मन्नपका होली टोली


– निक वर्डस्मीथ
सामाजिक समाजको उदयसँगसँगै आत्मिय तरिकाले चाडवाड मनाउने चलनको अस्त हुँदै गइरहेको छ। फोटो खिच्नैका लागि चाडबाड मनाएजस्तो गर्ने, दुइ चार ग्रुप फोटा र केहि थान सेल्फि खिचेर एक दुइ प्रोफाइल फोटोको जुगाड गर्ने संस्कृतिको बारेमा फेसबुक बारेको यो लेखमा चर्चा गरिएकै हो ।

यसपटक पनि शिबरात्रीको ह्याङ्ग नउत्रदैं धेरै मानिसहरु होलीको योजना बुन्न थालिसकेका थिए । त्यो मध्धे पनि आफुलाई अलि धेरै नै सामाजिक र “स्मार्ट” ठान्ने टुइटेहरुको त कुरै छाँडौं ।

यिनीहरुको हगाई भन्दा पदाई ठूलो हुन्छ भन्ने कुरो त सर्वविदितै छ । यसपालीको होलीको पनि हल्ला धेरै गरे, महिनौं लामो खडेरी पछि पहिलो बर्खा हुँदा भ्यागुताले रमाउँदै ट्वाटट्वार गरे जस्तै । अचेलका किताबको प्रचार झैं हप्तौं अघि देखि प्रोमो बजाए,  लन्चप्याक भनेर चन्दा उठाए, होली विथ फेसन भन्दै टिसर्ट बनाए । खै अरु पनि के के गरे होलान्, त्यो सबै कुरो बाहिर आएन ।

तेसैले त विविध अभिष्ट राखेर काठमाडौंका प्रसस्तै ट्विटे भेला भए, १२ वर्षमा एक खेप हुने कुम्भ मेलाकै झल्को दिने गरि। र यो होलीमा टुइटेहरुले जति रङ्ग अनुहारमा दले, त्योभन्दा बढी रङ्ग मण्डपमा देखाए । टुइटेहरुको अघोषित केन्द्रीय कार्यालय, भृकुटीमण्डप (जसलाई अचेल मन्नप पनि भनिन्छ) मा आयोजित हुल्याहा होलीमा टुइटेहरुले यि र यस्ता १२ थरि रङ्ग देखाए।

americandream

यो लेखमा वर्णन गरिएको “मन्नप” एक नमुना स्थल मात्र हो, र वर्णन गरिएक ट्विटे कुनै पनि समारोहमा हुने सहभागीका प्रतिनिधी पात्र । यस्ता पात्रहरु प्राय सबै जमघटमा हुने गर्छन । त्यसैले आआफ्नो परिवेश र भेला अनुसार तत् तत् रुपमा बुझी यो लेखको दायरालाई स्वादानुसार “मोडिफाइ” गर्नुहोला भन्ने आशा हामीले लिएका छौं ।

अलकत्रे

सम्भवतः यो टुइटेहरुको सबैभन्दा कमन विशेषता हो । यसले सालाखाला ९०–९५% टुइटेलाई व्याख्या गर्छ । तर हिजो होलीमा देखिएका अलकत्रेहरु अलि विशेष थिए । यिनलाई होलीको उमङ्गमा कुनै रस थिएन, यि त्यहाँ कहाँकहाँ के–के अलकत्र्याउन पाइन्छ भनेर विशेष चनाखो रहन्थे । यिनले न एक सुकाको रङ्ग किनेर दले, न त एक कौडिको पानी । यो वर्गका टुइटेहरु या त भुईमा थुपारेको रङ्ग टिपेर हिड्थे या जसलाई लाईदिनुपर्ने ऊसँग मागेर उसैलाई लाइदिन्थे । खाजा खाने बेलामा सबसे सुरुमा लन्चप्याक टिप्ने यिनै देखिन्थे भने सबैभन्दा अन्तिममा सक्ने पनि यिनै थिए । यो वर्गकाले कम्तिमा पनि २–४ प्याकेट चाहिँ एक बसाईमै बुत्याए । यो वर्गको एक झुण्ड बियर टोलीमा पनि सक्रिय देखिन्थे जो प्रायोजकको वातै पिच्छे “हो” थप्दै बियरका क्यान रित्याउँदै थिए । यिनिहरु शून्य लगानिमा अधिकतम प्रतिफल अलकत्र्याउन सफल भए ।

जन्ती

यि बडा बिन्दास थिए । यिनमा न केही सुर्ता देखिन्थ्यो न केही घिडघिडो ! ठ्याक्कै बिहेका जन्ती जस्तो – शोक न सुर्ता, भोक न भकारी । बस् बाजा बजे नाच्न पाए पुग्थ्यो । कुन गित बजिराछ कस्तो नाच्नु पर्ने केही मतलब छैन, समाचार नै लाइदेको भएपनि एक सुरमा नाचिरहन्थे होलान् । तर घरिघरि चै गितले छुँदो हो अनि एक हुल सरर केटिसँग टाँसिन पुग्थ्यो त अर्को हुल केटी तानेर टाँसिदै नाच्थे । आफ्नै तालका भएतापनि यो वर्गमा घरिघरि बोकत्व गनाइरहेको हुन्थ्यो ।

जय शम्भो!

यिनिहरु बडा मस्तिमा गाँजा तानेर बसिरहे! यस्तो लाग्थ्यो यिनिहरुलाई थाहा पनि छैन यो होली हो कि शिवरात्री । रङ्ग दल्नु, रमाउनु, घुलमिल हुनु जस्ता सांसारिक मायामोह त्यागेर गाँजाबाट सुरु भको यिनिहरुको होली लास्टमा बियरमा गएर टुङ्गियो । न यिनिहरुलाई को आयो के गरो के भयो भनेर केही थाहा भयो न त कसैलाई यिनिहरु छन् छैनन नै मतलब भयो, घरिघरि हावासँगै आउने गाँजाको गन्धले चै “ए अझै यतै रहेछन” भन्ने थाहा पाइन्थ्यो ।

बुने क्लब

टुइटरका हरेक कार्यक्रममा झै होलीमा पनि “बुने क्लब” का संस्थापक सदस्यहरुको सक्रिय उपस्थिति रह्यो । त्यहाँ आएका सबै केटिहरुलाई पालो र वरियताक्रमअनुसार अङ्गालो मार्ने र रङ्ग दल्ने बहानामा मुसार्ने कार्यक्रम चलिरह्यो ।   केहीकेहीलाई त खाली हात केटिलाई रङ्ग लाइदिएजस्तो गरेर सुम्सुम्याइरहेको अवस्थामा नङ्गे हात पनि फेला पारियो ।बुनेहरु पनि कम्ता सिपालु हुन् त ! लेग्रो तानेर “दादा” भन्दै स्यो जोडेर सम्बोधन गर्देपछि अरुको मुखाँ पनि बुजो कोचिने ।

अर्चना पनेरु

यो होलीको बोनस अफर थियो । होली खेल्न आएका अधिकांश केटिहरु अर्धनग्न थिए । यस्तो लाग्थ्यो कि तिनिहरु होली खेल्न हैन अर्चना पनेरुलाई ठाडो चुनौती दिन आएका हुन् । एक बित्ताको कट्टु लाएर आएका केटिहरुलाई टुइटेले यति स्वादले हेरे कि धेरैले यो पनि भन्दिन सक्लान कुन केटिको तिघ्रामा कहाँकहाँ कतिवटा कोठि थिए । र यिनिहरु जहिले पनि भिड भन्दा अलि पर बसेको देखिन्थे, हुलमुलमा हराइएला भनेर हो कि बेग्लै बस्दा सबैले नोटिस गर्छन भनेर हो दैव जानुन ।

इन्टरनेटका भार

होली, रङ्ग, रमाइलो र वातचित भन्दा पर रहेका यो वर्गका टुइटेहरु फोटो खिच्न मै व्यस्त देखिन्थे । यिनिहरुलाई पनि त्यहाँ भएका अन्य र रमाइलोको कुनै मतलब थिएन । यि आफ्नै तालमा फोटो मात्र खिचाइरहेका हुन्थे – कि त सेल्फि स्टिक समातेर कि त कुनै डिएसएलआरवाला टुइटेलाई ढोगबिन्ति गरेर । यो क्याटेगोरीमा प्राय तिनै फिला देखाउने तरुनीहरु पर्दथे जसलाई जतिबेला हेर्दापनि मुख चुच्चो पारेर क्यामेरा मै जोतिइराहुन्थे । ति सबै फोटाहरु पक्कै भरे फेसबुक, इन्स्टा र टुइटरमा “ह्याबिङ्ग फन विथ फ्रेन्ड्स” भन्दै हाल्ने होलान, जब कि ति कसैलाई वरपर कोको ‘फ्रेन्ड’ भेला भाछन भनेर वास्ताकान्त थिएन । तिनका फ्रेन्ड र फलोवरलाई श्री पशुपतिनाथले रक्षा गरुन् ।

धावक

यिनिहरुलाई देखेर मलाई बडो दया लागेको थियो । “खाइ न पाइ छालाको टापी लाइ” भनेजस्तो केके न खुत्याउँछु भनेर कहाँकहाँ देखी धाएर दश काम बिताएर आएका थिए, त्यो पनि के गर्न भन्दा होली खेल्न । साथीभाई भेटघाट हुन्छ, रमाइलो हुन्छ भन्ने २ पैसे तर्क दिन सक्छन, तर के तिनिहरुको उता चै साथी थिएनन? उता होली खेल्दैनन कहिल्यै? उता चै भुत्लोभाङ्ग रमाइलो गर्दैनन्? तरुनीको फिला प्रदर्शनी छ भन्ने सुइँको पाएर त्यही हेर्न आएको भन्छन भने त कसको के लाग्छ र हैन भने यस्तो हत्ते हालेर सितिमिति गल्फ्रेन भेट्न गइन्न, होली त यत्रै सिति!!

लम्पटदास

यो अर्को कुण्ठित वर्ग हो । जिन्दगीमा कहिल्यै केटि छुन नपाएजस्तो खाली केटिलाई मात्र रङ्ग दल्न कुदिरहन्थे । हुन त यिनिहरुले केटालाई लाउँदै लाएनन भन्ने हैन, केटालाई लाउँदा रङ्ग सकिएला झैँ चुस्स छोएजस्तो मात्र गर्थे, तर केटिलाई चै ओहो! रङ्ग दलेरै स्खलित भइन्छ जसरी घोट्थे ।

गेस्ट अपियरेन्स

यो स्वाँगे वर्ग हो । कत्ति न बिजि छु जस्तो देखाउन हो कि वरिष्ठ पल्टिन हो यसो आएर चुस्स अनुहार देखाइ २–४ जनालाई भेटेर हतार छ भन्दै गइहाल्थे । कोही चै लास्टमा आएर धेरै ठाउँ भ्याएर आएजस्तो स्वाङ्ग पार्थे । अनुहार र लुगाको रङ्ग हेर्दा चाहिँ घरमा ऐना हेर्दै आफै दलेजस्तो देखिन्थ्यो । र ति हतार छ भनेर छिटै हिडेका कतिपय होली सकेर सबै फर्कने बेलासम्म पनि मण्डप वरपर बरालिइरहेको देखिन्थे ।

दर्शक

यो एकदम दयनिय वर्ग थियो । यि होलीका कुनैपनि कार्यक्रममा सक्रिय भएनन (खाने बाहेक) । यि होली खेल्न किन आए मैले बुझ्न सकेको छैन र यिनिहरुको अनुहार हेर्दा लाग्थ्यो ति आफै पनि यो विषयमा कन्फ्युज छन् । न यिनिहरुलाई रङ्ग दलेर रमाएको देखियो, न त नाचेको देखियो, न त यिनिहरुलाई त्यहाँ देखेर कोही उत्साहित भएको नै भेटियो । आउँदा अनुहारमा अलिअलि रङ्ग अन्त कतैबाट दलेर आएका थिए, जाँदा पनि त्यति नै रङ्ग लिएर गए । आए देखि गइन्जेल त्यही कुनामा उभिनु सिवाय केही गरेनन्, घरिघरि फोटो खिच्न हुलमा मिसिने बाहेक । सम्भवतः यि नयाँ टुइटे वा कुनै ग्रुप (गुट) मा नलागेका अनाथ टुइटे वा कोही कसैलाई/कसैले नचिनेका टुइटे थिए, जो होली खेल्छु अरु टुइटे चिन्छु भन्दै आएका थिए होलान, तर नयाँ दुलही जस्तो घुम्टो ओढेर कुनामा उभिने बाहेक अरु केही गर्नसकेनन् ।

र अन्तमा, यस बाहेकका अरु कुनै वर्ग हजुरहरुले मनाएको होलीका सहभागी थिए वा हजुरहरु सरिक हुने अन्य कुनै जमघटका पात्र हुने गर्छन् भने तल कमेन्टमा उल्लेख गर्नुहोला ।

लेखक वर्डस्मीथले यस १२थरीमा नियमित लेखको रुपमा सक्रियता जनाउने ईच्छा ब्यक्त गर्नु भएको छ । – सम्पादक मण्डल

One thought on “मन्नपका होली टोली

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.