प्रविधिको विकाससँगै नेपालमा अहिले फस्टाउँदै गएको व्यवसाय हो अनलाइन समाचार पोर्टल। यसको विकास पनि गज्जपै छ- दिनमा १८ घण्टा लोडसेडिङ् हुँदा पनि यसको विकास पछाडि हैन अगाडि नै बढेको छ, गुणस्तरको कुरा नगरौं संख्यात्मक बढोत्तरीको कुरा गरौं। दिन दुगुणा, रात चौगुणा अनलाइन पोर्टल जन्मिने क्रम जारी छ। अनि टाउके, भुरे, टाकुरे सबैले आफूलाई सत्य, तथ्य र छिटो समाचार पस्किने भनेर आफूलाई अगाडि सारिरहेका छन्।
संख्यात्मक विकास कतिसम्म भइसक्यो भने एक घर एक अनलाइन, हरेक परिवार हरेक पत्रकार हुने अवस्था छ। यी अनलाइनले कहाँबाट पैसा ल्याउँछन्, कति कमाउँछन्, तलब कति खान्छन् भन्ने चर्चा बिस्तारमा गर्दै गरौंला। अहिलेलाई भने नेपालमा चलिरहेका अनलाइन समाचार पोर्टलका थर खोज्नतिर लागौं।
रुन्चे/बेरोजगार पोर्टल:
पहिलो नम्बरको समाचार पोर्टलको नाम लिनुपर्दा बेरोजगार पोर्टल आउँछ।यो अनलाइनको विशेषता के हो भने ठूलै मिडियामा काम गरिरहेको कुनै पत्रकार कुनै कारणबाट सो मिडियाबाट निकालियो वा आफैले जागिर छोड्यो भने यो अनलाइनले तुरुन्तै काम दिइहाल्छ। अनि यो पोर्टलले पत्रकारलाई भन्ने कुरो चाहिँ यस्तो छ- ‘लौ बाबु, बेरोजगार भएँ भएर चिन्ता नगर, मेरोमा काम गर। अँ, तलबको कुरा नगर, यो आफ्नै पोर्टल हो, बरु सक्छौ भने आर्थिक सहयोग गर्न सक्छौ। किनकी तिमीलाई अफिस आउनुपर्ने कुनै वाध्यता छैन। जहाँसुकै बसेर जसका बारेमा जे जे लेखे नि हामी छापिदिन्छौं। तिम्रो नाम आइरहन्छ। अन्त काम पाएका दिन छोडेर जान नि स्वतन्त्र छौ। बरु तिम्रो नाम फुटरमा कमेन्टेटर भनेर पनि राखिदिऊँला।’
यो पोर्टलको अर्को विशेषता के छ भने, यसको कुनै विचार छैन। खोलो कतातिर बग्न लागेको छ, यसले फ्याट्ट थाहा पाउँछ र त्यतै बग्छ। बग्दाबग्दै खोलोले धार परिवर्तन गर्ने बित्तिकै स्वाभिक छ, यसको धार पनि फेरिहाल्छ। यसको अर्को विशेषता- कसैलाई हिरो र कसैलाई जिरो बनाउन त यसबाट कसैले सिकोस्। अँ, यो पोर्टलमा तपाइँ १ वर्ष अघि मात्र किनेको कट्टु फाट्यो भनेर ह्वाँ ह्वाँ डाको छोडेर रुन पनि सक्नुहुन्छ।
निर्देशक/क्वीज पोर्टल:
अर्को पोर्टलको थर छ- क्वीज। सुरुवातमा यसको विशेषता के थियो भने, कुनै मिडियाले एउटा समाचार लेख्ने बित्तिकै यो पोर्टलले ‘त्यो समाचार गलत हो, खास त यस्तो भएको थियो। आखिर किन भयो त्यस्तो?’ भनेर सुरु भइहाल्थ्यो।अर्थात् यो खण्डन पोर्टल थियो। काउन्टर दिइहाल्ने। आजकाल यो संख्या गन्न थालेको छ। संख्या गन्नुसँगै यसको विशेषता के छ भने यसले क्वीज गर्छ हेडलाइनमा। ‘ट्याङ्कीमा तेल छ, जनताले किन पाएनन्?’ ‘बैठकमा प्रचण्डले किन पाधे?’ ‘कट्टु जस्तै देखिएको के थियो प्रियंकाले लगाएको लुगा?’ ‘शरीरभरी ठाउँ खाली हुँदा किन खोपिन् करिश्माले स्तनमा ट्याटु?’ यसका हेडलाइनका उदाहरण हुन् यी। यसको बाटोमा अहिले अरु धेरै पोर्टल पनि हिँड्न थालेका छन्।
यसको अर्को विशेषता के हो भने, यसले हामी सत्य हौं, निष्पक्ष छौं, अरु त सब हावा हुन् भन्ठान्छ। अझ अघि बढेर यसले के पनि दाबी गर्छ भने, हामी समाचार पहिला लेख्छौं र अरु बाँकीले हाम्रो सार्ने हुन्। अझ रमाइलो त यो पोर्टलले पाठकलाई निर्देशन पनि दिन्छ- ‘हेर्नुस् कर्कलाको पातबाट पानीको थोप्पोले कसरी फाल हानेर आत्महत्या गर्यो।’
एजेन्डे अनलाइन:
एजेन्डे अनलाइन भन्नेबित्तिकै बुझिन्छ, यसले कुनै एउटा निश्चित एजेन्डा बोकेको हुन्छ तर त्यमा कट्टर भएर लागिरहन्छ। खासमा यसलाई डोनरे अनलाइन भन्नुपर्ने हो। अर्थात् विदेशी डोनरको पैसो लिएर उसकै एजेन्डा बोकिदिने जिम्मा यसको हुन्छ। यी पोर्टल आफ्ना विशेष सम्वाददातासहित फिल्डमै पुग्छन् रिपोर्टिङमा तर फिल्ड जानु पहिल्यै यिनीहरुलाई को मान्छेले के बोल्छ थाहा भएसकेको हुन्छ, अर्थात् प्रायोजित समाचार स्रोतहरु यिनीहरुसँगै हुन्छन्। यिनीहरु आफू मात्र आवाजविहीनहरुको आवाज भएको घोषणा गरेर फुरुक्क पनि पर्छन्।
भ्यान्टे अनलाइन:
यो पोर्टलको नामै काफी छ यसको विशेषता जान्न। पद्मकन्या क्याम्पसको शौचालयमा भ्यान्टा फलेको समाचारले सनसनी मचाएको यो पोर्टल जस्ता अनगिन्ती पोर्टलहरू नेपाली बजारमा छ्याप्छ्याप्ती छन्। यिनीहरु एकदम गहिरो अनुसन्धान गरेर समाचार पत्ता लगाउँछन्। यिनीहरुले पत्ता लगाउने समाचार पनि विशेष हुन्छन्। यीनलाई सन्ध्याकालीन पोर्टल भन्न पनि सकिन्छ। हेडलाइन सेन्सेन्सनल बनाएर साइटको भिजिटर बढाउनु यीनको उदेश्य हो। कसैले यी साइटलाई पनि आफ्नो जानकारीको स्रोत मान्छ भने उसलाई राम राम भन्न सकिन्छ, भीरमा लगेर हुत्याउन समय छैन।
एडसेन्स पोर्टल:
गुगलले यसलाई ‘मेड फर एडसेन्स’ भन्छ । यस्ता वेबसाईटमा सनसनीखेज खबर / शीर्षकको कमी हुदैन । प्राय: फेसबुकबाट क्लिक गरेर पुगिने यस्ता साईटहरुमा एक प्यारा मुन्तिर भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने लिङ्क हुन्छ। ठ्याक्कै युट्युबको भिडियो बफरिङ्ग भए जस्तो फोटोको अगाडि गुगलका बिज्ञापन राखिएको हुन्छ।अनि भिडियोको हेडलाइन चाहिँ यस्तो हुन्छ- फिल्म हलमै प्रियंकाको पेन्टी भिजेपछि (भिडियोसहित)। पाठक त हुरुरुरुरुरुरुरुरुरुरु। खुइय्य ! हुरुरु लेख्दा हातै गले।
कपीपेष्ट पोर्टल :
यस्ता वेबसाईटवालाहरुको फेसबुक पेजमा लाईकको कुनै कमी हुँदैन। दुई चार लाख लाईक त यस्ता वेबसाईटको लागि दायाँ हातको खेल हो। नाम चलेको वेबसाईटबाट स्रोत नखुलाई वा राष्ट्रिय समाचार समितिको समाचारलाई हुबहु सार्नु यस्ता वेबसाईटहरुको बिशेषता हो। यि वेबसाईटहरुको भिजिटर फेसबुक ईन्गेजमेनन्टले धानेका हुन्छन्। २, ४ लाख लाईक भएको फेसबुक पेजमा यसको लिङक शेयर गरेपछि ८, १० हजार भिजिट त यसै आइहाल्छन् नि। यी साइटवालाहरुको फूर्ति पनि विशेषप्रकारको हुन्छ। अनलाइन मिडिया वा त्यस्ता केही गोष्टी सेमिनार भए यिनीहरु गर्वले छाती फुलाउँदै साइटको टिसर्टै लगाएर पुग्छन्।