होटलका १२ सत्ताइस पाहुना


यहाँ पाहुना भन्नाले घर घरमा बास माग्न आउने पाहुना हुन् भन्ने नसोच्नु होला। घरमै आउने पाहुनाका बारे अलि पछि चर्चा गरौंला। अहिले भने  होटल (भट्टीदेखि फाइभ स्टारसम्म) का पाहुनालाई  सम्झिनुस् ।१२ थरीका बिशेष प्रतिनिधिले विभिन्न होटलका साहु, मेनेजर र अन्य स्टाफहरुलाई सोधेर यो खोजमुलक रिपोर्ट तयार गर्नुभएको हो। १२ थरी परिवार यस्ता विशेष प्रतिनिधिप्रति आभार व्यक्त गर्दछ। यो विषय झट्ट हेर्दा कमै ध्यान जाने तर गहिरिएर हेर्दा यसभित्र अनेकानेक प्रवृत्ति भेटिन्छन्। आउनुस् अब पाहुनालाई स्वागत गरौं। 

विश्लेषक

जेमा पनि विश्लेषण ठोक्ने। भट्टी होटेलदेखि स्तरीय रेस्टुरेन्ट वा पाँचतारे होटल, जहाँ पुगे पनि यिनीहरु आफ्ना ताइँ न तुइँका तर्कसहित विश्लेषण गर्न खप्पिस हुन्छन्। अझ राजनितीक विश्लेषणमा त यीनले आफुलाई मुमाराम नै सम्झन्छन्। छेउ न टुप्पाका गफ गर्न माहिर यस्ता पाहुनाहरु ठुलो आवाजले गफ दिएपछि छेउछाउका मान्छेको ध्यान तानिरहेको छु भन्ने ठानेर मख्ख पर्छन्। तर यिनको गफ सुनेर छेउको मान्छे भने कस्तो पागल रै’छ भनिरहेको हुन्छ। सुन्ने दुईजनामात्र भेटे कि अमेरिकादेखि उत्तर कोरिया, सत्तादेखि अस्पतालसम्मको विश्लेषण ठोकिभ्याउँछन्।

आँपे

केही पनि थाहा नभएका तर सबै थाहा पाएको झैं गर्ने। यस्ता प्रकारका पाहुनाहरु रेष्टुरेन्टमा खान बस्दा होस् वा होटलमा राती सुत्दा वा बस्दा आफु पाँच तारे होटलमा छु भने झैँ त गर्छन्, तर तात्तो भुत्लो केही थाहा हुँदैन। छेवैको टेबुलको अर्को ग्राहकले हातले खाना खाइरहेको देखे तापनि यी काँटा छुरी मगाएर खाना खान्छन्। काँटा चलाउन नजानेर  अर्को टेबुलमा मासुको टुक्रा उछिट्टिए पछि बल्ल यिनीहरुले आफ्नो औकात देख्छन् र छेउको मान्छेसँग  माफी माग्न थाल्छन्। काँटाले खाने हुँ भनेर देखाउन खोज्दा कतिको त गिजामा काँटाले घोचेर रगत आएको हुन्छ। रुममा पनि त्यस्तै कमोडमा फ्लस नगर्ने, सिङकको बटम मास्तिर तानेर भाँच्न पनि पछि पदैनन्।

खन्चुवा/अलकत्रा

यस्ता पाहुनाहरु फोकटको खान पाए केही छोडदैनन् । मेनु र खानाको डीस बारेमा केही थाहा हुन्न, बस् खान पाए पुग्यो। माछा मासुमा धेरै नै लगाव हुने भएर होला, कुखुराको मासुको परिकार सिध्याएपछि मटनमा के छ भनेर बेरालाइ सोध्छन्। बेराले मेनु फलाक्न नपाउदै ३ पिलेट अर्डर गरिसक्या हुन्छन्। बिशेषगरी अरुले बील तिरिदिने मामलामा यसरी अर्डर गर्छन्। भात खाइसकेपछि म:म खान मन लाग्यो भन्छन् यस्ता प्रजातिहरु। अझ दारु पायो कि लिटरै बुत्याउन्छन्। होटलमै बसेर खाएर मात्र नि यिनको पेट भरिँदैन, होम प्याक पनि  प्रसस्तै लैजान्छन्। राजनैतिक दलका कार्यकर्ता, पत्रकार र सरकारी अफीसका तल्लो तहका कर्मचारीहरुलाई यो स्थानमा राख्न उपयूक्त हुन्छ।

खोकुवा

यस्ता पाहुनहरु होटलमा छिर्ने बित्तिकै त्यहाँका स्टाफहरुलाई खोक्न शुरु गरिहाल्छन्। फलानो नेता मेरो साथी हो, पुलिसको ठुलो मान्छे साख्खै भान्जा पर्छन्। अनि मेरो पोखरामा ३ वटा  होटल छ, गोवामा क्यासिनो छ, अझ कोही कोहीले त बुर्ज होटलमा मेरो शेयर छ भन्न पनि पछि पर्दैनन्।

अलिक स्तरीय होटलका कर्मचारीहरु पाहुनासँग मुख मुखै लाग्दैनन्, जे भने पनि यस भनेर मुन्टो हल्लाउछन्, हो यही सोझोपनको फाइदा उठाएर खोक्छन्।

हिजो जापानको सम्राटको छोरोसँग लन्च खाएर आएको समेत भन्ने यस्ता पाहुनाहरु पैसा तिर्ने बेलामा लास्ट किचकिच गर्छन्। भर्खर जग्गा दलाली गरेर पैसा कमाएको, डनगिरी गर्ने, बिशेष गरी नटवरलाल टाइपका ग्राहक यस क्याटेगोरीमा पर्छन्। लास्टमा रुममा सुत्न जाने बेलामा वेयटरलाई केटी व्यवस्था गर्दे, तँलाई र केटी दुवैलाइ मालामाल पार्दिन्छु भन्छन्। भोलिपल्ट बिहान राम्ररी चेक गरिएन भने रुममा राखेको टाबेल, ब्रस, टीभीको रिमोट आदि हराएको हुन्छ।

चटुवा

खाना खान टेबुलमा बसे देखि नै चाटन थाल्ने यस्ता ग्राहकहरु सम्पुर्ण मेनुको बारेमा सोधखोज  गर्छन्। जस्तै; यो तरकारीमा अन्डा हुन्छ कि हुँदैन? किन हुँदैन? सागमा मासु हालेर किन नपकाएको? जस्ता छेउ न पुच्छरको कुरा गरेर चाटछन्- १ घन्टा लगाएर एउटा खाना अर्डर दिन्छन्। कोही कोही त आफ्नै कपाल उखालेर खानामा हाल्छन् अनि यस्तो खाना दिने भनेर झगडा गरेर फोकटमा खान्छन्। इन्डियन, अनि अलिक रइस खालका ग्राहकहरु यो समूहमा पर्छन्। यसैमा अर्को उप-ग्रुप छ ‘असन्तोषी’। केही अर्डर गर्‍यो कि त अर्डर आउनु अगावै “छ्या” भन्दै नाक खुम्च्याउँछन्। जोगीमाराको ढाबामा बसेर हिजो फाइबस्टारमा खाना खाएको बर्णन गर्छन्। सी फुडदेखी पिज्जा बर्गरको गफ लाउँछन्। बिचरी भट्टी साहुनी केही नबुझेर ट्वाँ परेर हेरीरन्छिन्। धनाढय, उच्च ओहदाका कर्मचारीका श्रीमती परिवारहरु यो वर्गमा पर्छन्।

नेटपीडित

यो क्याटगोरीका ग्राहकहरु अलिक हाइटेक स्वभावका हुन्छन्। रेस्टुरेन्टमा छिर्ने बित्तिकै सम्पुर्ण मेनु हेर्छन् अनि मम: अर्डर गर्छन्। अलिक आधुनिक देखाउन चिप्सचिल्लीसम्म थाहा हुन्छ, १ पिलेट त्यही अर्डर गर्छन्।

वाइफाइको पासवर्ड मागेर टेबुलको चारतिर बसेका यी अत्याधुनिक प्राणीहरु एक अर्कालाई चिन्दैनन्। अनि शुरु हुन्छ उनीहरुको मोबाइल भित्रको दुनिँया। मानौँ यिनीहरुले इन्टरनेट भनेको १० बर्षपछि देखेका हुन्। त्यो अर्डर गरेको म:म सेलाएर बज्र भैसक्दा पनि खान भ्याएका हुन्नन्।

काठमाडौंबाट १० किमी के बाहिर गएका हुन्छन्, लाग्छ उनीहरु गोबी मरुभूमिमा छन्। अझ टीनएजर केटीहरु भाइबरमा आमा दिदीलाइ फोन गरेर ‘आइ मिस यू’ भनेर ग्वाँ ग्वाँ रुन्छन्। रेस्टुरेन्टबाट जाने त कुरै गर्दैनन्। उनीहरुले पोस्ट गरेको फोटो अलि ढिलो अपलोड भयो वा नेटवर्कमा केही समस्या आयो भने *क  मदर *कर, सन अफ बीच आदि इत्यादि गाली फलाक्छन्। शहर बजारमा कुरकुरे बैंश पलाएका युवा युवतीदेखि लिएर फेसबुकमा स-परिवारको खाता भएकाहरु यो समुहमा पर्छन्। अझ एक कप कालो चिया मगाएर दिनभरी नेटमा ब्यस्त हुने अनि रुममा लामखुट्टे आयो भनेर रुम रेट घटाउनु पर्छ भन्ने झोले खैरेहरु यो समुहको नाइके हुन्।

२ कोठे

सँगै जाने, दुईटा कोठा लिने तर एउटैमा बस्ने। महिला पुरुष एउटै अफिसका हुन्छन्। यिनीहरुले पहिल्यै दुईवटा कोठा लिएका हुन्छन्-आउने बित्तिकै हतार हतार एउटै रुममा छिर्छन्। अर्को रुमको त ढोकै खोलेका हुदैनन्। जाने बेलामा रुम रेटको दोब्बर दाम बढाएर दुई कोठाको भिन्दाभिन्दै बील माग्छन्। बिहान रुम सफा गर्न जाने स्टाफ त ट्वाँ। म्यानेजरलाई भन्न भ्याउँछ- ‘सर, एउटा कोठा त खोलेकै रहेनछ।’ कहलिएका उच्च कर्मचारी, आइ/एनजिओका स्टाफहरु, डाक्टरहरु र अन्य केही प्राइभेट अफिसका कर्मचारीहरु यो समूहमा पर्छन्।

घन्टे

वर्गले नै थाहा हुन्छ- जम्मा एक डेढ घन्टालाई कोठा चाहिने। यिनीहरुलाई जस्तो कोठा दिए पनि हुन्छ, न पैसामा बार्गेन न त खाने कुरामा नै कम्प्लेन। न नेटवर्क नचलेकोमा गुनासो, न लामखुट्टेको कचकच। यिनीहरु दिउँसो २ बजे आए भने ४ बजे सम्ममा रुम छोडिसक्छन्। यिनीहरु प्राय: शुरुमा एक्लै आएका हुन्छन्। कोहीभने सुरुमै दुवैजना। अनि केही समयपछि यिनीहरुको पार्टनर आइपुग्छन्। यो वर्गमा पर्नेहरु को को हुन् भनेर खुलाउन हामीलाई अलि अप्ठेरो पर्‍यो। आजकाल धेरैका श्रीमान/श्रीमती विदेशतिर छन्, पाठकहरुले मिलाएर बुझ्नुहोला।

पातकी

छोरीसँग आएको भन्दै होटल पुग्ने। यिनीहरु  आफु ६५ बर्षको भएता पनि १७-१८ उमेरकी केटीलाई छोरी हो भनेर परिचय गराएर कोठा लिन्छन्। अनि अझ छोरी एक्लै सुत्न डराउँछे भनेर दुईटा भिन्नाभिन्नै बेड भएको कोठा लिएर बस्छन्। यिनीहरुलाई आफ्नो उमेरको पनि ख्याल हुँदैन न त आफूले लगाएको नाताको।

यी त हामीले भेटेका केही बुँदागत पाहुनाहरु हुन्। यो बाहेक पनि विभिन्न थरीका पाहुनाहरु होटल, रेस्टुराँ पुगेका हुनसक्छन्। तपाइँहरुले देखेका र हामीले छुटाएका कोही पाहुना भए कमेन्टमा ठोक्दिनुस्। कसैका बंगारामा लागेछ भने उसैले बेहोर्छ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.