बाह्र सत्ताइस आन्दोलन


देशमा अहिले आन्दोलनको मौसम छ। कोही ‘राजा आऊ देश बचाऊ’ भनेर आन्दोलनमा छन्, कोही सरकारको पछिल्लो कदम पश्चात् संविधानको रक्षार्थ भन्दै सडकमा ओर्लिएका छन्। अनि कोही भने सरकारी कदमको समर्थनमा दीपावली गर्ने भन्दै समेत सडकमा ओर्लिएका छन्। यस्तो आन्दोलनको गोल्डन मौसम चलेका बेला १२ थरी औंलामा औंठी गनेर बस्न मिलेन।फलाम तातेका बेला हिर्काइहालौं न त भने यो लेख लेखिएको हो। उसैपनि कोरोनाले काम गर्न द्याछैन, बाहिर घुम्न जान पाइया छैन। अँ, एउटा कुरा- हामी यहाँ सरकारले चालेको कदम संवैधानिक हो कि असंवैधानिक हो भनेर संविधानका पानी नआउने धाराहरुबाट नदी नै कुर्लाउँला झैं गरेर आफ्नो विद्धता प्रस्तुत गर्न आएका छैनौं, न त कुनै गुटको कुनै समयको तिरो तिर्न बाह्र सत्ताइसका कूतर्क गर्दै गुट बचाउको प्रायोजित लेख लिएर आएका छौं। कोरोनाको कहरले ग्रस्त २०२० अनि देशमा व्याप्त राजनीतिक अन्यौलताले निराश हाम्रा पाठकहरुमा अलिकति भए पनि मनोरञ्जन होस् भन्ने हेतुले आज हामी नेपालमा हुने गरेका आन्दोलनका किसिमलाई हाम्रो आँखाले देखे अनुसार वर्गिकरण गर्ने हिसावले उपस्थित भएका छौं। तपाईं हाम्रै लोकप्रिय बाह्रथरी अनलाइनको अतिथी लेखकको रुपमा म पुन: यो लेख पूर्णतया: मनोरञ्जनको लागि लेखिएको र कोही कसैको वास्तविक जीवनमा मेल खान गएमा संयोग मात्र हुनपुग्ने जानकारी गराउन चाहन्छु।

लौ त अब फूलपाति लिएर कथा सुन्न बस्नुस्-

राजनीतिक आन्दोलन

यो आन्दोलनका बारे त धेरै भन्नै पर्दैन। यो नेपालमा चलेको सबैभन्दा पुरानो र लोकप्रिय आन्दोलन हो। यसको प्रयोग राणा शासन हटाउनेदेखि लिएर मट्टितेलको भाउ बढ्दासम्म भएको पाइन्छ। यो आन्दोलनले कतिपय सुकुम्बासीलाई अर्बपति बनाउनेदेखि रत्नपार्कको रेलिङ भाँच्ने विशेष प्रशिक्षण पाएका भुसतिघ्रेहरुलाई मन्त्री बनाउने सम्मको काम गरेको छ। अरु त अरु ढुङ्गा हानेर बागबजारको सडकमा पार्किङ गरेको गाडीको शिशा फुटाउने विशेषज्ञता हासिल गरेकाहरुलाई समेत यो आन्दोलनले सांसद बनाईदिएको छ। घण्टाघर अगाडि मालिङ्गा स्टाइलमा ढुङ्गा फाल्ने दाजुलाई यही आन्दोलनले यीनले चैं केही गर्छन् कि भनेर जनताले भरोषा राख्न सक्ने खाले बनाइदिएको छ, भलै तिनले के गर्लान् नगर्लान् त्यो भने भविष्यकै गर्भभित्र लुकेको छ। यो आन्दोलनको फाइदा भनेकै पुलिसको दुईचार थप्पड खाएको ब्याज स्वरुप तिनै पुलिसहरुको सलाम खानु रहेको छ। अब त सकियो कि भनेर सोच्न नपाउँदै अर्को खाले आन्दोलनको सुरुवात भइहाल्नु र मुद्दाको कहिल्यै कमी नहुनु यो आन्दोलनको विशेषता रहेको छ। यो आन्दोलनलाई फरक अर्थमा अर्थ्याउँदा शहीद उत्पादन आन्दोलन भन्न पनि सकिन्छ। कतिले नेता उत्पादन गर्ने आन्दोलन पनि भन्लान्, तर साँच्चै हेर्ने हो भने यस्ता आन्दोलनले गतिला नेताभन्दा गतिला शहीद बनाएको छ। देशमा भएका ठूला ठूला राजनीतिक परिवर्तन, गणतन्त्र, संघियया सबै यस्तै आन्दोलनका परिणाम हुन्।

मपाइँ आन्दोलन

भन्न त मानिसहरु यो आन्दोलनलाई नागरिक समाज आन्दोलन भन्छन्, तर स्तम्भकार भने यसलाई बिशुद्ध मपाइँ समाज आन्दोलन भन्न रुचाउँछ। आफूले आफैंलाई समाजको उच्च वर्गको बुद्धिजिवी मानेर दश बाह्र जना जति अलिअलि पढेलेखेका टाँईफाँई गर्न जान्ने, खान पुग्ने, दिन दिन नखोज्ने किसिमका मानिसहरुको झुण्ड यो वर्गका आन्दोलनकारी हुन्। यिनीहरु झण्डा बोकेर आन्दोलनमा जाँदैनन् बरु आफ्नो हित हेरेर एक पेज लामो कर्मकाण्डी वक्तव्यमा हस्ताक्षर गरेर पत्रपत्रिकामा छपाउँछन् जसमा उनीहरुको सहज पहुँच रहेको हुन्छ। देशमा केही हुने बित्तिकै यिनीहरु कुनै अलिक नाम चलेको नव-एलिट बस्ने दारु पसलमा जम्मा भइहाल्छन् र दारुको चुस्की लगाउँदै विकसित घटनाक्रमको समर्थनमा लेख्दा फाइदा हुन्छ कि बिरोधमा लेख्दा फाइदा हुन्छ भनेर छलफल गर्छन्। यत्ति एक पेजे चिर्कटो फालेको भरमा यो समाजका कतिपय विद्वानहरुले सरकारी नियुक्ति पड्काएको उदाहरण पनि बग्रेल्ती पाइन्छ। राजनीतिक आन्दोलनमा जस्तो यसमा टाउको फुट्ने, मामाघरको पाहुना हुने लगायतका खतराहरु पनि नहुने भएकोले यो आन्दोलन टाठाबाठाहरुले सेफ साइडमा बसेर गर्ने आन्दोलनको रुपमा परिचित छ। ए झण्डै बिर्सेको त- यो समाजका आन्दोलनकारीहरु कहिलेकाहीं माइतिघरतिर पनि जम्मा हुन्छन्, र भाषण ठोक्छन्।

खेति आन्दोलन

यो आन्दोलन एउटा भिन्दै शैलीको आन्दोलन हो। यसमा दुई तीन दर्जन जति युवा युवतीहरु चिटिक्क परेर हातहातमा प्ले-कार्ड बोकेर माइतीघर मण्डला पुगेर फोटो सेसन गर्छन्। यिनीहरु हिंसा मन पराउँदैनन्, बरु प्लेकार्ड बोकेको सेल्फी लिएर सामाजिक संजालमा प्रचार गर्ने र त्यही फोटोहरु रिपोर्टमा हुलेर बैदेसिक अनुदान प्राप्त गर्ने यिनीहरुको प्रवृति हुन्छ। कतिले त यिनीहरुको आन्दोलनलाई डलरे आन्दोलन पनि भन्छन्, तर १२ थरी त्यसरी सबैलाई एकै घानमा हालेर कुरा गर्दैन। यिनीहरुको लागि कुनै विशेष मुद्दा सिर्जना हुनु पर्छ भन्ने नै छैन, बरु फण्ड आउने सिजनमा यिनीहरु मुद्दा आफै बनाउँछन्। महिला, सिमान्तकृत वर्ग, मानव अधिकार, लैंगिक हिंसा, भ्रष्टाचारको विरोध यिनीहरुको सदावहार मुद्दाहरु हुन्। कुनै एउटा परियोजना समाप्त हुने बित्तिकै यिनीहरु प्लेकार्ड बोकेर माइतीघर पुगिहाल्छन्। यसलाई खेति आन्दोलन किन भनिएको हो भने जसरी किसानले एउटा बाली भित्र्याउने बित्तिकै अर्को बालीको लागि तयारी गर्छ त्यसरी नै यिनीहरु पनि एउटा आन्दोलन सकिने बित्तिकै अर्को आन्दोलनको तयारी शुरु गर्छन्। कृषिप्रधान देशका यी किसानहरु हुन्, फरक यत्ति हो कि यिनीहरु आफ्ना सामान तारे होटलमा सेमिनार गोष्ठी गरेर विदेशमा बेच्छन् र जिविकोपार्जन गर्छन्, किसानहरु आफ्नो सामानको मुल्य नपाएर रुँदै बस्छन्। हुन त सबै किसिमका आन्दोलनहरुको अन्तिम गन्तव्य द्रव्यार्जन नै भए पनि यो आन्दोलनले चैं द्रव्यको लागि कहिलेकाहीं मिलेर बसेका लोग्नेस्वास्नीको बीचमा झगडा पारिदिने देखि लिएर छिमेकी छिमेकीलाई भिडाइदिने सम्मको हर्कत गर्ने गरेको छ।

कुखुरे आन्दोलन

राजनीतिक आन्दोलनपछिको सबैभन्दा प्रख्यात आन्दोलन हो यो। राजमार्गमा गुडेको बसले कुखुरा किच्यो भनेर सडक बन्द गर्ने र तोडफोड गर्ने आन्दोलनको नाम हो कुखुरे आन्दोलन। सजिलोसँग बुझाउनको लागि कुखुरे शब्द प्रयोग गरिएको छ यहाँ। कहिले कुकुर, कहिले गाइ, कहिले बाख्रो त कहिले केलाई ठक्कर दिएको भन्दै सडक र बजार बन्द गर्ने र बार्गेनिङ् गर्ने आन्दोलन कुखुरे आन्दोलन हो। यस्ता आन्दोलनमा प्राय: धेरै नेपाली सहभागी भैसकेको यो स्तम्भकारको अनुमान छ। धारामा पानी आएन, बत्ती बलेन, सडक बनाउँदा घरको पेटी छोयो, सडक मिचेर बनाएको घर भत्किने भयो भनेर गरिने आन्दोलनहरु सबै यही वर्गका आन्दोलन हुन्। साना गल्लीदेखि राजमार्ग बजारसम्म, लाजिम्पाटदेखि माइतीघरसम्म पटकपटक, सयौंपटक यस्ता कुखुरे आन्दोलन भएका छन्। कतिसम्म भने एकटपक बस दुर्घटना हुँदा दुर्घटना भएको बस कम्पनीले अर्को बस ल्याएर गन्तव्यमा पुर्‍याउन हिच्किचाएपछि ४ घण्टा सडक बन्द गरेको अनुभव त स्वयं १२ थरीका एकजना स्तम्भकारकै अनुभव छ।

भुसतिघ्रे आन्दोलन

यो आन्दोलनका आन्दोलनकारीहरु धेरै जसो टोले गुण्डाहरु रहेका हुन्छन्। यिनीहरु विशेषत: पुरै सडक ढाकिनेगरी मोटरसाइकलको हर्न बजाउँदै हिँड्ने गर्छन्। यिनीहरुको विशेषता भनेको यिनीहरुलाई आफू कुन आन्दोलनमा गइरहेको छु भन्ने नै थाहा हुँदैन। त्यसैले कहिलेकाहीं झुक्केर यिनीहरु अघिल्लै जुलुसको नारा पनि पछिल्लो जुलुसमा पनि लगाइदिन्छन्। प्रचण्ड-माधव नेपालले गरेको आन्दोलनमा गएर यिनीहरु केपी ओली जिन्दावाद भन्दै नारा लगाउँछन्। हतारहतार एउटाले ए हैन, यो आन्दोलन केपी ओलीको विरोधमा हो भनेपछि फेरि केपी ओली मुर्दावाद भन्छन्। पाँच किलोमिटर मोटरसाइकल र्‍याली गर्नको लागि पनि आयोजकले यिनीहरुको मोटरसाइकलमा फूल ट्याङ्की पेट्रोल भरिदिनु पर्छ। आन्दोलनमा जाने मान्छे नभएको तर आफ्नो एजेण्डा देखाउन खोज्नेहरुले यस्ता किसिमका आन्दोलन बेलाबेला गरेको देखिन्छ। मोटरसाइकलको तेलले मात्र नपुगेर यो भुसतीघ्रे टोलीलाई र्‍याली सकिएपछि पेटभरि खानापान र जलपान समेतको व्यवस्था गरिदिनु पर्ने भएकोले यो आन्दोलन तुलनात्मक रुपमा महँगो आन्दोलनको रुपमा मानिन्छ। महँगो भएतापनि यो आन्दोलनको परिणाम चैं हात लाग्यो शुन्य नै हुने गरेको छ र पैसा भएका बुद्धि नभएका मान्छेले यस्तो आन्दोलन चलाउने गरेका छन्।

गरीब आन्दोलन

यो आन्दोलनको दु:खी आन्दोलन हो। उखु किसानदेखि, तरकारी किसान, दूध किसानदेखि तलब नपाएका पत्रकारसम्मको आन्दोलनलाई यो वर्गमा राख्न सकिन्छ। यिनीहरुको आन्दोलनमा न त ठूला ठूला भाषण गर्ने नेता हुन्छन् न त मोटरसाइकलमा ट्याँ ट्याँ पार्दै सडक जाम गराउने भुसतिघ्रे नै। यी कहिले भोकै, झरीमा भिजेर सडकमा रोइरहेका हुन्छन् त कहिले रत्नपार्कमा भोकै बसिरहेका भेटिन्छन्। भर्खरै काठमाडौंमा भएको उखु किसानको आन्दोलनलाई हेर्नुस् न- उनीहरुको समर्थनमा न त प्लेकार्ड बोक्नेहरु पुगे, न त कोही भुसतिघ्रेहरु। ती पुसको काठमाडौंको जाडोमा लुगलुग काम्दै सडकमा बसे, अर्काले दिएको अलिकति भात खाए र आन्दोलन गरिरहे।

साइबर आन्दोलन

यो बिशेषत: सामाजिक संजालमा हुने आन्दोलन हो । ट्विटर चैं यस्ता आन्दोलनको निम्ति ‘माइतिघर मण्डाला’ हो भन्दा पनि फरक नपर्ला। हनुमान, कटप्पा, स्वतन्त्र पत्रकार आदि ग्याङमा विभक्त छ यो । ओल्बाले आफ्ना समर्थकहरुलाई एक पटक अरिंगाल हुन के आह्वान गरेका थिए, उनको वरिपरि भुन्भुनाउने झिंगाहरू एकाएक अरिंगालमा बदलिन पुगे । यसको काम भनेको आफ्नो पक्षले गरेको जस्तो सुकै गलत कदमको पनि समर्थन गर्नु र विपक्षी खेमाको धज्जी उडाउनु हुनेगर्छ । आफु अनुकुल लिंक ठेल्ने, विपक्षीलाई खुइल्याउन बराजुका पालाको स्कृनसट उत्खनन गर्ने, तारोमा परेको नेताको भिडियो क्लिपलाई ‘ट्रिम’ गरेर मुख्य जिम्मेवार भनेको रहेछ भने पनि मुजी भन्यो भनेर कोहोलो मच्चाउनु यस्ता आन्दोलनकारीको विेशेषता हो । आफ्नो समुहको समर्थन हुने रहेछ भने ऐरेगैरे संस्था र मेडियाको रिपोर्ट पनि हाईलाइट गरेर शेयर गर्ने तर आफ्नो पक्षमा प्रतिवेदन रहेनछ भने ‘त्यसले भनेर कहाँ हुन्छ? हामी त्यसलाई खारेज गर्छौ’ भनेर लाज पचाउनमा माहिर हुन्छन् यस्ता आन्दोलनकारी । नेताको पक्षमा पाखुरा सुर्केर लड्न पछि नपर्ने यिनिहरु कैलेकाहिं नेताहरूले आफ्नो अडान छाडेर विपक्षीसँग मिल्न जाँदा भने यिनिहरुको मनोदशा ‘भिगी बिल्ली’ जस्तै हुन्छ । तर पनि सोमहरू चेते पो । जिनमै आन्दोलन लिएर आएकाहरूसँगै क्यै गरि नसकिने ।

‘गो केसी’ आन्दोलन

लास्टमा भएपनि यी बड्डाको आन्दोलनको चर्चा नगर्ने हो भने आन्दोलनमय हाम्रो देशको वर्णन पुरा हुन्न । अलि अघि मात्र उन्नाइसौ चरणको आमरण अनसनको आन्दोलनमा बसेका यी डाक्टर फेरी कैले आन्दोलनमा बस्ने हुन था छैन । तर २०-२२ दिन आन्दोलन बसेर सुकाएका आन्द्रा तंग्रिने बित्तिकै यी आन्दोलन बस्न थालिहाल्छन् । मेडिकल शिक्षा सुधार गर्न भनेर सुरु गरिएता पनि यिनले आफ्नो अजेन्डामा अचेल व्यापक विविधिकरण गरेका छन् । लोकमानलाई महाअभियोग लगाउन पर्छ भन्ने देखि कोभिडको उपचारमा सरकार जिम्मेवार हुन पर्छ भनेर समेत यी भोकै बसे । बुढा आन्दोलन गर्न नछाड्ने, सरकारल यिनले भनेका र गरेका सहमति लागु गर्न नखोज्ने। यस्तै यस्तै भएर चल्दैछ यो क्रम । यी अनसनको आन्दोलनमा बस्न पाका हुन्नन, सारा मेडियाले यिनलाई सपोर्ट गर्न थाल्छन् । २ हप्ताजति समय घर्केपछि सम्पादक मन्डलले पनि यिनको ज्यान जोगाउने अपिल गर्दै विज्ञप्तिको झटारो हान्छन् । विवेकशील साझा भन्ने पार्टीको त गतिविधि नै उनकै आन्दोलनको सपोर्टमा प्लेकार्ड बोक्दा देखिने हो । यीनको यत्रो आन्दोलनको परिणाम र स्वास्थ्य क्षेत्रामा आएको सुधारको विश्लेषण गर्ने हो भने भन्न करै लाग्छ – रातभरी रुँग्यो, बुढी त ज्यूँदै !