हुनत नातागोता नभै नि हुँदैन भन्छन् तर यी हुँदा पनि टिन्सिनै हुने। आउनुस् आज नातागोताको छाला काढौं यत्रैसित्ति। यी नातागोता भन्या कन्नाको पिलो हुन्, न राम्ररी सुत्न दिन्छन् न त तिनिक्क तन्केर हिँड्न दिन्छन्। यिनले जवानीमा कुप्रो पारेर हिँडाउँछन। हामीले एकचोटी आँखा चिम्म गरेर सोच्यौं भने आफ्नो प्रगतिमा भित्रभित्रै जलेर घरै कालो हुने गरी धुँवा कस्ले निकाल्छन् भने नाता गोताले। बेला बेला हुने जमघटमा हुने कुराकानी सम्झिनुस् त, फलानोले यसो गरो, ढिस्कानोले यसो गरो। विहे व्रतबन्धमा यिनीहरु नभइ हुन्नन्, नबोलाई सुखै हुदैन। नत्र एक थाल भात खुवाउन पर्छ भनेर बोलाएन भन्छन्। बिहेमा बोलाउँ कस्तो गोरु मुते चिया खुवाएको ‘थ्यो, मासु भनेर थाप्न गा’को झोलै झोल मात्र हाल्या ‘थ्यो भन्दिन्छन्।
अंशबन्डा हुँदादेखि नबोलेका काकाहरू
यो बिषय अलि मार्मिक छ हेर्नुस्। हाम्रो चलन अनुसार बाउको सम्पत्ति छोराहरुमा बरोबर बाँड्ने भन्ने हुन्छ। अब बराबर बाँड्नलाई कित्ताकाट गर्नु पर्दा कसैलाई ओसीलो पर्ला कसैलाई पहारिलो पर्ला। मुहाने गह्रो आफ्नो नपरेर पानी लाउन नपाउलान् अथवा पुर्ख्यौली करेसाबारी नटुक्राउन खोज्दा २० बर्ष मल हालेर त्यस्तो बनाएको गह्रो पाइएन भनेर चित्त दुखाउलान्। खासमा यो अंशबन्डामा दाजुभाइले आफ्नै दाइले खा’को हो, आफ्नै भाइले खाको हो भनेर आरामले चित्त बुझाउँछन्। तर देउरानी जेठानीको हकमा त्यो कहिल्यै लागु भएन। त्यसले कान भरेर आफ्नोतिर पारी भनेर दिन रात पोइको कान भरेर भए नि दाजुभाइको बोलचालै बन्द गराउँछन्। यसो कुरा नसुन्ने पोइ र’छ भने त बेलुकी घोडा चढ्ने बेला हल्का बुढाको दिमागले नसोच्या बेला पारेर भए नि आफ्नो कुरा सुनाएरै छोड्छन्।
को हुन् थाहा नभएका तर कोही मरे १३ दिन लाग्नेहरु
शनिबारको दिन घरमा चट्ट शिकार पाक्या हुन्छ। सबैले जिब्रो फड्कारेर खान ठिक्क परेका हुन्छन्। ठ्याक्क त्यही बेला डाँक आइपुग्छ, माथ्लाघरे हजुरबाका कुन्नि को पर्ने बित्नु भो रे, १३ दिन बार्न पर्ने भयो रे। हेर्नुस् त कसौडीँ भरी पकाएको मासु लगेर घप्लक्क मलखाडीमा घोप्टाउनुको पीडा। तर त्यो बेला व्रतबन्ध नगरेका तन्नेरी घरमा रै’छन् भने तिनलाई चाँहि रजाँई नै हुन्छ। यस्ता १३ दिनेले तिमोरलाई छुँदैन, तिमीहरुले तुर्दियो यो भन्दिन्छन्। तिनलाई ४ छाक नबिराई शिकार हात पर्छ।
फेसबुकमा कमेन्ट गरिरहने नातेदारहरू
बिहान उठेपछि शौच गर्दा प्रेसर निकाल्न चाँहि सही काम लाग्छन्। चट्ट फेसबुक खोल्यो केही थान नोटिफिकेसन हुन्छन्। अनि पढ्न गयो त्यही पौराणिक पाराका कमेन्ट, कुनै पनि कमेन्ट नयाँ किसिमका हुँदैनन्। त्यही पहिल्यै पढिसक्या “आहा कति राम्रो .. !” “कहाँ घुम्न जाँदाको हो नि .. (त्यही फोटोको क्याप्सनमा ठाँउको नाम लेख्या नि देख्दैनन्)” “कति राम्रो परिवार ..” यस्तै यस्तै नयाँ हुँदैन। तर नि पढ्दा त्यसै पारो तातेर आउँछ। यिनलाई फेसबुकमा राखौँ यस्तै गरेर दिक्क पार्छन्, नराखौँ सिधै गएर बाउलाई तेरो छोरोले मलाई फेसबुकबाट हटाएछ नि, के पारा हो त्यस्को सम्म भन्न भ्याउँछन्।
घर आइज भन्या भन्यै गर्नेहरु
घर जान कसलेई मन लाग्दैन होला र? आफ्नो जन्मथलो, सङ्गै हुर्केका साथीसँगी कसलाई भेट्न मन लाग्दैन होला र? अनि मेसो मिल्दा को जाँदैन होला र घर? त्यही पनि मेसो मिल्दा नि १० ठाम डुलेर घर भुले जसरी फोनमा च्याटमा कुरा हुदाँ कहिले आउछस, यो दशैंमा त आइज नि। फेरी एकचोटी भने त हो, प्रत्येक चोटीको कुराकानीमा घर आउने निम्तो दिएर हैरान पार्छन्। त्यसै त होमसिक भएर गिदी हानी रा’ हुन्छ, झन घर आइज भनेर भन्या भन्यै गर्दा त लात्तैलात्ताले खाँदुम झैं बनाउँछन्।
भात खान आउन लाग्या छौं भन्ने नातेदारहरू
अँ हेल्लो, को बोल्या? ठुले होस्? कान्छो पो होस्? आमा खै? अँ हामी थानकोट आइपुगिम्, ११ बजेसम्म त्यहाँ आइपुग्छम् खाना पकाएर राख्ने भन्। मान न मान मैं तेरा मेहमान .. । आफ्नो लागि बफाएका गाफा उसिनेर खान ठिक्क पर्या बेला पाहुना लाउन मान्छे आउने थाहा पाउँदा आमाको पारो तात्छ। कुनै अर्कै कामको लागि भनेर सुर्केथैलीमा साँचेर राखेको एउटा बाघ दिएर जा बाबु थोरै कुखुरो लिएर आइज्, तेरो बाउका खलक आउँदै छन्। फेरी एउटा कुखुरो नि ख्वाएनन् भनेर बेसीदेखि डाँडासम्म सुनाउदै फर्किन्छन् फर्किने बेला।
मेरो छोरोले त टप गरो नि भनेर सुनाउन आउने नातेदारहरू
कसैको नभएको छोरो छोरी तिनैका हुँदा रै’छन्। त्रैमासिकमा फस्ट भए नि सुनाएकै हुन्छन्, अन्तिममा भए नि सुनाएकै हुन्छन्। आफु बल्ल बल्ल बिषय लाएर पास हुने, तिनले धाक दिएर सुनाउँदै फोन गर्दा ति जाँ*का त मरे नि जान्न भन्ने पार्दिन्छन्। गर्यो त गर्यो टप गर्यो। सबैलाई सुनाउँदै हिँड्न पर्छ। फेरी भेटिँदा तँ लण्ठु त फेरी फयल भएछस्, तेरो दाइले त स्कुल टप गर्यो भनेर नाकको पोरा फुलाका हुन्छन्। त्यही नजिकको ठेलाबाट केरा निकालेर नाकाँ कोचिदिम् झैं बनाउँछन्।
ठाँउ नै नहेरी गाला मुसार्ने फुपु
अब हेर्नुस्, फुपू त आफ्नै हुन् नि तर क्यार्नु, कोही कोही फुपूहरु यस्ता हुन्छन् नि- जहाँ भेटे पनि, हेर कस्तो दुब्लाको भनेर गाला मुसार्न थाल्छन्। फुपूले मायाले नै हो के गाला मुसारेको त, तैपनि बाटो घाटो, ठाउँ, वातावरण हेर्नु नि। छैन, भेट्यो कि त मेरो भदो, भदैनी भन्यो गाला मुसारिहाल्यो।
गोडामै ढोग् भनेर गोडा तेर्साउनेहरू
जसले जत्ति ठूला कुरा गरेपनि, जसले जत्ति नै आधुनिक हुँ भने पनि सबैका कोही न कोही यस्ता नातेदारहरु हुन्छन् जसले भेट्ने बित्तिकै गोडा तेर्साउँछन्, ढोगाउनका लागि। अझ बुहारीलाई ढोग्नै लाउनुपर्छ भनेर गोषा तेर्साउने महिलावृन्दहरुको न नकुरा गरम्। हेर् केटा, रिसाए रिसा’, जेसुकै भन् तर हामीले आफ्नो संस्कार भुल्नु हुँदैन भनेर फ्याट्ट गन्हाउने खुट्टा निकालेर पसारिन्छन्। खुट्टा तानेर घिस्याउँदै बाहिर निकाल्दिनु जस्तो।
पैसा चाहिँदा मात्र खोज्दै आउने नातेदार
यी नाताले १३ दिने भित्रै पर्छन् नभए नि १० दिने त पक्का। तर यिनीहरुसँग भेट हुन कि त कसैको बिहे नै हुनुपर्छ कि त कसैको मृत्यु। त्योबाहेक यिनीहरुसँग सित्तिमित्ति भेट हुँदैन। तर जब पैसा चाहिन्छ नि, तब फ्याट्ट झुल्किन्छन्- मेरो आफन्त र नजिकको भनेको को हो? तँ होइनस्? दु:ख पर्दा तँसँग नआए म कहाँ जाने हो र? भनेर चिल्लो घस्दै आउँछन्। अरुबेला बाटोमा देखियो भने पनि ‘यसले देख्ला कि’ भनेर तर्केर हिँड्छन्। बोलायो भने भन्छन्, ‘ल मैले त कस्तो देखिनछु, कुन सुराँ हिँडिरा’थेँ।’
लजवाला नातेदार :
यीनलाई किन लजवाला नातेदार भनियो भने यिनीहरु पनि अरुबेला कहिल्यै सम्झिँदैनन्। तर जब आफ्नो केही काम पर्छ अनि हाम्रो घरतिर आउनुपर्ने हुन्छ तब एक रात सुत्नको लागि आउँछन्- ‘धेरै भयो भेटघाट नभएको, न्यास्रो लाग्यो’ भन्दै। बेलुका राति आइपुग्छन् अनि बिहान चिया पनि हतारहतार गरेर खाएर दौडिन्छन् काम छ भन्दै। यिनीहरुका लागि नाता भनेको के हो त भन्दा लज।
दलाल नातेदार:
भन्नलाई नाता पर्ने, तर घर जग्गा किन बेच गर्दा सबैभन्दा बढी कमिसन खाने नातेदार । उनीहरूलाई नभनि, उनीहरुलाई नदेखाई, उनीहरुसँग कुरा नगरी किनबेच गर्नुस् त, बोलचालै बन्द गर्छन्। ‘अब त ठूलो भइस्, जान्ने सुन्ने भइस्, हामीलाई के गन्थिस् र’ भनेर महिनौं वाक्क लगाउने मात्र हैन छोराको पास्नीमा बोलाए पनि आउँदैनन्। मलाई एकपटक भनेको भए, सल्लाह गरेको भए म यतिमा मिलाइदिन्थेँ, त्यो मेरो साथी हो, मैले भनेको बचन काट्न सक्दैन त्यसले भनेर आफुले किनेकोभन्दा १/२ लाख कम दामै बताइदिन्छन्।
लमी नातेदार:
उनीहरूको काम नै कसकी छोरीको कोसको छोरासँग बिहे गराउन सकिन्छ भनेर हेर्ने काम मात्र हुन्छ। यति मेहनत गर्छन् , बिहेमा दुवै घरबाट मात्र फिलफिले साडी पाउँछन् – तर पनि लमी बन्न छोड्दैनन्। यिनीहरूलाई खै के मजा लाग्छ। सबसे गज्जपको कुरो यो छ कि यिनीहरुलाई सबैका छोराछोरी कति वर्षका भए, काँ जान्छन्, के गर्छन् सब कन्ठस्थ हुन्छ, हुनत फिलफिले साडीका सबाल है भाइ।
हामीले कुनै किसिमका नातेदारका बारे लेख्न छुटाइम्? कि तपाइँका नातेदार फरक किसिमका छन्? छन् भने भने भओ के रे नि तल कमेन्ट बक्समा गएर, के को ल्याङ ल्याङ