दाजुभाइका १२-२७ कुरा


Remember the 'Charlie Bit My Finger' video? Well the boys from it are now all grown up! Newsround's Ricky Boleto has gone to visit the boys and finds out how the viral video has changed their lives!

स्रोत:  ‘Charlie Bit My Finger’

भन्नलाई त भन्छन् – गाइ भए गोरस भाइ भए भरोस । एउटै पेटबाट जन्मेका जन्मेका दाजुभाइ मिल्ने हो भने साथी खोज्न पनि टोल समाजमा खासै भौंतारिनु पर्दैन । बाउ आमाले चार पाँच जना जन्माइदेका रचन भने दशैं तिहारमा कलब्रेक होस कि म्यारिज, कोरम आफ्नै घरमा पुग्छ, कसैलाई गुहार्न पर्दैन । कसैले निहुँ खोजे पनि तुरुन्तै बंगारा झार्न सकिन्छ । तर दाजुभाइ भन्ने जात कालान्तरमा गएर कस्तो हुन्छ भन्देखुन – “बाघको मुख हेर्न परे बिरालाको मुख हेर्नु, सत्तुरको मुख हेर्न परे दाजुभाइको मुख हेर्नु” भने जस्तै । अब भन्नुहोला, यो मुला झ्याँस लेखकले अरु केहि नपाएर दाजुभाइको कुरा झिक्यो, हामी त क्या मिल्छम् !! ए बाबा, नमिल्ने भनेर काटाकाकाटै गर्न पर्छ भन्ने कहाँ छ र, तर दाजुभाइको सम्बन्धमा के कस्ता उतारचढावहरु आउँछन्, आउनुस केहि बेर भँडास पोखौं, मनको खईमई पखालौं ।

सानोमा खेलौना र लुगाका कुरा

पैलेपैले परिवार नियोजनका कुरा खासै थिएनन् । इश्वरको प्रसाद भनेर जे जति जन्मिन्छन, ति सबै स्याहार्दै जाने चलन थियो । त्यसैले ‘प्रसाद’ कहिले बर्सौंते निस्कन्ते, कैले प्रकृतिले नै फ्यामिली ‘प्लान’ गरिदिन्थ्यो । अब एक जना छोरा पछि बिचमा दुइ तीन जना दिदीबहिनीहरु जन्मेर दाजु भाइको विचमा केहि समयान्तर बने त ठिकै हो, नत्र एकै दावँलका जुम्ल्याहा जस्ता दाजुभाइ बने भने… बस् बाउआमालाई काम  पुग्यो । हुन पनि टोलभरीमा सबैसँग मिल्ने ति केटाहरु, आफ्नै दाजुभाई बिचमा चैं टोकाटोक गर्छन् । कसैलाई एउटा लुगा किन्दियो, अर्कोलाई तेस्तै चाहिने । कसैले कतैबाट केहि पायो, अर्कोलाई तेस्तै चाहिने । अब फेरी हाम्रो मानसिकता,  सानोले गल्ती नै गरे पनि ठूलैको दोष देख्ने । सानोले जिस्काउन नछाड्ने, ठूलाले रन्काउन नछाड्ने । हेर बुढेसकालमा, एउटा भन्दा दुइटा छोरा भए थप सहारा होला भनेर जन्माएका बाउ आमाको कर्म । रेफ्री हुँदाहुँदै साँझ बिहान व्यस्त ।

पढाइमा दाजुभाइका तुलना

पढाइमा दाजुभाइ दुबै बराबर भए त ठिकै हो, नत्र यी दुइ भाइबिचको द्वन्द बढाउने काम पढाइको पर्फर्मेन्सले पनि गरिरा’ हुन्छ । दाइ वा भाइ मध्धे एक जना ट्यालेन्ट र अर्को लद्धु छ भने बाआमाले पनि विभेद गर्न थाल्छ्न् । तेरो दाइ/भाइ ज्ञानी छ, राम्रोसँग पढेर यति नं ल्यायो, त ग्वाँच यस्तो भनेर दोहोलो खन्न थाल्छन् । उ विचारा पनि के गरोस ? सबैजना क्लासमा फस्ट नै हुने भए त किन दुख: पर्थ्यो र ? व्यक्त गर्न सके पनि नसकेपनि, पढाइकै कारणले बाआमा समेतले गरेको विभेद त्यो बोधो सन्तानको दिमागमा यसरी पर्छ कि उ शनै: शनै: पढाइमा झन पछि पर्न थाल्छ । कताकता मनको अन्तरकुन्तरमा रहेको भँडास उसले कुनै दिन कि दाइ/भाइलाई भकुरेर पोख्छ कि उसको थाप्लामा बदमासीको गाल पारेर ।

जेठो बाबुको प्यारो, कान्छो पेटपुछुवा – आमाको

यो भनाइ त सुन्नु नै भाको होला नि ! हुन पनि पहिलो सन्तान अझ छोरै भयो भने – मेरो उत्तराधिकारी यहि हो भन्दै बाउले पुल्पुल्याउनु सम्म पुल्पुल्याउँछन् । कान्छोले पनि “पेटपुछुवा” भन्दै आमाको लाम्टो ठूलै हुन्जेलसम्म चुस्न पाउँछ । तेसैले त भोटे समुदायमा माहिलो छोरोलाई भिक्षु बनाएर पठाउँछन् । सानो छउन्जेल जेठोले केहि बिराम गरेर आमाको कुचो खाने परिस्थिति बन्यो भने बाउको पछि गएर लुक्छ, अनि कान्छाको उटुङ्गयाइमा बाउले झापड लाउन लाए भने आमाको फरिया मुनी पुग्छन् । अब बाबु आमै वक्र परे भने परमाधिपति छँदैछन् नि हजुरबा-हजुरआमा, कसैले छुन नसक्ने ठाम ।

क्याम्पस पढ्ने/पढाउने कुरा (हुन त आफ्नो दिमाग अनुसार पढ्ने हो, तर यो पनि इस्यु बन्दो रच )

यी त भए, सानो छउन्जेलका कुरा । केटाहरु बिस्तारै ठुला हुन थाल्छन्  । क्याम्पस जाने बेला पनि हुन्छ । हुन पनि उच्चशिक्षा के पढ्ने कहाँ पढ्ने भन्ने कुरा परिवारको त्यति बेलाको आर्थिक अवस्था, बसोबास र सम्बन्धित व्यक्तिको एसएलसी/इन्टरको पढाइले पनि त निर्णय गर्ने कुरो हो । तर दुइ मध्धे एक भाइ भविष्यमा राम्रो भयो र अर्को हल्लनट्टु बनो भने, कि त दाइ/भाइ ले नै…. नभएपनि बुहारी/भाउजुले त बचन लाउँछन् लाउँछन् । “एउटा छोरालाई राम्रोसँग पढाएर पैसा कमाउने बनाउने र अर्कोलाई निमुखो नै राख्ने बाउआमा कति पापी हुन् के ?” कठै ति बाबुआमा ! आफ्नो सन्तानको बिचमा भेदभाव गर्ने पनि कोहि होलान् र ? मान्छेको आर्थिक जिन्दगी सधैं एकनास त कहाँ होला र ? कैले पैसा हुँदा जेठोले राम्रो स्कुलमा पढ्न पायो होला, आम्दानी ओरालो आएसी कान्छाले सरकारी स्कुलको भर पर्न परो होला । तेस्तै, पहिले आम्दानी पातलो हुँदा जेठाले सरकारी स्कुलमा पढ्यो होला अनि पछि घक्रक्क पैसा आउन थालेपछि कान्छाले राम्रा राम्रा बोडिङ पढ्ने चान्स पायो होला ।

विहे गरेपछि जेठानी/देउरानीका कुरा

यो बिषय एकदमै सान्दर्भिक कुरा हो, कारण के भन्दा बिहे गरेसी दाजुभाइका बुढिले दाजुभाइलाइ दिनरात सुनाउने कुरा के हो भने, मैले दिदी/बहिनी मानेर के गर्नु उस्ले मान्दिन । हेर्नुस शुरुमै शँकाले डेरा जमाउछ, अनि हेर्नुस त देउरानी/जेठानीलाइ उन्ले के के गर्देका छन, हजुरले केहि गर्नु हुन्न, हजुरलाइ मेरो मतलब नै छैन। लौ त सङ्गोल परिवारमा मिलेर बसौँ भनो, एउटाले खाना पकाउनु, अर्कोले जुठाभाँडा गर्नु भनो, हेर्नुस त्यो दुबै काम गर्दा नि सुख हुदैन, पकाउनेले तेरो खलकलाइ पकाएर ख्वाउन परेको छ भन्छन भने, भाँडा माझ्नेले त्यसले भान्सामा रानी भएर बस्या छे, मैले जुठा भाँडा माझ्नु पर्या छ भन्छन। दिन बिराएर गर न भनो भने, काम गर्न परेको दिन, उ महारानी उपरखुट्टी लाएर बस्या छे, म पेलिन पर्या छ। हेर्नुस देउरानी जेठानी एउटै घरका दिदी बहिनीलाइ बिहे गरेर बनाए नि मिल्ने भन्ने कुरो हुन्न, यो लास्टै पिडित सम्बन्ध हो।

असमान पारिवारिक दायित्व

भन्छन् – “तप्केनी मुनीको खेती र ऋणमुनीको छोरो कहिल्यै उँभो लाग्न सक्दैनन” । अब बाबुआमाले रिनको पोको छाडेर गएका रैछन् भने त्यो जिम्मेवारी स्वत: जेठो छोरो माथि आइपुग्छ । यो ट्रेन्ड मात्र हो है, नियम होइन । उसो त कान्छा छोराले पनि परिवारको दायित्व बोकेका उदाहरणहरु प्रसस्तै छन्, तर अपवादको रुपमा मात्र । बहिनीहरुको बिहे गर्न परो, जेठैको दायित्व । भाइबहिनालाई पढाउन परो, जेठैको थाप्लाको भार । अब कुरा उठ्ला, कान्छाहरुले त्यो गुन तिर्लान नि कहिल्यै । हेर्नुस, माथिल्लो गराको पानी तल्लोमा जाने हो, तल्लो गराको पानी माथिल्लोमा कैल्यै गाको देख्नुभाछ ? दाजुभाइमा गुन तिर्ने कुरो पनि यस्तै हो । राम्रो भए मेरो किस्मतले भएँ भनेर ठूलो बन्छन्, नराम्रो भयो भने बाआमा र ठूला दाइहरुले नहेरेर हो भनेर धारे हात लाउँछन् । 😂

अंशबन्डाका कुरा

यो त काटाकाट नै हुने कुरो हो । दाजुभाइको बोलचाल नै बन्द हुन्छ । बिचरा भान्जा भान्जी मामाघर जाँदा कहिलेकाँहि मामाहरुको झगडाले गर्दा, कस्कोमा खाने, कस्कोमा सुत्ने भन्ने नै टिन्सिन हुन्छ। देउरानी जेठानी गुन्यु उचालेर लुछालुछ गर्छन । कैले खेतजति आफुलाई पारेर बारी हाम्लाई पारो भन्ने निहुँ, कहिले घडेरी आफ्नो भागमा पारेर हाम्लाई खेत मात्र दियो भन्ने कचकच, कैले सजिलै पानी लाग्ने सिमखेत आफुलाई राखेर हाम्लाई टारीखेत भिडायो भनेर बखेडा । अब सिकर्मीले इन्चि टेपले नापेर काठको मुढाको चिरा पार्दा त बराबर नहुन सक्छ, अब जग्गा जिमिनको कुरा कहाँ बराबर होला त । अलिअलि नरमगरममा त चित्त बुझाउनै पर्ने हो केरे । तर बुझे पो । अँ…. यो अँशबन्डाको कुरा कस्तो हो भने, गाँउको मुखियाको घर नै किन नहोस, त्यहाँ नि समाज बसाउन पर्छ । गामभरिको समस्या सुल्झाउने मुखिया आफै छोराहरुको झगडाले गर्दा समाज डाक्न बाध्य हुन्छन। जति नै पढेर कमाउने किन नहोस, अँश खाने बेला सही भिकारी बनेर आइपुग्छ,  हुन हाम्रो समाज नै त्यसरी बन्या हो। फेरी दाजुभाइमा सम्पति कमाउन थालेपछि पाप कसरी पलाउँछ भने आफुले कमाएको सम्पति खुरुखुरु स्वास्नीका नाममा राख्चन् । अनि सम्पति जोड्न नसक्नेले सगोलमा रहँदा कमाएको पनि बाँड्म भनेर भन्ने बित्तिकै कमाउनेका जोइपोइ फरिया उचाल्दै तमाशा देखाउन पुग्छन् ।

बुढ्यौली सम्पति

हुन त नेपाली समाज यति बिध्न अधम बनेकै पैतृक सम्पति छोराहरुमा स्वत: जाने चलनले पनि होला । छोराहरुको मनमा अलिकति ‘हरी’ भएसम्म त ठिकै हो, नत्र बुढेसकालमा बुढाबुढीको बिजोग हुन्छ । कुलङ्गार छोरा परे भने बाउआमासँग बिभिन्न बहानामा पैसो मागेर हैरान पार्छन,  र दिएन भने अंश पाउँ भनेर नालिससम्म हाल्छन् । हुन त बाउआमाले त्यो पैतृक सम्पति बोकेरा सोर्गे लाने त होइनन तर पनि आफ्नै सन्तानसँग अंशमुद्धा लड्न पर्दा बाबुआमाको मन के होला ? भोलि केहि पर्ला, बुढेसकालमा छोराहरुले हेलाँ गर्लान भनेर एक भाग बुढ्यौली छुट्याउने चलन पनि नभाको होइन। तर यहि बुढ्यौली दाजुभाइको झगडाको बिउ बन्न पुग्छ ।

यी त हामीले देखेका भोगेका दाजुभाइका सम्बन्धका आयामहरु हुन्। योबाहेक पनि अनेकानेक प्रकारका लडाँइ हुन सक्छन् दाजुभाइबीचमा। यो जातै यस्तै हो के। तपाइँका दाजुभाइबीच चाहिँ कस्तो सम्बन्ध छ नि? लुकाउन मन लागेको भए पढेर मनमनै म:म भन्नुस्, नत्र तल त्यो कमेन्ट गर्ने ठाउँ किन लाग्या जस्तो लाग्छ तपाइँहरुलाई? ठोक्दिनुस् कमेन्टमा तपाइँका दाजुभाइको रडाको 🙂

One thought on “दाजुभाइका १२-२७ कुरा

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.