दुख पाउने घरमा भने परिन उ । लोग्ने एउटा कन्सल्टेन्सी चलाउँथे । उसको स्वतन्त्रतामा लोग्नेलाई खासै आपत्ति थिएन । सायद उसले पनि बुझिसकेको हुनु पर्छ, मान्छे पहिरन र देखावटी कृयाकालपले भन्दा पनि आत्मबाट शालिन हुनुपर्छ । तर पनि स्त्रीजाति माथिको असमान व्यवहार भने उसका पलपल र पाइलापाइलामा ठेस लाग्थे ।

जब घरमा सासु बुहारीहरु, नन्द अमाजु लगायत महिलाहरु भलाकुसारीको मेलोमा हुन्थ्ये  जेठानीको छोरालाई सासुआमाले हकार्थिन “कस्तो आईमाई झै कुरा सुनेर बसेको हो? उता गएर पढ् ”  । “कस्तो लाछी हो, केहि पनि सहन नसक्ने ? केहि भन्यो कि आईमाई झै रुन थाल्छ्” जेठाजु पनि आफ्नो छोरोलाई केही चोट लागेर रुदा आईमाई जस्तो बनेको भन्दै गाली गर्थे ! उसका हिजोका स्वच्छन्द व्यवहारहरुमा केटी भएकै कारणले जुन बन्देज लगाइन्थ्यो, आज उ विवाहित महिला भएपछि पनि कुनै केटालाई ‘आइमाइ व्यवहार’ को ट्याग लाएर गाली गरेको उसलाई कत्ति चित्त बुझ्दैनथ्यो ।

हुन त केटी, नारी, स्त्री, महिला, आइमाइ यी सब मानिसका पुलिङ्गका विपरितार्थी शब्द हुन । व्याकरणिय हिसाबमा यी सामान्य संज्ञा मात्र हुन । तर त्यसलाई नै बिशेषण वा व्यवहारबोधक शब्दको रुपमा प्रयोग गरिंदा उसालई नमजा लाग्थ्यो । पुरुषहरुले त भने भने, तर महिलाहरुले ‘हामी आइमाइ यस्तै त हो नि’ भनेर लत्तो छाडेको देख्दा उ प्रतिशोधमा दाह्रा किट्थी ।

“हामी आईमाईको गफ के हुन्छ र यस्तै त हो नि, लोग्ने, बच्चा, खाना, लुगा, गहना” भिडभाडमा प्राय सुन्छे उ यो स्वीकारोक्ति ! “यो आइमाइका थाङ्ने कुरा” लोग्नेका यस्ता गाली पचाउने महिला देखेर दङ्ग पनी पर्थी।

तर समाजमा युगौं देखि जरा गाड्दै आएको ‘मानसिकता’ यति चाँडै नै त कहाँ बदलिंदो रच र? उसले बिस्तारै यो कुरा पनि आत्मसात गर्न थालेकि थिइ। महिला अधिकारका पक्षमा वकालत गर्नेहरु पनी ३-४ जना भेटिए पछी उही खाना र लुगा बाहेक अरु कुरा गरेको सुन्दिन। राष्ट्रिय र समाजिक समस्यामा भन्दा ज्यादा समय राष्ट्रपतीको सारी र जुत्तामा आफ्नो दिमाग लडाएको देख्दा उस्ले जिब्रो नै टोक्या हुन्छे।

छरछिमेकमा हुने तेस्को पोइ उस्तो, त्यस्को शान उस्तो। सात समुन्द्र पारी बसेका नन्द र अमाजु कुरा काटेर दिन बिताउँदा पनि समय नपुगेकाहरु। ”सासु”लाइ आँखाको कसिँगर बनाउनेहरु। बजारमा आएका लुगा र गहनाका लागी पनि समय छुट्याएकाहरु। आफ्नो सोचसँग मेल नखाने कुनै महिला भेटीए त्यसको बिरुद्धमा हुने खासखुसहरु। यस्ता कुराको धेरै नै साक्षी बसिसकेकी छे।

उस्लाइ खट्टाउन धौ धौ परेको छ, आखीर आइमाई भनेको ब्यक्ती हो कि प्रबृती, उहीले स्वन्छन्द हुदाँ नि उसले आइमाई उपाधी पाएकी, अझ छाडा आइमाईको। अहिले यताका सँस्कारी छोरी बुहारीहरु पनी आइमाई नै भनिएका छन। खासमा यो आइमाई भनेको चित्त नपरेको मानिसलाई लगाइदिने बिल्ला पो हो की? अर्काको विचारलाइ सम्मान गर्न नसक्दा, अरुको स्वतन्त्रतालाइ सम्मान गर्न नसक्दा गाँजीएको कुण्ठाको आवाज पो हो कि यो आइमाई? खासमा के हो त आइमाई? को हुन त आइमाई? प्रबृती हो कि लिङ्ग हो त आइमाई?

अस्तू !!

Leave a Comment

Your email address will not be published.

माइन्ड नगर्नुस है स्पाम कमेन्ट ले हैरान भैयो - टुच्च क्याप्चा *

Adams