हाम्रा टिप्पणीकार ‘इको’ काठमाडौंको सडकमा चार पाङ्ग्रे मोटर चलाएर हिँड्नुहुन्छ। १२ थरीको सम्पादन कक्षमा उहाँलाई सबैले सामन्ती भन्छौं किनभने उहाँका कुराहरु पुरै सामन्ती शैलीका हुन्छन्। उहाँ गरिब देख्यो कि रिसाउनु हुन्छ, धर्तीका बोझ भन्नुहुन्छ तर पनि भन्नुन्छ, ‘म गरिब देख्दा भावुक हुन्छु। यो देशमा गरिब हुनु नै पाप हो।’ के गर्नु र ? सबैका बाउ बाजेले टन्न कमाएर उहाँलाई जस्तो पैतृक सम्पत्तिले पुरेर छोडिदिएनन्। खैर छोडौँ उहाँको कुरा। काठमाडौंको सडकमा उहाँ जस्ता पौराणिक सामन्ती धेरै नभए पनि नवसामन्तीहरु जो निजी गाडीमा हिँड्छन्, उनीहरुको आँखाबाट आज काठमाडौंको सडकलाई हेर्ने जमर्को गरौँ।
(यो लेखका निम्न लिखित बुँदा टिप्पणीकार इकोका हुन् र ती बुँदामा अर्का टिप्पणीकार चार्लीले कमेन्ट गर्नुभएको हो- सम्पादक)
आकासे पुलमुनिबाट बाटो काट्नेहरू
इको भन्नुन्छ, आकासे पुल हुँदाहुँदै पुलमुनिबाट बाटो काट्नेहरु मुर्ख हुन्। तपाइँहरुले जुनेली उपन्यास त पढ्नु भो होला, नपढ्नु भएको भए पनि त्यो बारेमा सुन्नु भयो होला। नपढ्नुभएको भए पनि बाल हो, हाम्रो १२ थरीका सदस्यहरू पनि कसैले जुनेली पढेका छैनन्। अब हेर्नुस्, गाडी हुनेहरूलाई पुरै काठमाडौंको बाटो मेरो बाउको हो भन्ने सोच हावी हुने रहेछ। आकासे पुल हुँदाहुँदै पुलमुनिबाट बाटो काट्ने भनेर सिधै जुनेली पारामा थर्काउनु हुन्छ। बिचराहरु त्यसरी बाटो नकाटेर के गरुन् ? पीडा छ नि हजुर पीडा। उता माइक्रो छुट्ला भन्ने पीर हुन्छ। आकासे पुल चढ्न थाले गाडी छुट्छ। एउटा गाडी छुटे अर्को कहिले आउने पत्तो छैन। माइक्रोमा झुन्डिएर गन्तव्यमा पुग्नेहरुको पीडा निजी गाडीमा हुँइकिनेले कसरी बुझुन् ? खैर पीडा त गाडी चलाउनेको पनि छ, कम्तीमा आकासे पुल मुनि त बटुवा जोगाउन नपरोस् न भन्ने सोच हुन्छ होला। कहिलेकाहीँ आकासे पुलमुनिबाट बाटो काटिरहेको बटुवालाई रातो नम्बर प्लेट भएको गाडीबाट टाउको निकालेर ‘ओइ, मर्न मन छ क्याहो, मेरो गाडी मुनी आएर नमोर’ भनेर गाली गरेको सुन्नुभयो भने ठान्नुस्, हाम्रा सामन्ती टिप्पणीकार गाडीमा सवार हुनुहुन्छ।
साँघुरो सडकमा पनि अँगालो हालेर आधा बाटो ढाकेर हिँड्नेहरू
यो बुँदामा टिप्पणीकार इको भन्नुन्छ, ‘काठमाडौंका सडक र सडकका पेटीहरु यसैपनि साँघुरा छन्, त्यसमाथि जोडी जोडी अँगालो हालेर हिँडेपछि अरुले कसरी हिँड्ने? बीच सडकमै पनि अँगालो हालेर हिँड्छन्।’ उहाँले कति सजिलै भन्नुभो, साँगुरो सडकमा अँगालो हालेर हिँड्ने भनेर। अनि के गर्ने त, हिन्दी चलचित्र पिकेमा जस्तो डान्सिङ्ग कार स्टाइलमा अघि बढ्न ती बटुवालाई गाह्रो छ। उहाँको पो गाडी छ। गाडीमा हिँड्नुहुन्छ। जे मन लाग्छ गाडीमै गर्नुन्छ होला। गाँठ पनि टन्नै होला। गार्डेन अफ ड्रिम्स, गोदावरी रिसोर्ट धाउनु हुन्छ होला अँगालो हाल्न मन लाग्यो भने। तर गरिब नेपाली सर्वसाधारण त्यो गर्ने हैसियत राख्दैनन्। अनि उनीहरूले सडकमा अँगालो नहालेर कहाँ गएर हालून् ? सरकारले अँगालो हाल्ने पार्क बनाइदिएको छैन। होटल, गेस्ट हाउस जाउन् भने पुलिसले कक्क्रक्कै बनाउँछ। जङ्गलमा जाऊँ, कुन मुर्दारले मोबाइलबाट खिचेर एक्स भिडियोमा अपलोड हान्देला भन्ने डर।
बाटोमा पार्क गरेर गाडी छोड्नेहरू
उहाँ त्यसरी बाटोमा पार्क गरेर छोड्नेहरूलाई
कोरेर ठोकेर गइदिम् जस्तो लाग्छ – तर ठोक्दा आफ्नो गाडी पनि ठोकिने हुँदा छोडिदिन्छु
भन्नु हुन्छ। वहाँ थप्नुहुन्छ, ‘गाडी किनेर चढ्न सक्ने, गाडी चढेको धाक पनि दिने तर गाडी कहाँ पार्क गर्नुपर्छ भन्ने ज्ञान नभएका मुर्खहरु।’ कत्ति न आफूले चैं अहिलेसम्म पार्किङमै पार्क गरे जस्तो !!! सरकारले बाटो बनायो तर राम्रो पार्किङ सुविधा दिएन। जुन बाटोमा मुस्किलले रिक्सा चल्छ त्यस्ता बाटोमा गाडी लिएर जान दियो। अब नजाने ठाउँमा गइसकेपछि पार्क चाहिँ कहाँ गर्ने त? कि उहाँले भने जस्तो टुँडिखेलमा गाडी पार्क गरेर ठमेलका गल्लीमा काम गर्न जाने त? हो, उहाँ गाडी चढ्नु हुन्छ, ठूलो अफिस कम्पाउन्ड भएकोमा काम गर्नु हुन्छ किन की वहाँ बाजेका पालादेखिको सामन्ती। राम्रो स्कुलमा पढ्न पाउनुभयो, राम्रो काम पाउनुभयो। तर सबैको नसिबमा त्यस्तो हुँदैन नि। उनीहरूले चाहेर भन्दा पनि वाध्यताले पार्क गरेका हुन्छन् भन्ने कुरा चटक्कै बिर्सिनु भएन नि !
अजय देवगनहरू
जसले हिरो बनेर मोटरसाइकल कुदाउँछन् – चाहे त्यो १०० भन्दा पनि कम सिसीको मागेर कुदाएको मोटरसाइकल नै होस् । सान चैं खूब झार्छन् ।
हेर्नुस् त कस्तो हेपाहा शैली छ। आफूले गाडी चढेर हिँड्यो भन्दैमा १०० सिसीभन्दा कमको मोटरसाइकिल चलाउनेलाई यसरी हेपेर भन्न पाइन्छ त? जे छ उही चढ्ने हो नि, अनि मन लागेको बेला कुदाउँछन् नि। आफूले गाडी कुदाएर बाटोको पानी बटुवालाई छ्याप्दै हिँड्दा चाहिँ केही नहुने? अरुले नाथे मोटरसाइकिल चलाएकोमा यत्रो रीस। अझ मोटरसाइकिल चलाउनेहरु आफूलाई ‘सिंघम्को अजय देवगनै ठान्छन्’ रे।
साइड-लाइट नबालेर मोड्नेहरू / लेन फेर्नेहरू
ल पढ्नुस् त के भन्छन् हाम्रा टिप्पणीकार,
हुन त लेन नै कति नै छन् र – तर पनि नियम पालना गरौँ जस्तो लाग्छ – तर केही हुन्छन् न त साइड लाइट बाल्छन् , न त इसारा नै दिन्छन्। स्वाट्ट मोडिदिन्छन् – झ्याप्प ब्रेक र गियर फेर्दाको हैरान ।
लेन नभएको बाटोमा लेन चेन्ज गर्दा साइडलाइट बाल्दिन पर्यो रे। यो त केपी ओलीले मधेसीले खोला नभएको ठाँउमा पुल बनाइदे भने जस्तै माग भएन र? राम्रोसँग हात नबसी गाडी चलाएर हिँड्न पर्छ है? अनि अरुलाई दोष दिएर हुन्छ र? गियर र ब्रेक थिच्न वा चेन्ज गर्न मन नलाग्नेले त साइकिल चलाए भयो नि, किन गाडी चढेर हिँड्नुपर्ने !
स्कुटरवाली
हाम्रा टिप्पणीकारको नजरमा स्कुटर चलाएर हिड्ने महिला कस्ता छन् त?
स्कुटरलाई न त लेन नियम लाग्छ, न त साइडलाइट, न त ट्राफिकले रोक्छ (रोके पनि रुन्चे स्वरमा प्लिजका प्लिज भने छोडिदिन्छ रे) – हुन त स्कुटरमा राम्ररी ब्रेक नि लाग्दैन, त्यसैले सबैभन्दा दुर्घटना हुने साधन नै त्यही हो रे । त्यसमाथि माइक्रोबसहरूले ईलुईलु खेल्न र पेल्न पनि स्कुटरवालीलाई नै हो ।
यसरी कस्ले भन्न सक्छ होला त? हाम्रै दिदी बहिनी स्कुटर चलाएर हिँड्छन्। कतिको वाध्यता होला, माइक्रोमा, बसमा हिँड्दा यौन दुर्व्यवहार सहन नसकेरै आँट गरेर भए नि स्कुटर चलाएर हिँडेका नारीहरू हामीले चिनेका कति हौंला र। यसरी सस्तो र बजारू टिप्पणी गर्न सुहाउँदैन भनेर हामीले पटक-पटक यी टिप्पणीकारलाई सम्झाएका पनि हौँ। अँह मान्ने भए पो। हुँदाहुँदा स्कूटर चलाउनेवालीहरुलाई मुर्ख समेत भन्न भ्याए हाम्रा टिप्पणीकारले।
माइक्रोबस
ल हेर्नुस्, यीनलाई समस्या के मा छैन? जे मा नि दोष मात्र देखाएका छन्। हुँदाहुदाँ काठमाडौंको यात्राको मेरुदण्ड भनेर चिनिने माइक्रोबसलाई पनि बाँकी राखेनन्। माइक्रोका बारे इकोको टिप्पणी पढ्नुस्-
ओभरटेक गर्न पछाडिबाट यसरी हर्न बजाउँछन् कि लाग्छ, उसको बुढीलाई बेथा लाएर प्रसुतीगृहमा भर्ना गरेको छ !! पेलेर अोभरटेक गरेको देख्दा लाग्छ त्यो माइक्रोको ड्राइभरलाई पखाला लागेको छ र उ जतिसक्दो चाँडो ट्वाइलेट पुग्न चाहन्छ। लौ त इमर्जेन्सी नै होला भनेर साइड दियो, अगाडि गएर घच्याक्क रोकेर प्यासेन्जर कुरेर बस्छन्। तेस्का बाजे !!!!
अब यिनलाई माइक्रोबससँग यति साह्रो समस्या भएको भए आफैले आफ्नो गाडीमा मान्छे बोक्दै छोड्दै हिँडे भो नि। प्यासेन्जर बोक्ने माइक्रोबस पनि निजी कार झैं अफिस-टु-घर गर्नुपर्ने रे। कि आफूले माइक्रोबस नै विस्थापित गराइदिए भो, धेरै यात्रु बोकेर। गुनासो गर्नुको पनि सीमा हुन्छ नि। यसरी बाटोमा निस्केदेखि फर्केर घर नपुगुन्जेल गुनासो गरेर जिन्दगी कसरी खुसी हुन्छ? माइक्रोले प्यासेन्जर कुर्यो भन्ने पनि कुनै तर्क हो? वाहियात।
साइकल चलाउनेहरू
हामीले त पहिल्यै भनेकै हौँ। यी हाम्रा टिप्पणीकार सामन्ती हुन्। गरिबलाई देख्न सक्दैनन्। अब हेर्नुस्, बिचरा साइकल चलाएर हिँड्ने निम्छरा गरिबका बारे यिनको धारणा-
प्रकृतिप्रेमी भएर हो कि तिघ्रा बलियो बनाउन थाहा भएन, तर केही साइकल चलाउनेहरूले गाडी चलाउनेहरूको पारा चैँ बेस्सरी तताउँछन् । सुरुक्क छेउबाट चलाए हुन्थ्यो क्यारे, बीच बाटोमा रफ्तार लिइरहेका हुन्छन् । टुच्च छोयो भने घर्लाम्म घुर्लुम्म हुन्छ – त्यसैले गाडीसँग साइकल हैन, साइकलसँग गाडी डराउनु पर्ने हुन्छ।
पढ्नुभो नि हैन ? काठमाडौंका सडकमा निजी कारवालाहरु मात्र ढुक्कले, मस्तले चल्न पाउनुपर्छ। त्यस्ता जाबा साइकिल, मोटरसाइकिल साइडबाट बिस्तारै गाडीवालालाई नमस्कार गर्दै चलाउनुपर्छ। काठमाडौंमा कुनै दिन यस्तै सामन्तीहरुको बोलबाला हुन्छ भन्ने था पाएरै होला कवि शिरोमणीले लेखेका….
म खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ
म बाँचु, मै नाँचु, अरु मरुन सब ती दुर्बलहरु
महिला गाडी चालक
स्कूटरवालीमाथिको टिप्पणीलाई माफ गर्दिऊँ न त भन्दा पनि सुख छैन। यीनलाई त महिला चालकमाथि पनि समस्या छ। भन्छन्,
नारी पुरुष बराबरी भनेर डंका पिट्ने महिलाहरुले कनि कनि गाडी चलाएको देख्दा लाग्छ गाडी चलाउनु कुनै रकेट साइन्स हो !! यति सुस्तरी चलाउँछन् कि पछाडि परियो भने अफिसको हाजिरीमा मा स्योर रातो लाग्यो । आफुलाई कसरी ओभरटेक गरेर अगाडि जाउँ जस्तो हुन्छ, तर जति हर्न बजाएपनि, डिपर लाइट बाले पनि साइड दिन जाने पो !! १-२ नं गियरमा घोट्दा एकातिर गाडीको सत्यानाश , उता तेल पनि स्वाहा ! पुरुषभन्दा हामी कुनै कुरामा कम छैनौं भनेर समानता दावी गरे पनि फिलीली गाडी चलाउने जनना उहीँ चामलमा बियाँ भेटे जति मात्रै होलान ।
हरे शिव ! माइक्रोवालाले स्पीडमा चलाए, यीनलाई समस्या। महिलाले बिस्तारै चलाए, यीनलाई समस्या। यस्तो लाग्छ कि सरकारले निजी कारवाला पौराणिक सामन्तीका लागि काठमाडौंमा छुट्टै सडक बनाउनु पर्छ।
र अन्त्यमा, छेउको सिटमा बसेकी आफ्नै बुढी
किचकिच गर्न माहिर- स्पीड बढी भयो – कम भयो – यताबाट जाँदा छिटो हुन्छ – मानौँ उनीहरूले नापेर भनेका हुन् – तर सधैं गलत नै भनिरा’हुन्छन् । छेउबाट कुनै गाडी जाओस् – चिच्याउँछन् – के को डर होला दँग पर्छु – बरू तिनीहरू चिच्याएकाले झस्केर कतै ठोकिएला जस्तो लाग्छ।
बुढीका बारेमा टिप्पणी गर्नुमा रिस्क छ। हाम्रा टिप्पणीकार इकोले कुन साहसले यस्तो टिप्पणी गरे हामी भन्न सक्दैनौं। हामीले यो बुँदामा टिप्पणी गरेर रिस्क मोल्न चाहेनौं। त्यसैपनि अर्काकी बुढीको बारेमा टिप्पणी गर्नु राम्रो होइन।
यो चै पक्कै माण्ठा डाउडरले लेखे हुनन्।
LikeLike