यो लेखलाई डेल्टा (Δ) किचकिचको नाम दिइएको छ। इन्टर/प्लस टु मा गणित पढ्नुभाका’लाई थाहै होला, सुरुमा “Δx बि स्मल इन्क्रिमेंट इन x” भनेर मानिन्छ पछि Δx→ 0 भनेर यसको काम तमाम गरिन्छ । रियल जिन्दगीमा नि यस्तै हुन्छ। यस प्रसंगमा चैं x लाई बुढाबुढी बिचको किचकिच भनेर मान्नुस्। डेरिभेटिभ जस्तै यसलाई पनि पछि जिरोको नजिकै मानिन्छ र जिन्दगी अगाडि बढिरहन्छ। Δx कहिलेकाहीँ सजिलै हट्छ, हिसाब मिलिहाल्छ। कहिलेकाहीँ नहटेर तनाव दिन्छ – समय खान्छ। कहिलेकाहीँ त हिसाबै मिल्दैन।
भनिन्छ नि, लोग्नेस्वास्नीको झगडा परालको आगो ! जति नै लडे नि लास्टमा मिलिहालिन्छ।मिल्नु त के भन्नु, पुरुषले आत्मसमर्पण गर्छन् र जीत त सधै उग्रचण्डी महाकालीको स्वरुप धारण गरेका श्रीमतीको नै हुन्छ । श्रीमान पनि – हारे नि आखिर अङ्गालोमा आउन त आइ मेरो भनेर, “हार कर जित्ने वाला बाजिगर होता है” भन्ने फिलिङ्गस लिएर मुस्कुराउँछ। अन्ततागोत्वा, आगो बाल्न पनि मुढा/दाउरा ठाकठुक पार्न पर्छ भने जस्तै जोइपोइको सम्बन्धमा झन “बोन्ड” बढ्छ । १२ थरी टिममा महिला सहकर्मी नभएकाले यो लेख एक पक्षीय हुन गएमा क्षमा चाहन्छौं। अब यो लेख पढेर कोही नारी अधिकारवादीलाई औडाहा भएमा तल कमेन्टमा गएर फरिया उचाल्दै धारे हात लाएर सराप्नुहोला !!
डेल्टा किचकिच : Scene 1
बुढा एउटा सानो कामको लागि साथीकोमा जान लागेको हुन्छ, अनि बुढीलाई म एकछिन त्यहाँ गएर आइहाल्छु नी है भन्छ।
बुढा: म त्यहाँ गएर आउँछु है।
बुढी: सँधै हजुर जान पर्छ, उस्को काम भएसी उ आउन सक्दैन ? जहिल्यै हजुर नै झुकेर जान पर्ने?
बुढा: उ आयो भने चिया पकाउ, ख्वाउ, भाँडा माझ, तिम्लाई नि गाह्रो हुन्छ नि ! म फ्याट्ट पुगेर आउछु नि।युँ गया… युँ आया !
बुढी: ल ल कुरा गर्न त कस्ले जित्छ र हजुरलाई। गएर छिटो आउनु है।
** बुढा गएर ३० मिनेटमा फर्किन्छ **
बुढी: किन छिटो आएको त?
बुढा: तिमीले छिटै आउ भन्या ‘थ्यौ त!
बुढी: होला नि खुब मैले भनेर, आफैलाई बस्न मन लागेन होला।
यो Sceneलाइ अर्को कोणबाट हेरौँ,
- साथीलाई घरमा बोलाएको भए बुढीको रियाक्सन कस्तो हुन्थ्यो होला?
साथी गइसकेपछि – (आउँछ…. यो ले, त्यो ले भन्छ, खान्छ, जान्छ, कस्तो लाज नलाग्ने है?)
- अनि बुढा छिटो नआएर ढिलो आएको भए …..
( भनेको मानेर ट्याममै आए त सानो भइन्छ है बुढीको सामुन्ने ? कैलेकाहिं हाम्ले भनेको मान्दा जात जान्छ र भन्या ? आफ्नो याँss कति काम छ, यसो सघाउला भनो, उस्लाई भने व्याएकि कुकुर्नी जस्तो १० ठाउँमा डुल्दा फुर्सद भए पो !!)
यो लोग्ने मान्छेको भाग्य नै यस्तै हुने है । जे गरे पनि सुख छैन । कुप्री बुढीलाई उठी सुख न बसी सुख ।
डेल्टा किचकिच : Scene 2
एक्कासी बुढीलाई बुढाले पकाएको खान मन लाग्छ। बुढा खाना बनाउनै नजान्ने त हैन।तर विवाह पछि भने उति भान्सा छिरेको हुन्नँ किनभने कामबाट फर्किँदा खाना पाकिसकेको हुन्छ। बिदाको दिन पनि यो काम र त्यो काम गर्दै फुर्सद हुँदैन। अनि खाना पकाउने भनेको उही कैलेकाहिं बुढीलाई बुढाको हातको मिठो खान मन लागेको बेला मात्र हो।
बुढी: आज हजुरले पकाउनुस् न, हजुरले पकाएको खान मन लागेको छ।
बुढा: ल हुन्छ।
(यति भनेर खाना पकाउने समय भएपछि बुढा भान्सातिर लाग्छ)
बुढी: ए तरकारी यो पकाउनुस् है….. धेरै भयो त्यो नखा’को ……भोलि पर्सीसम्म बिग्रिसक्छ।
बुढी: अँ अनि प्याज गोलभेँडा धेरै नहाल्नुस् नि ! हजुरले त जति भएको हाल्नु हुन्छ।
बुढी: अँ…. तेल नि अलि थोरै हाल्नोला ! जति भा’को तेलमा डुबाउन पर्दैन।
बुढी: अस्ति बनाएको पिरो थियो….. एउटा हरियो खुर्सानी मात्र हाल्नुस् । रातो खुर्सानीको धुलो हाल्न पर्दैन… पेट पोल्छ, भोलि बिहान नि गाह्रो हुन्छ।
बुढी: फ्यात्त हुने गरी नपकाउनु होला नि ! तरकारी हो कि फाँडो हो जस्तो भएपछि खान कत्ति मज्जा आउँदैन।
बुढी: दाल धेरै बाक्लो नपकाउनुहोला ! हजुरले पकाएको दाल बाक्लो भएर पुरा आसनमा लाग्या हुन्छ । अलि पातलो बनाउनुस्।
बुढी: चामल २ ट्वाक मात्र हाल्नुस् ! बेकारमा बासी राख्न हुन्न।
बुढा: तिमीलाई बुढाले पकाएको खान मन लागेको हो कि, बुढाले आफुले भने जस्तै गरेर पकाएको खान मन लागेको हो?
बुढी: म त केही बोल्नै हुन्नँ। जहिल्यै यसरी प्याच्च भन्न पर्छ है, जे सुकै गर्नुस्।
यति पढिसकेपछि पक्कै पनि बुझ्नु भयो होला, बुढीलाई ठ्याक्कै बुढाले पकाएको खान मन लागेको हो भनेर। बुढाको हातको स्वाद नै मन परेको हो, त्यसमा कुनै शँका नै नगर्नु भए हुन्छ। अँ, बुढीले सुझाएका कुरा भनेको थोरै परिमार्जन मात्र हो, बुढाको खाना पकाइमा हस्तक्षेप हैन नि।
डेल्टा किचकिच : Scene 3
बुढी: कहिलेकाँहि यसै अङ्गालो हालेर बसे नि हुन्छ नि सिधै “झम्टिनै” पर्छ?
बुढा: त्यसो हैन । अब समय मिल्दा यसै गर्ने गरेको भएर हो। नगरौँला नि त अब देखि ।
बुढाबुढी लामोसमयसम्म अङ्गालो हालेर बस्छन् । बुढाले मनलाइ बडो कठिनसँग बाध्छ । चुम्बन बर्साउन नि डराउछ।
बुढी: किस पनि गर्न नि नहुने जस्तो के ! नझम्टिने भन्दैमा अँगालो मात्र मार्ने भन्ने कहाँ लेख्या छ ??
लौ त नी……”ल अब किस अनि अङ्गालो है त” भनेर बुढा बेलाबेलामा गाला चुम्ने अनि अङ्गालोमा नै बस्ने गर्छ।
बुढी: ** एक्कासी बम्किदै ** हजुरलाई म प्रति आर्कषण छैन है अचेल ? मेरो मनले के चाहन्छ मतलब छैन है ? बाहिर अरु केटीसित हिँड्ने होला, अनि घराँ बुढीलाइ के मतलब हुन्छ र? म त अब पुरानी भएँ, थोत्री भएँ ! घरकी मुर्गी दाल बराबर भएँ होला हैन ?
अनि त्यसपछि के हुन्छ भनेर त यहाँ ब्याख्या गरि रहनु पर्दैन होला । जित्न त उनैले जित्या हुन्, केटोलाई हतार भा’को हो, पछि बुद्धि नपुग्या हो भनेर बुझे नि भो। तर बिचरो पति, गरोस् के गरोस्, नगरोस् त के नगरोस् ? त्यो गर्न खोज्दा नि झम्ट्यो भनेर डस्छिन, त्यो नगरि बस्दा आकर्षण नै गुमेको हो भनेर बम्किन्छिन्। हरे शिब ! यो आइमाइलाइ चाहिएको के हो के खासमा?
डेल्टा किचकिच : Scene 4
पार्टीमा जानको लागि बुढी तयार हुँदैछिन। बुढा अघि नै सर्ट प्यान्ट उनेर बसिसक्या छन्। दराज खोलेर बुढी टोलाइरहेकी हुन्छिन्। दराजको एउटा तख्तामा बुढाका कपडा अटेका छन्, बाँकी पुरै तख्ताहरु बुढीका कपडाले भरिएका छन्।
बुढी: लाउने लुगै छैनन्।
बुढा: त्यत्रा लुगा के हुन् त?
बुढी: यी सबै लगाइसक्या हुन्, पार्टी जाँदा नि पहिले लगाएको लुगा के लगाउनु?
बुढा: लौ हो र? अनि कट्टु र ब्रा त हिजै लगाएको नै लगाइरै’छौ त?
बुढी: यो त कस्ले देख्छ र? देखिने लुगा पो भन्या त।
बुढा: एउटा लगाए भयो नि जुन लगाए नि।
बुढी: यो लोग्ने मान्छेको जातलाई उन्न पाए पुग्छ, अरुले के भन्लान् भन्ने छैन, अनि हजुरले त्यो के लगाएको, फलानो छोरोको पास्नीमा नि त्यही लगाएको होइन, अर्को लगाउनुस्, फेसबुकमा फोटो हाल्दा एउटै लुगा लगाएको फोटो कति हाल्नु हो।
बुढा: हिँड न लुगा किन्न जाँऊ।
बुढी: कति सजिलो कुरा है, अब हिँड्ने बेला लुगा किन्न जाम रे। बरु कुन लगाउँ भन्नु न।
बुढा: नलगाएका कपडा केही बाँकी छैनन् भनेसी अब नाङ्गै हिड त नी।
बुढी: थुक्क बुद्धि, जतिखेर नि मनपरी बोलेको छ बसेको छ, मैले मेरो लागि लाउने भन्या हो र? फलानीको स्वास्नीले त त्यही कपडा लगा’की रै’छ भनेर जोरीपारीले कुरा काट्छ्न पो भन्या त। नाङ्गै हिँड रे, हेप्न नि कति सक्या हो, नयाँ लुगा किन्दिनु छैन, पाल्छु भनेर ब्या गरेर ल्याएसी बुढीलाई खुसी राख्न पर्छ भनेर कस्ले सिकाउने होला यो मान्छेलाई।
बुढीले एउटा हैन १० वटा कपडा लगाएर ट्राइ गरे पछि शुरुमा जे लगाएकी थिइन पुन: त्यही लगाउँछिन्। अनि भुन्भुनिँदै निस्कन्छिन्। त्यो १० वटा कपडा लगाउदाँ नयाँ किसिमको कुनै सम्बाद भएको हुँदैन। त्यही माथिको सम्बाद क्रमहरु यता उता भएर दोहोरिएका हुन्छन्, त्यही रिसमा बुढा ४ चोटी बार्दलीमा गएर सुर्य नारायणलाई आगो पनि सल्काइ सक्या हुन्छ।
डेल्टा किचकिच : Scene 5
श्रीमान र श्रीमति सपिङ गर्नका लागि सपिङ मल पुगेका हुन्छन्।
बुढी: बुढो, हेर्नु त, यो कति राम्रो है? कलर पनि कस्तो राम्रो, क्या मन परो। दाम हेर्नु न दाम, कति सस्तो के।
बुढो: अँ, राम्रो छ।
बुढी: किन्छु ल? लगाएर हेरौं? तर सुहाउँछ होला है?
बुढो: लगाएर ट्राइ गर न त।
(बुढी त्यही कपडालाई ओल्टाइ पल्टाइ गरेर हेर्छिन्। धेरैपटक हेरिसकेपछि)
बुढी: बुढो, नकिनुम् है? राम्रै लागेन।
बुढो: राम्रो छ, तिमलाई राम्रै देखिन्छ।
बुढी: हैन मलाई मन परेन, यो छेउको कलर हेर्नु न, वाक्क।
बुढोले त्यो लुगा राम्रो लागेन भनेको भए?- हजुरलाई त मलाई मन परेको कुरा कहाँ मन पर्छ र? हुनत हजुरको ध्यानै मतिर छैन। मैले के लगाएँ, कस्ती देखिएँ भनेर केही वास्ता छ र? आजसम्म कहिल्यै भनेको सुनेको छैन। कस्तो राम्रो कपडा थियो त्यो, मलाई क्या मन परेको ‘थ्यो।
अन्त्यमा .. हामीले यहाँ यसो रमाइलो होस भनेर डेल्टाकिचकिच शुरु गरेका हौँ। यस्तै घटनाहरु सङ्गाल्दै भोलिका दिनमा डेल्टा किचकिच रिलोडेड ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ। हाम्रा श्रीमतीहरुले यो हामीले लेखेको थाहा पाए भने त्यहाँ फेरी अर्को डेल्टा किचकिचको जन्म नहोला पनि भन्न सकिन्न।
हाँस्दा हाँस्दा गिजा दुखो मेरो
LikeLike