मन्त्री रोएपछि १२ सत्ताइसका पिप्ली लाइभ


पत्रकारमा समाचारको भोक हुन्छ रे। अनि ‘इन्फर्मेसन’को भोक कडा भएको पत्रकार चाहिँ सफल हुन्छ रे भन्दार’छन्। घरीघरी त हो कि हो कि झैं पनि पो लाग्छ। आजकाल त अनलाइनहरु नै यति धेरै भए कि यीसँग केही समाचारै हुँदैन। राम्रा समाचार उत्पादन गर्न पैसो लाग्छ, अनुसन्धान गर, फिल्ड जाऊ, मान्छे भेट, कुरा गर। लगानी गर्ने पैसो मट्ठ, काँट आओस् राम्रो समाचार। अनि सुरु हुन्छ १२ सत्ताइस समाचार। उसो त मिडियामा त्यस्ता १२ सत्ताइस समाचार कति आउँछन् आउँछन्। त्यस्तै एउटा समाचार आयो आज- ‘फिलिममा गाइ मरेको देखेपछि मन्त्री रोए।’

आउनुस् यो समाचारको १२ सत्ताइस विश्लेषण गरौं।

घटना विवरण

डब्बु क्षत्री नाम गरेका एक फिलिम पत्रकार (भन्न त रंग पत्रकार भन्छन् क्यार, तर रंग न ढंगकालाई के को रंग भनेर फिलिम पत्रकार भनेको) ले एउटा फिलिम बनाएछन्, राहदानी नाम गरेको। (‘पासपोर्ट’ अंग्रेजी भएकोले नेपालीमा नाम राखेको होला ‘राहदानी’, मौलिक नेपाली फिलिम क्यात।) अनि फिलिमको प्रिमियर शो हेर्न गएछन् कृषि मन्त्री। (नेपालमा मज्जाको चलन आइरा’छ के ऐले, जेसुकै काम गरे नि सुरुवात चाहिँ मन्त्री वा प्रधानमन्त्रीले गर्नुपर्छ) फिलिम सकिएपछि मन्त्रीलाई टेलिभिजनले सोधेछ- मन्त्रीज्यू, फिलिम कस्तो लागो? मन्त्रीको पालो ड्वाँ ड्वाँ रोइदिएछन्, लौजा त।(फिलिम हेर्दा हेर्दै रोएर, रोइसकेर बाहिर निस्केर नरोएका भए पनि हुने। तैपनि बिचरा रुन आयो त रोए नि। उही नाङ्ग्लो पसले दाजु रन्जना हलमा फिलिम हेर्न ग’का रे, फिलिममा पानी परेपछि ला, मेरो त पसल भिज्यो भनेर फिलिम हेर्न छोडेर रत्नपार्क पुगे रे भन्थे, सोही परि )

घटनाको प्रतिक्रिया

घटना सामान्य नै हो। मन्त्रीले टेलिभिजनमा फिलिमका बारे, एकछिन रोए। खेला खत्तम्। तर अब रंग न ढंगका पत्रकारले फिलिम प्रचारको मसाला भेटे- लौ, फिलिम हेरेर मन्त्री रोए भनेर बडेमानका अक्षरमा हेडलाइन हालेर छापे समाचार। एउटा अनलाइनमा समाचार आएपछि अरु अनलाइनवालाहरुको पनि आँखा खुल्यो- ‘लौ, गज्जपै भो’, ‘यो हो नि त समाचार’, ‘जनताले खोजेको समाचार’ भनेर लागे सबका सब। अनि नयाँ समाचार आयो- ‘फिलिम हेरेर रोए मन्त्री’ (भिडियो सहित)। पहिला मन्त्री रोएका मात्र थिए, एकछिनमा भिडियोसहित रुन्छन् मन्त्री।

समाचार बिक्यो है बिक्यो। ट्विटर फेसबुकमा समाचारको चर्चा सुरु भयो। केही धिक्कारकर्मी तथा हगुवाहरुले सुरु गरिहाले, ‘१७ हजार मान्छेको लाशमाथि उभिँदा आँशु आएन, फिलिममा गाई मर्दा ड्वाँ ड्वाँ।’ अब अर्ति, उपदेश, राजनीति, कुटनीति, सरकारका काम कर्तव्य र अधिकार ह्वाराररररर आउन थाले सामाजिक सन्जालमा। अरे यार, मन्त्री कुनै रोबोट हो? मन्त्री पनि त मान्छे हो, उसका पनि त भावना होलान्। रुन, हाँस्न नि नपाउने?

उता समाचार कक्षमा

‘ओहो, कस्तो पढेका हुन् के मान्छेहरुले? खायो मन्त्रीले आज बजार।’ अनलाइनवालाहरुको दिमागको बत्ती बल्छ अब फेरि। यो समाचारले आजको भिजिटर संख्या बढाउने पक्का छ। यसले बजार पिटिरहेको छ। सुरु गरौं पिप्ली लाइभ। ‘गाई मर्दा रुनु पर्ने कारण के थियो त?’ जनता जान्न चाहन्छन्। अनि सुरु हुन्छ फेरि, ‘फिलिममा गाई मर्दा किन रोए मन्त्री?’ अरे महाशय, फिलिमले छोयो मुटुमा, आँशु आए अनि रोए। यसमा के अनौठो छ? तर माने पो। उहिले त्यत्रा मान्छे मर्दा आँशु आएन, तर फिलिममा गाई मर्दा आँशु? पिप्ली लाइभको श्रृंखला जारी। गाई र मान्छे मर्दा एउटै भावना आउनुपर्छ भन्ने छ?

श्रृंखला रोकिँदैन। एउटा न्युज रुमबाट अर्को न्युजरुममा आगो सल्किन्छ- मालिक (कहिलेकाहीं सम्पादकले पनि भन्लान्) बम्किन्छन्, ‘उता अर्कोले मन्त्रीको आँशु बेचेर सबै गुटमुट्याइसक्यो, हाम्रो न्युज रुम के हेरेर बसेको छ? १० मिनेटभित्र घटनाको पुरै विवरण आओस्। सकेसम्म मन्त्रीलाई रोएको होइन भन्ने कोट दिन लाउनू।’ (योचाहिँ अरुभन्दा फरक देखिन गर्ने प्रपन्च) न्यूज रुम पुरै स्तब्ध।

अझ उता मन्त्री

उसै त कृषि मन्त्री।न त कसैले नाम सुन्छन् न त कसैले चासो नै राख्छन्। कि त रोपाइँमा जानू परो र हिलो खेल्नुपरो कि त यसैगरी रुनुपरो। उनलाई भ्याइ नभ्याई छ- ‘हरेक किसानको कथा। हाम्रा किसान दाजुभाइले यस्तै भोगिरहनुभएको छ। दर्दनाक, मुटुमै हान्ने।’ तर प्रतिक्रिया मन्त्रीको पक्षमा छैनन्। ‘ओ महाशय ! कृषि मन्त्री तपाइँ हो कि फिलिम निर्देशक?’ ‘नियम कानुन बनाउन र लागु गर्न मन्त्रीलाई कसले रोकेको छ?’ ‘किसानका लागि काम गर्न नसक्ने तर हल हल गएर फिलिम हेर्ने फुर्सद छ?’ ‘जनताको मुक्तिका नाममा त्यत्रा १७ हजार मान्छे मर्दा किसानको समस्या थाहा भएन?’ ‘ उबेला आँशु आएन अनि अहिले फिलिम हेर्दा आँशु चुहाउनु पर्ने?’ प्रश्नको धुइरो।

१२ सत्ताइसका कुरा

फिलिम हेरेर मन्त्री रुनुमा पछि लागेर हातै धोएर समाचारका श्रृंखला नै सुरु गर्नुपर्ने के छ? अरे पत्रकार वन्धु, समाचारै नभेटेको भए बरु बर्षेनी कति किसानका गाई मर्छन्? ती मरेका गाई कतिले ऋण गरेर किनेका थिए? त्यस्ता किसानका लागि कृषि मन्त्रालयले के गर्न सक्थ्यो? के गर्‍यो र के गरेन? खोजेको भए कति राम्रो समाचार बन्थ्यो होला नि। हुनत फेरि कुरो उही पैसोको, चासोको आउँछ। ५० जना किसानका ५० वटा गाई मरेको समाचार कसले पढ्छ र? नपढ्ने समाचार किन लेख्ने? समाचारमा भिजिटर आएनन् भने साइट कसरी चल्छ? पत्रकारिता किसानका चुल्होमा चल्दैन मन्त्रीका आँशुमा, हिरोइनका पेन्टीमा चल्छ।

यस्ता समाचार जसको हेडलाइन सेन्सेसनल हुन्छ, ठूल्ठूला कुरा लेखिएको हुन्छ तर भित्र छिरेपछि ताइँ न तुइँ हातमा लाग्यो दुई। गुदी थोप्पो छैन, बोक्रो टिलिक्क। ‘कान्छी मुसुक्क, पैसा भुसुक्क’ भनेजस्तै हुन् यस्ता समाचार। इन्टरनेट र समयको बर्बादी।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.