हगाइ भन्दा पदाइ ठूलो !


नमस्कार पाठकवृन्द !

तपाईँको आफ्नै, आँडेपाँडे जे भनेनी कत्ति नरिसाउने,  छुद्र थुतुनो भएको टिप्पणीकार चार्ली,  नयाँ वर्ष २०७३ को शुभकामना टक्र्याउँछु। हेर्नुस्, जीवनमा कैयन् नयाँ वर्ष देखियो । अझ नेपाली भएको हुनाले एउटै क्यालेन्डर एयरमा दर्जनभन्दा बेसी नयाँ वर्ष मनाउने अवसर पाइया’छ । त्यसैले ३ करोड भाग्यमानी नेपाली मध्य एक आफू पनि हुनुमा मलाई सदैव गर्व महसुस हुन्छ। आउनुस्, नयाँ वर्षको अवसर पारेर आफैले आफैंलाई दिने झुठा आश्वासनका ठेली एकचोटी पल्टाएर हेरौँ।

newYearResolution

रौसी चुरोस छोडिन्छ

अब यो कति दिन चल्छ भनेर त भन्न पर्दैन होला। संक्रान्तिदेखि रौसी छोड्ने  खुसीयालीमा मसान्तको दिन आँखाका गेडि फुत्कुन्जेल रौसी त धोक्नै परो । त्यै रौसीको ह्याङ्गओभर हटाउन भोलिपल्ट बिहानै टुच्च एक पेग दिएर रिजोलुसनलाई धोती टोपी लगाउनेको कमी हामी माझ पक्कै छैन। अनि कतिले यसो केही दिन कटाए नि महिनै कटाउन चैं कमैले सक्छन् । वैशाख बिहेवारीको महिना भएकोले पार्टी  परिरहने भैगो। अनि कतिले रेगुलर हैन ‘सोसियल ड्रिङ्कर’ हुने भनेर रिजोलुसनमा संसोधन गर्छन । कतिले जाँड (ह्विस्की, भोड्का लगायतका हार्ड ड्रिंक्स) नखाने तर बियरको चुस्की लाउने भनेर जाँड खाने चोर बाटो समात्छन्। आफु भिआइपी भएको ठान्ने केहिले भने सस्तो दारु खाँदा जहाँपनि जैले पनि खान पर्ने भो भनेर ‘लेबल’ वा विदेशी मात्र खाने भनेर रिजोलुसनलाई मोडिफाइ गर्छन्।  टोलका एकजना रौसी पसलेले सुनाउँदै थिए, ‘दारुपानीको बिक्री नयाँ वर्ष आउने बेलामा ह्वात्तै बढ्छ अनि नयाँ वर्ष लागिसकेपछि केही दिनलाई अचम्मसँग घट्छ। फेरी १०-१५ दिनमा उही हो, आखिर नेपालीका रिजोलुसन न परे।

चुरोटको पनि किस्सा उस्तै हो। मेरो एक जना साथी सुनाउँथ्यो, ‘चुरोट छाड्न निकै सजिलो हुन्छ, मैले सयौंपटक छाडिसकेको छु।’ 😂 चुरोट छाड्न पनि मान्छेहरुले धेरै उपाय लगाउँछन्। अघिल्लो दिन नै बजारबाट ल्वाङ, सुपारी, छुर्पी, चुइगम ल्याएर जगेडा राखिसकेका हुन्छन्। अलि हाइफाइ र विदेशतिर आफन्त भएकाहरुले इलेक्ट्रिक सिग्रेटको जुगाड पनि गरेका हुन सक्छन्। मेडिकल ज्ञान भएकाहरुले  तलतल मेटाउन निकोटिन युक्त चुइगम पनि खोजेका हुन सक्छन् तर कति मान्छे चुरोट छाडेर यस्तै चुइगमको लतमा पर्छन्। बिहान चियासँग एक स्टिक चुरोट नखाइ ‘प्रेसर’ नआउनेहरु त्यही प्रेसरकै लागि पनि २-४ हप्तामा पुरानो बानीमा फर्कन्छन्।

 ज्यान फिट राखिन्छ

भोलिदेखि मर्निङ्ग वाक जाने भनेर नयाँ ट्राउजर र टिसर्ट किनेर ल्यायो, बिहानै ५ बजेको अर्लाम लगायो, अनि कानमा इयरफोन घुसारेर हिँड्यो। नयाँ जोगीले धेरै खरानी घसे झैं  केहि दिन खुट्टै बाँउडिने गरि दुकुर्यो। सुरुसुरुका केही दिन यसरी कुदिन्छ कि भोलिपल्ट ट्वाइलेटको प्यानमा बस्न पनि साइडको धाराको सहारा लिन पर्छ। जगिङका अलावा कतिले जिम्‌को सदस्यता लिन्छन् , कतिले स्विमिङ !  ७-८ महिना भएकी गर्भवती महिलाको जस्तो भुँडी दुई चार दिनमै सपासुपुक्कै घटाउन जिममा भएजतिका आइटममा एकै दिन हात हाल्छन्। अनि त के चाहियो र, भोलिपल्ट ज्यान पुरा पिलो दुखे झैं दुख्न थाल्छ। हाँस्न, खोक्न पनि गारो हुन्छ। यस्ता मौसमी फिटनेस रिजोलुसनवालालाई आफ्नो प्रतिबद्धता केही दिनपछि आफैंलाई घाँडो हुन थालिसकेको हुन्छ। कहिले गर्मी भयो, कहिले एक्सरसाइज गरेर आएपछि नुहाउन पानी भएन, कहिले पानी पर्यो अनि कहिले के काम पर्यो भनेर  यी रिजोलुसनलाई धोती टोपी लगाउने काम गरिन्छ।

आहारविहारमा विचार गरिन्छ

जगिङ/जिम/स्विमिङले मात्र पुग्दैन, स्वस्थ रहन खानपिनमा ध्यान दिनुपर्छ भनेर धेरैले यस्तो प्रतिज्ञा गरेका हुन्छन्। जङ्क फुड खान्न, घरमा खाना बनाएर खान्छु, नुन तेल अमिलो मरमसला बढी खाँदिन, स्वादलाईभन्दा बढी स्वास्थ्यलाई ध्यान दिन्छु……यो गर्छु त्यो गर्छु। अनि नयाँ वर्षको दिनमा घरमा तरकारी उसिने सरी पाक्छ। एन्टिअक्सिडेन्टहरु हुन्छन्, अनुहारको चमक बढ्छ भनेर स्वाद न बेस्वादको अभोकाडो आइपुग्छ। सात्त्विक खाना खाने भनेर बिरामीले खाने जाउलो जस्तो बेतुकको खाना बनाउँछन्। यस्तो खान्की कतिले पानीको सहाराले निल्छन्, कतिले वाक्न नि बेर लाउँदैनन्। मिठाउरेहरु यस्तो  खानामा केही दिन टिकेपनि  बिस्तारै ‘अलिकती हालेर केही बिग्रिँदैन’ भन्दै २-३ महिनामा आफ्नो खानपिनलाई पुरानै शैलीमा ढालिसक्या हुन्छन्। हेरेर मर्न भन्दा छेरेर मर्न बेस भन्नेहरु केही हप्तामा  ठेलाको पानीपुरी र चाट लत्काउन चोकका ठेलाहरुमा भेटिन थाल्छन् ।

सुत्ने उठ्ने काम समयमा गरिन्छ

उल्लुहरू जो मध्यरातसम्म जागा बसेका हुन्थे। अझ भनौं कति त बिहान भाले बासेसी बल्ल सिरकले मुख छोप्थे, तिनले अब चाँडै सुत्ने चाँडै उठ्ने वाचा गर्छन्। यस्तो प्रण उस्तै परे त्यो पहिलो रात नै टिक्दैन हेर्नुस्। निद्रा लागे पो सुत्नु त ! बिहान २ बजे सुत्ने मान्छे, ९ बजे नै सुत्छु भनेर कसरी  हुन्छ ? ज्यानले पत्याउन पनि त पर्यो नि। बिचाराहरु १ गतेको रात ९ बजे नै बिस्तारामा घुस्रन्छन्, आँखा चिम्लन्छन्, निंद आउला भनेर यसबाट उल्टो गन्ती गर्दै ३-४ पटकसम्म एकसम्म आइपुग्छन्। नीलो कन्चन तलाउको सिन आँखामा ल्यायो भने निदाइन्छ भनेर त्यो पनि गर्छन्। तर अहँ…. एकै दिनमा बानी कहाँ बदलिन्थ्यो र ? २-३ घन्टा यसरी कोल्टे फेर्दै बिताएर, पुन: सामाजिक सञ्जालमा प्रवेश गर्छन्। चाँडै सुत्ने भनेको निद्रै परेन भन्ने स्टाटस राखेर  बिलौना गर्न थाल्छन्।

मोबाइल  चलाउन कम गरिन्छ

पहिले उठ्ने बित्तिकै शौच गर्न शौचालय जाने गरिन्थ्यो। अचेल बिहान ब्युँझिने बित्तिकै  ट्विटर, फेसबुकमा नोटिफिकेसन हेरिन्छ, एउटा स्टाटस लेखिन्छ अनि बल्ल मोबाइल साथ लिएर शौचालय छिरिन्छ। घरका अरु सदस्यलाई प्रेसर आएर अप्ठ्यारो परिसक्छ तर अहँ त्यो मनुवा निस्कने नाम लिन्न। प्यानमा बस्ने त खुट्टा पाट्टिएर अलि छिटो पनि निस्केला, तर कमोडको व्यवस्था भएकाहरु एक निंद सुत्ने ट्याम उतै बिताइदिन्छन्। तर अहँ, अब त्यसो गरिन्नँ, नयाँ वर्षदेखि यो ठ्याम्मै घटाइन्छ भन्दै प्रतिबद्धता गर्छन् एक थरी । तर मोबाइल नचलाई शौच लाग्नु पनि पर्यो नि बिचाराहरुलाई । प्रेसर पुग्नु पनि त पर्यो। शौचालयमा बसेर क्याण्डी क्रसका डल्ला नफोडि गु आउनु पनि त परो। अनि त के चाहियो, दिउँसोदेखि चलाउँदिन। साँझदेखि चलाउँदिन, भोलिदेखि चलाउँदिन भन्दै अर्को चैत मसान्तसम्म पुग्ने धेरै छन्।

ध्वस्तssss पढ्न थालिन्छ

यसबाट सिधा  फाइदा  चाहिँ किताब पसलेलाई हुने हो।  अध्ययनशील हुन्छु भनेर मान्छेहरू कम्तिमा आधादर्जन किताब किन्छन् नयाँ वर्षको दिनमा।अनि लगेर टेबुलमा राख्छन्। हुन त नपढ्ने नि हैनन्,  एउटा किताबको पृष्ठभूमिसम्म चैं पढ्छन्। अझ विद्यार्थी हुन भने त पुरा विषयअनुसार रुटिन बनाउँछन्- खाने, पढ्ने, खेल्ने, उठ्ने, सुत्ने समय सहितको।  तर पढ्ने कुरा कहाँ त्यति सजिलो हुन्छ र ? चुर्ना परेको चाकमा सुपर ग्लु लगाएर कुर्सीमा बस्न सक्न नि परो नि ! दुई चार पेज सक्दा नसक्दै तीनलाई ऐँठन हुन थाल्छ। ल यति पढियो आजलाई भनेर छोडेर हिँड्छन् । अनि हुन्छ के भने तिनले था’ह नपाउँदै किताबमा धुलो जमिसक्या हुन्छ। भन्न त धमिरा पर्छ भन्न मन थियो, त्यसो भन्दा अलि बढी नै भनिन्छ कि जस्तो लाग्यो क्या।

भोलिवादलाई बाइ गरिन्छ

उसो त नेपालीको जिनमै छ भोलिवाद। यस्तैबाट हुक्क भएर भानुभक्तले “भोलि भोलि भन्दा सब घर बितिगो, बक्सियोस् आज झोली” भन्ने सिलोक लेखे अनि भैरव अर्यालले “जय भोलि” निबन्ध ! भोलिवादलाई झोलामा हालेर खोलामा बगाउन मान्छेहरुले प्रयत्न नगर्ने पनि होइनन्। त्यसैले नयाँ वर्ष आउन लाग्दा, काम साँचे आफुलाई खाना साँचे अरुलाई हुन्छ भन्दै कुनै पनि काम तत् समयमा गर्ने भनेर कसम खान्छन्। तर वर् भरि चिया पसलमा तिघ्रा ठटाउँदै गफ लडाएको बानी, के खाएर गर्न सकिन्थ्यो र भनेको समयमा सबै काम गर्न। जस्तो कि – एक दुई दिन पकाउना साथ भाँडा माझ्छन्, घर नि सफा चिरिच्याट्ट राख्छन्, लुगा पनि मैलिने बित्तिकै धुन्छन्, कलेजका असाइनमेन्ट नि डेडलाइनभन्दा पहिल्यै बुझाउँछन्। तर बिस्तारै त्यो जोश सेलाउँदै जान्छ । वैशाख नसकिँदै, तिनोरुको शैली चैत मसान्तमा जस्तो थियो त्यस्तै हुन पुग्छ।

दैनिकी लेख्न थालिन्छ

हेर्दा सजिलो तर गर्न गाह्रो मध्येको एउटा काम दैनिकी लेख्नु पनि हो भन्ने यो टिप्पणीकारको अनुभव रहेको छ। ठालुहरुले आत्मकथा भनाउँदाका किताबमा दिन, तिथि मिति र ससाना कुरा पनि वर्णन गरेको देख्दा “ओहो गाँठे, ठूलो मान्छे बन्न त महत्वपूर्ण घटनाहरू टिपोट गर्न पर्दो रच” भनेर ठाम् को ठाम प्रण गरिन्छ। र, दैनिकी लेख्न साइत जुराइन्छ -नयाँ वर्षको दिन। तेसको लागि मोटो, चट्टको डायरी र सलललल बग्ने कलमको जोहो गरिन्छ। अचेल गुगल किप जस्ता अनलाइन टुल पनि हुनेहुँदा ती पनि डाउनलोड गरिन्छ। एक दुई दिन सुत्नुभन्दा अगाडि दिनभरीका कुरा पुरै सिक्वेन्समा लेखिन्छ पनि। बिस्तारै दुई तीन दिनमा एकपटक सम्झेर एकैपटक लेख्न थालिन्छ। त्यसपछि केही महत्वपूर्ण घटना घट्यो भने मात्र लेखिन्छ र अन्त्यमा २-३ महिनापछि बाँकी रिजोलुसन जस्तै यो पनि अलपत्र पर्छ।

रोनाधोना धेरै भयो, भूपुलाई बाल दिइन्छ

हेर्नुस्, यो पिरेम भन्ने कुरो गरे नि सुख छैन, नगरे नि सुख छैन। फेरि हरेकको जीवनमा एक न एकपटक त पक्कै पनि ट्र्याजेडी परेकै हुन्छ। अनि सँधै रुन्चे अनुहार, मायालुको याद। अब नयाँ वर्षदेखि भूपूलाई बाल दिइन्छ र नयाँ खोजिन्छ। तेसैले मोबाइलमा उनका मेसेज डिलिट हानिन्छ, फोटाहरु उडाइन्छ, इमेल मेटिन्छ, दिएका गिफ्टहरु पनि कसैलाई भिडाइन्छ र फोन नम्बर पनि बिर्सन परो भनेर नामोनिसान नहुने गरि हटाइन्छ। तर निष्ठुरीलाई बिर्सन त्यति सजिलो कहाँ छ र ? नयाँ वर्षको दिन बिहानै उनै भुपु मायालु मिस हुन्छिन्। साला उ भएको भए नयाँ वर्षमा घुम्न जाने पार्टनर त हुन्थ्यो।

अन्त्यमा के भन्न चाहन्छु भने, म राम्रो कामको शुरुवात गर्नुलाई नराम्रो भन्न खोजेको होइन। राम्रो कामको शुरुवात यो दिनदेखि गर्छु भनेर शुरुमा नै भोलिवादको सिकार बनेर थालनी गर्न खोजिएको कुरा लामो समय टिक्दैन। राम्रो कुराको सुरुवात गर्नलाई नयाँ वर्षको दिन कुर्न पर्दैन, यदि कुनै कुरा राम्रो लाग्यो भने त्यही दिनबाट नै सुरु गर्न सकिन्छ। यो दिनबाट कुर्नु भनेको भोलिवादको शरणमा परेर आफ्नो इच्छाशक्तिलाई कमजोर बनाउनु सिवाय अरु केही होइन। त्यसैले पाठकहरु, राम्रो काम गर्नुस्, तर साइत हेरेर हैन, जति बेला दिमागमा आउँछ, त्यही बेला नै प्रस्थान विन्दु बनाउनुस्। हजुरहरुले एकैचोटी ज्यानलाई धेरै परिवर्तन नथमाउनुस्, बिस्तारै परिवर्तन गर्दै लैजानुस्, त्यसो गर्दा सजिलो र प्रभावकारी हुन्छ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.