छोटे इन्जिनियर्स


जदौ है सा’बहरु ।

हामी त सामान्य पाठकहरु हुम्, हाम्लाई किन सा’ब भन्यो भनेर बिलखबन्दमा नपर्नुस् । कुरो के भने नि नेपालमा एकसेएक सा’बहरुको बाहुल्यता भैसक्यो । बाउसाब, माड्साब, डाक्साब, इन्जिनेरसाब आदि । आज हजुरहरु पनि आआफ्नो पेशामा साब् लाएर ठूलो मान्छे बन्दिनुस् न त। सम्झदैंमा पैसो पर्ने होइन क्यारे !! 😂

engineerमाड्साब, डाक्साबहरुको बंगारा झारिसकेको अवस्थामा इन्जिनेरहरुलाई मात्र किन चड्काएका छैनन यिनोरुले?’ भन्ने कुरा हजुरहरुलाई लाग्या हुनसक्छ। यो त हाम्ले पनि जायज मानेका छौं । कतिले त  डेढ अक्कल पनि लाइसक्नु भो होला – ‘आफ्नै खेदो के खन्थे ? चलाउने लेख्ने सबै इन्जिनेर हुन जस्ता छन् ! ‘ त्यो पनि नाजायज चैं होइन है । 😂!  हुन पनि आजकल काठमाण्डुको आकाशेपुलबाट १० वटा ढुङ्गा आँखा चिम्म गरेर फाल्यो भने (१० चोटि थुके पनि हुन्छ) ८ ओटा चाहिँ इन्जिनियरको टाउकोमा लाग्छ रे अनि बाँकी २ वटा चाहिँ चाइनिज डाक्टरको टाउकोमा ! अब यतिका धेरै इन्जिनियर भाको देशको विकासको हालत कस्तो छ सवैलाई थाहा नै छ । काम गर्ने बेला ठसठस कन्छन् । गुगल नहुने भए अन्धो जस्तै हुन्छन्। नाम इन्जिनियर, काम गुगल सर्चर !!

देशले इन्जिनेर उत्पादन गर्दा र उत्पादन गरिसके पछि कस्ता विचित्रका चरित्रहरु पैदा गरिरहेको छ त? आउनुस् यसो चिन्तन मनन गरौँ। यदि कोही इन्जिनेरहरु पढ्दै हुनोन्छ भने, म:म भन्नुहोला, इन्जिनेर बन्न चाहेर पनि बन्न नसकेकाहरु हुनुहुन्छ भने काखी बजाउनु होला। इन्जिनेरका डिग्री गरेका साथीहरुले चैं हातमा फुलपाती लिएर पढ्नु भए बेस।

पुल्चोके इन्जिनेर

महाराजगञ्जका डाक्टर र  पुल्चोकका इन्जिनियर कति मापाका हुन्छन् भनेर हामीले प्रकाश पारिरहनु नपर्ला। यिनोरुले अरु कसैलाइ गन्दैनन्। म जत्तिको ट्यालेन्ट यो नेपाल त के, दक्षिण एसियामै कोहि छैन भन्ने दम्भ पालेका हुन्छन्। आफैलाई पढाउने मास्टरलाई त नटेर्ने यिन्ले अरुलाइ टेर्छन् भनेर पत्याउन पर्छ भन्ने हामीलाइ लाग्दैन। पुल्चोकमा नाम चैं यिनले +२/प्रविणता प्रमाणपत्र तह पछि १-२ वर्षको गुप्तबास बसेर, PEA को कोचिङमा रगडिएर निकाल्या हुन्छन् तर रवाफ चैं – म जन्मिँदै ट्यालेन्ट हुँ भन्ने पाराको दिन्छन्। त्यसैले यिनीहरु अरु इन्जिनियरीङ कलेजलाई रौं बराबर पनि गन्दैनन् अनि त्यता पढ्दै गरेकालाई  हान्ने गोरुले झैँ ठूला ठूला आँखा बनाएर ‘स्टेयर’ दिन्छन्। तर अन्तिममा यिनीहरुले गर्ने सबैभन्दा ठुलो काम भनेको कि भिषा जितेर विदेश जाने हो, कि लोकसेवातिर छिरेर जनताको ‘कर मा तर मार्ने’  हो ! त्यो गर्न नपाएकाहरुको हकमा भन्नु पर्दा निजी कलेजमा पढाउने हो।

‘अङ्गुर अमिलो’ इन्जिनेर

पिछवाडाबाट धुवाँ निस्किसक्यो, घुडाँ धस्दाधस्दा घाउ भइसक्यो, र पनि पुल्चोकमा नाम निस्कन्न बा….!! अनि इन्जिनेर बन्ने उपाय के त भन्दा निजी कलेज भर्ना हुने ! आखिर बाउले जायज/नाजायज तरिकाले पैसा जोड्देकै छन् । बैंकमा क्यास नहुनेले पनि १-२ घडेरी छोराछोरीको पढाइको निम्ति फाल्न किन्चित हिच्किचाउँदैनन्।  अनि यी भविष्यका इन्जिनेरहरु  कलेज भर्ना भा’को भोलिपल्टैबाट स्यालले अङ्गुर अमिलो छ भनेको शैलीमा पुल्चोक क्याम्पसलाई सराप्न थाल्छन्। कलेजमा पढाइ सुरु भएपछि पहिलो बेन्चमा बसेर पुल्चोककालाई नि टप्छु झैँ गरि मास्टरले पढाएको एकोहोरो सुन्छन्। कलेज भर्ना हुन पाएको छैन आफू खतरा इन्जिनियर नै भइसकेको जसरी घरको रेडियो टिभी खोल्न थाल्छन्। बनाउँदै गरेको घरमा यो बिम मिलेन, त्यो पिल्लर ठाममा भएन भन्दै मिस्त्रीलाई फोकटमा टोकस्न खोज्छन्। खासमा यिनीहरूलाई त्यो ईँटाको पर्खाल लाउने मिस्त्रीलाई जति पनि ज्ञान हुँदैन। अझ यिनीहरुको बानी यस्तोसम्म हुन्छ कि कलेज भर्ना भाको दिन नै लाइब्रेरी छिरेर सबैभन्दा मोटो किपात लिन भ्याउछन्। त्यो किपात रातभरीमा पढेर ठूलै छलाङ मार्छु जस्तो गरेर झोला खाली हुदाहुँदै पनि सबले देखुन् भनेर हातमा झुन्ड्याएर हिँड्छन्। लाइब्रेरीको म्याद छउन्जेल घरमा थन्क्याउछन्, म्याद सकिएको दिन हतार हतार पाना पल्टाएर फिर्ता लेराउछन् र सबको अगाडि राइटर गतिलो रै’नछ भनेर सुनाउँछन्।

‘तीस लाखे’ इन्जिनेर

यी इन्जिनेर देशको ठुला व्यापारीभन्दा पनि बढी नाफामुखी हुन्छन्। पढेर, जागिर खाएर वा व्यवसाय गरेर भन्दा फास्ट ट्र्याकबाट पैसा उठाउने उद्देश्य यिनीहरुको हुन्छ।  यिनीहरुलाई इन्जिनियरको सर्टिफिकेट मात्र चाहिएको हुन्छ। त्यो सर्टिफिकेट देखाएर पढ्न लागेको भन्दा तेब्बर बढी खर्च एकै दाउमा “ब्यान्ड बाजा बजाएरै” उठाउँछन् । कुरो बुझ्नु भो नि – उहि क्या दहेजको लागि इन्जिनेर बनेकाहरु। यिनीहरुको रेट नै हुन्छ- डाक्टर भए यति लाख, इन्जिनियर भए उति लाख, सरकारी कर्मचारी भए त्यति लाख। त्यही रेट पाउने लोभमा मात्र यिनीहरु इन्जिनियर बन्न कलेज भर्ना भाका हुन्छन्। यिनीहरुले पुरै पढ्ने भनेको पहिलो सेमेटष्टर मात्र हो। दोस्रो सेमेस्टरबाट त जाँच दिन मात्र ठिक्क हुन्छ। इन्जिनियरीङको जाँच त्यै हो क्यारे रेगुलर-ब्याक-रेगुलरको जाँचले भ्याई नभ्याई हुन्छ। ब्याक दिँदादिँदा लोत भएर कहिलेकाहीँ त ३० लाखको आशा नै मारिसक्या हुन्छन्।

भए नि ठिक नभए नि ठिक

आफू इन्जिनयर बने पनि ठिकै नभए पनि ठिकै भन्दै कलेज छिरेका हुन्छन् यी वर्गका इन्जिनेरहरु। साथीभाइको सँगत छोड्न नसकेर, गर्लफ्रेन इन्जिनेरिङ कलेजमा भर्ना भइ भनेर वा अरु केही पढ्ने विषय नै नपाएर बाउको पैसो तह लगाउन बाउकै करले मात्र यी कलेज भर्ना भाका हुन्छन्। यिनलाई क्लासमा देख्न पाइँदैन। कि त यिनीहरु कलेजको खेल मैदानमा हुन्छन्, कि त क्यान्टिनमा। चिट चोर्न पाए अलि अलि पास हुन्छन् नपाए ब्याक जोड्दै जान्छन्। लास्ट लास्ट सेमेस्टरमा हस्याङ फस्याङ गर्दै पास गर्ने दाैडमा हुन्छन्। फस्ट सेमेस्टरको नोटहरु लास्ट लास्ट सेमेस्टरमा जम्मा गरेर पढ्न थाल्छन्।

महिला इन्जिनेर्नीहरु

इन्जिनियरिङ्मा महिलाको उपस्थिति एकदमै न्युन हुन्छ भनेर त हामीले भनिरहनु पर्दैन होला। अनुपातमा हिसाब गर्ने हो भने पनि १:२० हुन्छ कि झैँ लाग्छ। अब आफै भन्नुस्, ति महिलाहरुको भाउ कति हुन्छ होला ! एक त इन्जिनेर पढ्ने, झन पुरुषको अनुपातमा एकदमै कम संख्या ! उनेरुले केटाहरुलाई त औंलामा नचाउन पाउने भैगए। सुरु सुरुका बर्षमा यिनीहरुले केटाहरुलाई खासै बाल दिन्नन्, तर चौथो वर्ष पुग्दासम्म त्यो तुजुक कर्कलो ओइलाए झैँ ओइलाइसकेको हुन्छ। केटाहरु चैं ४ बर्ष यो मेरी, त्यो तेरी भन्दै आफ्नो आफ्नो समुहमा बाँड्दै बस्छन्। सुरुसुरुमा घच्चीको केटाले प्रपोज हान्दा पनि भाउ खोज्ने इन्जिनेरनी सापहरु चौथो वर्षमा पुग्दा कुनै ठिक्ककोले अफर गरे मानिहाल्न हुन्थ्यो भन्नेमा पुगेका हुन्छन्। तर लास्टाँss यी इन्जिनेर्नीलाई कि अरपको लाउरेले उडाउँछ कि त बाहिरको PR वालाले। सँगै पढ्यासँग घरजम गर्ने चान्स निकै कम हुन्छ।

बाँसको झ्याँङ्ग

यो चाँहि पुरै शिवभक्त इन्जेनेरहरुको समुह हो। कक्षामा जानु अघि कलेज छेउको बाँसको झ्याङ्ग, त्यो नभए नजिकैको हरियो पर्दा भएको चिया पसलमा यिनीहरुको तयारी गर्न जान्छन्। अनि चट्ट “ल सोल्टी एक स्टीक बनाउन त” भन्दै कहिले कसले नगरकोट तिरको, कहिले कसले सुन्दरीजलतिरको “गोल्डेन” भन्दै कागजमा खिच्रिङमिच्रिङ परेको ‘कोशेली’ झिक्छन्। ‘प्रो’हरुले ‘पेपर’मा, सिकारुहरुले शिखर चुरोटमा इन्जिनियरिङको ‘मिक्सिङ’ सिद्धान्त प्रयोग गर्दै ‘मेक’ गर्छन्। फिफाकोभन्दा पनि कडा नियम अनुसार दुई-दुई पफ चक्रिय पद्दतीमा सबैले तानिसकेपछि, “ल यो चाँहि फर्कने बेलाको लागि ” भनेर दुई स्टीक स्टक राखी कक्षातिर लम्किन्छन्। यिनीहरु पुरै समय मुसुमुसु हाँसीरहन्छन, ३६५ दिनमा ७३० दिन नै ‘हाsssइ’ हुन्छन् ! अधिकांश  झ्याङ्गेहरु पहिला पहिला ब्याक लागे पनि ४ वर्षमा सबै ब्याक कटाएर दिन रात घोटिनेहरु जति नै अङ्क ल्याएर इन्जिनेरिङ् पास गर्छन्। यी फरक तरिकाका दिमाकवाला हुन्छन्। कलेजका बास्केटबल टिममा डंक हान्नेदेखि अधिकांश क्लास बंक हान्ने यिनीहरुले नै सबैभन्दा पहिला जागिर पाउने र पैसा कमाउने गर्छन्।

४ बर्ष लाएर यी प्रकारका इन्जिनियरहरु मार्केटमा देखा पर्छन्। मार्केट फेरि कहाँ त्यति सजिलो छ र ? गाउँ घर छर छिमेकमा इन्जिनियर भा’को धाक ठुलै हुन्छ तर पास गरिसकेपछि जागिर नपाउँदा घरबाट बाहिर निस्केर अनुहार देखाउन पनि गाह्रो हुन्छ। ओभरसियर, अमिन भए पो सानोतिनो जागिरमा पनि झुन्डिम् भन्नु। परियो इन्जिनेर, जुन पायो त्यही काममा आँखा कहाँ लाग्छ र ? अनि अरू केही गर्न नसकेपछि विदेश ट्राई गर्दैछ भनेर छिमेकीको मुख थुन्नु पर्ने बाध्यता सबैको हुन्छ।

इन्जिनेर पुराण आजलाई यत्ति। केहि दिनमा हामी इन्जिनेर पास भैसकेपछिका पात्र र प्रवृत्तिको बारेमा चर्चा गर्नेछौं। हामीले कुनै वर्ग छुटाएको भए, तलको कमेन्टमा गएर थप्न सक्नुहुनेछ।

5 thoughts on “छोटे इन्जिनियर्स

  1. झोले इन्जिनेर (student union) छुटो नि, आनि पुल्चोक बाहेक सिदै प्रशङ्ग प्राइभेट कलेजमै टुङ्गियो, ERC,WRC र Thapathali तिर जोड्डेको भए अजै बेटर हुन्थो भन्नी सोच!!

    Like

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.