एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बोली सरकारमा जानु अघि गोली जस्तै थियो। उखान तुक्कासहित भाषण गर्न उनी सिपालु थिए। तर प्रधानमन्त्री भएपछि ओलीको बोली बेलुनमा भरेको हावा जस्तै देखियो। ओलीको बोलीको बेलुन उँडिरहेको थियो, प्रधानमन्त्री भएपछि बेलुन फुट्यो। हामीले यहाँ ओलीका केही १२ सत्ताइस गफहरु संकलन गरेका छौं।
सबैभन्दा पहिले उनले धेरै उपप्रधानमन्त्री बनाएकोमा आलोचना भएपछि एमालेका कार्यकर्तासँग भनेको कुरोबाट सुरु गरौं- ‘हाम्रो ध्यान कतिजना उपप्रधानमन्त्री भए भन्नेमा छ । उपप्रधानमन्त्री धेरै भएर के बिग्रियो र? मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको मात्र त हो। सांसद नभइकन मन्त्री हुन पाइँदैन, सांसदको भन्दा मन्त्रीको दुई हजार बढी तलब हुने त हो नि।’
भारतसंगको सम्बन्धका बारे ओली- ‘सँगै सुतेपछि खुट्टा बोकायो, किन खुट्या बोकायो भनेपछि निन्द्रामै बोकाएछु भन्यो भने त सिद्धियो त। त्यसमा फेरि थपेर किन निदाएको थिइस् त भन्न पाँइदैन।’ भने भनेपछी अब ओलीको बोलीको बारेमा के भन्न परो र?
केही महिनाभित्र म काठमाडौंमा इलेक्ट्रिक कार ल्याएर इलेक्ट्रिक भेलिकल्स सञ्चालनमा ल्याउँछु। मैले तुरुन्तै काठमाडौंभित्र दक्षिणकाली र बुढानिलकण्ठ, थानकोट र बनेपामा इलेक्ट्रिक रेल चलाउने काम सुरु गर्नेछु। अब डिजेलको भुरुरुरु धुँवा छोड्ने बस हैन इलेक्ट्रिक बस चलाउँछु काठमाण्डुमा।
मैले तनहुँ गोर्खा मर्स्याङ्दीको किनारमा नयाँ बस्ती बनाउँछु। त्यो विशेष बस्ती हुनेछ।
अब काठमाडौंका फोहोरका दिन गए। मैले अब यो फोहोर व्यवस्थापन गरेर त्यसबाट बिजुली हुन्छ वा अरु जे जे हुन्छ त्यसमा प्रयोग गर्छु।
अब ग्याँसका सिलिण्डर साइकलमा बोकेर, मोटरसाइकलमा बोकेर, काँधमा बोकेर केमा बोकेर कुद्नु पर्दैन, सिलिन्डरको फेज समाप्त गर्दिन्छु, घरघरमा चुल्हा चुल्हामा ग्याँसको पाइपलाइन पुर्याइदिन्छु। पिटिक्क खोल्दाखेरी सिलिण्डरबाट आउँछ अब ग्याँस, पाइपबाट आउँछ ग्याँस।
मैले मेट्रो ट्रेनको कुरा गरेँ, इलेक्ट्रिक बसको कुरा गरेँ, हावाबाट बिजुली भनेँ, दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर बन्ने कुरा गरेँ, लोडसेडिङ अन्त्य गर्ने कुरा गरेँ। विद्वान मित्रहरुलाई झट्का लाग्यो, अति नै भयो किनभने नेपाली समाजमा यस्ता कुराको अनुभव थिएन । मलाई उखान टुक्कामा त माहिरै रहेछ भन्दै हिँड्नुभएको छ, खै कहाँ छन् उखान टुक्का देखाइदिनुस् त।
उनका केही उखान तुक्का-
१) एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ। त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला। त्यो पनि किनिदिन सकिएला। लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ?
२) गोरू नांगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन।
३) हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन।
४) कपाल काट्न सिक्ने भए कमाराका टाउकाबाट सिक्नु भन्ने उखान छ । कपाल भुत्ल्याइए कमाराको भुत्ल्याइन्छ, रौँ उखेलिए कमाराको उखेलिन्छ । दुखे कमारालाई दुख्छ । टाटेपाटे भए कमारो हुन्छ । तर, कपाल काट्न जानेपछि ठूलाबडाको टाउकामा काट्नु भनिएको छ । मलाई लाग्छ– हामीलाई कमाराको टाउको बनाएर प्रयोग गर्न खोजिएको छ ।
५) झुम्रा, कागज र अरू मटेरियल त पहिल्यै थिए, तर ती पहिल्यै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।
६) एक दिन दुई जना साथी आएर मलाई एउटा चिज देखाए, यसो हेरेको त इन्डिएन राइनो लेखेको रहेछ, मैले त्यहाँ अब्जेक्सन जनाएँ र भनें एकसिंगे गैंडा नेपालको हो। यो नेपालमा जन्मन्छ। चितवनमा जन्मेर भारत चर्न जाँदैमा त्यो इन्डिएन राइनो हुन्छ?
७) गोगो साबुनको विज्ञापनमा भन्छ नि, ‘गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने’ भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठूलो भाले होइन, चल्लाले लखेट्या छ । एमालेजस्तो पार्टीलाई अरूले गालामा चड्याम्म हान्छ, अनि ‘कस्तो दुख्नेगरी हानेको सहन्नँ है म’ भन्या छ ।
८) माओवादी छातेच्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ।
९) सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो केको लभ पर्नु हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो ।
१० ) नोटमा लेखेको हुन्छ नी, यो रूपैया माग्न आएमा राष्ट्र बैंकबाट त्रून्त भुक्तानी दिइने छ । हो, त्यसैगरी म बोलेका कुराको भुक्तानी दिन तयार छु ।
तपाइँलाई ओलीका १२ सत्ताइस कुरा सुनेर हाँसो उठेन ? ह्या, ओलीको कुरा सुनेर हाँस्नलाई कुनै कारण चाहिँदैन। हाँस्दिनुस् एकपटक।