मज्जा आउला रेलिमाई बुलेट चढेसी..


यो लेख १२ थरीले नयाँ वर्षकै दिन प्रकाशित गर्न चाहेको थियो तर सरकारका केही गोप्य अधिकारीहरुले हामीलाई सूचना ढिला दिएकाले भएको ढिलाइका लागि क्षमायाचना गर्दछौं- सम्पादक

१२ थरीमा अहिलेसम्म प्रकाशित लेखहरू सबै नकारात्मक मात्र भए। हरेक क्षेत्रका नराम्रा पक्षहरुको मात्र चर्चा भयो भन्ने हाम्रा पाठकहरूलाई लागेको हुनसक्छ। भनिन्छ, सफल हुनका लागि सकारात्मक लक्ष्य लिनुपर्छ, सपना देख्नुपर्छ र सपना पुरा गर्ने अठोट लिनुपर्छ। १२ थरी टिम २०७२ साललाई विदा गरेर २०७३ सालमा पाइला टेक्दै गर्दा नेपाली जनतालाई सकारात्मक सन्देश बाँड्न चाहन्छ। अहिले सरकारमा विराजमान सम्माननीय तुक्काप्रसाद ओलीज्यूले पनि बार-बार सपना देख्नुपर्छ भनेर सपना बाँडिरहनुभएकै छ। २०७२ सालको अन्तिम दिन उहाँले राष्ट्रका नाममा गर्नुभएको सन्देश गलत पर्न गएको सूचना १२ थरी टिमले प्राप्त गरेको छ। १२ थरीको सम्पादन कक्षमा प्राप्त प्रधानमन्त्री ओलीको राष्ट्रको नामको सम्बोधन हामीले जस्ताको तस्तै नराखेपनि त्यसका प्रमुख बुँदाहरु यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं। लगभग १ घन्टा लामो सम्बोधन जस्ताको तस्तै हाल्दा लामो हुने भएकोले हामीले त्यो सम्बोधनलाई छोट्याउने प्रयास गरेका हौं।

4270355451ab48599515df6b3190c039_18

यस्ता छन् प्रधानमन्त्री ओलीले नयाँ वर्षमा गर्नुभएका प्रतिबद्धताहरु:

लोडसेडिङको सम्बन्धमा

  • अत्ति भयो जनताको गुनासो। बत्ती छैन, बत्ती गयो, बत्ती आएन भनेर सँधैको कचकच। अब कचकच गर्ने दिन गए। मिति टिपेर राख्नुस्, अबको ६ महिनामा लोडसेडिङलाई बाइबाइ। नेपाल पहाडी मुलुक हो। यहाँका पहाड ढुंगैढुंगाले भरिएका छन्। लोडसेडिङबाट उन्मुक्तिका लागि अब हरेक पहाडमा ढुंगाबाट करेन्ट निकालिने छ। पानीबाट बिजुली जोसुकै निकालेका छन्, यसमा नयाँ के छ? यो सरकारले अब ढुंगाढुंगा जुधाएर हरेक ढुंगाबाट बिजुली निकाल्नेछ। हरेक घरलाई सरकारले दुईटा ढुंगा उपलब्ध गराउने छ। त्यही ढुंगा जुधाएर जनताले चाहिएको जति बत्ती निकालेर बाल्न पाउनेछन्। अब हरेक घर विद्युत गृह हुनेछन्। न त बील तिर्नको झन्झट, न त महशुल बढ्ने टेन्सन। अब अँध्यारामा बस्ने दिन गए।
  • २ वर्ष भित्रमा नेपालले भारत, पाकिस्तान, बंगलादेश तथा माल्दिभ्सलाई ढुंगे बिजुली बेच्ने छ। ५ वर्षभित्रमा संसारका शक्तिशाली देशहरुमा ढुंगे विद्युत निर्यात गर्न नेपाल सक्षम हुनेछ।

तेल र ग्याँसको सम्बन्धमा

  • जनताको अर्को सँधैको गुनासो छ, तेल पाइएन, ग्याँस पाइएन। यसो हेर्छु, जनताहरु मोटरसाइकलमा कपडाले छोपेर ग्याँसका सिलिण्डर बोकेर दौडेका छन्। कोही साइकलको पछाडि बोकेका छन् त कसैले काँधैमा हालेका छन्। बहुत दु:ख भयो जनतालाई। अब यो सरकारले चीनबाट सगरमाथाको फेदी हुँदै ग्यासँको पाइपलाइन बिछ्याएर रसुवासम्म ल्याउनेछ। रसुवामा एउटा अन्डरग्राउन्ड भन्डारण बनाइनेछ र त्यहाँबाट के पहाड, के हिमाल, के तराइ वा के उपत्यका, हरेक घर घरमा ग्याँसको पाइपलाइन बिछ्याइने छ। फ्याट्ट स्विच थिच्यो, ग्याँस भररर। जति बाल्न मन लाग्छ बाल्नुस्।
  • ग्याँस र तेल एउटै पाइपबाट त ल्याउन मिल्दैन, अनि एकै ठाउँबाट ल्याउँदा ठूलो सुरुङ बनाउनुपर्ने हुन्छ। त्यसले सगरमाथा हल्लिने र भत्किने डर हुने भएकोले तेलको पाइपलाइन तातोपानी नाकातिरबाट विछ्याइने छ। तेलको प्रमुख भन्डारण दोलालघाटमा बनाइनेछ। अब दोलालघाट हैन, तेल घाट भने हुन्छ। दोलालघाटबाट पाइपलाइनमा नेपालका प्रमुख शहरहरुमा ग्याँस पुर्‍याइने छ। ठाउँ ठाउँमा ग्याँसका धारा राखिनेछ। अब के को पम्प? ट्यांकरमा तेल बोक, पम्पमा पुर्‍याएर खन्याऊ अनि त्यहाँबाट गाडी, मोटरसाइकलमा हाल। झन्झट। अब जनताले धारो खोल्यो, ट्यांकी थाप्यो, मन लागेजति भर्‍यो हिँड्यो।

भूकम्प पीडितलाई घरजग्गा

  • २०७२ साल हाम्रालागि कठोर, साह्रै कठोर भएर गयो। यसले दिएको घाउ पुर्न साह्रै पर्‍यो। जनताका घर छैनन्, गोठमा बसेका छन्। तर अब यो सरकार जनतासँग छ। जनताले पालमा बस्ने दिन गए। अब हरेक जनतालाई सरकारले घर बाँड्नेछ। कोही पनि जनता घरबार बिहीन नबसुन् भनेर सरकारले स्वदेशी प्रवृधि र स्वदेशी कच्चा पदार्थबाट बनेका, माटो सुहाउँदा घर बनाउने छ र जनतालाई बाँड्ने छ। ती घर जनताले सिरानेमाथि राखेर सुत्न सक्नेछन्। घरको आँगनमै चाइनिज दूबो हरियै हुनेछ, बँगैचा हुनेछ, स्पेशल ट्वाइलेट वाथरुम सहितको हुनेछ।यी घरको विशेषता के हुनेछ भने यदि भूकम्प आइहालेको खण्डमा जनताले घर बोकेरै भाग्न सक्नेछन्। यो घर भत्किने कुनै गुन्जाइसै छैन। कथंकदाचित घर भत्कियो भने पनि यसले किचेर ज्यान जाने छैन।
  • यी घर निर्माणको लागि ललितकला क्याम्पससँग सहकार्य गरिनेछ। ललितकला क्याम्पसले देशभर छरिएर रहेका कलाकारहरुलाई घर निर्माणमा खटाउनेछ। ६ महिनाभित्र हरेक भूकम्पपीडितले यस्ता घर पाइसक्नेछन्। अब जनताले आनन्दले निदाउन पाउनेछन्।

काठमाडौंमा बिजुली मेट्रो र मेची महाकाली बुलेट ट्रेन

  • हेर्नुस्, काठमाडौं मा’नगरपालिकाभित्र जनताले धेरै कष्ट भोगिसके। काम नभएर घरैमा थन्किनेको त कुरै भएन तर अफिस जाने मान्छेलाई  सार्वजनिक यातायातमा हिँड्न कठीनै छ। तर अब मा’नगरपालिका भित्र बसमा झुन्डिएर, छतमा बसेर, माइक्रोमा कोच्चिएर हिँड्ने दिन गए। अब सरकारले बिजुलीबाट चल्ने मेट्रो बस चलाउनेछ मा’नगरपालिकामा। यो बसमा फ्रि वाइफाइ, शौचालय सब हुनेछ। यी बस चक्रपथ बाहिर गुड्ने छैनन्। चक्रपथ बाहिरका लागि छुट्टै मेट्रो रेल चलाइनेछ।
  • अर्को समस्या, दशैंमा घर जाँदाको कुरा नगरौं, अरुबेला पनि काठमाडौंबाट बाहिर जानका लागि बस सेवा राम्रो छैन। जनताले पैसा तिरेर पनि हाइवेका होटलमा राम्रो खाना खान पाएका छैनन्। तर अब यो समस्या पनि चैट ! अब सरकारले काठमाडौं बाहिरका लागि ट्रेन सञ्चालन गर्छ, त्यो पनि एकथरी हैन, तीनथरी। लोकलका लागि लोकल ट्रेन सेवा- जस्तो काठमाडौं-नारायणघाट। अब बुटवल जानुपरेमा अर्को ट्रेन हुनेछ- र्‍यापिड ट्रेन। यो जहाँ पायो त्यहीँ रोकिन्न, गननननननन दौड्या छ दौड्या छ। ट्रेन चढेको एक डेढ घण्टामै बुटवल। बुटवल त उदाहरणका लागि हो, अन्य ठाउँमा पनि हुनेछ। अनि अझ टाढाका लागि भने बुलेट ट्रेन सञ्चालन गरिनेछ। यो गफ होइन। अबको केही महिनामै यो सरकारले ट्रेन सुरु गर्नेछ।

यी त भनिएका केही योजना मात्र हुन्। प्रधानमन्त्रीले यी योजनाका बारेमा विस्तृतमा भन्नुभएको छ- मान्छेहरु प्रधानमन्त्रीले गफ दिन्छन् भन्छन्। तर भित्रभित्रै तिनै मान्छेहरुको ओठ तालु सुकेको छ, ल सक्यो है यसले, अब देश खायो यसले। हाम्रो राजनीति सकियो भनेर डराएका छन्। गरे के हुँदैन? यो सरकारले गर्छ। हामीसँग के छैन? एक सिंगे गैंडा हाम्रोमा बाहेक कहीँ छ संसारमा? छैन। सगरमाथा कहीँ छ? छैन। हामीसँग त्यति अथाह सम्पत्ति छ। अझ गौतम बुद्धको त कुरा गरेकै छैन। भृकुटी, अरनिकोको अहिले नामै नलिऊँ। यति धनी, यति सम्पन्न राष्ट्रका जनताले दु:ख पाउने? यो असम्भव हो। अहिलेसम्म जति दु:ख भोगियो, जनताले भोगे, अब सकियो।

अन्त्यमा, श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.