गुरुदेवो: महेश्वर:

62_1437962230भनिन्छ नि, पढ्न जति गाह्रो हुन्छ त्यो भन्दा १० गुणा ज्यादा गाह्रो हुन्छ पढाउन। एउटा शिक्षकले कक्षा अगाडि उभिएर ज्ञान बाँड्नु, नबुझ्नेलाई फरक-फरक विधि अपनाएर बुझाउन प्रयास गर्नु सजिलो काम पक्कै होइन। यिनीहरूले विद्यालयका परीक्षादेखि जिन्दगीका विभिन्न परिक्षाहरु सजिलै उत्तीर्ण गर्न आफ्ना चेला चेलीहरुलाई तयार गर्छन्। हाम्रो उद्देश्य जुन गुरुले अक्षर चिन्न सिकाए, यत्तिको लेख्न बोल्न सिकाए, उहाँहरूको प्रतिष्ठामा धावा बोल्नु कदापि होइन। हामीले त शिक्षकहरूमा देखिने प्रवृत्तिको मात्र कुरा गर्न खोजेको हो। हामी समस्त गुरु/गुरुआमासँग यहीँबाट माफी माग्दछौं। यो शिक्षकको वर्गीकरण गाउँको सेरोफेरोमा गरिएको हो, शहरका बोर्डिङ शिक्षकमा पनि यो लागु हुन सक्छ। अनि कतै कतै उच्च शिक्षाका गुरुहरू मिसिएका हुन सक्छन्। 

ट्युशन शिक्षक

यी शिक्षकहरू कक्षाकोठामा खासै मेहनत गर्दैनन्। गणित, अप्सनल गणित तथा अङ्ग्रेजी पढाउने शिक्षकहरू मुख्यत: यो वर्गमा पर्छन्। यिनीहरूले वर्षको सुरुमै विद्यार्थीलाई यत्ति तर्साउँछन् कि विद्यार्थीको दिमागमा यी विषय साह्रै गाह्रा हुन् भन्ने कुराले जरा गाडेर बस्छ। अनि यस्ता शिक्षक कक्षाकोठामै भन्छन्, ‘यो विषयलाई ठट्टा नसम्झिनु। यो स्वस्थानीको कथा पढेजस्तो हैन। नेपाली फरर पढेजस्तो पनि हैन। मेहनत गर्नुपर्छ। ट्युशन पढ्नु।’ आफ्नो विषयको पहिलो दिन नै लामा लामा फर्मुलाहरु, घना घना शब्दहरू प्रयोग गरेर  विद्यार्थी लाई यो विषय त ट्युसन नपढि पास भईदैन भन्ने पारेर कट्टु नै भिजाउने बनाउँछन् , अनि यिनले ट्युसन लिन विद्यार्थीलाई मनोवैज्ञानिक रूपले दबाब दिन्छन्, अनि परीक्षामा कक्षा कोठामा पढाएको भन्दा नि ट्युसनमा पढाएको आधारमा प्रश्न निकाल्छन्, अनि ट्युसन नपढ्नेहरु तनावमा आएर ट्युसन गुरुको डेरा खोज्न बाध्य हुन्छन्।

डन्ठे शिक्षक

यिनलाई किन डन्ठे शिक्षक भनियो भन्दा यिनीहरू कक्षा कोठा छिर्ने बेला गोठालो जान लागे जस्तो गरी बडेमानको लौरो लिएर छिर्छन्, खै यिनलाई के कुराको रिस उठ्या हुन्छ, सानो सानो कुरामा हात थाप भनी भनी कुट्या हुन्छन्। यिनको कुटाइबाट बच्नु नै विद्यार्थीको पहिलो उद्देश्य हुन्छ। यस्ता शिक्षकलाई विद्यार्थीले आफूलाई सम्मान गर्छन् भन्ने भ्रम हुन्छ। खासमा विद्यार्थी यस्ता शिक्षक विद्यालय समय भन्दा अरू बेला देखे भने पनि चार कोश परबाट हिँड्छन्। यिनीहरूले विद्यार्थीलाई अनुशासनमा राखेको छु भनेर आफै मक्ख हुन्छन्, तर साँचो रूपमा भन्नु पर्दा यी शिक्षक कँलक हुन, पापी हुन। मलाई बरु बचनले मुटु छेड्ने शिक्षक मन पर्छन्, न की लौरोले हात खुट्टामा नीलडाम बसाउने शिक्षक। आफूले बुझाउन नसक्ने अनि विद्यार्थीले बुझेनन् घोकेनन् भनेर पिट्दै हिँड्ने यस्ता शिक्षक हुनु नै हाम्रो शिक्षा प्रणालीको एउटा ठूलो खोट हो।

नोटे शिक्षक

यी विद्यार्थीका सबैभन्दा प्यारा शिक्षक हुन, यिनीहरू कक्षामा छिर्छन्, हाजिर लिन पर्ने भए लिन्छन्, नलिन पर्ने भए सुरु भइहाल्छन्। यस्ता शिक्षकको पिरियड आउनु अघि नै विद्यार्थी कापी कलम लिएर, औँला पड्काएर तयारी अवस्थामा बस्छन्, यी ४५ मिनेटको कक्षामा ३५ देखी ४० मिनेट विद्यार्थीलाई नोट लेखाएर बिताउछन्, के लेखाए, के पढाए केही मेसो हुँदैन, विद्यार्थी पनि अोहो नोट दिने शिक्षक भनेर मक्ख पर्छन्, किन की विद्यार्थीलाई सरले भनेको कुराबाट छानेर नोट लिने झन्झट नि हुने भएन, तर यस्ता नोटहरू विद्यार्थीले पढ्ने भनेको परीक्षाको अघिल्लो दिन नै हो, नतिजा त जति राम्रो नोट लेखाए नि परीक्षामा हुबहु लेख्न नसक्नेको त नम्बर कमै आउने भो । यस्ता शिक्षकले पढाएको विषयमा राम्रो नम्बर ल्याउने भन्या त्यही नोट घोक्नेहरु हुन्छन्। सृजनशीलताको त कुरै नगरौँ, शून्य प्रायः हुन्छ, शिक्षकमा अनि विद्यार्थीमा। प्रश्नोत्तर सेसन त कक्षामा हुँदै हुन्न भन्दा पनि हुन्छ।

पण्डित शिक्षक

यी भनेका प्रायः नेपाली पढाउने शिक्षकहरू हुन्। स्कुलको कोर्समा संस्कृत हुँदा यिनीहरूले संस्कृत पनि पढाउँथे। अनि नैतिक शिक्षा पढाउने जिम्मा पनि यिनै शिक्षकको हुन्छ। यिनीहरूले शास्त्रको नाममा अग्निस्थापना, रुद्री, बिहे, व्रतबन्ध गराउन जानेका हुन्छन्। गाउँमा कसैको घरमा पूजाआजा, रुद्री, श्राद्धे सकाउने ठेक्का यिनकै हुन्छ। अनि यिनीहरू स्कुलमा गएर कक्षा कोठामै ‘आज फलानाका घरमा श्राद्धे छ’ भनेर केटाकेटीलाई खुल्ला निम्तो दिन्छन्। विद्यार्थीहरू पनि ‘ल आज पढ्नु नि नपर्ने – खीर अचार नि खान पाउने’ भन्दै पण्डित बाजेभन्दा पहिला श्राद्ध हुने घर पुग्छन्। यता कक्षा कोठा खाली भएपछि पण्डित बाजेको नि बाटो खुलिगो। अनि स्कुलमा नैतिक शिक्षा पढाउने यस्ता शिक्षकहरू अधिकांश दुई जोईका पोइ हुन्छन्, जो दुई जोईका पोइ हुदैनन्, ती साँझमा भट्टीमा गएर चिया खाने गिलासाँ १ गिलास चिरिप्प पारेर हिँड्ने खालका हुन्छन्।

घरेलु / कृषक शिक्षक

यिनीहरूको घर स्कुलको नजिकै हुन्छ। विद्यार्थीलाई कक्षामा पाठ घोक्न वा लेख्न दिएर यिनीहरू घर पुग्छन् र गाई भैँसीलाई घाँस कुडो गर्छन्। उस्तै परे यिनीहरू बारीको कान्लाबाट दुईचार मुठा घाँस विद्यार्थीलाई नि बोकाउँछन्। स्कुलको नजिकैको जग्गामा खेतालो जानु पर्ने छ भने यिनले उस्तै परे मेलाबाटै पढाइदिन्छन्। अब गाउँघर भने’सी कृषि मेलापात त गर्नै परो, अनि के गर्नु असारमा बर्खे विदा हुन्छ, भदौमा धान गोड्ने विदा अनि कात्तिकमा धान काट्ने विदा, यो सबै विद्यार्थीले गएर काम गर्न पर्ने भएर हैन कि मास्टर आफै कसिएर कृषिमा लाग्न पर्ने भएर हो, यसमा शिक्षक भन्दा नि, समग्र राष्ट्रको शिक्षा नीतिको दोष हो, शिक्षकले पढाएर खान पुग्ने भएको भए, सायदै यसरी ५ जना शिक्षकको लागी विद्यालय वर्षमा लगभग २ महिना बन्द नहुदोँ हो।

कार्यकर्ता शिक्षक

यिनको स्थायी ठेगाना गाउँको चिया पसल अथवा भट्टी हुन्छ। यिनकै गाउँमा अथवा वल्लो पल्लो गाउँमा यी आबद्ध राजनीतिक पार्टीको आमसभा छ भने यिनको क्लासमा विद्यार्थीले छुट्टी पाउँछन्। चौतारीमा वरिपरि २-४ जना राखेर एउटा हातमा चिया अथवा रौसी अर्को हातमा चुरोट लिएर चुट्की लाउँदै गफ हाँक्ने यिनको विशेषता हो। बरु त्यही पार्टीको गाउँ वा जिल्ला अध्यक्ष त्यत्ति कट्टर हुन्नन् होला यी कट्टर हुन्छन्। अनि यिनले सरकार कसले, कसरी र किन चलाउनुपर्छ भनेर चिया पसलमा आउने सबैलाई पढाउँछन् र त्यस बापत मा’ड सा’प बनेर सित्तैमा चिया वा रौसी धोक्छन्। अब हजुरहरुले स्कुले विद्यार्थीले पार्टीका झण्डा बोकेर जुलुसाँ हिड्या त देख्नु भएकै होला, सामाजिक सञ्जालमा पार्टीले विद्यार्थी परिचालन गर्‍यो भनेर कुर्लिनु पनि भएको होला, खासमा त्यही विद्यालयका शिक्षक हुन् जो लाइन लगाएर विद्यार्थी बोकेर जान्छन्। यहाँ शिक्षकले वाध्यता भनेर खोक्लान्, तर याद गर्नुभएको छ,  पार्टी पिच्छे फरक फरक विद्यालयका विद्यार्थी जुलुसमा देखिन्छन् ।

बोके शिक्षक

यिनलाई अर्को शब्दमा बियाडे शिक्षक पनि भन्न सकिन्छ। आफ्नै छात्रा अथवा गाउँका महिलामाथि यिनको गिद्धे नजर हुन्छ। यिनका घटीमा एउटी श्रीमती हुन्छन्। पढाउने बेलामा छात्राका तिघ्रातिर होस् या छाती वा ढाडतिर कसरी हात घुसाउन पाइन्छ भनेर यी जोखाना हेरेर बस्छन्। कसोकसो मिलाएर क्लासभरीकी राम्रीलाई दिनमा एकचोटी त यिनले चिमोटेकै हुन्छन्। मध्यरातमा यी सरलाई बाटोमा अथवा कसैको घरबाट निस्कँदै गरेको देखेको कुरा विद्यार्थीले स्कुलमा खास खुस पनि गर्छन्। कसैसँग बात लागेर यिनलाई जुत्ताको माला र कालो मुसो लगाएर गाउँ घुमाए पनि यी भोलिपल्ट हाँसी हाँसी स्कुल पुग्छन्।

सहरिया बोके शिक्षकहरू चाही छात्राहरुलाई स्याबासी दिने निहुमा तिनीहरूको ढाड(कन्नो) सुमसुम्याउने प्रबृतीका हुन्छन् । यिनीहरूको मनमा जति जे खेले पनि राती सुत्ने बेला आफ्नै हात बाहेक कसैको साथ पाउँदैनन् ।

भगवान वा ज्वाइँ शिक्षक

बिरानो गाउँमा पढाउन जाने शिक्षकहरू यो वर्गमा पर्छन्। अझ विशेष गरी मधेसबाट पहाडतिर पढाउन जाने शिक्षकहरू यो वर्गमा पर्छन्। यिनले प्राय: विज्ञान अथवा गणित पढाउने हुन्छन्। अङ्ग्रेजी त यिनीहरूको रगतमै बगेको हुन्छ। जुन गाउँको स्कुलमा यिनले पढाउँछन् त्यहाँ त यिनलाई भगवान् सरह मान्छन् । यी गाउँका सबैभन्दा चल्तापूर्जा (गाविस अध्यक्ष, मुखिया, अथवा जमिन्दार)को घरमा बस्छन्। यिनले त्यहाँ बसेको, सुतेको, खाएको पैसा तिर्नु पनि पर्दैन। घरपटी आमै ‘सरलाई यो पो मन पर्छ कि, त्यो पो मन पर्छ कि; भनेर मीठो मसिनो तुल्याउनै व्यस्त हुन्छिन्। यिनले खाए बसे बापत त्यही घरका छोराछोरीलाई पढाउँछन्। अनि धेरैपय अवस्थामा सोही घरको ज्वाइँ बन्ने सम्भावना पनि प्रबल रहन्छ। ज्वाइँ नै बनेनन् भनेपनि घरपेटीकी छोरीको चाहिँ काण्ड पुर्‍याउँछन्।

ईन्टर्न शिक्षक

आईएड अथवा बिएड पढेर प्राक्टिकलका लागि गाउँ पुग्ने शिक्षक यो वर्गमा पर्दछन्। यिनीहरूको पनि गाउँमा राम्रै हाउभाउ चल्छ। यी आफूलाई स्कुलमा भएका सरहरुभन्दा धेरै पढेको र जान्ने हुँ भन्ने देखाउन हरसम्भव प्रयास गर्छन्। पढाउन भन्दा पनि विद्यार्थीहरूलाई कथा सुनाएर हात लिन यिनीहरू सिपालु हुन्छन्। अँ यिनीहरू बजार क्याम्पसबाट आएको भनेर आफैलाई ठुलो बनाउछन्, क्याम्पसका किस्सा सुनाउछन्, SLC नजिकिंदै गरेका विद्यार्थीमा क्याम्पस पढ्न पर्दो रैछ, मजा पो आउने रै’छ भन्ने पार्छन्। अङ्ग्रेजी, गणित र विज्ञान पढाउन आएका यस्ता शिक्षक छोइसाध्दै हुँदैनन् तर कतिपय विद्यालयले यस्ता शिक्षकलाई १० कक्षालाई चैँ पढाउन दिन्नन् र त्यसको कुण्ठा ८-९ कक्षामा आएर पोख्छन् ।

खडेबाबा

साधरणतया खडेबाबा भन्ने बित्तिकै डाक्टर भने बुझ्दा हुन्छ । डाक्टरलाई पढाउने खडेबाबा शिक्षकहरू कि एम बिबिएस गरेर कुनै पनि बिषयमा पोष्टग्राजुएट गरेकाहरु हुन्छन् कि पिएचडी गरेका प्याचडी डाक्टरहरु हुन्छन् । यिनीहरूको बजार भाउ उच्च हुने हुनाले दुई चार ठाँउमा आफ्नो नाम र डिग्री भजाएर काम गरिरहेका हुन्छन् । निजी लगानीमा खुलेका धेरैजसो मेडिकल कलेजमा यस्ता शिक्षकहरूको उपस्थिति देखिन्छ । अनुगमनमा हिडेका कसैले ” तपाईँलाई त मैले फलानो मेडिकल कलेजमा पनि देखेका थिए डाक्टर जस्तो प्रबुद्द वर्गमा पर्ने मान्छे भएर पनि यस्तो गलत कामगर्ने हो ? ” भनेर कसैले भनेि हाले ” त्यो म हैन मेरो जुडवा भाइ हो भन्दीन्छन । ” नैतिकता जाओस भाडमे । यस्तो गर्न नसक्ने वा गर्न हुँदैन भन्ने बुझेका डाक्टरहरु यस्तालाई लिच्चड डाक्टर पनि भन्दछन । अब यो लिच्चड डाक्टर भनेको के भनेर उनैलाई सोध्नुहोस ।

हेलमेट शिक्षक

हेलमेट शिक्षकलाई तपाईँ अर्को शब्दमा “मजबुरीका दुसरा नाम” पनि भन्न सक्नु हुन्छ । यस्ता शिक्षक राम्रै प्रतिशत ल्याएर स्नातकोत्तर सकेकाहरु हुन्छन् । सहज जीवनयापनको लागी आवश्यक पर्ने तलब सुविधा पाइने सिङ्गो जागिर भेट्दैनन् । जस्तो सुकै जागिर गर्न “स्वाभिमान” ले दिन्न अनि एक बिहानमा ४, ५ वटा कलेज भ्याई दिन्छन् । आफूले पढाएको पिरियडको आधारमा तलब पाउने हुनाले यिनीहरूलाई त्यो पिरियड बढाउने धाउन्नमा आफ्नी बुढीको पिरियडस् (महिनावारी) आएको गएको नि ध्यान हुन्न । क्यानडाको लगायतका देशहरूको पिआएर ट्राई नगरेको हेलमेट शिक्षक चाहीं यो लेखकले देखेन तर लेखकले देखेन भन्दैमा हुँदै हुदैनमा भन्ने हैन । सहिमा भन्नु पर्दा सरकारले यिनीहरूको क्षमता विदेशी दातृ निकायहरूलाई देशको साक्षरता प्रतिशत उदारण दिनमा मात्र प्रयोग गरी रहेका हुन्छ ।  पिडित वन हेलमेट शिक्षकहरू !

…. र मेरा सर

एक जना सर हुनुहुन्थ्यो, गणित पढाउने, उहाँले आफूले कक्षाकोठामा पठाएका विद्यार्थीलाई ट्युसन पढाउनु हुन्थेन, तिमीहरूलाई मैले १ वर्षमा बुझाउन नसक्या कुरा १ महिनामा सक्दिन भन्नु हुन्थ्यो, त्यसैले मसँग अन्तिममा ट्युसन पढ्न जाँउला र परीक्षा पास हुलाँ भन्ने नसोच्नु, जति ध्यान दिने हो यही कक्षा कोठामा नै ध्यान दिनु भन्नु हुन्थ्यो। यी बुढा सरको गोदाई त लाष्टै खाईयो तर आजभोली मलाई उनको कुटाई भन्दा बढी ज्ञानको याद आउँछ । उनको त्यो पढाउने बुझाउने शैली अरू कसैको हुन्थ्यो जस्तो लाग्दैन । हाम्ले जति नै उटपट्याङ गर्दा पनि यिनमा अनुहारमा हाँसो र रिस देखिँदैन थियो । तर पनि हामीलाई डर हुन्थ्यो ।

3 thoughts on “गुरुदेवो: महेश्वर:

  1. Very pathetic site possibly by nepalese in USA — reflects the rot as a society we make . There could have been many positive movements — but this is what comes out of Nepalese folks staying abroad — character assassination of a lady , low-level satire … Very poor folks ..

  2. सोल्टी अमेरिकावाला पोष्ट पढिवरी अर्को पोष्ट पनि पढी भ्याउने लाष्टाँ low-level satire … Very poor folks रे ? हसाउछ सोल्टिले

Comments are closed.

Charlie