काठमाडौंको कमलादी गणेशस्थानसँगै लाइनै केही चिया पसलहरु छन्। त्यहाँ बिहान वा दिउँसो गएर लेखकज्यू नमस्कार भनेर यस्सै जोतमा हान्दियो भने पनि पक्का दुई चार नमस्कार फिर्ता आउँछ रे। ती चिया पसललाई एकताका लेखकहरुको अड्डा मानिन्थ्यो रे। भलै अहिले जमाना फेरियो, चिया पसलमा भेटिने लेखक भट्टीमा भेटिन थाले, भट्टीमा भेटिएका लेखकलाई नमस्कार हैन आजकाल पाठकले चियर्स गर्न थाले।
१२ थरीले यसअघि किताब समीक्षकका बारे लेखेको थियो, तर धेरै काल बितेर जाँदा पनि लेखकका बारे किन नलेखेको भन्ने व्यापक जनगुनासो त थिएन तैपनि १२ थरी टीमलाई यो लेख्नु पर्ने बिषय हो जस्तो लाग्यो।१२ थरीका सम्पादक लेखकका कुरा त गर्ने तर कुन लेखकका बारे कुरा गर्ने भन्ने धर्मसंकटमा परेका छन्। कारण स्पष्ट छ, तिनी पनि आफूलाई सानोतिनो लेखक नै ठान्छन्, ब्लग क्या त ! १२ थरीले आफूलाई ‘लेखक’ भनेर चिनाउन मन पराउने जमातका बारेमा चर्चा गर्न खोजेको स्पस्ट पार्न चाहन्छौं, यसमा रमेश लेखक पर्दैनन्, ती नेता हुन्। अँ, आजकाल ट्विटरको बायोमा ‘लेखक’ भनेर लेखेका लेखन्दासहरुका बारेमा पनि यहाँ चर्चा गरिन्छ। तर पत्रिकामा १२ सत्ताइस विश्लेषण र टिप्पणि छाप्ने लेखकका बारे यो लेख मौन बस्छ। कारण? अर्को लेख लेख्नु परोन्त। त, आदरणीय पाठक गण, आउनुस् फूलपाती लिएर लेखकको आराधना गरौं।
विशिष्ट लेखक
पहिल्यै वरिष्ठ भएर पछि लेखक भएकाहरु। यी पेशाले लेखक हैनन्। यीनको रोजीरोटी, एजेन्डा, विषय सब अर्कै छ। कोही पत्रकारिताका वरिष्ठ होलान् कोही सरकारी सेवाका वा कोही फिल्मका। उता वरिष्ठ बनेर त्यही वरिष्ठतालाई बेचेर यता लेखक भएकाहरु यो वर्गमा पर्छन्। आफ्नो पेशामा हुन्जेलका साधन र स्रोत जम्मा पारेर त्यसैलाई किताब बनाएर बेच्छन् यिनीहरु। यिनीहरुको पुस्तकको आलोचना गर्ने कोही प्युसो निस्किन्नँ बजाराँ। यिनीहरु किन हाइ-फाइब भए भने यीनको किताब विमोचन पनि तारे होटलमा हुन्छ। पत्रकारितामा भए यी सम्पादकस्तरका हुन्छन्, कर्मचारी भए मुख्य सचिव। यिनीहरुका पछि लाग्ने ठुलो दलबदल हुन्छ र त्यो दलबदलले चाकरी र चाप्लुसीमा पटक्कै विश्वास गर्दैन। यो हामीले भन्या हैन, तिनीहरुकै ट्विट वा फेसबुक स्टाटस हेरे आफै थाहा पाइन्छ।
रुन्चे लेखक
आँशु मात्र बेच्ने लेखकहरु। यी लेखकहरुले समाजमा अभाव, गरिबी, पिछौटेपन, मृत्यु, अशिक्षा, भोकमरी मात्र देख्छन्। यिनको नजरमा समाजमा कसैले पढ्न पाएका छैनन्, कसैले खानै पाएका छैनन्, कोही जन्मिँदै जन्मिँदैन, सब मरेका मरै गर्छन्। यिनीहरुको पात्र नुन लिन गयो भने ढाकरै सहित चिप्लेर लडेर मर्छ। यिनीहरुको पात्र सिनेमा हलमा फस्ट क्लासको टिकट काटेर फिल्म हेर्न जान्छ र अगाडिको सीटमा बसेर सिनेमा हेर्दा हेर्दै मुन्टो भाँचिएर मर्छ। कठैबरी ! यिनीहरुले पाठकलाई रुवाउनलाई आफ्ना बाउ-आमालाई यति दु:ख दिन्छन् कि आफ्नो लेखनीमा- बाउ गाउँका एकमात्र किराना पसले छन् भने पनि दिनभरी चिनी जोखाएर, ढाड दुखाएर त्यहीँ फत्रक्कै ढाल्छन्।
जसो जसो प्रकाशक, उसै उसै स्वाहा:
शीर्षक नै काफी छैन र बुझ्न? प्रकाशकले जे भन्यो त्यही लेख्ने लेखकहरु। राम्रा लेखकलाई प्रकाशकहरु खोज्दै जान्छन्, लेख्नै नजान्नेहरु प्रकाशक खोज्दै जान्छन्। यी लेखकहरुले लेख्न त लेख्छन् तर आफूले के लेखेँ भनेर सोध्यो भने प्रकाशकलाई सोध्नु भन्छन्। यो टिप्पणिकार सहभागी भएको एउटा कार्यक्रममा भएकै घट्ना हो यो। आफूलाई युवाहरुको ढुकढुकी भन्ने एकादुई उपन्यास लेखेका एक लेखकले सार्वजनिक कार्यक्रममै प्रस्तोताले ‘तपाइँको उपन्यासमा यौन कुन स्तरसम्म प्रस्तुत हुन्छ?’ भनेर सोद्धा ती लेखक मौदयले प्रकाशकको नामै लिएर भने, ‘वहाँले कति छुट दिनुहुन्छ, वहाँलाई सोध्नुपर्छ।’ यहाँभन्दा बढी यस्ता लेखकका बारे नभनौं पो होला।
खै के…. खै के…? लेखक
लेखक हुन् कि होइनन् थाहा नपाइने। यिनीहरु भन्छन्, ‘मैले यस्तो यस्तो किताब लेखेको छु, तर बजारमा खासै देखिएको छैन।’ यिनीहरुको किताब छापियो कि छापिएन भनेर यी आफैलाई नि थाहा हुन्न। किताब छापियो भने कति प्रति छापियो भन्ने नि थाहा हुँदैन। प्रकाशक कहिल्यै भेट्दैनन् अनि प्रकाशकमा श्रीमतीको नाम राख्छन् र आफै पैसा हालेर किताब निकाल्छन्। कहिलेकाहीं त यस्ता लेखकका २० प्रति, १० प्रति किताब पनि छापिन्छन् रे। कस्तो भने, कतिपय साप्ताहिक पत्रिकाहरु विज्ञापनदाताकामा मात्र पुग्छन् नि, हो त्यस्तै यस्ता लेखकहरुका किताब लेखक आफैले पाउनेे ५० प्रति जति छापिन्छन् रे अनि लेखक आफै कहिलेकाहीं जाने चिया पसल र पत्रिका पसलमा लगेर एक दुई कपि बाँड्छन् रे।
धारे हाते लेखक
यी लेखक एउटा हातले धारे हात लाउदै अर्को हातले कलम चलाउदै गर्छन्। यिनले लेख्न थालेसि गाली बाहेक अरु केही निस्कन्नँ। गाली पुराणका धनी यस्ता लेखक सामान्यत: आफुलाई प्रगतिशील भन्न रुचाउँछन्। तर यीनको सँधै दुर्गति भइरहेको हुन्छ। यिनीहरुलाई खोज्न टाढा जानु पर्दैन, साँझका बेला यिनीहरुको निवास वरिपरी कतै कुना कोप्चाको भट्टी पसल पुगे हुन्छ। जे कुराको नि बिरोध गर्नु नै यिनको दिनचर्या हुन्छ। यिनको उत्पत्ति नै गालीबाट शुरु भएको भनेर मान्नु हुँदैन। यी पहिला अरु भाषाका किताब नेपालीमा उल्था गरेर उल्थे लेखक भएका हुन्। पछि अोहो उल्था गरेर मात्र भएन आफु नि लेख्न पर्यो भनेर लागिपरेका हुन। उल्था गर्ने दिमागले सृजना गर्ने त त्यस्तै हो हेर्नुस्, अनि के गर्ने त भन्दा – गाली बक्यो बस्यो। छाप्दिने बोर्डसिट छँदै छन्, उल्टो पैसा दिन्छन् गाली लेखे बापत। गाली गरेर पेट पाल्न पाएसी, ताली कस्ले ठोकोस्, कि कसो?
आगन्तुक लेखक
अब यिनलाई किन आगन्तुक भनियो भने… यी नेपालमै जन्मेका वा नेपालगसँग अन्योन्याश्रित सम्बन्ध भएका लेखक त हुन्, तर अहिले नेपालमा बस्दैनन्।यिनीहरु केही किताब लेखे भने विमोचन गर्न भने नेपालमै आउँछन् किनकि अन्तराष्ट्रिय जगतमा त यी “कौन पुछे खेसडीका दाल” नै हुन्। नेपालको परिवेशसँग परिचित हुँदाहुँदै पनि यी लेखकहरु दुई चार महिना बम्बैको कोठी लाहुरे तोरीफुले साँइलाको “कोदो किधर फलता है?” शैलीमा नेपालका यावत समस्यालाई यस्तो उस्तो भनेर हुर्मत काढ्छन्। यो देश, उ देश भन्ने नै छैन, भारतदेखि क्यानडासम्म, फ्रान्सदेखि अमेरिकासम्म छरिएर बसेका छन् यस्ता लेखकहरु। यस्ता लेखकहरु आफ्नै सल्लाहमा साउथ ब्लक, युरोपियन युनियन, युएन जस्ताले नेपाल नीति निर्माण गर्छ झैँ गरी गुड्डी हाँक्दै ‘ओप-एड’ कि के जाति पनि लेख्छन् । केहीले चाहिँ उग्र-प्रगतिशील देखिन संसारभरीकै अल्टर विचार राख्नेसँग जुगलबन्दी राख्दै नेपालको बदख्वाँइ गरेर थाक्दैनन्। सामाजिक संजालतिर पनि यिनीहरुको आफ्नै सिन्डिकेट छ।
अपराधी लेखक
अपराध सम्बन्धी किताब लेख्ने। यिनीहरुको शैली पनि गज्जपै छ। यिनीहरु कोही पत्रकारितामा अपराध बिट हेर्छन्। समाचार लेख्दा आधा आधा ‘इन्फर्मेशन’ लेख्छन् र बाँकी आधा किताबका लागि चाहिन्छ भनेर साँचेर राख्छन्। पत्रकारितामा नभएकाहरु पनि यो वर्गमा पर्छन्। यिनीहरुले लेख्ने भनेको त्यही ‘यसरी खस्यो ठाइँलाको चाकबाट गु’ स्टाइलका कथा। सत्य घट्नामा आधारित भनेर गनननन त्यो सोनी टिभीको सिआइडि शैलीका किताब लेखेर आफूलाई शर्लक होम्स् नै सम्झिन्छन्। यिनीहरुको किताब पढ्यो भने रत्नपार्कमा बेच्न राखेको सत्यकथाभन्दा केही फरक हुँदैन।
भुइँफुट्टे लेखक
लेखक हुँ भनेर अरुलाई मान्छे नै नगन्ने तर लेखनको नाममा ५० पृष्ठको एउटा कथा वा फुटकर कथा लेखक। यिनीहरु कस्ता भने एकपटक बर्षौं लगाएर एउटा कथा संग्रह वा कथा वा लौ मानौं उपन्यासै लेख्छन्, मुश्किलले सय पृष्ठको। अनि बर्षौं त्यसकै ब्याज खाएर दंग पर्दै बस्छन्। ‘ब्याज’ भन्नाले पैसा त सुको कौडी नाइ, त्यही ‘म लेखक, फलानो किताब क्या त मैले लेखेको’ भनेर भाउ खोजिरहने। बिचरो त्यो जसले सुन्छ त्यो वाल्ल पर्छ- ‘अरे भाइ, हमने तो इस किताबका नाम तक नहीँ सुना है’ भनेर। यिनीहरुको फुर्तिको कुरा गर्नुहुन्छ भने पाउलो कोइलोले के लेख्छ र, म त्यस्तो खतरा लेखक हुँ भनेर छाती फुलाएर बोल्दै हिँड्छन्।
भूत लेखक
नाम त सुन्नुभएकै होला ‘घोस्ट राइटर’ भनेर। लेखक त लेखकै हुन् तर रोजीरोटीका लागि अर्काको नाममा लेखिदिने छद्मभेसीहरु। यस्ता छद्मभेसीले कालो अक्षर भैंसी बराबरहरुलाई पनि वरिष्ठ लेखक बनाइदिएका छन्। यिनीहरुको बारे के कुरा गर्नु र खै, १२ थरी आफैं भूत साइट जो छ 🙂 आफ्ना वर्गका मान्छेलाई गाली नगरौं भन्छन् भैरेका बा।
पढ्दा पढ्दा बोर भयो होला, यत्ति गरौं है यसमा? कि के भन्नुन्छ? केही भन्नु छ वा अन्य थरीका लेखक पनि छन् तपाइँको नजरमा भने भन्नुस् है। १२ थरीले तल कमेन्ट लेख्ने ठाउँ टेनिस खेल्न बनाएको त हैन नि 😋 हस्त 👏
टेनिस खेल्ने कोर्ट भन्दा ठूलो र छ
LikeLike