नेपालीका लागि अत्यावश्यक १२ सत्ताइस एप


तस्बिर साभार : octalsoftware.co.uk

तस्बिर साभार : octalsoftware.co.uk

नेपालमा लोडसेडिङ एपको सफलताको कहानी त धेरैले सुनेकै छौँ। बत्ती कतिबेला आउँछ? भने जस्तै राहत, भूकम्प, तलब, बिहेको लगन, फोनमा नेटवर्क, गर्लफ्रेन्ड्को रिप्लाई आदि इत्यादि कतिबेला आउँछ भनेर देखाउने एप पनि हुने हो भने आम मानिसको जीवन पनि सजिलो हुँदो हो ?, अनि हाम्रा संघर्षरत नेपाली डेभलपरहरुले पनि मनग्य आम्दानी गर्न सक्थे होलान्। अझ शरीरमै इन्स्टल गर्न मिल्ने एप बनाउन मिले झन् कति जाति हुँदो हो। हाम्रो नेपालीको लागि उखानै छ ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’, माने हामीलाई काम गर्न अल्छी लाग्छ तर खान भने मीठो मीठो चाहिन्छ। यही मेसोमा १२ थरीका शुभचिन्तक पाठकले त्यही हाम्रो अल्छे स्वभावलाई मध्यनजर गर्दै नेपाली शरीरका लागि अत्यावश्यक १२ थरी एपको सुची पठाउनुभएको छ। हामी १२थरी परिवारलाई स्वास्नी छोराछोरी पाल्न धौ धौ छ त्यसैले घण्टा हान्नै परो । धैरै काम गर्न भ्याउदैनौ । यही एउटा साइट चलाएका छौ । यो १२ सत्ताइस खालको एप बनाउने काम चाही तपाईहरु नै गर्नुहोला । 😀

फेस-वासर अर्लाम एप

जतिसुकै ‘वीर हौँ’ भनेर फुर्ति देखाए पनि हामी नेपाली जत्तिका अल्छी संसारमा अरू कमै होलान्। त्यसैले प्रगतिको दौडमा हाम्रो देश पछाडिबाट गन्ने हो भने अग्रपङि्तमै आउँछ। बजिरहेको आलार्म बन्द गरेर ‘अब जम्मा पाँच मिनेट सुत्छु’ भनेर एकघण्टा पछि आत्तिँदै ब्युँझिने तपाईँ हामी नै हौँ। त्यसको रोकथामको निम्ति हाम्रा एप डेभलोपरहरुले एउटा यस्तो एपको सिर्जना गर्नु आवश्यक छ कि जसले ब्युझाउने मात्रै होइन, फ्रेस नै बनाइदेओस्। यो एपले सेट गरेको निश्चित समयमा सुतिरहेको मानिसलाई हल्लाएर झकझकाउने छ। अनि उ ब्युझिँदा ब्युझिँदै फेसवासर एपले आफ्नो कमाल देखाउने छ। एपको सहायतामा आइस कोल्ड पानीले उसको अनुहार धोएर उसलाई फ्रेस बनाइदिने छ, अनि नउठेर सुख? बरु एपको सफलता सँगसँगै भोलिका दिनमा ब्रस गरिदिने, कपाल कोरिदिने सुविधा पनि थप्न सकिन्छ।

फ्लस एप

जगजाहेरै छ कि सारा नेपाली ग्यास्ट्रिकले प्रताडित छन् भनेर। जे पायो, जति पायो, जतिबेला पायो क्वाप्प खाइदिने आफ्नै बानीले आफै पीडित छौँ हामी। कसरत भनेको मठ्ठै हो। पाचन प्रणाली पनि छक्क पर्छ होला आहार ओइरेको देखेर। बिचराले सकेको पचाउँछ, नसकेपछि आफैँ बिरामी भइदिन्छ। तब के चाहियो, पाचन प्रणालीको सास बढ्न थाल्छ अनि उत्पन्न हुन्छ ग्याँस। अनि हुन्छ कब्जियत। ठुस्स ठुस्स पादेर सारा प्रेसर हावामा फाल्छन्। अनि शौचालयमा गएर प्रेसर आएन भन्दै घण्टौं कनेर बस्छन्। मोबाइल खोल्छन्, गेम खेल्छन्, ट्विट गर्छन् तर अँह पिछवाडाबाट केही निस्किन्नँ। अनि निराश भएर खाली लोटा लिएर फर्किन्छन्। उनीहरूको दिमागमा दिनभरि नै कतिखेर पेट कुटुक्क गर्ला र ट्वाइलेट दौडिम्ला भन्ने हुन्छ। त्यसैले सारा नेपाली शरीरको लागि एउटा यस्तो फ्लस एप डेभलप गर्नु आवश्यक छ जसको काम पेटभरी आची भएपछि मोबाइलमा ‘मेमोरी फुल’ देखाए जसरी ‘पेट फुल’ भन्ने नोटिफिकेसन आओस् अनि ट्वाइलेट छिरेर कट्टु खोलेर बसेर फ्लस एप अन गर्नासाथ सारा पेट फ्लस होस्, अनि सारा नेपाली हलुको भएर हर्षले बिभोर हुँदै ट्वाइलेटबाट निस्कुन्।

खाना ट्रान्सफर्/ ब्लुटुथ एप

मान्छेको जुनी साह्रै झण्झटिलो। बिहान उठेसी नास्ता खानै पर्ने, फेरी एकथाल भात हसुर्नै पर्ने, दिउँसो खाजा नि खान पर्ने, बेलुकी फेरी खाना। अझ स्कुल/अफिस जानेहरुले त आफूसँगै टिफिन बक्स झुन्ड्याएर लैजान पर्ने झण्झट। त्यसैले एउटा यस्तो एप बनोस् जसले बिहान एकपटक ब्लुटुथ मार्फत् सारा खाना डाउनलोड गरेपछि दिनभरलाई नै पुगोस्। न टिफिन बोक्ने झण्झट, न बाहिरको अस्वस्थ खाना खाएर भाइरस लाग्ने डर। अझ तपाईँ दयालु स्वभावको हुनुहुन्छ भने त साथीसँग ब्लुटुथ मार्फत् आफ्नो खाजा सेयर गर्न पनि सक्नुहुनेछ। होइन्त गज्जब?

खाना डाउनलोड गर्ने टोरेण्ट एप

युट्युब या अन्य कार्यक्रममा पकाएका परिकार कहाँ जान्छ कसले खान्छ त्यो थाह भएन। तर दिमागमा एउटा खुराफाती यस्तो जुक्ति छ जुन हाम्रा संघर्षरत एप डेभलपरहरुले फलो गरे भने आनन्दले ती स्वादिष्ट परिकार हामी सबैले आनन्दले खान पाइन्छ। युट्युबका विभिन्न किचनमा जब खाना तयार हुन्छ, त्यो तुरुन्तै टोरेण्ट या युट्युब डाउनलोडरको साहयताले डाउनलोड गरेर फिल्म हेरे झैँ डाउनलोड गरेरै खाना खान सकियोस्। यो असम्भव छैन। अनलाइन मनोरञ्जन, अनलाइन लभ, अनलाइन सम्भोग सम्भव छ भने अनलाइन भोजन किन नहुने? डेभलपरहरुको यो बारेमा ध्यानाकर्षण हुनु जरुरी छ। फेरि यसको सबैभन्दा बढी जरुरत त घन्टौं ल्यापटप, कम्प्युटरमा घोरिएर बस्ने एप डेभलपरहरुलाई नै छ। विचार गरौँ है।

रोग डिटेक्टर / एन्टिभाइरस एप

यो व्यस्त जमानामा बिरामी परियो भने त बिजोगै हुन्छ। काम/स्कुल/कलेजबाट छुट्टी लेऊ, डाक्टरकोमा गएर हजारौँ लुटाऊ। १२ सत्ताइस औषधि खाउ, मुख बार, दिनभर पङ्खा र सिलिङ्ग हेरेर टोलाउँदै घरमा बस। वाक्कै लाग्दो हुन्छ। त्यसैले कम्प्युटरमा हुने एन्टिभाइरस जस्तै शरीरमा फिट हुने एन्टिभाइरस या रोग डिटेक्टर बनोस् जसले बिरामी हुन लागेको सङ्केत पाउनासाथ नोटिफिकेसन दियोस् र अटो डिटेक्ट गरोस्। अनि ठुलै भाइरसरोग लागेको रहेछ भने फार्मेसीमा गएर थप औषधी एप इन्सटल गर्न मिलोस् ताकि कुनै पनि रोगका कारणले दैनिकीमा व्यवधान उत्पन्न नगरोस्। यसमा बेलाबखत मुटु ड्राइभ, फोक्सो ड्राइभ, दिमाग ड्राइभहरु स्क्यान गरेर थ्रेटहरुबाट अलर्ट हुन मिल्ने व्यवस्था पनि होस्। पहिले नै यो बनाउन झन्झट भए पहिलो वा दोस्रो अपडेटमा यो व्यवस्था गरे पनि हुन्छ।

रुमाल एप

नेपालको सार्वजनिक यातायात सुविधा त सबैलाई थाहा छँदैछ। यसलाई सुविधा भन्नुभन्दा पनि सजाय भन्दा उपयुक्त होला। सिट पाउनु भन्दा अमेरिकाको डिभी पाउन सजिलो हुन्छ। हाम्रो परम्परागत रुमाल राखेर सिट ओगट्ने चलनचल्तीलाई आधुनिकीकरण गरेर यस्तो एउटा रुमाल एप बनोस् जसले सिट बस चढ्नुभन्दा अगावै सिट ओगट्न सकियोस् ताकि आरामले बस चढेर आफ्नो सिटमा चट्ट बस्न पाइयोस्। यो एप पनि पहिलो चरणमा सार्वजनिक बसका लागि मात्र बनाए पनि अपडेट गर्दा एपलाई बिजुली अफिस, अस्पतालका किलोमिटर लामा लाइनमा उभिने झण्झटबाट पनि मुक्ति दिने बनाउन सकिनेछ।

नेपाली भ्वाइस टाइपर एप

‘नेपाली टाइप गर्न साह्रै झ्याउलाग्दो,’ ट्विटर फेसबुकमा सुनुने गुनासो नै यही हो। प्राक्टिकलै छैन, फलानो अक्षर नै छैन। सँधैको कचकच। एउटा एपमा के पुगेको छैन, अर्कोमा के। अनि भाषा शिक्षकहरू छडी लिएर तयार छन् फेरि डन्डा लगाउन। अझ नेपालीमा टाइप नगर्नेले नेपालमा ट्विटरै नचलाए हुन्छ। ब्लग लेख्दा त झन् गाँडै फाट्छ भन्या। त्यसैले एउटा यस्तो एप तुरुन्तै बनाइयोस् जसले फरर जे बोल्यो त्यो सरर टाइप होस्। यो एपले ह्रस्व दीर्घ चाहिँ बिगार्न भएन, नत्र शिक्षकहरूको पिटाई खाइन्छ ट्विटर फेसबुकमा।

सेन्सर एप

के के न रिट्विट आउला, सयौँ लाइक आउला भनेर ट्विट/फेसबुक स्टाटस, फोटो राख्यो तर ती यति इग्नोर भएर जान्छन् कि मन कुँडिएर रुन मन लागेर आउँछ। त्यही कुरा केही सेलिब्रेटी (आफैले मानेका)हरुले लेखे सय रिट्विट, सामान्य मान्छेले त्यही कुरा लेखे जम्मा दुई लाइक? कहाँको न्याय हो यो? त्यसैले यस्ता पीडितहरुको लागि एउटा यस्तो सेन्सर एप बनोस् जसले यो ट्विट/पोस्टमा यति रिट्विट/लाइक आउँछ भनेर पहिल्यै अनुमान लगाउन सकोस् र ढुक्कले ट्विट/स्टाटस पोस्ट गरेर रिट्विट/लाइक गन्दै गर्व गर्न पाइयोस्।

इलेक्ट्रोनिक यार्सा एप (पुरुषहरूको लागि मात्र)

जमाना उस्तै रहेन, खान्की गतिलो छैन, कसरत छैन, अनि कसरी परफरमेन्स गतिलो होस् त? कस्तो परफरमेन्सको कुरा भइरहेको छ त्यो आफै बुझ्नुस्।यो विषयमा खुलेर कोही नबोल्ने भए पनि धेरै छोरा मान्छेहरूमा यो पीडा छ। त्यसबाट मुक्ति पाउनका निम्ति एउटा यस्तो एपको विकास होस् जसलाई एक्टिभ गरेपछि शरीरमा स्वयम् बजरंगी सवार होउन्, ताकि सब तृप्त होउन्, सबको भलो होस्। तर एप साक्षात यार्सा जति महँगो भने नहोस्।

एक्स्ट्रा हात एप (धूम्रपान गर्नेहरुका लागि मात्रै)

समस्या पनि हेर्नुस् त के के हुन्? मोबाइल हातबाट छुटाउन मन लाग्दैन, अर्को हातले चुरोट समाउन परिहाल्यो, अनि चुरोटसँग चिया/कफी/बियर हुँदा सुनमा सुगन्ध हुन्छ। तर तीनवटा चिज दुइटा हातले कसरी समाउने? यो स्तम्भकारले मोबाइल र चुरोट एउटै हातमा राखेर एड्जस्ट गर्ने कोसिस पनि गरेकै हो तर त्यसो गर्दा चुरोटको खरानी स्कृनभरी पर्ने, चुरोट तान्न मुखतीर ल्याउँदा मोबाइलको डिस्प्ले टच हुने आदि समस्या भएकाले दुइटा हात अपुग भए भन्ने निष्कर्षमा पुगेको हो। त्यसैले एउटा यस्तो एप बनोस् जुन एक्टिभेट गरेपछि कतैबाट एउटा एक्स्ट्रा हात निस्कोस् र चुरोट, मोबाइल र चुस्कीको आनन्द आरामले लिन सकियोस्।

स्मेल रिमुभर एप

नेपालमा मापसे चेकिङको आतङ्क त सबैलाई थाहै छ। बिहे भोज, पास्नी, बर्थडे, एनिभर्सरीमा निम्ता आउँछन्, विदेश जाने, विदेशबाट आएका साथीले बोलाउँछन्। पुराना साथी भेटिन्छन्, बसिन्छ, रमाइला कुरा गरिन्छ, अनि जब रङ्ग जम्न थाल्छ र बोतलका बिर्का खोलिन थाल्छन्। मानसपटलमा निला कपडा लगायतका ठ्वास्स सास गन्हाउने भुतहरु लाइसेन्स माग्दै आइपुग्छन् र मुडै बिग्रिन्छ। “भो यार नपिउँ, मापसे हुन्छ” भन्नुपर्दा मन यति दुख्छ कि वर्णन गर्नै सकिन्नँ। अरूले पिएको टुलुटुलु हेरेर बस्नुपर्दाको पीडा सबैलाई थाहै छ। नेपालका बहुलठ्ठक पुलिसहरुलाई निश्चित मापदण्ड सम्म त पिएर पनि चलाउन पाइन्छ भन्ने जानकारी कसैले दिन नसक्ने भए। यही समस्याको रोकथामका लागि शरीरमा यस्तो एप राख्न सकियोस् जसलाई एक्टिभ गरेपछि जतिसुकै धोके पनि अल्कोहल स्मेल टोटल्ली रिप्लेस गरेर मगमग वासना मात्रै आओस्। यसले गर्दा मापसेमा त परिँदैन नै, घर पुगेपछि प्यारीलाई चुम्मा मज्जाले गर्न पाइन्छ।

स्लिपिङ एप

हामी नेपालीहरू अत्यन्तै चिन्ताग्रस्त छौँ। सबैलाई देशको चिन्ता, कसैलाई पढाइको चिन्ता, कसैलाई जागिरको चिन्ता, कसैलाई छिमेकीको प्रगतिले चिन्ता, कसैलाई छोरी हुर्केकोमा चिन्ता, कसैलाई छोरी नबिकेकोमा चिन्ता, कसैलाई घुस खान नपाएकोमा चिन्ता, कसैलाई ऋणको चिन्ता, कसैलाई साँवाको चिन्ता। यस्ता अनेकौँ भर्जनका चिन्ताले जनताहरुलाई रातमा निद्रा फिटिक्कै लाग्दैन। भर्खर अभिभावक बनेका मेरा कति साथीहरु ‘छोरोले सुत्नै दिएन’ भन्दै रुँदै ट्विट गरिरहेका देख्दा दया लागेर आउँछ। ल सुतौँ भनेर पल्टिए पनि निन्द्राले झ्याप्प समाउने भए पो? त्यसैले एउटा यस्तो एप डेभलप गरौँ जसलाई एक्टिभ गर्नासाथ तोकेको समय/मिनेट/सेकेन्ड सम्म निश्फिक्री निदाउन सकियोस्। यो एपले यसरी पनि काम गरोस कि अफिस ब्रेकमा, यात्रा गर्दा, बुढीले चर्को ध्वनीमा सिरियल हेर्दै गर्दा, ट्वाइलेटमा अर्को एपले काम गर्दै गर्दा समेत छोटो समयमा पनि आरामले निदाउन सकियोस्। अत्यावश्यक परे लोरी पनि गाइदिने फंक्सन होस्।

(चार्ली फ्रांक : – यी हाम्रा अतिथि लेखकले आफूलाई के ठान्छन् कुन्नि तर आफूलाई १२ थरीका वरिष्ट टिप्पणिकार चार्ली र प्राविधिक फ्रांकको नाम जोडेर आफूलाई चार्ली फ्रांक भनेर चिनाएका छन्। यीनको क्षमता के कति छ भन्ने त आगामी दिनमा यिनले लेख्ने लेखले स्पष्ट पार्ला। हेर्दै गर्नुहोला १२ थरी )

3 thoughts on “नेपालीका लागि अत्यावश्यक १२ सत्ताइस एप

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.