बाह्रथरी सम्बन्ध


boy-girlबाह्रथरीमा सधैं हँस्सीमजाक मात्र भइरहन्छ। सधैं अरूका बङ्गारा झार्नु उति राम्रो कुरो पनि होइन। स्वतः सिद्ध तथ्य हो, केटामान्छेहरुको सबैभन्दा रोचक ट्यामपास भनेकै केटीका गफ हुन्छन् र यसमा कोही कसैले म त्यस्तो छैन भन्छ भने उसमा बायोलोजिकल्ली केही डिफेक्ट छ भनेर बुझे हुन्छ। त्यसैले कैले फलानोको नाम फलानीसँग जोड्यो हाँस्यो – फलानीले फलानोलाई बाल् दिइ भन्यो हाँस्यो। यस्तै हुन्छन् केटाहरुको जमघटमा गफ।

त्यसैले बङ्गारा झार्ने क्रोधरस वाला कुरा छाडेर आज हामी हल्का प्रेम-रस वाला खुराक पस्कन चाहन्छौं। प्रेम-रसमा यौन-रस मिसिँदैन, ढुक्क भए हुन्छ। हाम्रा एक जना टिप्पणीकार हुनुहुन्छ – इको ! वहाँ धन सम्पत्ति सबैले पुगिसरि हुनुहुन्छ भनेर हामीले काठमाडौंका सडकको कथा लेख्दा नै भनेको कुरा हो। र हामी वहाँलाई सामन्ती भनेर जिस्काउँछौ भन्ने कुरा त फेरि नसम्झाउँ होला। तर पनि जिन्नगीमा वहाँलाई केटी चैं फापेनछन् ।

वहाँ नेपाली फुटबल टिमको त्यो स्ट्राइकर जस्तो हुनुहुन्छ, जो सम्बन्धको बललाई ड्रिबल गर्दै डि-एरियासम्म चैं पुर्‍याउनु हुन्छ.. तर गोल गर्ने बेलामा कि आफैं चिप्लनु हुन्छ कि फितलो प्रहार गरेर “टायँ टायँ फिस्” हुनुहुन्छ । आउनुस्, आज वहाँकै मुखारविन्दबाट वहाँको हुन नसकेको प्रेमिल जीवनको बारेमा केही अन्तरंग कुराहरू थाहा पाउँ ।

काली काली हिस्सी परेकी

स्कुलमा पढ्थेँ- फुच्चे फुच्चे थेँ। फुच्चे थिएँ पनि के भन्नु अहिले सम्झेर ल्याउँदा त्यतिखेर म बच्चै थिएँ जस्तो लाग्छ। उनी छेउ मै बस्थिन् – म हेरिरहन्थें –  काली काली – हिस्सी परेकी। दीपक बज्राचार्यको पप गीत भर्खर निस्क्याथ्यो – यही बोलको। मलाई लाग्थ्यो – त्यो मेरै लागि उनले गाइदिएका हुन्। तेतिबेला प्रकृति र जीवशास्त्रका सिद्धान्तहरु, केटा-केटीका सम्बन्धका आयामहरु खासै केही थाहा नभए पनि मलाई उनी मन पर्थ्यो। दुई चुल्ठी बाटेका रातो रिबन, सेतो सर्ट र निलो फ्रकमा सजिने उनी कुनै  परी भन्दा कम लाग्दैनथिन् मलाई।

मन पराउने क्रम केही बर्ष चलिरह्यो। उनी कुनै दिन बोलिन् भने पनि २-४ दिन त्यही सम्झेरै मख्ख परिरहन्थें।
कहिल्यै उनको ‘लायक’ सोचिन् आफूलाई। स्कुल सकियो – बाटो फाट्यो – उनी कता पुगिन् पुगिन् । बर्षौंपछि अस्ति फेसबुकमा भेट भयो – ‘थाह छ, म तिम्रो फ्यान थिएँ नि – तर कहिल्यै भन्न हिम्मत गरिनँ’ भनेर उतैबाट आयो, म ट्वाँ परें- ट्वाँ परेँ त के भन्नु, आगो त उता नि लागेको र’छ भनेर अलिकति ढाडस मिल्यो। उबेला थाहा पाइएन, अहिले थाहा भएर नि केही फरक परेन । आजकल खासै कुरा हुँदैनन् – उनी उता व्यस्त , म यता।

स्कुल टप

स्कुलकी टपर। म दंग परेर हेरिरहने – सबै टिचरकी फेबरेट – म लद्धु.. सबैको पिटाइ खाने। मेल खाओस् पनि कसरी ? उबेला अहिले जस्तो फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएर च्याटमा प्रपोज गर्ने सुविधा कहाँ ? उ बेला कि त राम्रा अक्षरमा साहित्य झारेर लभ लेटर दिएर प्रेम अभिव्यक्त गरिन्थ्यो कि फिलिमका हिरो, हिरोनी वा फूलका पोस्टकार्ड दिएर आफ्नो मनको प्रेमको पिलो निचोर्ने चलन थियो। तर त्यति नै बेला काठमाडौंमा आर्चिज, हलमार्कका ग्रिटिङका पसल भर्खर खुलेका थिए।  मैले पनि मायाको खातिर दिउँसो पेटमा पटुका कसेर खाजा खान दिएको पैसा जोगाएर ग्रिटिङ किन्ने पैसा जोडेको थिएँ। कति पल्ट किनें पनि, तर कहिल्यै आँट पुगेन। भर्खर जुँगाको रेखी बस्या’थ्यो। कुखुरे  बैँस कुरकुर गर्दैथ्यो, सपनामा त  झ्याप् झ्याप अँगालो हालेर च्वाप्प म्वाईं खाइन्थ्यो। सायद नौ कक्षातिर हुन पर्छ त्यो उनीप्रतिको मेरो आशक्ति चरमोत्कर्शमा पुगेको। तर तेति नै बेला, केटाहरुले के कुरामा झगडा परेर हो, केटीहरुलाई बाइकट् गर्ने उर्दी जारी गरिदिए। कोही केटा कुनै केटीसँग बोल्यो भने त्यो एकलकाटे बाँदर झै हुने पक्का थियो। त्यसपछि उनीसँगको मेरो प्रेम धित मरुन्जेल कुरा पनि नगरि निस्क्रिय प्राय: भयो।  दश क्लासमा गएपछि टेस्ट र एसएलसीको हौवाले हावाकावा भइयो। स्कुलसँगै यो सम्बन्ध पनि सकियो। आजकल उनी विश्वविद्यालयमा पढाउँछिन् रे – अस्ति पत्रिकामा मैले बुझ्ने भन्दा धेरै गहन विषयमा लेख लेखेकी थिइन् – फोटो हेरियो – लेख पढ्ने जाँगर गरिएन।

घट्टे मायालु

काठमाडौंमा दिदी र भिनाजुसँग बसिन्थ्यो। तर मीनपचास र दशैँको विदामा गाउँ गइन्थ्यो। पढ्न भनेर किताब लान कहिल्यै छुटाउँदैनथें। तर किताब जस्तो लग्यो उस्तै फर्काउँथे। गाउँमा गएपछि सबैभन्दा रमाइलो काम भनेको गोरु चराउन जाने। चौर एउटै भएकोले बाख्रा चराउन जाने गोरे मगर कि छोरीसँग चिनापर्ची भो। दूधले नुहाए झैं गोरो ज्यान, पुक्क परेका राता गाला, सानी सानी चट्ट परेकी, खल्तीमै राखेर हिंडौ जस्ती। कम्ता त मन परेन हउ। बाघगोटे, डन्डिबियो खेल्ने, लप्सी झारेर पोलेर खाने, पानी अमला र खन्यु खोस्रेर खान उनैले सिकाइन् मलाई। खै किन हो, मलाई उनको साथ छाड्नै मन लाग्थेन। कुरै कुरामा थाहा भो, एक दिन उनी घट्ट जाँदैछिन्।   घरकाले सक्दैनस् भन्दाभन्दै पनि मुन्टो बङ्ग्याउँदै मकैको थैलो बोकेर घट्टतिर हुँइकिएँ। झिसमिसेमा खुट्टा कमाउँदै ओराली अोर्लन सजिलो त कहाँ हुन्थ्यो र,  तर मान्छेले आकाशकै तारा झार्छु भन्थे रे, म त त्यही जाबो मकैको थैलो बोकेर किन ओरालो झर्न नसक्नु। उनको लागि त्यो पनि गरियो। आउँदा एउटा पोको उनले नै बोकिदिइन्। थपिएको भार बोक्न जति गाह्रो भए पनि ‘तिम्रो माया उनान्सय, मेरो माया सय’ सोचियो। पछि सेटिङ्ग नै  गरेर २-२ पाथी मकै लिएर भए पनि हामी घट्ट जान थालेम्। हुन त गाउँको सबैभन्दा रोमान्टिक ठाउँ भनेकै घट्ट हो भनेर गाउँका  दाइहरुले नसुनाएका पनि होइनन् तर त्यस्तो रोमान्टिक हुने हिम्मत कहिल्यै पुगेन।२-३ बर्षपछि सुनें, उनी कसैसँग कुलेलाम् ठोकिछन्।

झ्यालैमा बसेर…. टेली लभ

एसएलसीमा पास भएर कलेज पढ्न थालियो। कलेज दिदी भिनाजुको घरभन्दा पर भएकाले छुट्टै डेरा गरेर बस्ने भइयो। बहाना यो बनाए पनि साथीहरूसँग डेरा गरेर बस्दा मोज हुन्छ भन्ने सोच हावी थियो। साथीहरूसँग मिलेर भाडामा कोठा लिइयो – किनमेल गर्ने एउटो, पकाउने अर्को, म चैँ भाँडा माझ्ने। भाँडा माझ्ने झ्यालको पारिपट्टी झ्यालमा एक जना देखिन्थिन्। कहिलेकाहीँ जाँचको बेलामा कापी लिएर रट्न  बरन्डामा निस्किँदा झल्याक्‌झुलुक देखिन्थिन् पनि। पातलो ज्यान,  बुट्टेदार कुर्ता, ताछेको जस्तो पेट र सपक्क टाइट कुर्ताले उठेका उरोज ! तीन दिदी बहिनी मध्ये कान्छी उनलाई लिएर फरार हुँ जस्तो नलागेको होइन, तर त्यो रोमान्चक कल्पना बाहेक थप हुन सक्दैनथ्यो। यसरी हेराहेर मात्र चलिरह्यो – न मैले बोलाएँ – न उनले बोलाइन्। तर पनि बरन्डामा बसेर उतै हेरेर महिनौं बिताइयो ! अचानक ति ‘प्रियसी’ हराइन् – कता गइन् – के भयो पत्तै पाइएन । अहिले सोच्छु, न त नाम थाहा छ, न त काम – न त कहिले उज्यालोमा प्रस्ट अनुहार नै देख्या छ – त्यही पनि सम्बन्धहरू लेख्दै जाँदा उनलाई छुटाउन मन लागेन।

“इन्टर कोर्ष” वाला मायालु

उ बेला अचेल जस्तो प्लस टु कहाँ ? डाक्टर इन्जिनियर बन्न सक्दैनस् भन्थे सबैले। त्यही पनि हिम्मत हारिएन। साइन्स पढ्छु, सके डाक्टर, नसके ईन्जिनेर – मनमा लिएँ। जाँच दिँदा कुनै पनि नाम चलेका कलेजमा नाम निस्केन (दिदीको घर छेउको कलेज राम्रै मानिन्थ्यो, तर त्यहाँ त हेर्दै हेरिएन) । त्रिचन्द्रमा एक जना स्ववियुका दाइसँग चिनजान भयो, मावली पर्ने थाहा पाए पछि बल्ल बल्ल उनीहरुलाई नै भोट हाल्ले शर्तमा टिसीमा भर्ना भइयो। सरकारी क्याम्पस, भर्नै मात्र त हुने रच नि, पढ्ने पढाउने त त्यस्तै थियो, क्याम्पसमा कुनाकाप्चा नछाडी खुब बरालिन थालिएको थियो। यत्तिकैमा एकदिन क्यान्टिनमा उनीसँग भेट भो। सुर्जेमुखी फूल जस्तो गोलो अनुहार, मडारिएका बादल जस्ता सन्दिग्ध कपाल, समुद्र झैँ गहिरा आँखा, अनि त्यसको वरीपरी कोस तानेर लगाइएको गाजल र निधारमा टुक्क साइ बाबाको विगुतको टिको। उनलाई देख्ने बित्तिकै मेरी जीवनसँगीनी यिनै हुन् भनेर मनको लड्डु घ्युसँग खान थालिसकेको थिएँ। हुन पनि कति सृजनशील हुन सकिने होला ! मेरा र उनका बच्चाबच्ची कस्ता होलान्, म थाकेर अफिसबाट फर्केर आउँदा गेटमा कुर्दा कस्ति देखिएलिन् उनी…. आदि आदि। हैट्, त्यो दिवानगी !!!  प्राक्टिकल पनि एउटै समुहमा  पार्‍यो – ‘हे भगवान’ भन्या बेला ठ्याक्क भगवानले तथास्तु भनेका रैछन् क्यारे। प्राक्टिकल एउटै ग्रुप भए पनि कोठाको दुई कुनामा – हेराहेर र मुस्कान साटासाट चैँ हुन्थ्यो। केही समयपछि एकजना बास्केटबल खेल्ने केटाले उनलाई लिएर हिंड्न थाल्यो, मोटरसाइकलमा हुँइक्याउँदै। “इन्टरमेडियट” को कोर्ष गर्दा भेटेकी मायालु भएर  “इन्टरकोर्षवाला” मायालु शिर्षक जुराए पनि उनीसँग इन्टरकोर्ष त परै जाओस्, हात समेत सुम्सुम्याउन नपाइ मेरो प्रेमको पालुवा पात नलाग्दै ओइलायो।

अफिसकी माया

आइएस्सीमा राम्रो नम्बर नआएपछि र डाक्टर/इन्जिनियर बन्ने सपना भताभुङ्ग भएपछि म मिनभवनमा बिबिएस पढ्ने भएँ। इन्टर पढ्ने बेलासम्म बाले घरबाट पैसा पठाउनुहुन्थ्यो, तर ब्याचलर पढ्ने भएपछि पैसा कमाउँदै पढ्नु पर्छ भन्ने थियो। त्यसैले अलि मेहनत गरेर बिहानी कलेज, दिउँसो एउटा अफिसमा पार्ट टाइम जागिर गर्न थालें। त्यही अफिसमा फ्रन्ट डेस्कमा काम गर्थिन् तिनी। लजालु मुस्कान – अनि लामो कपाल – उचाइ भन्ने हो भने मेरो कुम कुम आउँथिन् क्यारे। म ११ बजे अफिस पुग्थेँ – उनको १२ बजे छुट्टी हुने। तर पनि त्यो एक घन्टा .. एक घन्टा पनि हैन खासमा ! त्यही अफिस छिरेर हाजिरी गर्ने बेलाको २ मिनेट ! मुस्कानबाट सुरु भएको सम्बन्ध हाम्रो, हप्ता दिनमै चकलेटमा पुग्यो – चकलेट हुँदै कफी ! पुरा आशिकी स्टाइलको जुल्फी पार्दै, आशिकी गर्दै हिँडियो केही महिना। अँगालो र गालाको चुम्बन – उत्साहको उत्कर्ष ! एक दिन बिहे हुन लागेको छ मेरो भनिन्, मैले ‘बिहे नगर, तिमी र म हामी बनौं’ भन्ने केही आधार नै थिएनन्। खिन्न त भइयो केही दिन, मात्र केही दिन।

अफिसकी मैंया

अफिसकी माया बिहे गरेर विदेश गइन्। उनको ठाँउमा अफिसमा नयाँ मैया आइन्। शरीर जस्तो भए पनि कसिलो लुगा लगाएर आउँथिन् र हाम्रो आँखा उनको शरीरमा पुग्दा ‘मुस्कुराउँदै, एई, के हेरेको ?’ भन्थिन्। हप्ता दिन नपुग्दै कुरा धेरै अगाडि बढ्यो – अफिस भित्रै जिस्किँदा जिस्किँदै कता कता छुन पुगिन्थ्यो – कहिले रोकिनन्। दुवै जना सायद ‘खुला विचारधाराका’ थियौं – अफिस भित्रै एकान्त भेट्यो कि अँगालो हालिहाल्ने – चुम्न थालिहाल्ने। मैले ‘तिम्रो कोठामा जाम् न’ भन्थेँ – उनले ‘हुन्न काका काकी हुनुहुन्छ’ भन्थिन्। सबै खुड्किला चढियो – एउटा बाँकी थियो। पछि मैले एउटा एनजिओमा जागिर पाएँ – अलि बढी तलब र काम राम्रो थियो, मैले फर्केर हेरिनँ! उम्लिएको माया छुट्दा न त मलाई दु:ख लाग्यो – न त उनलाई। त्यसपछि एकाधपटक देखादेख त भयो तर बोल्न पाइएन। मैले पहिलो पटक केटीको शरीरलाई त्यति नजिकबाट ‘भोगेको’ उनकै हो।

घरबेटीकी छोरी

म त्यो बेला एक्लै बस्न थालेको थिएँ। सँखमुलमा ३ तले घर, मेरो कोठा र भान्सा एउटैमा भएको हल थियो जसलाई मैले आफ्नो डेरा बनाएँ। सायद घरबेटीको बैठक हुनुपर्छ त्यो – उनीहरूको घर एक तले हुँदा। तला थपिँदै गए – भाडामा बस्नेहरू पनि। म असल केटा मानिन्थें । मनमा जे खेले पनि सबैसँग आदर गरेर बोल्थेँ – सायद घरबेटीकी छोरीलाई त्यो बानीले छोयो। मलाई याद छ पहिलोपटक कुरा हुँदा नै उनले ‘हजुर कता पढिसिन्छ?’ भनेर सोधेकी थिइन्। हाम्रो घर तिर सियो लगाउने चलनै थिएन। अप्ठ्यारो लागेर ‘मिनभवन क्याम्पस’ भनें। त्यहाँबाट सुरु भएको कुरा अघि बढ्दै गयो – उनका बुवा आमा दुवै जागिरे – दाइ विदेशमा थिए क्यारे। मोबाइलको जमाना भर्खर आएको थियो – खुब हाना-हान हुन थाल्यो मिस्ड कल। उनको सियोले मलाई खुब काउँकुति लगाउन थाल्यो। मैले कतिपटक पर्दा नै लगाउन्नथेँ कोठाको – देखिहाल्छिन् कि – देख्खिहाल्छिन् कि भनेर। मैले उनको बुवालाई बाह्र महिनाको भाडा बुझाइसकेको थिएँ। त्यसपछि मात्र तिनी मेरो कोठामा पहिलोपटक पसेकी थिइन्। २ मिनेट जति भलाकुसारी भयो, कुरा सकिए जस्तो भए पछि उनी कुदेर माथि गइन्। तर सायद रस पसिसकेको थियो, दिन दिनै आउन जान थालिन् मेरो कोठामा। एक दिन मौका हेरेर मैले ढोकाको चुकुल लगाएँ – पर्दा लगाएँ र अँगालो हालेँ – उनी पग्लेकी मैन जस्ती । न त चुमियो, न त अरु केही- त्यति नै चरम उत्कर्षमा पुगेको सुख जस्तो। उनी इन्डिया गइन् नर्सिङ पढ्न- अनि उनको र मेरो प्रेम पनि उतै इन्डियाकै वनारसको घाट पुग्यो।

याहु लभ

नयाँ अफिसमा कम्प्युटरमै काम थियो। काम जस्तो भए पनि देब्रे कुनामा याहु मेसेन्जरको पहेंलो आईकन। आईडी पनि urstrueluv19 थियो। साँच्चिकै सच्चा माया खोज्न याहु च्याटरुममा छिरेको जस्तो  एउटीसँग दोहोरो कुरा भयो च्याटरुममा – अनि प्राईभेट कुरा हुन थाल्यो। नाम  चैँ बिर्सेँ, तर sentigul भन्या जस्तो केही थियो क्यारे। कुरा लामै हुन्थ्यो – उनी पनि कम्प्युटरमै काम गर्ने थिइन् होला। म सँधै वेबक्याम खोल न भन्थेँ – उनी सधैँ ‘sorry no wc’ भन्थिन् ! मेरो ताल देखेर अफिसका अरूहरूले ‘कुन चैँ बोकाले मुर्गा बनाइराछ’ भनेर जिस्काउँथे पनि – तर खै कस्तो लत परेको। दोस्ती गहिरिँदै गयो – पहिला हावा हुन्थे कुराहरू – पछि केही नलुकाइ सबै भन्न थालियो, जिन्दगी, सपना, इच्छा, भावना – सबै। एक दिन ईमेलमा आफ्नो फोटो पठाइन् – हेर्दा ठिकै – तर यति धेरै आत्मीय भइसकेकी थिइन् कि नराम्री भन्न सकिएन। यो सम्बन्ध पनि केही महिनामा सकियो – कसरी सकियो नै थाहा भएन – सायद त्यो मायाजाल हट्दै गयो ।

र…..मेरी श्रीमती

३० पुगिसक्दा पनि बिहे नभएको भनेर घरमा सबैको गनगन सुन्नु पर्थ्यो। मैले धेरै केटीहरूसँग सँगत गरिसकेको थिएँ र मलाई बिहे भएको साथीहरूका बुढीहरुका वर्णन  सुन्दा सुन्दा घाँटी घाँटीसम्म भैसकेको थियो। मलाई बिहेमा केही रुची थिएन। मैले त्यो बेलासम्म मास्टर्स् नि सकाइसकेको थिएँ। जुन अफिसमा काम सुरु गरेँ – त्यहीं प्रमोसन पाएर राम्रै स्थानमा पुगेको थिएँ। ‘अब त बेला भयो’ बाहेक केही नभन्ने मेरी आमाले एकदिन ‘तँलाई एउटी केटीको फ्रेन रिक्वेस्ट आउँछ फेसबुकमा, एसेप्ट गरेस्’ भनेर उर्दी जारी गर्नुभो। नढाँटी भन्दा केटामान्छेहरुको बानी एउटा कस्तो हुन्छ भने, गर्लफ्रेन्ड बनाउन सकेसम्म मोर्डन केटी खोजे पनि बुढी नै बनाउन चैं अलि व्यवहारिक र “घर गरिखाने केटी” खोजिँदोर’च। उनीसँग कुरा हुनुभन्दा पहिले नै मैले उनको फेसबुक एसिपी प्रधुम्नले झैँ अनुसन्धान गरिसकेको थिएँ। दिमागको घन्टी बज्यो – हो यही हो ! अरुसँग भड्याङभुडुङ् बोल्ने म उनीसँग भने निकै औपचारिक रुपमा प्रस्तुत हुन थालेँ।  हजुर, नमस्तेबाट सुरु भएको सम्बन्ध मित्रतामा पुगिसकेको थियो। हामी दुबैलाई एक अर्को राम्रो लाग्न थालिसकेको थियो। २-४ पटक भेट हुँदा ‘यत्तीकी सँग त म मज्जाले जिन्दगी बिताउन सक्छु’ भन्ने लाग्न थाल्यो। अझ थप, परिवारमा पनि यत्तिको केटी भित्र्याइयो भने दुरी बढाउने होइन, सम्बन्ध कस्याउने डोरी हुन सक्छिन् भन्ने विश्लेषण भयो।

मित्रता गरेर बिहे गरेर अनि लप पारेको पनि यो बैसाख २ गते २ बर्ष पुग्छ। खुसी छु – मैले सही मान्छेसँग बिहे गरेँ। कहिलेकाहीँ कल्पना गर्छु, मैले मेरा पहिलेका सम्बन्धहरू मध्ये कसैसँग बिहे गरेको भए कस्तो हुन्थ्यो होला भनेर। यति चैँ भन्न सक्छु, यति सजिलो चैँ हुँदैनथ्यो जिन्दगी ! आखिर जे हुँदो र’च, राम्रैका लागि नै हुँदो र’च।

One thought on “बाह्रथरी सम्बन्ध

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.