१२ सत्ताइस पलायनवादी


यो पोस्टसम्म आइपुग्दा आदरणिय पाठकहरु ढुक्क भइसकेको हुनुपर्छ, कि हामीले जे प्रतिबद्धता गरेका थियौं त्यसमा हामी डटेर लागेका छौं। हामीले प्रतिबद्धता गरेका थियौँ- हामी समाजमा रहेका विभिन्न प्रवृत्तिका कुरा गर्छौं, आदर्शको खोल ओढेर बेइमानी गर्नेहरुका बंगारा झार्छौं। हाम्रो भाषा अलि टर्रो पनि लाग्ला। केही पाठकहरुले गाली चाहिँ गर्ने तर साखुल्ले पल्टिन नामचाहिँ नलिने प्रवृत्ति देखियो भनेर गुनासो पनि गर्नुभएको छ। तर हामी के भन्छौं भने, समाजमा देखिने ती चरित्रहरुको विषेशता नै यति सरल लेखिदिउँ कि मान्छेको नाम नलिए पनि ठ्याक्क चिनियोस्।

बंगारा झार्ने हाम्रो विशुद्ध उद्देश्यमा हामी टसमस नभई लागिपर्नेछौं, चाहे रुकोस् निलो आकाश, १२ थरी रुक्दैन, चाहे झुकोस् सगरमाथा १२ थरी झुक्दैन: आडम्बरीका बंगारा झार्दै इन्टरनेटमा चम्किन्छ। त्यही अगाडि लम्किने क्रममा यसपाली १२ थरी ब्युरोले देशबाट पलायन भएका र आफू पलायन भएको समेत पत्तो नपाएकाहरुको कुरा गर्ने जमर्को गरेको छ। यस पोस्टले बिशेषत: विश्वको त्यो देशमा पुगेका बकलण्ठु नेपालीको बारेमा जानकारी दिने जमर्को गर्नेछ, जुन देशमा पुगेसी कम्तिमा कुनै बहानामा किन नहोस् त्यहीँको अङ्गिकृत नागरिकता लिन लित्ती कस्ने गर्छन्। साथै भाग्यले ठग्नु ठगेर कुनै हालतमा नि ति विदेश पुग्न नसकेर पलायनवादी हुन नपाएका  नेपालीलाई सानो स्थान दिने जमर्को गरिएको छ। १२ सत्ताइस पलायन ब्युरोको पलायन शाखाले गरेको सुक्ष्म अनुसन्धानले पत्ता लागेका ताल तालका पलायनवादीहरुलाई सम्पादक मण्डलले यहाँ प्रस्तुत गरेको छ।

राजनैतिक पलायनवादी:

यी विशुद्ध रुपमा राजनैतिक कार्यकर्ता हुन् भनेर बुझ्न पर्छ। कारण प्रस्ट छ, यी जुनसुकै देशमा पुगे पनि आफु नेपालमा हुदाँको माउपार्टीको भातृ संगठन खोल्ने काम गर्छन।। यिनको समुहमा त्यस्तै खाले व्यक्ति पर्छन्, जो नेपालमा माखो मार्न नसकेर पलायन भएका हुन्। बेला बेलामा हुने नेपालका राजनैतिक पार्टीका नेताको बस्ने खाने ठाम मिलाउने वा आफ्नैमा लगेर राख्ने यिनीहरुको सोख हुन्छ। आफूबसेको देशमा नेपालबाट कोही नेता पुग्नेबित्तिकै तिनीसँग कुम मिलाएर फोटो खिचेर तात्तातै सोसियल मिडियामा हाल्छन्। यिनीहरुलाई लाग्छ, त्यति गरेपछि यिनीहरुको इज्जत स्वात्तै बढ्छ, तर कौन पुछे खेसडीका दाल। १२ थरी ब्युरोका देश बिदेशमा रहेका एजेन्टहरुका अनुसार, यो वर्गमा पर्ने पलायनवादीहरुले आफ्नो माउपार्टीको लागि चन्दा असुल्ने काम पनि गर्छन्। अनि आँउदो बैठकमा त्यो चन्दाले माउ पार्टीलाई के के गुण लगायो भनेर बकम्फुसे बिवरण दिएर अन्य सदस्यको आँखामा छारो हाल्ने काम पनि गर्छन्। माउपार्टीको महाधिवेशनको समयमा आफु बसेको देशबाट प्रतिनिधी खटाउने काम पनि यसै वर्गका पलायनवादीहरुले गर्छन्।

क्षेत्रीय पलायनवादी:

यी चाँहि आफुलाई पार्टीगत राजनीतिभन्दा पर राख्ने भनेर दाबी गर्ने खालकाहरु हुन्छन्। यिनले कुनै बिशेष ठाँउका नेपालीहरु समटेन खोज्छन्। जस्तै: कास्की सम्पर्क मंच,  गुल्मेली समाज आदि । तर जति नै राजनीतिभन्दा पर रहेर एउटा ठाँउका नेपालीको जमघट गरिने भनिए पनि यिनले गर्ने भनेको बर्षमा एउटा दुइटा वनभोज कार्यक्रम मात्र हो। र, त्यो वनभोज कार्यक्रम सामान्य चिनापर्चीबाट शुरु भएर अन्त्यमा एकदमै तातो गोलमेच सम्मलेन स्टाइलमा सकिन्छ। त्यहाँ विभिन्न राजनैतिक पार्टीका कार्यकर्ताहरु देश तेरो पार्टीले बिगार्यो भनेर बाझाबाझ गर्न थाल्छन्। र, यस्ता पलायनवादीहरु त्यो वनभोज कार्यक्रम पछि अर्को वनभोज नहुन्जेलसम्म फलानो त काँग्रेस र’छ, फलानो त माउवादी र’छ, ढिस्कानो त एमाले र’छ भन्दै पँधेर्नी स्टाइलका गफ गरेर बिताउने गर्छन्।

जातिय पलायनवादी:

बिदेशमा पनि गुरुङ समाज, मगर समाज भनेर गठन गर्दै हिँड्नेहरु। यिनीहरुलाई जात यति प्यारो हुन्छ कि नेपालमा जातिय राज्य चाहियो भनेर बिदेशमा नै रोधिघर चलाएर मनोरन्जनात्मक विरोध गर्न बेर लाउँदैनन्। यिनले आफ्ना पथप्रर्दशक भनौँ या गुरु चाहिँ आङगकाजी शेर्पा जस्तालाई थापेका हुन्छन्। कुन दिन यिनको माउपार्टी फेरिन्छ यी आफैलाई थाहा हुँदैन, हामीलाई कसरी थाहा होस्। १२थरी ब्युरोका एक एजेन्टले यस्तै जातीय पलायनवादीहरु बस्ने ठाँउमा पुगेर अवलोकन गर्ने अवसर पाएका थिए। हाम्रा एजेन्टले प्रत्यक्ष के देखे भने यिनीहरु लोकदोहरीका पारखी हुन्छन्। अर्कै शहरमा बस्ने अर्को जातीय समुहसँग फेसटाइम वा स्काइप मार्फतै भएनी जाँड धोकेको तालमा दोहोरी खेल्न मन पराउँछन्। यिनका अलि बुज्रुकहरु जातमा अलि कट्टर हुन्छन् भने युवा चाँहि जात बाल हो, कमाउन र पाल्न सक्ने भए बाहुन क्षेत्री जे भए नि चल्छ भनी बाहुन बाहुनीसँग लसपसमा लागेका पनि मनग्गे भेटिएका छन्।

खादा प्रेमी पलायनवादी:

यो वर्ग राजनैतिक पलायनवादी, क्षेत्रीय पलायनवादी, जातिय पलायनवादीको ककटेल हो। यीनलाई कुन संस्थाले के काम गर्छ, किन स्थापना भएको हो भन्ने बाल हो, जसरी हुन्छ हरेक संस्थाको कमिटिमा पर्नु यिनीहरूको उदेश्य हुन्छ। यिनीहरुको आफ्नो कुनै धारणा हुन्नँ। कुन धारणा बक्दा खादा ओढ्न पाइन्छ, त्यही धारणा बक्नु यीनको विशेषता हो। यिनीहरूको ध्यान केबल स्टेजमा खादा ओढेर गजक्क परेर बस्न पाइन्छ कि पाइन्नँ भन्नेमा मात्र हुन्छ। १२थरीको मनोसामाजिक विश्लेषण ब्युरोका अनुसार यिनीहरुमा एकप्रकारको एडिक्सन देखिने र त्यसलाई खादा एडिक्सन भनिन्छ। लाग्छ, यिनीहरुले हरेक सप्ताहान्तमा खादा सुँघ्न पाएनन् भने यिनीहरूको प्राण नै रोकिन्छ। कार्यक्रम कि त होटलमा हुने भो कि त पार्कमा। बिदाको दिनमा केटकेटी पनि भुलाउनै पर्‍यो। अनि श्रीमती छोराछोरी बोक्यो, मेरो आज यहाँ “मिटिङ” छ भन्यो, हिँड्यो। दुई चारजना बटुल्यो, स्टेजमा चढ्यो, ब्याच लगायो र खादा ओढ्यो, गजक्क परेर बस्यो। खादा ओढाइदिने मान्छे पनि त चाहियो नि। १२ थरी एजेन्ट भन्छन्, खादाप्रेमी त यतिसम्म गर्छन् कि उनीहरुलाई ब्याच वा खादा ओढाइदिने यिनीहरुका आफ्नै श्रीमती हुन्छन्। त्यो किन पनि आवश्यक छ भने श्रीमतीले नेपाल जाँदा किनेको सारी त्यहाँ पनि देखाउन परो नि। अनि ब्याच र खादा लगाएर स्टेजमा बसेको मान्छे भनेपछि छोराछोरी, श्रीमती सहितलाई खाजा नास्ताको पनि राम्रै व्यवस्था हुने भो, हैन!

पडाँकु पलायनवादी:

विधार्थीको खोल ओडेर परदेशतिर लम्किने जत्थालाई यहाँ पडाँकु भन्न खोजिएको हो। यीनको उद्धेश्य पढ्ने त कदापि नै होइन, सबैभन्दा पहिला विदेश पुग्ने। उता पुग्ने बित्तिकै कलेज ज्वाइन गर्नु अघि नै घन्टा कता हान्न पाइन्छ भनेर खोज्नेहरु यो वर्गमा पर्छन्। यीनले कलेज जानु भनेको आफ्नो बैधानिकता जोगाउनु हो भनेर मात्र बुझ्ने गर्छन्। अमेरिका जानेका हकमा पढ्दापढ्दै सके गोरेनी नसके म्याक्सिकन र तीपनि नसके लास्टमा दुई तीन हजार डलर तिरेर भए नि काली बिहे गरेर कागज बनाउनु पर्छ भन्ने सोच राख्छन्। त्यस्तै युरोपमा पनि कथा उस्तै नै भइगयो। यीनलाई हामी मध्यम दर्जाको पलायनवादी भन्न रुचाँउछौँ। तल्लो दर्जाको पलायनवादीमा चाँहि पढ्ने भनेर छिरेर, सबैभन्दा पहिला शरणार्थी भिषा एप्लाई गर्नेहरुलाइ राख्न सकिन्छ। माथिल्लो दर्जामा चाँहि जेनतेन पढेर, काम पनि ठिकठाकै पाएर, कामदार भिषाको बाटो हुँदै, स्थायी बसोबासको प्रमाणपत्र लिनेहरुलाई राख्न चाहन्छौँ। १२ थरीको वर्गिकरण ब्युरोले उद्धेश्य सबैको उही स्थाइ बसोबास भए पनि कुन बाटो अवलम्बन गर्ने भन्ने कुरालाई आधार बनाएर दर्जा निर्धारण गरेको हो।

‘घर काठमाडौँ’ वाला पलायनवादी

यी पलायनवादी पलायन हुने बेलामा प्लेन चढ्न आउँदा काठमाडौँ देखेको भएतापनि सबैलाइ घर काठमान्डु भन्ने गर्छन्। नागढुङ्गा, थानकोट तिरकाले त भने तै ठिकै हो तर काठमान्डु घर भन्यो भने बिदेशमा छुट्टै सम्मान पाइने सोचेर हो कि पश्चिममा मलेखुपारी, पुर्वमा बनेपापारीवालाले पनि काठमान्डु घर भन्न कत्ति नि हिच्किचाएको पाइँदैन। १२थरी ब्युरोका एक एजेन्टले भेटेका काठमाडौं घरवाला पलायनवादीले आफ्नो घर काठमाडौं मात्रै नभएर पुतलीसडकमा भएको र आफ्नो ४ वटा व्यापार रहेको समेत बताए। ब्युरोले उनको बारेमा छानबीन गर्ने क्रममा उनको घर सिन्धुपाल्चोक कोशीपारी रहेको फेला पार्‍यो।

ढुकुटी पलायनवादी:

मान्छे जम्मा पारेर ढुकुटी चलाउने, आफ्नो स्वार्थअनुसार पैसा खाने। यीनले आफु बसिरहेको देशको कानुनलाई त लात हाने हाने,  सोझासाझा नेपालीलाई फकाएर, फुल्स्याएर खुन पसिना बगाएर कमाएको पैसामा समेत छुरा हान्छन्। सुरुमा ‘ढुकुटीमा विकृती मात्रै हुँदैन नि, हामी आफु आफु खेल्दा किन डराउनु पर्‍यो?’ भनेर बडा मार्मिक ढङ्गले आफ्नोपनको आभाष दिएर मान्छे तान्ने गर्छन् यी पलायनवादीले। पहिलो किस्ता त खेलाउने नाताले आफुले खाने भइहाले, त्यसपछि अरुलाई दिने बेला यसने दिन बाँकी भएर दिन पाएको छैन भन्दै महिने मरेको हप्ता दिन कट्दा पनि ढुकुटी दिन खोज्दैनन् । आफुले ढुकुटी नखाएकाहरुले पहिला ढुकुटीलाई पैसा तिरेर बाँकी भए अरु काम गर्छन् भने ढुकुटी खाइसकेकाहरु पहिला अरु काम निप्टाएर बल्ल पछि ढुकुटीलाई सम्झिन्छन्। यीनले किस्ता तिरे भने कहिलेकाहीँ त पश्चिमबाट घाम उदायो कि झैँ गरि आश्चर्यचकितै बनाइदिन्छन्।

डिपेन्डेन्ट पलायनवादी:

आफू भन्दा पौरखवाली केटी वा केटासँग सम्बन्ध बनाउने, कानुनी बिहे गरेर अथवा साँच्चिकै बिहे गरेर लोग्ने वा स्वास्नीको डिपेन्डेन्टमा पलायन हुने। यो क्याटोगोरीमा बिदेशमा भएको केटोलाई माया जालमा पारेर, बिहे गरेर पलायन हुने महिलाहरु पनि पर्छन्। महिलालाई नपार्ने हो भने फेरी लैङगिक समानता भएन भनेर फरिया उचाल्दै आइपुग्छन्, महिला अधिकारवादी। निर्भिक पत्रकारिता गर्नु पनि रिस्कको कुरा हो नि आजभोलि। यो क्याटगोरीमा बाबुआमाको डिपेन्डेन्ट त पर्ने नै भए। यस्तैगरी, फलानो देशमा बस्ने फलानो वा फलानीलाई उक्त देशको स्थायी बसोबास प्रमाणपत्र भएको वर वा बधु चाहियो भनेर पत्रिकामा विज्ञापन छपाउनेहरुलाई पनि १२थरी ब्युरोले डिपेन्डेन्ट पलायनवादीको बिल्ला भिराएको जानकारी गराउन चाहन्छौँ।

समाजसेवी पलायनवादी: 

यिनीहरू नेपालमा हुने दैवी प्रकोप कुरेर बसेका हुन्छन्। छुस्स केही भयो कि पीडितलाई राहत दिन चन्दा उठाउन थालिहाल्छन्। दिनेले पनि देश अनुसारको ५-१० दिन्छन्, त्यो खासै ठुलो पैसो भएन उनीहरूका लागि र कसैले हिसाब राख्ने कुरो पनि भएन। त्यो राहतको पैसा कहाँ, कसलाई जान्छ भन्ने त सबैलाई थाहै छ, १२थरी ब्युरो त्यसमा खास टाउको दुखाउन चाहँदैन। राहतको पैसा पिडितका हातमा त पुर्‍याउनै पर्‍यो। आफ्नै खल्तीको पैसा हालेर हरेक घटनामा प्लेन टिकट किन्न पनि त गाह्रो छ नि महोदय। मानौँ कि लामो समय नेपालमा दैवी प्रकोप केही भएन रे, अब यी समाजसेवीलाई देशको अवस्थाले यस्तो पिरोल्न थाल्छ कि गाउँमा स्कूल, मन्दिर, बाटो घाटो बनाउन हतार हुन्छ। अोहो, अझ गतसालको महाभुकम्पमा पो देखिएको थियो समाजसेवी मनहरू। कहाँ, कसलाई, कसरी नेपाल पुर्‍याउने हो, केही थाहा छैन,  तर यता थोत्रा, च्यात्तिएका मोजा देखि चड्डी उठाउँदै हिडेका थिए। उसो त उद्दारका लागि भनेर नेपालनै पुगेर टिव्टे भेट्दै हिड्ने समाजसेवी पलायनवादी पनि १२ थरी ब्युरोले भेटेकै हो।

अन्तिम विकल्प पलायनवादी:

सुरुमा यीनले अम्रिका, अस्ट्रेलिया वा युरोप पढन जान ताकेका हुन्छन्। विद्यार्थी भिषामा भिषा नजितेपछि यी अनेक तिकडम गरेर ती देशमा छिराउने दलालको शरण पर्छन्। दलालले लाखौं खाएर नेपालबाट प्लेन त चढाइदिन्छ, नेपालबाट उडेको प्लेन कहाँ जान्छ, रुट के हो यीनलाई नै थाहा हुन्नँ। कोही रुटमै पासपोर्ट च्यातेर बस्छ्न् त कोही अन्तिम गन्तव्यसम्म पुग्ने अठोट लिएर हिँडेका हुन्छन्। यो क्रममा जो जो पासपोर्ट च्यातेर बाहिरै लुक्न सफल भए, तिनको कुरा नगरौँ। जो सफल भएनन्, ती धोबीका कुत्ता घरका न घाटका भएर नेपाल नै फर्कन्छन्। यति बेलासम्म तिनको आर्थिक अवस्था निकै नाजुक भै सकेको हुन्छ, अनि यिनीहरु अन्तिम विकल्पको रुपमा अरब छिर्छन्। अरबसम्म पुग्दा यिनीहरुलाइ म किन र कसरी यहाँ आइपुगेँ भन्ने हेक्का हुन्नँ। उल्टो, आफूले देश विदेश देखेको दम्भ हुन्छ र त्यही अरबमै काम गर्ने नेपालीलाई पनि यिनले मान्छे गन्दैनन्।

 

यो त हाम्रो ब्युरोको राडारले भेटेका पलायनवादीहरु मात्र भए। हामी ज्ञाता त होइनौँ, तर हामीले हाम्रो ब्युरोले गरेको अनुसन्धानका क्रममा देखेका पलायनवादीका कुरा गर्‍यौं। तपाइँहरुका वरिपरी पनि पलायनवादी छन् र तीनीहरुको हामीले प्रस्तुत गरेका भन्दा फरक विशेषताछन् भने तल कमेन्टमा लेख्नुहोला।

 

2 thoughts on “१२ सत्ताइस पलायनवादी

  1. अर्काे अनलाइन पलायनवदी पनि हुन्छन्:
    जो फूर्सद हुने बितिकै पाए २४ सै घण्टा फेसबुकमा अनलाइन भेटिन्छन् । केही चिनेका मान्छे यसो अनलाइन भेटिए भने कठालो समातेर हालखबर सोध्ने देखि लिएर फलानाको भैँसी ब्यायो कि ब्याएन सम्म सोधि बसेर हैरानी दिन्छन् । तर स्वदेश फर्के पछि भेट्टीदा नि तिनैले चिने नचिने जस्तो गर्छन् । तिनलाई तह लगाउने हो भने, यहाँ मेरो त बेरोजगार भएर बिजोग छ यसो अलिअलि पैसा सापटी पठाइदिए पछि तिर्ने थिएँ भन्नुपर्छ । ती तुरुन्तै बहाना बनाएर अफलाइन हुन्छन् अनि बल्ल फेरीफेरी दु:ख दिन छाड्छन् ।

    Like

  2. नेपालाँ गौ माता भन्दै गाईको मासु नखाने तर गाईको मुत खाने, तेस्ले चोक्खिने , अनि अमृकाँ टेकना बितिक्कै मुफतमा पायेसी गौ माता सौ माता बाल, र्याल काढी काढी बिफ बर्गर र स्टेक चपाउने गौ माताका पलायनवादी सन्ततिहरु को बारेमा त भुसुक्कै बिर्सेछ नि १२- सत्ताइसले ! यी पलायनवादीहरु एता अमृकाँ गोरेले हामि ब्राउन पिपल लाई दिस्क्रिमिनेट गरो, डोनाल्ड ट्रंप रेसिस्ट हो, बर्नी सेन्दर्स जिन्दाबाद भन्दै बर्नी बुडाको तिसत लगाई हिन्छ, तर जत्ति नै आइभी लिगमा पढे पनि नेपालाँ आफुले अरुलाई दिस्क्रिमिनेट गर्या कुरो चै भुसुक्कै बिर्सनच ! यी पलायनवादीहरु धेरै जसो नेपालाँ सरकारी कर्मचारी हुँदा भक्कु घुस खान सम्म खाए( अथवा तिनका बाउले), देशलाई भड्खालाँ जाक्नसम्म जाके अनि ऐले अमृकाँ चैं एन्टी करप्सन गुरुप जोइन गरम , नेपालाँ भ्रस्टचारीलाई फाँसीको बेबस्था गर भन्दै फेसबुकाँ देशको बडो चिन्ता भएजस्तो अर्चन! क्यार्नु, १२ सत्ताइस ! गुरुङ समाज र मगर समाज चै देख्छ, तर नाम चै नेपाली समाज काम चै बाहुन समाज , नाम चै नेपाली दुताबास काम चै बाहुन दुताबास चै देख्दैन! नेपालआँ चैन्जो हेपो हेपो, चैन्जो औंरिकाँ सम्म नेपालआँ जस्तो हैकम चालौन्ला भन्दो रे छ बा! आफ्नो आङ आँ भैंसी के हेरनी हो र? आर्काआ आङआँ जुम्रामाथि दुरबिन लाउन पायेसी !! हैन्त, १२ सत्ताइस ?

    Like

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.